पृथ्वीमा विद्यमान भौतिक, रासायनिक, जैविक एवम् अन्य विविध पक्षहरूको समष्टिगत स्वरुपलाई वातावरण भन्न सकिन्छ। यसर्थ सम्पूर्ण मानव, माटो, पानी, ढुंगा, खनिज, हावा, रुखबिरुवा, पहाड, उद्योग कलकारखाना, किटपतंग लगायत तिनीहरूको व्यवस्थापनका लागि विकसित भएका वा गराइएका विभिन्न भौतिक संरचनाहरूको एकल वा परस्परमा बन्नजाने स्वरुप नै वातावरण हो भन्दा अत्युक्ति नहोला।
माथि उल्लेखित पक्षहरूको कुनै न कुनै रुपमा सहसम्बन्ध भएर नै वातावरणीय चक्र संचालित भैरहेको हुन्छ। यी पक्षहरूबीच असामञ्जस्यता वा नकारात्मक प्रभावद्वारा विकसित घटनाक्रमले नै वातावरणमा असन्तुलन पैदा गरी जोखिमलाई प्रश्रय दिइरहेको हुन्छ। विकास निर्माणका कार्यहरू वस्तुपरक र विद्यमान वातावरणीय श्रोतहरूको क्षमताले बहन गर्नसक्ने खालको हुनुपर्दछ।
खासगरी हावापानी परिवर्तन, आर्थिक सामाजिक सांस्कृतिक असन्तुलन, उर्जाका श्रोतहरूको अनियन्त्रित दोहन, अनियन्त्रित वस्ती विकास तथा सहरीकरण जस्ता विविध पक्षहरूले समग्र वातावरणमा असन्तुलन पैदा गरी जोखिमलाई बढावा दिइरहेको यथार्थलाई स्वीकार गर्नुपर्ने बाध्यता रहिआएको छ। तथापि प्राकृतिक श्रोतसाधन र यसका अवयवहरूमा कुनै किसिमको खलल नपुग्ने गरी तिनीहरूलाई आफ्नै मौलिक स्वरुपमा कायम राख्ने खालको निरपेक्ष संरक्षण गर्न प्रयासरत रहनु पनि उत्तिकै जरुरी देखिन्छ।
वातावरण र यसका अवयवहरूमा हुनजाने ह्रासले परिणाम स्वरुप माटोको प्राकृतिक गुणमा स्खलन पैदा गरी कमजोर सतही बनावटका कारण वर्षातको पानीलाई शोषण गर्न सक्ने क्षमतामा ह्रास आउने भएकोले पानीको संचय कम हुन गई जोखिम बढ्न थाल्छ।
पानी वातावरणको एक अभिन्न अंग हो। रोगजन्य किटाणु नभएको तथा गुणस्तर मापदण्ड बमोजिम विभिन्न खनिज तत्त्वहरू ठिक-ठिक मात्रामा भएको पानीलाई गुणस्तरीय पानि भन्न सकिन्छ। प्रदूषित वा गुणस्तरहीन पानीले मानव लगायतका आम जीवित प्राणीहरूको दैनिक जीवनलाई असजिलो मात्र होइन बरु सम्पूर्ण पारिस्थितिक प्रणालीमा समेत ठूलो असन्तुलन ल्याउन सक्ने भएको हुँदा यस सम्बन्धमा सम्बन्धित सबै सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्दछ। प्रदूषित पानीले मानिसहरूको स्वास्थ्यमा समस्या उत्पन्न गरी प्रकारान्तरले सामाजिक तथा आर्थिक रुपले समेत दीर्घकालीन असर पुर्याउँदछ।
