मेरो बुवा प्रधानाध्यापक हुनुहुन्थ्यो। त्यसैले शिक्षाको प्रारम्भ मैले आफ्नै घरबाट प्राप्त गर्ने अवसर पाएँ। घरबाट २० मिनेटको दूरीमा अवस्थित महेन्द्र माध्यामिक विद्यालय थियो। त्यहाँ नै उहाँ प्रधानाध्यापक भइ काम गर्नुहुन्थ्यो। विद्यालयमा अध्यापन गराउनका निमित्त घरमा बुवाले धेरै शिक्षकहरू राख्नुभएको थियो।
त्यसै क्रममा अक्षारम्भ 'क' लेख्न धेरै मुस्किल परेको घटना मानसपटलमा अझ ताजै छ। हाम्रो घरमा बस्ने एक शिक्षक जो अहिले पनि प्राध्यापनमा हुनुहुन्छ, उहाँको जोडीले नै मलाई अक्षर चिनाउनु भएको थियो। सुरुमा उहाँ दुवै जनाले 'क' लेख्न सिकाउनुभयो। मैले उल्टो लेखेँ। धेरैपटक सिकाउनुभयो 'क' लेख्न तर जतिपटक लेखे पनि यस्तो उल्टो मात्र लेख्थेँ। सरले ' यस्तो उल्टो क लेख त' भनेर दिनुभयो। बल्ल मैले सुल्टो 'क' लेख्न जानेँ। सर र म्याम दुवै जना खुब हाँस्नुभएको थियो, उल्टो दिँदा सुल्टो लेखेको देखेर। त्यसैगरी पूरा अक्षर चिनेर मात्र मलाई विद्यालयमा भर्ना गरियो। बुवाले पढाउने विद्यालयमा १ कक्षामा भर्ना गरियो।
एक कक्षाको पढाइ पूरा भयो। मैले दोस्रो स्थान हासिल गर्न सफल भएँ। त्यसपछि मलाई र भाइलाई बोर्डिङ स्कुलमा भर्ना गरियो एलकेजीमा। त्यस विद्यालयमा पनि एलकेजी र यूकेजी मात्र पढियो। विविध कारणवश फेरि अर्को बोर्डिङमा भर्ना गरिदिनुभयो। त्यस विद्यालयमा पनि २ वर्ष मात्र पढेँ। मेरो बोर्डिङको पढाइ त्यतिमै सीमित रह्यो। समयको हुरीले मलाई फेरि पहिले नै पढेको विद्यालयमा पुर्यायो जहाँ बुवाले पढाउनु हुन्थ्यो।
बोर्डिङको २ कक्षा पास गरेर विद्यालयमा भर्ना हुन अरू ४/५जना साथीहरू पनि थिए। हामी पाँचै जनालाई माथिल्लो कक्षामा भर्ना गर्न परीक्षा लिइयो। परीक्षा दियौँ। त्यसपछि हामी हामीलाई ३ र ४ कक्षा नपढी ५ कक्षामा भर्ना गर्ने निर्णय सरहरूले गर्नुभयो। त्यसैगरी मैले पढाइलाई निरन्तरता दिँदै थिएँ। समाजमा शिक्षाप्रतिको चेतना सहजै देखिन्थ्यो। मजस्ता वरपरका बालबालिकाहरू स्कुल जाने आउने गरेको पाइन्थ्यो। यद्यपि देशको राजनीतिक वतावरण सहज थिएन।
कुरा २०५८ सालको हो जतिबेला म कक्षा ७ मा अध्ययनरत थिएँ। पढाइ त हाम्रो विद्यालयमा राम्रो हुन्छ भन्ने सुनिन्थ्यो र म महसुस पनि गर्थें। जसरी बुवाको प्रशासनिक काम चुस्त दुरुस्त हुनाले पनि हो भन्ने जनविश्वास थियो। विद्यालयमा विद्यार्थीहरू अनुशासित हुन्थे। विद्यार्थीसामु प्रअको एक नजर पर्ने बित्तिकै सबै डराउँथे। मलाई पनि बुवादेखि डर लाग्थ्यो। विद्यालयमा सबै शिक्षकहरू आआफ्नो पिरियडमा ठिक समयमा नै कक्षामा प्रवेश गर्दथे। त्यसैगरी विद्यालय पनि राम्रैसँग चलिरहेको थियो।
