धेरै जसो धानका जातसँग चिसो सहन सक्ने क्षमता हुँदैन। चिसो सहन नसक्ने धान उच्च भूभागमा रोप्दा बोट डढ्ने, नबढ्ने, दाना नलाग्ने र दाना लागे पनि नपाक्ने समस्या हुन्छ।
यस विपरीत जुम्ली काली मार्सी धानमा निकै चिसो सहन सक्ने गुण हुन्छ। यसको खेती समुद्र सतहबाट करिब दुई हजारदेखि तीन हजार मिटरको उचाइमा अवस्थित जुम्लाको पातारासी गाउँपालिका, छुमचौर ज्यूलासम्म फैलिएको छ। यस क्षेत्रमा निकै राम्रो उत्पादन हुन्छ।
जुम्लामा धान रोप्ने मिल्ने खेतको फाँटलाई ज्यूला भन्छन्।
जुम्लाको तातोपानीमा अविवाहित आमाबाट जन्मेका क्षालकृति पैकेलो (वीर योद्धा) कालीमार्सी धान खाएर हुर्केका हुनाले यो धान उनले नै पत्ता लगाएको भन्ने विश्वास रहिआएको छ।
चन्दनाथबाबाले त्यही तातोपानीकै लाक्षु ज्यूलो (गुरू फोक्टो) मा पैकेलोलाई रोप्न लगाएर मार्सी धान परीक्षण गरेका थिए भन्ने मानिन्छ। परीक्षण सफल भएपछि क्रमशः विस्तार भएको भन्ने विश्वास छ। विस्तारकै क्रममा पातारासीको छुमचौर ज्यूलासम्म फैलिएको मानिन्छ।
कतैकतै चन्दननाथबाबाले कस्मिरबाट बिउ ल्याएर क्षालकृति पैकेलोलाई परीक्षण गर्न लगाएको भन्ने पनि मानिन्छ तर विश्वसनीय छैन। हालसम्म कर्णालीबाहिर मार्सी धानको खेती भएको पुष्टि भएको छैन।
पृथ्वीनारायण शाह पहिलो पटक खसराज्यमा आक्रमण गर्दा पराजित भएका थिए। पछि बिक्रम सम्वत् १७८९ मा उनका छोरा बहादुर शाहको नेतृत्वमा खसराज्य कब्जा भएपछि गोर्खाली सैनिकहरूले छिनासिम (हालको जुम्ला बजार) का घरहरूमा पाकेको मार्सी चामलको भात खाए। उनीहरूलाई राम्रो लाग्यो, स्वस्थकर हुन्छ भन्ने थाहा पाए।
पछि राणा प्रधानमन्त्री जंगबहादुरले मार्सी चामल आफ्नो दरबारमा पुर्याउन आदेश दिए। यसपछि चन्दननाथ गुठीबाट दैनिक दुई माना चामल दरबारमा पठाउन थालेको भन्ने इतिहास छ। यसरी जुम्लाबाट दैनिक रूपमा चामल पठाउने प्रचलनबाटै नेपालमा हुलाक सेवा विकसित भएको पनि मानिन्छ।
नेपालमा धेरै प्रजातिका धान उत्पादन हुने भए पनि काली मार्सी उत्पादन गर्न विशेष प्रकारको हावापानी हेरचाह र मिहिनत आवश्यक पर्छ। असोज–कात्तिकमा सबै बर्खे बाली थन्क्याएर हिउँदे बाली जौ, गहुँ इत्यादि छरेपछिको फुर्सद सदुपयोग गरेर पैसा कमाउन पुरूषहरू कालापहाड (भारत) जाने चलन थियो, अद्यापि छ।
फागुन लागेपछि हरेक टोलमा तीनवटा परिदृश्य देखिन्छन्।
एक – हरेक टोलका टुवाटै (बालबालिका) आपसमा आफ्ना बाबुको कुरा गर्छन्, 'हाम्मा बाउजु (बाबा) भोलि आउँन्या हुन्, मकन मस्तै टाला ल्याउँन्या भुन्नाछिया जान्याँ बेला, म त बाबा आयापछि नयाँ टाला सिलाइ माग्निउँ।'
यी बालबालिकाहरू साँझ हटौरू (परदेशी) हिँड्ने बाटोतिर आँखा तेर्स्याइरहेका हुन्छन्।
दुई – घर फर्किने समय हुँदै आएपछि हरेक साँझ घरका बुढापाका र कालापहाड गएका पुरूषकी श्रीमतीका आँखा पनि हटौरू हिँड्ने बाटोमै हुन्छन्। आफ्नो मान्ठ्माइस (मान्छे) आइपुगिहाल्छ कि भन्ने अशा गर्छन्। उनीहरूलाई ‘हाम्मा हटौरू चैता बारूवाँथि (चैत १२ गतेसम्ममा) नपुगन्या पो हुन् कि’ भन्ने पिर हुन्छ।
उता कालापहाडमा भएका हटौरूलाई पनि यही कुराले सताएको हुन्छ – चैता बारूवाँथि घर पुग्न्याँ होइन कि, अनि पुगिनँ भुन्याँ पछि...! बारूवाँसम्म पनि नपुग्या त मरिगो भुनिकन किरिया अरलान्! अनि म पुग्या पनि क्यारिकन वल्लापल्ला गाउँसमाज मुख देखाउन्याँ होला!
