काठमाडौंको कोटेश्वर पुलिस चौकीबाट महादेवस्थान मन्दिर जाने सडकको नाम हो 'सेतीओपी मार्ग'।
यो मार्गमा मेरो घरबाट नजिकै नबिल बैंकको एटिएम काउन्टर छ। हालै एक दिन अपराह्न म त्यो काउन्टरमा पुगेँ।
म पुग्दा एक नवयुवती त्यहाँ उभिएकी थिइन्। उनलाई सोधेँ, 'तिमी लाइनमा उभिएकी हौ?'
'हो तर मलाई समय लाग्छ, हजुरले पहिला प्रयोग गर्नू।'
मैले काठको काम गर्ने मिस्त्रीलाई केही रकम दिनु थियो। दुई जना मिस्त्री मसँगै थिए। एटिएमको काम सकेर बाहिर निस्किएँ। ती नवयुवतीले मेरो ध्यानाकर्षण गरिन्।
'अंकल म पहिलो पटक यो कार्ड प्रयोग गर्दैछु। कसरी प्रयोग गर्ने, थाहा भएन। हजुर एकै छिन सहयोग गरिदिनुहुन्छ?'
मलाई हतार थिएन। विश्वविद्यालयमा पढाउने शिक्षक हुँ, सिकाउनु त मेरो कर्तव्य नै हो भन्ने ठान्छु। सिक्न चाहनेलाई सिकाउन पाउनु आफ्नो ज्ञान प्रयोग गर्ने साइत पनि हो।
साइत हत्तपत्त जुर्दैन। कतिपयका लागि यस्तो साइत अनावश्यक झन्झट जस्तो हुँदो हो। कतिपयले यस्तो काममा जोखिम पनि देख्दा हुन्।
मिस्त्रीलाई रकम दिएँ। मैले ती नवयुवतीलाई एटिएमभित्र बोलाएँ। उनलाई एटिएम कार्ड मेसिनभित्र हाल्ने तरिका नै थाहा रहेनछ। 'भिसा' लेखिएको किनारा आफूतिर पारेर अन्य विवरण लेखिएको पाटो आकाशतिर फर्काउँदै मैले उनलाई कार्ड राख्न सिकाएँ। कार्ड भित्र जाँदा उनी डराएजस्तो देखिइन्। लामो सास फेरेको स्पष्ट सुनियो।
मैले उनको आत्मविश्वास बढाएँ। त्यसपछि भाषा छनौट गर्ने स्क्रिन देखापर्यो। सजिलोका लागि नेपाली भाषा छनौट गर्न भनेँ। उनी त्यसमा पनि अलमलिइन्।
त्यसपछि त्यहाँ 'ओटिपी' का लागि अनुरोध गर्ने निर्देशन थिच्नुपर्ने प्रावधान देखापर्यो। उनको कार्ड पहिलो पटक प्रयोग हुन लागेकाले ओटिपी पाउनु अनिवार्य थियो।
'ल भन त अब कुन निर्देशन थिच्ने होला?'
उनको दिमागले भेउ पाउन सकेन। बैंक कर्मचारीले उनलाई कार्ड दिँदा ओटिपीबारे केही भनेका थिए होला, स्क्रिनमा स्पष्ट लेखिएको थियो। उनका लागि बुताबाहिरको काम भइदियो। अघि बढ्न सकिनन्।
मैले दोस्रो हरफको निर्देशन थिच्न भनेँ। उनको मोबाइलमा ओटिपी आयो। त्यो संख्या एटिएममा राख्नुपर्ने थियो। उनी फेरि अलमलमा परिन्। स्क्रिनमा उनलाई दिइएको समयसीमा नाघेको सन्देश आयो।
मैले प्रक्रिया दोहोर्याउन लगाएँ। यो प्रयासमा कार्ड चालु भयो।
एटिएम काउन्टरबाट बाहिरिएपछि उनी र मबीच हलुका स्नायुमा संवाद भयो।
'तिमी अहिले कलेज पढ्दै हो?'
'हो, सेकेन्ड इयरमा छु।'
'ब्याचलरको सेकेन्ड इयर हो?'
'हो।'
'स्नातक तहमा पढ्ने विद्यार्थीलाई पनि यति जाबो काम गर्न किन कठिन भएको?'