२०५८ वैशाख शैक्षिक सत्र सुरुको समय हो, विद्यालयमा पढाइ भएको एक हप्ता मात्र भएको थियो। वैशाख १६ गते, आइतबारको दिन थियो। सबै सर-म्यामहरू पहिलो पिरियड अध्यापन गर्न कक्षामा प्रवेश गरिसकेका थिए। १०:४५ बजेतिर एक्कासी माओवादी (छापामार) आएर सरासर अफिस रूममा गए। 'ध्रुव सर खै?' भन्दै हातमा हतकडी लगाइदिए। कम्मरमा बम फिट गरेर बुवालाई अपहरण गरी विद्यालयभन्दा माथितिरबाट लगे। त्यसपश्चात विद्यालयमा एक किसिमको असहज वातावरण सिर्जना भयो।
सबै शिक्षक विद्यार्थीहरू अन्योल भए। के गर्नी, कसो गर्नी भन्दै सब रून थाले। म पनि मुर्छित भइ विद्यालयमा ढलेछु। रूँदै दाजु पनि मामालाई बोलाउँछु भनी जानुभएछ। उहाँ हाम्रो विश्वासिलो केही राजनीतिक दख्खल राख्ने अविभावक हुनुहुन्छ। साथीहरूले सम्झाउँदै मलाई घरमा ल्याए। घरमा पनि तुरून्त खबर आइसकेछ।१७/१८ जना सबै शिक्षकहरू हाम्रै घरमा आई जम्मा हुनुभयो। कोही शिक्षकले नरोऊ भनी सम्झाउन लाग्नुभयो। उहाँहरूको माया र स्नेहले हामी सम्हालियौं।
सबै शिक्षक घरमै बसी छलफल गर्नुभयो। त्यसपछि सरहरूले हामी माउ मरेको चल्ला झैँ भएर विद्यालय खोल्न सक्दैनौँ भन्नुभयो। जब सर आउनुहुन्छ तब हामी विद्यालय जान्छौँ भनेर थप्नुभयो। हामीलाई ओल्लो घर, पल्लो घर, छरछिमेकहरू आएर सम्झाइबुझाइ गर्नुभयो। उक्त घटनाप्रति सबैले खेद प्रकट पनि गरे। कोही आवेगमा आएर विभिन्न संवेगहरू पोखे। केही अभिभावकहरू घरमै आएर माओवादीलाई गाली गर्दैगर्दा हजुरआमाले गाली नगर्न सुझाव दिनुभयो।
'ती माओवादी छापामारहरूका आमाले पनि तिनलाई नदेखेको कति भयो, तिनका आमा पनि मैँजस्तै होलान्, सन्तानकै पर्खाइमा होलान्' भन्दै गाली गर्नेलाई पनि पठाउनुहुन्थ्यो। 'मेरो छोरो असल छ, धैर्यशील छ, उसलाई भगवानले पठाउनुहुन्छ' भन्दै भगवानको नाम जप्दै बस्ने गर्नुहुन्थ्यो हजुरआमा।
जुनबेला हामी बेलुका खाना खान लाग्दै थियौँ रेडियो नेपालले प्रमुख समाचारमा 'धादिङ नीलकण्ठ गाविस वडा नं ६ स्थित महेन्द्र माविका प्रधानाध्यापक ध्रुवप्रसाद रिजाललाई माओवादी छापामारहरूले अपहरण गरी लगेका छन्' भन्ने समाचार हाम्रो कानमा परेको थियो। त्यसपछि फेरि केहीबेर परिवारमा सन्नाटा छायो। छिमेकीहरूबाट केही सान्त्वना प्राप्त भए पनि त्यस रात रोएरै बित्यो।