मार्सी धान पाक्न कम्तीमा १५० दिन लाग्छ। चैतको पहिलो सातासम्म धेरै चिसो हुने हुने भएकाले दोस्रो साता बिउ राख्न सुरू हुन्छ।
चैत १२ गते मार्सी धानको बिउ भिजाउने परम्परा छ। यसै कारण कालापहाड गएकाहरू बिउ भिजाउन आइपुग्नुपर्छ भन्ने मान्यता छ। कालापहाडबाट फर्किन चैत १२ भन्दा ढिलो भए बाटोमा मलेरिया लाग्छ भन्ने पनि मानिन्छ।
चैत १२ गते बिउ भिजाएपछि ब्याड राखेर रोप्न मिल्ने गरी हुर्किन कम्तीमा ४० दिन लाग्छ। जौ, गहुँ छर्न ढिलो भयो भने मार्सी धान रोप्न पनि ढिलो हुन्छ। यो काम चाँडै सकेर उनीहरू कालापहाड गएका हुन्छन्।
बिउ राख्न घरका पुरूषको उपस्थिति अनिवार्य मानिन्छ। यस्तो मान्यता किन विकास भयो? यसमा गज्जबको कारण छ।
बारूवाँ अर्थात् चैत १२ गतेसम्ममा कालापहाडबाट घर नआइपुग्दा औलो लाग्छ भन्ने मानिन्छ। आइपुगेन भने बाटैमा मर्यो कि भन्ने शंका गरिन्छ। चैत १२ गतेसम्ममा गाउँका सबै परदेशीहरू आइसक्छन्। हरेक घरमा खुसी छाउँछ। घरमा खुसी मनाउँदै मार्सीको बिउ गाग्री, खड्कौंरा आदिमा चार दिन भिजाउँछन्।
पाँचौं दिन १६ गते हुन्छ। यस दिनलाई सोरूवाँ भन्छन्। यस दिन बिउ बाहिर निकालेर सफा पानीले पखालिन्छ, पानीमा उत्रेको बिउ हटाइन्छ।
त्यसपछि बिउ न्यानो पार्न चुलोनजिकको मैणो (भुइँ) मा फेरूवा ओछ्याएर फिजाइन्छ र झुप्रा (सल्लाको पात) ले बाक्लो हुने गरी राम्ररी छोपिन्छ। झुप्रामाथि फेरूवा वा राडी ओढाइन्छ। भिजेको बिउ थोरै छुट्ट्याएर राखिन्छ।
सोरूँवाको दिन पनि घरमा खुसियाली छाएको हुन्छ। आफन्त र चेलीबेटी बोलाइएको हुन्छ। छुट्ट्याएर राखेको बिउको चिउरा बनाएर खाइन्छ। यो चिउरा थोरै भए पनि असारसम्म जोगाएर राखिन्छ र कहिलेकाहीँ थोरथोरै खाइन्छ।
टुवाटैहरू निकै टाढा पुगेर भिजाउँदा चिप्लो र सुकेपछि कडा हुने कालो माटो ल्याउँछन्। त्यो माटोबाट चिउरा राख्ने डहरा (भाँडो) बनाइन्छ। भिजाएको बिउबाट बनाएको चिउरा त्यही डहरामा राख्ने चलन छ।
सोरूवाँकै दिन चिउरा कुट्ने चलन हुनुमा पनि निकै रोचक प्रसंग छ। भिजाएको बिउ साफा पानीले पखालेर फेरूवामा राख्दा चिसो भएको हुन्छ। घरभित्रको वातावरण न्यानो बनाउन आगो बाल्नुपर्छ। यो समयलाई हर्षमा बदल्न चिउरा कुट्ने चलन सुरू भएको मानिन्छ।
बिउबाट टुसा नआउन्जेल न्यानो राख्न बिउमामाथि बाक्लो राडी ओछ्याएर, बाक्लै राडी ओढेर सुत्ने चलन पनि छ।
यता घरमा बिउ उमारिन्छ। उता ‘बेन्नाठा’ वा ‘बेन्ना’ मा कयार (झार) उखेलेर बालिन्छ। राम्रो पाकेको ‘पर्रो’ वा ‘पर्सो’ छरिन्छ।
जुम्लामा ब्याडलाई कतै बेन्नाठा त कतै बेन्ना भन्छन्। घरमा बनाएको मललाई कतै पर्रो त कतै पर्सो भन्छन्।
खेतमा पलाएको तितेपातीको कलिलो मुना बालिँदैन। यसलाई माटोले छोपेर कुहाइन्छ। बेन्नाठा जोतेपछि मै (डल्ला धुल्याउने साधन) लगाइन्छ। अन्त्यमा बगारो (काठको चाक्लो) ले माटो सम्याइन्छ। तितेपाती कुहाएर माटो तयार गरेपछि धानको बोटमा कीरा लाग्दैन भन्ने विश्वास लिइन्छ।
