१९८० को दशकमा नेपालले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको कार्यक्रम सुरु गरेको थियो। प्रारम्भिक समयमा तिनीहरूको भूमिका विशेष गरी परिवार नियोजनका सामाग्री वितरण गर्ने र प्रयोगका बारे सल्लाह दिनेमा सीमित थियो। विस्तारै उनीहरूको भूमिका विस्तार हुँदै गयो र अन्य कार्यक्रमहरूमा पनि समावेश गर्न थालियो। जसले गर्दा स्वास्थ्य विकासका विभिन्न लक्ष्यहरू (जस्तैः मेलेनियम डेभेलोपमेन्टका लक्ष्यहरू) प्राप्त गर्न उनीहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्।
यो कार्यक्रम विगत तीन दशकदेखि नेपालको स्वास्थ्य प्रणालीको मेरुदण्डको रूपमा रहेको छ। हालसम्म नेपालमा ५० हजारभन्दा बढी स्वयंसेवकहरू छन् जसले स्वास्थ्य प्रवर्द्धन (सरसफाइ, पोषण, परिवार नियोजन, एचआइभी, मातृ तथा बाल स्वास्थ्य), स्वास्थ्य सेवाहरू (परिवार नियोजन, जुकाको औषधि वितरण, पोलियो अभियान र एकीकृत बाल रोग व्यवस्थापन) मार्फत गाउँलेहरूलाई शिक्षा र सेवा दिइरहेका छन्। बेलाबखतमा समुदायमा जनसांख्यिकीय तथ्याङ्क सङ्कलन र रिपोर्ट गर्न मध्यस्थकर्ताको भूमिका पनि निभाउँछन्।
खोप, एकीकृत बालरोगहरूको व्यवस्थापन, परिवार नियोजन र गर्भवति महिलाको व्यवस्थापन कार्यक्रमहरूमार्फत बाल तथा मातृ मृत्युदर घटाउनमा महिला स्वयंसेविकाहरूको ठूलो भूमिका रहेको छ। प्रत्येक सरकारी स्वास्थ्य सेवा कार्यक्रमहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई उनीहरूको समुदायिक कार्यक्रमहरूको लक्ष्यहरू प्राप्त गर्न उनीहरूको सहयोग लिने गर्छन्, किनभने उनीहरूले समुदायमा नि:स्वार्थ सेवाहरू दिएर समाजमा विश्वास स्थापित गरेका छन्।
उनीहरूको योगदान अतुलनीय छ। दशक लामो द्वन्द्वका बावजुद पनि छिमेकी देशहरूको तुलनामा स्वास्थ्यका सूचकहरू नेपालका राम्रा छन् र यसको श्रेय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूमा जान्छ। २०१५ को भूकम्पमा उनीहरूको योगदान विशेष रूपमा प्रशंसनीय थियो। आफ्नो धन-जनको क्षतिका बावजुद, उनीहरू नै पहिलो सेवा प्रदाएक थिए र मातृ र बाल स्वास्थ्य कार्यक्रमहरू र अन्य आधारभूत कार्यक्रमहरूको निरन्तरता सुनिश्चित गर्न लागी परिरहेका थिए।
तिनीहरूको उदाहरणीय सेवाहरू असाधारण छन् र जन-स्वास्थ्य अभ्यास र सिद्धान्तहरूमा कहिल्यै कैद हुन सकेको छैन। उदाहरणका लागि, गाउँका प्रत्येक वडाका प्रत्येक स्वयंसेविकालाई नियमित खोपबाट छुटेका हरेक बालबालिका र घरपरिवारबारे जानकारी हुन्छ। उनीहरू घर-घर गएर आफ्ना बालबालिकालाई खोप लगाउन अभिभावकहरूलाई सल्लाह निरन्तर रुपमा दिइरहन्छन्। २०१५ को भूकम्पमा तिनीहरू पीडितहरूमा पोस्ट-ट्रमाटिक तनाव विकार रोक्न मनोवैज्ञानिक सहयोग प्रदान गर्दै अगाडि लाइनमा उभिएका थिए। गाउँलेहरूले स्वयंसेविकाहरूलाई यति धेरै विश्वास गर्छन् कि तिनीहरूले स्वतन्त्र रूपमा आफ्ना तनाव, पीडा र गुनासोहरू सुनाउने गर्छन्। यो सम्बन्धको विशेष महत्त्व छ, जहाँ मानसिक समस्याहरू अक्सर कलंकित हुने गर्छ र कसैलाई सुनाउन चाहँदैनन्।