भोलिपल्ट सरकार पक्ष र प्रतिपक्षका नेताहरू र पत्रकार राजेन्द्र प्रताप शाह घरमा आई के गर्ने कसो गर्ने भन्ने सम्बन्धमा छलफल भयो। पत्रकारले हामी सब परिवार हजुरबा, हजुरआमा, आमा, दाइ, म र भाइ सबैको फोटो खिचेर लगी गोरखापत्रमा प्रकाशन गर्नुभयो। जुन हामीलाई भोलिपल्टै प्राप्त भयो। पत्रिकामा क्याप्सन (विवरण) सहितको तस्वीर हामीलाई प्राप्त भयो जुन अहिले पनि सुरक्षित छ।
त्यही दिन बेलुका विभिन्न ओहोदाका प्रहरीहरू एसपी, डि एसपी, इन्स्पेक्टरहरू सबै उपस्थित भइ घटनाको जानकारी लिन खोजे। हामी भने रूल्लटुल्ल पर्दै बसिरहेका थियौँ। त्यसपछि एकजना प्रहरीले झोलाबाट दूरविन झिकेर टाढा-टाढा हेर्दै हामीलाई सम्झाउँदै तिमीहरूको बुवालाई केही पनि भको छैन अर्थात् माओवादीले मारेका छैनन् भनेर सान्तवना दिए। त्यसले केही मात्रामा मन हलुङ्गो त भयो तथापि मनमा आनन्द चाहिँ थिएन। साथै उक्त प्रहरीहरूले कुनै पनि मूल्यमा खोजतलास गर्छौं भन्दै विश्वास पनि दिलाए। ओल्लो घर, पल्लो घर, छिमेकीले ध्रुव सर छिटो आउन् भनेर भगवान सम्झी भाकल पनि गरे।
अपहरण घटना भएको तेस्रो दिन (वैशाख १८) गते राति ११ बजेतिर दुई जना व्यक्तिको साथमा बुवा पनि देखिनुभयो। अकास्मात त्यो दृश्यले हामी एकछिन त सपना हो कि विपना हो भन्ने महसुस भयो। वास्तविकता के रहेछ भने, माओवादीहरूका कमाण्डरले बुवाको विद्यालयमा भएको लगाव, साहसीपना, तर्कपूर्ण बोली सुनी प्रभावित भएर उक्त दुई जना छापामारका साथ बुवा फिर्ता पठाएछन्। जुन कुरा घटनाको बारेमा बेलिविस्तार लगाएपछि हामीलाई थाहा भयो।
जब बुवा आउनुभएको छिमेकमा थाहा भयो, तत्कालै सबै जम्मा भई खुसी व्यक्त गरे। त्यस रात खुसी हुँदै बित्यो। भोलिपल्ट बिहानै बुवा अपहरित भए पछाडिको अवस्थामा भेटघाट गर्न बजारतिर झर्नुभयो। चिनेजानेको जति सबैले बजारमा जम्मा भई खुसीले जयजयकार गरे। अंकमाल गरी उचाले। बुवा आउनुभएको पर्सिपल्ट पुनः समयमै विद्यालय पुग्नुभयो अनि विद्यालयको वातावरण सहज भयो। सबै विद्यार्थी, शिक्षक र अविभावक खुसी भए।