जैविक हिसाबले गुणस्तरहीन पानीको प्रयोगका कारण आँउ, हैजा, टाइफाइड, कमलपित्त जस्ता पानीजन्य रोगहरू लाग्नसक्ने सम्भावना रहन्छ। तातोरगत भएका जनावरहरूको मलमुत्रमा हुने इकोली नामक ब्याक्टेरियल कन्टामिनेसनका कारण हामीले पिउने पानी प्रदूषित हुनजान्छ। त्यसैगरी मूलतः भूमिगत पानीमा पाइने आर्सेनिकयुत्त पानी पिउनाले विभिन्न खालका स्वास्थ्य सम्बन्धी समस्याहरू आउन सक्छन्। वास्तवममा वातावरणमा विभिन्न प्राकृतिक तथा मानवजन्य कृयाकलापबाट आर्सेनिक मिसिनपुग्छ। भूक्षय, पृथ्वीको गर्भभित्र तातोपानी पृथ्वीको सतहमा आउँदा सतहको पानीमा पनि आर्सेनिक मिसिन पुग्छ।
खासगरी गुणस्तर मापदण्डले तोकेको संघनन सीमाभन्दा बढी आर्सेनिकयुत्त पानी पिउँदा छाला सेतो र बाक्लो हुने, आंशिक प्यारालाइसिस तथा हातखुट्टाहरू निदाउने जस्ता समस्याहरू देखापर्दछ। अजैविक अवस्थाको आर्सेनिकले फोक्सो, छाला, मृगौला र प्रोस्टेट जस्ता संवेदनशील अंगहरूमा दीर्घकालमा देखिने गरी क्यान्सर लगाउने सम्भावना रहन्छ। त्यसैगरी पिउने पानीमा हुनसक्ने नाइट्रेट, म्यान्गानिज, क्याडमियम, एमोनिया लगायतका तत्त्वहरू गुणस्तर मापदण्डले तोकेको संघनन सीमाभन्दा बढी भएमा विविध खालका स्वास्थ्य समस्याहरू आउन सक्छन्।
पानीलाई गुणस्तरीय बनाउन प्रथमतः पानीको श्रोतको संरक्षण जरुरी पर्दछ। पानीमा मिसिन सक्ने बाह्य वस्तुहरूबाट श्रोतलाई संरक्षित गरिराख्नु पर्दछ। खानेपानी प्रणालीका पाइपलाइनमा हुनसक्ने सम्भावित लिकेजलाई मध्यनजर गरी यथासमयमै मर्मतसंभार गर्ने तथा निरन्तर अनुगमणमार्फत पिउने पानी प्रदूषित हुन नदिने उपाय अवलम्बन गुर्नपर्दछ। कुनै पनि तरिकाबाट हुनसक्ने जैविक प्रदूषण नियन्त्रण गर्न आवश्यक मात्रामा क्लोरिनेसन गरी पानी वितरण गर्नुपर्दछ।
क्लोरिनको मात्रा अपुग भएमा सम्भावित किटाणुहरू नमर्ने हुनसक्छ भने यसको निरन्तरको अधिक प्रयोगले छाला तथा स्नायुमा असर पर्ने हुनसक्छ। भौगोलिक बनावट र पानीको श्रोतको सहसम्बन्ध तथा दैनिक प्रयोग हुने पानीको मात्राको आधारमा पानीलाई पिउन योग्य बनाउन सामान्य फिल्टर, रफिङ, स्लोस्याण्ड, प्रेसर फिल्टर रिभर्स अस्मोसिस जस्ता फिल्टर विधिहरू निर्माण वा जडान गरी पानीलाई गुणस्तरीय बनाई प्रयोगमा ल्याउनुपर्दछ।
कतिपय अवस्थामा मानवीय कृयाकलाप र त्रुटीका कारण पानीको गुणस्तर ह्रास भैरहेको हुन्छ। यसतर्फ हामी सबै सचेत रही अब उप्रान्त त्यस प्रकारका कृयाकलापहरूलाई न्यूनीकरण गर्न आफैँबाट सुरु गर्न पर्दछ। उद्योग कलकारखाना संचालनका क्रममा त्यहाँबाट निस्कने जैविक तथा अजैविक लगायतका उपउत्पादक विषादीहरू पिउने पानीको श्रोतमा मिसिन नदिई व्यवस्थित तरिकाले उपचार गरी बिर्सजन गर्नुपर्दछ।