'यो सब मेरी दिदीका कारणले भएको हो। ऊ मलाई केही गर्नै दिन्न। आज पनि तैंले म नभई कार्ड चलाउन सक्दिनस् भनेकी थिई।'
आफ्नो क्षमतामा बज्रप्रहारझैं उदाएको प्रश्नमा उनले दिदीको भर्याङ लगाएर आफ्नो बचाउ गर्न खोजिन्। उनको कुराले मेरो मथिंगल नराम्रोसँग घुम्यो।
उनले भनेको सत्य ठान्ने हो भने समस्या उनकी दिदीमा थियो जसले आफ्नी बहिनीलाई प्युपाको झिल्ली तोडेर पुतली बन्ने अवसर दिइनन्। असत्य ठान्ने हो भने समस्या उनैमा थियो। उनलाई शिक्षा र संस्कारले आफ्नो खुट्टामा उभिन नसिकाएको मान्नुपर्थ्यो। यति काम त म आफैं गर्न सक्छु भन्ने बुद्धि दिन नसकेको मान्नुपर्थ्यो।
करिब एक शताब्दीअघि विज्ञान दर्शनका ज्ञाता लुडविग विटगेन्सटाइनले दृष्टिभ्रम गराउने एउटा चित्र अघि सार्दै एउटा सिद्धान्त सार्वजनिक गरे। चित्र देब्रेतिर हेर्दा हाँसको चुच्चो र टाउको देखिन्थ्यो। दाहिनेतिर हेर्दा खरायोको टाउको देखिन्थ्यो। एकै व्यक्तिले एउटै चित्रमा खरायोको टाउको हाँसको चुच्चो देख्न सक्थ्यो।
यस विषयमा अग्रिम जानकारी पाएको व्यक्तिले भने यो एउटै चित्रमा चरा र जनावर देखिने गरी दृष्टिभ्रम सिर्जना गर्ने सामग्री हो भन्ने निचोड निकाल्थ्यो।
दार्शनिक विटगेन्सटाइनले यो दृष्टिभ्रम जडित चित्रको सादृश्यको उपयोगिता अरू विधाहरूमा पनि खोजे। दिइएको वा भइपरी आएको कुनै परिस्थिति वा दृश्यको वास्तविकता र त्यसप्रति कुनै पात्रले बनाउने धारणाका बीचमा ठूलो फरक हुन सक्छ भन्ने निचोड उनको थियो।
कोटेश्वरको एटिएम काउन्टरमा भेटिएकी ती नवयुवतीले उनको अक्षमताको कारण आफ्नी दिदी हुन् भन्ने धारणा बनाएकी थिइन्। वास्तविकता त्यसो नहुन सक्थ्यो।
ती नवयुवतीका कोही साथी वा सहपाठी पनि निर्देशन अर्थात् ज्ञानलाई बुद्धिमा रूपान्तरण गरी आफ्नो काम गर्न नसक्ने होलान्। उनीहरूले पनि किन तिम्रो क्षमता विकास हुन सकेन भन्दा केही त अवश्यै भन्लान् तर उनीहरूको धारणा र यथार्थ फरक हुन सक्छ।
लगभग दुई दशकअघि म वातावरण व्यवस्थापनको पढाइ हुने स्किम कलेजमा काम गर्थेँ। म प्राज्ञिक प्रमुख थिएँ, केही विषयको कक्षा पनि लिन्थेँ।
कक्षामा ५० जना जति विद्यार्थी थिए। म केही वर्ष थाइल्यान्ड र जापानमा बिताएर फर्केको थिएँ। अध्यापन होओस् वा कलेजको व्यवस्थापन, आफू खरो उत्रिनुपर्छ भन्ने मेरो मान्यता थियो।
म कुनै गृहकार्य वा परीक्षाको उत्तरपुस्तिका जाँच गर्दा ऋणात्मक अंक दिन्थेँ। जस्तो– १० पूर्णांकमा कसैले उसले माइनस २ पाउँथ्यो। उत्तरपुस्तिकामा सबै ऋणात्मक चिह्नहरूको बिस्कुन देखेर कतिपय विद्यार्थी आश्चर्यचकित हुन्थे। यसको अर्थ हुन्थ्यो, उसले ८ अंक पायो।
एकपटक मैले पनि नचिताएको एक प्रसंग सिर्जना भयो। परीक्षण गरिएका उत्तरपुस्तिका कक्षामा बाँडेँ। कक्षाको पश्चभागमा बसेकी एक छात्रा जुरूक्क उठेर सरासर अगाडि आइन्। उनको अनुहारमा आक्रोश देखियो। गाला अस्वाभाविक राता देखिए।
आक्रोशको मुद्रामा भनिन्, 'मेरो कापीमा रातो अक्षरले माइनस अंक दिने अधिकार तपाईंलाई कसले दियो?'