समय बित्दै, गयो देशमा भने संकटकाल घोषणा भैसकेको अवस्था थियो। जताततै हिंसात्मक खबरहरू रेडियो टेलिभिजनमा प्रसारित हुन्थे। जब म पढ्न बस्थेँ, टेलिभिजनमा हिंसाका खबर प्रसारित भइरहेको हुन्थे। विभिन्न ठाउँमा विद्यालयका विद्यार्थीहरूलाई युद्धमा संलग्न गराइएको खबर आउँथ्यो। त्यसले गर्दा पढाइमा पटक्कै ध्यान जाँदैनथ्यो। आँखा किताबमा भए पनि टिभिमा प्रसारित दृश्यमा जान्थ्यो। कहिले यति जना नेपाली सेनाको ज्यान गयो भनेर आउँथ्यो भने कहिले यति छापामारहरू मारिए भन्ने खबरहरू हेरिन्थ्यो, सुनिन्थ्यो। यसरी दिनहरू बित्दै थिए। वेचैन मनमा अनेक कुराहरू खेलिरहन्थ्यो। घरी हाम्रो परिवार नै सिध्याइदिन्छ कि भन्ने वा अनेक यातना कति सहनुपर्ने हो भन्ने कुण्ठा हुन्थ्यो।
विसं २०६० सालको कुरा हो। तत्कालीन माओवादी पार्टीले धादिङबेसी आक्रमण गर्ने भन्ने खबर गाइँगुइँ सुनियो। घर वरपर वस्तीमा त्रासको वातावरण सिर्जना हुन थाल्यो। हुन त त्यति नै बेला एकैदिनमा माओवादीबाट धेरै ठाउँमा बम, बारूद वर्षाएको भन्ने खबर रेडियो, टिभिबाट बारम्बार सुन्न पाइन्थ्यो। यसै क्रममा स्वयं हाम्रो घरमा पनि त्यसै वर्षको वैशाखमा राति बुवालाई मार्न भनी धेरै संख्यामा माओवादीहरू आएका थिए। 'ध्रुव सर खै?' भनेर खोजे, हामी सबै नाजवाफ थियौँ। एक्कासी हजुरआमाको कोठामा छ कि भनेर खोजे। त्यहाँ नदेखेपछि चोटा कोठा सबै एक-एक गरी खानतलासी गरे। माथिल्लो कोठामा गई आमालाई बन्दुक तेर्स्याएर थर्काए। ट्वाइलेट, बाथरुमसहित बाँकी नराखी खोजे। रातिको समयमा भएकोले हाम्रो होस थिएन।
अहिले मलाई लाग्छ, त्यस दिन बुवा अर्कै गाउँ गएर बस्नुभएको थिएन भने उहाँलाई जे पनि हुनसक्थ्यो। त्यसपछि माओवादीहरू घरीघरी आउने, हाम्रो घरको हरेक कुराहरू बुझ्ने गर्न थाले। त्यसरी ज्यान जोगाउनै गाह्रो हुने भएपछि आफ्नो भएको घर परिवार छोडी कोठा भाडा तिरेर धादिङबेँसीमा नै बस्नुपर्ने बाध्यता सिर्जना भयो। त्यस समयमा म कक्षा ९ को परीक्षा दिने तयारीमा थिएँ। तर पारिवारिक चिन्ताले गर्दा पढाइमा प्रत्यक्ष असर पुगेको थियो।
परीक्षा त दिनै पर्थ्यो, परीक्षामा सामेल पनि भएँ। केही समयपछि परीक्षाफल प्रकाशित भयो। सामान्य प्रतिशतमा सफल भएछु। एक त घरमा मानसिक चिन्ता र अर्को मेरो परीक्षाको सफलताले हाँसो र रोदनको समिश्रित अनुभूति गरायो। २०६० साल मेरो लागि तनावपूर्ण रह्यो। किनकि बुवा घर जानै पाउनुहुन्न थियो। हामीलाई भेट्नै सक्नुहुन्न थियो। स्वदेशमै भए पनि विदेश गए सरह भएको थियो।