नेपाली समाज र संस्थाहरू परम्परागत, रूढिवादी र पितृसत्तात्मक छ; महिलाहरू सामान्यतया बच्चा जन्माउने, घरपरिवारको पालनपोषण र गृहस्थीमा सीमित गरिएका हुन्छन्। विरोधाभासी सामाजिक संरचना, मान्यता र मूल्यमान्यताका बावजुद यी स्वयंसेविकाहरूले समुदायमा सम्मानजनक सदस्यको रूपमा आफ्नो हैसियत स्थापित गर्न सफल भएका छन्। नियमित तलब नपाउने यी स्वयंसेविकाहरू समुदायका सबैभन्दा व्यस्त कामदारहरू हुन्। आफ्नो घरपरिवार, छोराछोरी, परिवार, खेतबारी वा व्यवसायको प्रबन्ध गरी दैनिक जीवन निर्वाह गर्दै हरेक दिन उनीहरू स्वास्थ्य कार्यक्रमको लागि घरदैलो कार्यकर्महरू व्यस्त रहन्छन् वा बैठक तथा तालिममा निरन्तर सहभागी भइरहेका हुन्छन्।
नेपालको गाउँहरूमा धामी-झाक्री, अनुष्ठान वा पारम्परिक उपचार अभ्यासहरू र बायोमेडिकल सेवाहरूबीच प्रतिस्पर्धा भइरहेको हुन्छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले गाउँलेहरूलाई सम्झाइबुझाई चिकित्सा बहुलवादको मेलमिलापमा योगदान पुर्याइरहेका हुन्छन्। यी स्वयंसेविकाहरू यो सामाजिक भिन्नता मध्यस्तता गर्न अद्वितीय रूपमा सक्षम छन्। तिनीहरूले स्रोत-प्रतिबन्धित अवस्थाका चिकित्सा र स्वास्थ्य-सेवा जानकारीको प्रावधानमा योगदान गरिरहेका छन्।
यसो गरिरहँदा, तिनीहरू स्थापित सामाजिक कुण्ठित मापदण्डहरू र लैङ्गिक भूमिकाहरूबाट अलगाइएका छैनन् र आफ्ना योगदानबाट उच्च सम्मान प्राप्त गर्न सपल भएका छन्। तसर्थ, प्रत्येक स्वास्थ्य वा सामाजिक कार्यक्रमले आफ्नो सफलताको लागि यी स्वयंसेविकाहरूको परिचालनमा निर्भर रहन्छन् । समाजमा स्वयंसेविकाहरूको योगदानको र उनीहरूको सम्मान यति उच्च छ कि, राजनीतिक दलहरूले पनि तिनीहरूलाई आफ्नो पक्षमा प्रयोग गर्ने गरेका छन् (जस्तै, स्थानीय जनतालाई प्रभाव पार्न चुनावी अभियानमा)।
यद्यपि यस कार्यले यी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको केही हदसम्म राजनीतीकरण पनि भएको छ। तर साथमा यसले उनीहरूलाई आधारभूत र राजनीतिक अधिकारहरू बारे सुसूचित गर्न मद्दत गरेको छ जसले परिवार र समुदायहरूमा पनि सुसूचित हुन टेवा दिइरहेको छ। ग्रामीण समुदायमा राजनीतिक चेतनाको स्तर बढेको छ। जनस्वास्थ्य कर्मिहरूले महिला स्वयंसेवकहरूलाई नसर्ने रोग व्यवस्थापन र मौखिक स्वास्थ्यको जोखिम व्यवस्थापनमा संलग्न हुनुपर्ने सुझाव दिइरहेका छन्। विशेष गरी स्वयंसेविकाहरूमार्फत स्थानीय मानिसहरूलाई धुम्रपान रोक्न, मदिराको हानिकारक प्रयोगबाट बच्न र राम्रो मौखिक स्वास्थ्य कायम राख्न प्रभाव पारेर जोखिम कम गर्न मद्दत गर्न सकिन्छ।
नेपाली स्वास्थ्य कार्यक्रममा यी स्वयंसेविकाहरूको योगदानलाई कुनै शब्दहरूमा जति वर्णन गरे पनि हामीले गर्न सक्दैनौं। नेपालको स्वास्थ्य क्षेत्रमा उनीहरूको योगदान नियमित कार्यक्रमहरूदेखि विपद् व्यवस्थापनसम्म छ र साथमा यसले नेपालको स्वास्थ्यका लक्ष्यहरू प्राप्त गर्न मात्र होइन विश्वव्यापी स्वास्थ्यमा पनि समान रूपमा योगदान पुर्याइरहेको छ। तिनीहरू पोलियो उन्मूलन र दादुरा निवारण, पोषण कार्यक्रम, र आपतकालीन (जस्तै हैजाको प्रकोप, महामारी इन्फ्लुएन्जा वा भूकम्प) को पहिलो रेसपोन्डर हुन्।
यहाँ हामी एक व्यक्तिको बारेमा होइन हजारौं निःस्वार्थ विश्वव्यापी स्वास्थ्यमा योगदान गर्ने व्यक्तिहरूको बारेमा कुरा गरि हेका छौं। यी स्वास्थ्य स्वयंसेविकाहरूको समूह, नेपालको 'फ्लोरेन्स नाइटिङगेल्स' हुन्।
(लेखक कँडेल जेनेभा, स्विट्जरल्यान्डमा कार्यरत मेडिकल इपिडेमियोलोजिस्ट र मानवशास्त्री हुन् भने लेखक लामिछाने जनस्वास्थ्य विज्ञ र मानवशास्त्री हुन्।।)