मैले प्रतिक्रियात्मक जवाफ दिइनँ। अंक दिने मेरो शैलीले उनको मथिंगलमा तरंग ल्याएको स्पष्ट थियो।
मैले भनेँ, 'अंकमा चित्त नबुझेमा वा गुनासो भएमा म कक्षापछि हरेक विद्यार्थीसँग पालैपालो छलफल गर्नेछु।'
ती छात्रा कक्षा सकिएपछि मेरो कार्यकक्षमा आइन्। मैले उनलाई त्यसरी अंक दिनुको अर्थ सम्झाएँ।
'स्नातकोत्तर तहसम्म आइपुग्दासम्म मलाई कसैले पनि मेरो काममा यस्तो तरिकाले टिप्पणी नगरेको हुनाले म आक्रोशित भएकी हुँ। माइनसको अर्थ मैले अर्कै ढंगले बुझेकी रहिछु।'
मैले भनेँ, 'विद्यार्थीले लेखेको उत्तर कति मिलेको छ भनेर अंक दिनुको सट्टा के नमिलेको हुनाले कति अंक काटियो भन्ने सूचना दिनु बढी लाभप्रद हुन्छ। पहिलो तरिकामा परीक्षक बढी सतही हुने डर पनि हुन्छ।'
यतिन्जेलमा उनी सामान्य भावमा फर्किएकी थिइन्।
यो घटनाको करिब दुई वर्षपछि सिंगापुरको चांगी विमानस्थलमा अर्को एउटा सुखद आश्चर्य उम्रियो। म जापानमा भएको एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर नेपाल फर्किँदै थिएँ।
रात्रिको करिब पाँच घन्टा विमानस्थलमै बिताउनुपर्ने थियो। म यताउता गर्दै समय बिताउँदै थिएँ। एक युवती मलाई नै लक्षित गरेर आउँदै गरेको देखेँ। म अडिएँ, उनी त माइनस अंक पाएकोमा आक्रोशित हुने पूर्वविद्यार्थी पो रहिछन्।
दुबै हात जोडिन् र हँसिलो मुद्रामा भनिन्, 'मेरो जीवनको सबभन्दा ठूलो सिकाइ नै हजुरले रातो मसीले दिएको माइनस अंक भयो।'
उनी अस्ट्रेलियाबाट नेपाल आउने क्रममा ट्रान्जिटमा रहिछन्। हामीले निकै बेर वृत्तिविकास लगायत अन्य केही विषयमा छलफल गर्यौं।
स्किम कलेजको यो उदाहरणले कुनै विद्यार्थीको मस्तिष्कमा तरंग निकाल्ने गरी सिर्जना गरिएका पढाइ र सिकाइका आयामले कसरी दूरगामी प्रभाव पार्छन् भन्ने चित्रण गर्छ।
यो विषय पनि विटगेन्सटाइनको दर्शनसँग सिधा तालुक राख्छ। उनले खरायो र हाँसको चित्रसँग जोडेर 'आस्पेक्ट ब्लाइन्डनेस' अर्थात् हरेक व्यक्तिमा हुने अमूर्त र मूढ रूपको व्याख्या गरेका छन्। यसको अर्थ कसैले सिधा र स्पष्ट हिसाबमा देख्न सक्ने आकृति वा परिदृश्य अर्काका लागि अस्तित्वहीन पनि हुन सक्छ।
प्रत्येक व्यक्तिलाई प्रभाव पार्ने शिक्षा, राजनीति, अर्थशास्त्र, प्रविधि आदि विषयमा एक अर्काको दृष्टिकोण फरक हुने यथार्थ पनि यहाँ जोडिएको छ।
यस्तो नहुँदो हो त मुलुकमा व्याप्त कहालीलाग्दो बेरोजगारी, विद्यार्थीहरूको विदेश पलायन र पाठ्यपुस्तकको दुर्गति समाधान गर्ने दिशामा सबै राजनीतिक दल या पात्रको एउटै आवाज वा दृष्टिकोण बन्न सक्थ्यो। सर्वमान्य अवधारण बन्ने थियो तर बन्दैन।
किनभने देशका राजनीतिक दल, नेता र अन्य निकायका नेतृत्वकर्ताहरू हाँस पक्ष र खरायो पक्षमा विभाजित छन्।
विटगेन्सटाइन दर्शनले एक जनाले देखेको अर्कोले देख्न नसक्ने भएका कारण वातावरणीय विचलन, पूर्वसिकाइको कमी वा कुनै मानसिक कारक तत्वको उपस्थिति हुन सक्ने सम्भावनातर्फ संकेत गरेको छ।
घरमा, विद्यालयमा वा कलेजमा पढ्दा जुन समयमा जे सिक्नुपर्ने हो वा जुन ढंगले विषयवस्तुको ज्ञान आर्जन गर्नुपर्ने हो, त्यो नहुँदा कालान्तरमा विद्यार्थी कमजोर हुन्छ। एउटा एटिएम कार्ड चलाउन नजान्दा म जान्दिनँ, सिकेको छैन भनेर स्वीकार गर्नुको साटो अर्काको टाउकोमा दोष थोपर्ने प्रवृत्ति विकास हुन्छ।
बिहान विद्यालय जान लागेका नानीबाबुको झोला बोकिदिएर बस बिसौनीसम्म पुर्याउने र बेलुका पनि झोला बोक्न जाने अभिभावक धेरै भेटिन्छन्।
पुस्तक पसलमा पाठ्यपुस्तकको सट्टा 'गेस पेपर' र 'ओल्ड इज गोल्ड' किन्न उभिएको विद्यार्थी भेटिन्छ।
यस्तो पृष्ठभूमिबाट आएको व्यक्तिले लुडविग विटगेन्सटाइनको चित्र हेरेर के भन्ला? खरायो कि हाँस?
(लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्येता र त्रिभुवन विश्वविद्यालयमा दर्शनशास्त्रका अध्यापक हुन्।)
नवराज खतिवडाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्