घरमा बिउ टुसाउँदै गरेको हुन्छ। यो बिउ बिसवाँ (चैत २० गते) मा बेन्नाठामा छरिन्छ। बिउ छर्नुअघि प्रकृति र देवीदेवताको पूजा हुन्छ। अब करिब ४० दिनमा यो बेर्ना सार्न अर्थात् रोप्न योग्य हुन्छ।
अब वैशाख १ गते तागा हुन्छ। यो दिन महिलाका लागि विशेष मानिन्छ। यस दिन धान रोप्न घरमा महिलाहरूले पूजा गर्छन्। घाँटी र नाडीमा विशेष किसिमले डोरा (तागा) बाँध्छन्।
धेरै जना रोप्नेरी (बेर्ना रोप्ने महिला), हली र बाउस्या चाहिन्छ। सबै घरमा बारूवाँ, सोरूवाँ र बिसवाँ एकै हुने भए पनि रोप्ने काम पालो मिलाएर गर्छन्। रोपाइँमा पणिमु (आलोपालो अर्थात् पर्म) गर्छन्। धान रोप्दा पणिमु तिर्न नभ्याए वा तिर्न नपरे कार्तिकमा धान काट्दा तिर्ने चलन छ।
जेठदेखि असारको पहिलो सातासम्म हरेक घरमा काम भ्याइनभ्याइ हुन्छ। हली र बाउस्या बिहान चाँडै आआफ्ना साधन लिएर खेतमा पुग्छन्। आफ्नो खेतमा आउने पानी कसैले नभाँचोस् भनेर टुवाटैलाई पानीको अहट (कुलो) कुर्न पठाउँछन्। घरमूली महिलाले खानासँगै चाम्ली खाजा बनाउँछिन्। रोपाइँमा चाम्ली खाजाको महत्व हुन्छ। मार्सी चामल बफ्याइन्छ र चिनी मिसाएर चाम्ली बनाइन्छ। राम्रो देखाउन बेसार प्रयोग गरिन्छ।
रोप्नेरीहरू लहर लागेर एकै स्वरमा अनेक लयमा गीत र चुट्किला गाउँदै, हिलो खेल्दै धान रोप्छन्। एउटा गीत यस्तो हुन्छ –
पूर्व चाल्खो पश्चिम छुच्चो, पुल्ती डाबय,
भिता पाक्यै डिल लस्कै, मार्सी धानय,
मार्सी धानय, बज्याका भाँइसामा पाक्यै, मार्सी धानय,
मार्सी धानय, बाज्याका जिउनारी लाग्यै मार्सी धानय,
मार्सी धानय, बाबैका जिउनारी लाग्यै..., आमैका...,
दाज्यूका..., भाइलुका...., भदैका...,
पूर्व चाल्खो पश्चिम छुच्चो, पुल्ती डाबय,
पुल्ती डाबय, भिता पाक्यै डिल लस्कै, मार्सी धानय,
मार्सी धानय, घोडा पुच्छ्या बाला लाग्यै, मार्सी धानय,
मार्सी धानय, हात्ती सुँड्या नल लाग्यै, मार्सी धानय,
मार्सी धानय, मोतिया हातमा लाग्यै, मार्सी धानय,
मार्सी धानय, उदा खाडल भरिजाऊन्, मार्सी धानय,
मार्सी धानय, उभा भकारी भैजाउन्, मार्सी धानय।
खेतको ठूलो–फराकिलो गह्रोलाई ‘डाब’ भन्छन्। डाबको बीचमा गोलो आकृतिमा बाक्लो गरी बेर्ना रोप्छन्। यसो गर्नुलाई ‘पुल्ती हाल्ने’ भन्छन्। डाबको थोरै ठाउँमा पुल्ती हालिन्छ। यो खाली रमाइलोका लागि हो। पुल्ती हाल्दा नवविवाहित जोडीलाई हिलोमा चोपेर रमाइलो गर्ने चलन छ।
साँझ घर फर्किँदा माथिको जस्तै गाउँदै र ढाल खेल्दै जान्छन्। दमाहाको आवाजमा कम्मर मर्काउँदै नाच्दै अघि बढ्नुलाई ढाल खेल्ने भन्छन्।
धान खेतमा कुनै पनि प्रकारको रासायनिक मल वा विषादी प्रयोग गर्ने चलन छैन। रोपेको करिब १५ दिनमा महिलाहरू धान गोड्छन्, सबै झार हातैले निकाल्छन्।