२०६१ सालको सुरुआतसँगै बुवाको सरूवा गरी धादिङबेँसी बजारमै रहेको नीलकण्ठ माविमा आउनुभयो। तत्पश्चात म र भाइ पनि यही विद्यालयमै पढ्ने भनेर आयौँ। बुवाको सरूवा भयो भन्ने खबर विद्यालयमा पुग्यो। धेरै विद्यार्थी तथा अभिभावकहरू निराश देखिन्थे। कतिपयले त अब विद्यालय कसरी चल्छ भनेर कानेखुसी पनि गर्थे। केही विद्यार्थीहरू हामी विद्यालय नै छोड्छौँ भनेर पनि उत्रिए तर प्रशासनले अनुमति दिएन। यसले ती विद्यार्थीहरूलाई मानसिक तनाव ल्यायो।
बुवाले उक्त विद्यालय छोडेपश्चात केही दिन महिना जिनतिन चल्यो। पछि बुवाकै आवश्यकता महसुस गरी केही सचेत अभिभावकहरू बुवालाई लिन भनेर पनि आए। राम्रो सेवा सुविधाको पनि ठोकुवा नै गरे।
वर्तमान अवस्थामा वर्णित घटनाहरू इतिहास साबित भए पनि यसको असर भने यथावतै छ। जुनबेला माओवादीले बुवालाई अपहरण गरेको तेस्रो दिन घरमा फिर्ता ल्याइदिएका थिए, साथमा एउटा काठको बुट्टेदार लट्ठी पनि दिएका थिए। त्यो अहिले पनि हाम्रो घरको भित्तामा सुरक्षित छ। कहिलेकाहीँ हामी बुवासँगै त्यो कोठामा बस्दै गर्दा त्यही लट्ठीको प्रसंग निक्लिन्छ र पुनः हामी जनयुद्धका घटनाहरू सम्झन पुग्छौँ।
एक/दुई वटा प्रसंग भन्नुहुन्छ र म पनि त्यही घटना सम्झन पुग्छु। जस्तैः त्यसबेला तीन जना माओवादीहरू जो बुवालाई हत्या गर्न चाहन्थेँ, स्वयं तिनीहरू नै आफूले बिछ्याएको एम्बुसमा परेर मारिए। त्यही लट्ठी देखेपछि मैले पनि २०६० साल तिहारको प्रसंग सुनाएँ। त्यस दिन लक्ष्मी पूजा थियो। केही माओवादीहरू घरमा आएर भाइ र म भएर घर सजाइएको फूलमालाहरू च्यातचुत पारी ध्वस्त बनाउने काम भयो। त्यस घटनाले आजसम्म पनि मानसिकतामा गहिरो प्रभाव पारेको छ।
संयुक्त राष्ट्रसंघ मानव अधिकार संस्थाले नेपालमा द्वन्द्वले पारेको प्रभाव (सन २०१२) नामक रिपोर्टमा नेपालका स्कुले बालबालिकादेखि समाजका अन्य वर्ग, तह तप्काका मानिसहरूलाई पारेको असर बारे बृहत् वर्णन गरेको छ। त्यस्तैगरी सारा पार्कर (२०११) ले सेज जर्नलमा प्रकाशित लेखमा दश वर्षे सशस्त्र युद्ध र यसबाट परेको प्रभावको बारेमा लेखेकी छिन्। त्यस्तै डा. जेसन हर्टले नेपालको माओवादी युद्ध र यसको प्रभाव नामक लेखमा धेरै मात्रामा विद्यार्थीहरूमा परेको मनोभावानात्मक प्रभावका वृहत छलफल गरेका छन्। यी लेखमा विद्यार्थीको मनोभावानात्मक असरका बारेमा चित्रण गरिएको छ।
जब नेपालमा जनताको शासन आई नेपालको नयाँ संविधान बन्यो, त्यसपश्चात स्थिर सरकारको अभ्यास भएको महसुस भएको छ। अहिले यो एउटा इतिहास साबित भएको छ। तथापि, यसबाट धेरै कुराहरू सिक्न सकिन्छ।