कृषिजन्य उत्पादन बढाउने ध्येयले अनियन्त्रित रुपमा प्रयोग गरिने युरिया डिएपी जस्ता रासायनिक मलहरूको अन्धाधुन्ध प्रयोग गर्नुको साटो जैविक प्राङ्गारिक मलको उत्पादन र प्रयोगमा अनुदान र उत्साह थप्नुपर्दछ। कडा खालका किटनाशक औषधिहरूको प्रयोगमा नियमन गरी जिवातुको प्रयोगलाई प्रर्बद्धन गर्नुपर्दछ। अन्यथा यस प्रकारका रसायनहरूले प्रत्यक्ष परोक्ष रुपमा पानीलाई विषात्त बनाइरहेको हुन्छ।
कमजोर ढल व्यवस्थापन तथा बाटोघाटो र खानेपानीको वितरण प्रणालीको विकासका क्रममा आवश्यक समन्वयको अभावमा हुने निरपेक्ष कृयाकलापले पिउने पानीको गुणस्तरमा गिरावट ल्याउने भएको हुँदा यस सम्बन्धमा सम्बन्धित सरोकारवाला पक्षहरूले परस्पर सूचनाका आधारमा समन्वयात्मक रुपले कामकारबाहीहरू गर्नुपर्दछ। किचन, बाथरुम आदिबाट निस्कने फोहरजन्य पदार्थ तथा फोहर पानीलाई सिधैँ पिउने पानीका श्रोतहरूमा मिसाउनु हुँदैन।
विभिन्न किसिमका साबधानीहरू अपनाउँदा अपनाउँदै पनि हामीले पिउने पानी प्रदूषित हुनसक्ने हुँदा जोखिमको परिस्थिति रहेकोमा बाहेक हिउँद र वर्षात गरी कम्तिमा पनि वर्षको दुई पटक पानीको नमुना परीक्षण गराई प्रयोगमा ल्याउन राम्रो हन्छ। यसका लागि नजिकैको पानी परीक्षण प्रयोगशालामा गई पानी परीक्षण गराउनु पर्दछ।
अन्त्यमा, समग्र वातावरण र गुणस्तरीय पानीबीच अन्योन्याश्रित सम्बन्धलाई जोगाइराख्न विद्यमान जलश्रोत संरक्षणका लागि तत्कालीन, मध्यकालीन एवम् दिर्घकालीन उपायहरूको कार्यान्वयनमुखी अवलम्बन आवश्यक देखिन्छ। मूलतः तत्कालीन उपाय अन्तर्गत जलश्रोतको विनाश वा स्खलन हुने कृयाकलापलाई निरुत्साहित गरी श्रोतहरूको निरपेक्ष संरक्षणको माध्यमबाट विकासको क्रमलाई जोखिम न्यूनीकरणका हिसाबले प्रोत्साहित गर्नुपर्दछ।
तहगत विकास आयोजनाको वस्तुपरक प्रारुप बनाउँदै विकासको प्रकिया अगाडि बढाउन सके मात्र सारभूत कार्यान्वयनतिर लागेको देखिनेछ। आफनो माटोको परिवेश सुहाउँदो संरचनागत विकासका माध्यमबाट गुणस्तरीय पानीको पर्यात्त पहुँचलाई मूलभूत गन्तवुय बनाई तदनुरुप आउँदा दिनहरूमा दिगो मानवीय सामाजिक आर्थिक विकासको माध्यमबाट प्रतिफल उन्मुख व्यवहारिक विकास नगरी गुणस्तरीय पिउने पानीका कारण हुनसक्ने वातावरणीय जोखिम कम भएको मान्न सकिने छैन।
(लेखक संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, नेपालगञ्जका केमिष्ट हुन्।)