पानी पर्दा स्याँकु ओढ्छन्। स्याँकु भनेको भोजपत्र र निगालोबाट बनाइएको छाता जस्तै सामग्री हो। भदौ लाग्दा लाग्दा धानमा फूल देखिन थाल्छ। असोज लाग्दा धानको बाला पहेँलो हुन थाल्छ। बाला पहेँलिन थालेपछि खेतमा सबै पानी कटाइन्छ।
यतिन्जेलमा दसैं नजिकिँदै गरेको हुन्छ। फूलपातीको दिन हरेक घरको ढोका अगाडि गाईको गोबर, रातो माटो, सयपत्री फूल र मार्सी धानका बालाको सजावटले दुर्गामाताको स्वागत गरिन्छ। दसैंतिहारमा ‘हे बहिनी आइगयो विजया दसैं पहेँली धानका बाला, भाइटीका तिहार नसुक्यै आउँदा सालसम्म हजारी फूलमाला...’ बोलको गीत घन्किन्छ।
कात्तिक ६ गते तागा हटाउने दिन हो। यस दिन महिलाहरूले नाडी र घाँटीमा लगाएको तागा निकालेर विशेष पूजा गर्छन्। पूजा सकेपछि त्यसै दिन धान काट्न सुरू हुन्छ। काटेको धानको बोट खेतमै लिहिन लगाइन्छ। लिहिन भनेको काटेर सुकाउन फिजाइँएको बोट हो। राम्ररी सुकेपछि धान झारेर भित्र्याइन्छ। कसैले दाइँ गरेर झार्छन् त कसैले मुठा बनाएर ढुंगामा पछार्दै झार्छन्।
चामल बनाउन ढुंगाको ओखलमा मुस्लीले कुट्ने चलन छ। यसरी कुट्दा मार्सी खेतीको समय तालिका झल्काउने गीत गाउने चलन छ –
मागैन–फागुन मास पुञ्चमी पढ्यो छ,
बेन्ना दम्को लाग्यो छ,
चैत मास बारूवाँ पढ्यो छ,
बियै जस्तै कलायो,
चैतमास सोरूवाँ पढ्यो छ,
बियै घर आयो,
चैतमास बिसुवाँ पढ्यो छ,
बियै महतारी गयो,
वैशाख मास, एक गते भयो छ,
चरिचुच्चे बेन्नु भयो छ,
जेठमास बाह्र गते भयो छ,
दुई पात्या बेन्नु रोपियो,
अषाणमास गोड्न्या, साउनमास गोड्न्या
भदौका मास पयाला पाढ्न्या,
असौज पयाँलिन्या, कात्तिकमास काट्न्या।
देशको सीमित भूभागमा फल्ने र पर्वझैं तिथिमिति मिलाएर उत्पादन गरिने मार्सी धान हाल सबै नेपालीको मनमस्तिष्कमा पुगेको छ।
यति गौरवशाली भइकन पनि मार्सी धानको वर्तमान स्थिति चिन्ताजनक छ। यससँग जोडिएको सामाजिक–सांस्कृतिक रमझम घट्दो छ। पढाइ, व्यापार–व्यवसाय, रोजगारी आदि कारणले परिवारका सदस्यहरूको उपस्थिति घट्दो छ। रोप्ने समयमा खेतालाको अभाव बढ्दो छ।
पशुपालन घट्दै गएकाले गोठेमलको अभाव पनि बढ्दै छ। रोपाइँमा गाइने स्थानीय गीत, चुट्किलामा पश्चिमेली संस्कृतिको अतिक्रमण बढेको छ। मौलिक परम्परा हस्तान्तरणमा कमी आएको छ। परम्परा जोगाउनमा युवाको चासो घट्दै गएको देखिएको छ। युवाहरूमा परम्परागत गीत र चुट्किला सिक्ने र गाउने चासो अत्यन्तै कम छ।
संस्कृति, परम्परा र इतिहास हरेक समाजको पहिचान हो। मार्सी धानको जुम्ली पहिचान मासिने सम्भावना बढ्दो क्रममा छ। यो परम्परा जोगाउनु भनेको आफ्नो पहिचान जोगाउनु त हो नै, सँगै मार्सी धानको ब्रान्डिङ र व्यावसायिकीकरण गर्नु पनि हो। आज यसतर्फ सबै सरोकारवालाहरूको ध्यान जानु आवश्यक छ।
(तिलागुफा, कालिकोटका स्थायी बासिन्दा रहेका लेखक नवराज पौडेल कृषि विषयका स्नातक हुन्।)