नेपालका करिब ६० जिल्लामा सुन्तला जातका फलफूल खेती हुँदै आएको छ भने ४२ जिल्लामा व्यावसायिक खेती हुँदै आएको छ। व्यावसायिक खेती हुने जिल्लाहरूमा धनकुटा, तेह्रथुम, कास्की, पर्वत, सिन्धुली, रामेछाप, पाल्पा सल्यान, गोरखा, दैलेख, डडेल्धुरा, डोटी, बैतडी आदि जिल्लाहरू हुन्।
नेपालको अर्थतन्त्र विकासमा सुन्तला जात फलफूलको विशेष योगदान छ। सुन्तला जात फलफूल भन्नाले गुलियो स्वाद भएका (सुन्तला, जुनार, भोगटे, चाक्सी, मुन्तला) फल समूह र अमिलो स्वाद भएका (कागती, निबुवा, युरेका, बिमिरो, काली ज्यामिर, नाइटे ज्यामिर) फल समूहलाई जनाउँछ। सुन्तला जात फलफूल सामान्यतया जातीय गुण तथा विशेषताअनुसार फरक-फरक भौगोलिक क्षेत्रमा लगाउन सकिन्छ।
सुन्तला, जुनार कागतीलाई मध्य पहाडी क्षेत्र अर्थात् समउष्ण किसिमको हावापानी भएको क्षेत्रमा खेती गर्न सकिन्छ र सुन कागती, भोगटे चस्मे कागतीलाई उष्ण (गर्मी) हावापानीमा पनि खेती गर्न सकिन्छ। पछिल्लो समयमा बिरुवा पहेँलो हुने, टुप्पो सुक्ने, फल सानो लाग्ने, फल खस्ने, जरा तथा फेद कुहिने, बिरुवा लगाएको केही वर्षमै बगैँचा मर्ने जस्ता समस्याहरूले गर्दा सुन्तला बगैँचा रोपेको केही वर्षमै ह्रास भइरहेका छन्। जसका कारण र समाधानका उपायहरू बारे तल चर्चा गरेको छ।
क) बगैँचा स्थापना गर्दा भौगोलिक सम्भाव्यता अध्ययनको कमी
हामीले फलफूल बगैँचा स्थापना गर्दा त्यहाँको हावापानीको किसिम, मौसमको अवस्था, न्यूनतम र अधिकतम तापक्रम, सामुद्रिक सतहदेखिको उचाइ र मोहडा, माटोको अवस्था, सिँचाइ लगायत अन्य पूर्वाधारको सुविधा लगायतका कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ। यदि यी कुराहरूमा ध्यान दिइएन भने सोचे जस्तो प्रतिफल लिन सकिँदैन र बगैँचा फस्टाउँदैन।
सामान्यतया सुन्तला जात फलफूल सामुद्रिक सतहदेखि ७००-१५०० मिटरसम्ममा उत्पादन गर्न सकिने भए पनि व्यावसायिक उत्पादनको लागि भने १०००-१२०० मिटर उचाइ भएको क्षेत्र र उत्तर पूर्वी मोहडा भएको, औसत १८-३० डिग्री सेल्सियससम्म तापक्रम भएको पारिलो घाम लाग्ने तुसारो नपर्ने भूगोल उपयुक्त हुन्छ भने प्रशस्त प्रांगारिक पदार्थ भएको दोमट पानी नजम्ने, चट्टान रहित माटो उपयुक्त हुने गर्दछ।
ख) गुणस्तरहीन बेर्नाको प्रयोग
'बिउ गुणको फल' भनेजस्तै हाम्रो बगैँचाको भविष्य हामीले रोपेको बेर्नाको गुणस्तरमा निर्भर पर्दछ। बेर्ना खरिद गर्दा नर्सरी स्थापन गरेको ठाउँको उचाइ, मोहडा, त्यहाँको हावापानी, कुन जातको रुट स्टकको प्रयोग भएको छ र साइनको श्रोत कुन हो, आफूले बिरुवा रोप्ने ठाउँको हावापानी सँग मिल्दोजुल्दो छ छैन आदि कुरामा विशेष ख्याल राख्नु पर्छ। सामान्यतया १२०० मिटरभन्दा माथि उचाइ भएको, बडउड सर्टिफिकेसन प्रक्रिया (बेर्ना जाली घरमा हुर्काइएको, उत्तम जातको माउ बोट संकलन गरेको पिसिआर परीक्षण तथा इन्डेकसिंग कार्य भाइरस मुक्त रुट स्टक रसायनहरूबाट बिरुवा उत्पादन) अपनाएको छ कि छैन विशेष ध्यान दिनुपर्छ।
ग) कमजोर बगैँचा व्यवस्थापन
खाद्यान्न र तरकारी बाली जस्तो हाम्रा किसानहरूमा फलफूलका बोटबिरुवा लगाइसकेपछि रेखदेख गर्ने, गोडमेल गर्ने, उपयुक्त सिजनमा मलखाद दिने चलन कम छ। जस कारण भविष्यमा बगैँचा ह्रास उन्मुख हुँदै गएका छन्। सुन्तला जात फलफूल खेती गर्ने कृषकहरूले बाली पात्रो बनाई वर्षभरि गर्नुपर्ने क्रियाकलाप गर्नु अति जरुरी छ। उपयुक्त समयमा बाली लिइसक्ने, सिफारिसअनुसार वा बगैँचाको उमेरअनुसार मलखाद दिने र मलखादमा पनि अझ विशेष धेरै ठाउँमा सुन्तला बगैँचा अनुगमन गर्दा सूक्ष्म खाद्य तत्त्व (जिंक, बोरन, फलाम, मोलिब्डेनम, क्लोरिन, म्यांगानिज) को कमी धेरै देखिएकाले यी खाद्य तत्त्वहरू उपयुक्त मात्रामा सिफारिसअनुसार प्रयोग गर्ने। बाली लिइसकेपछि एकपटक पुस माघतिर बिरुवालाई काँटछाँट गर्नुपर्छ। जसअन्तर्गत पुराना रोगकिरा लागेका, खपटिएका अनावश्यक हाँगाहरू हटाउनु पर्छ र त्यसपछि अनिवार्य रुपमा बोर्डद्योपेष्ट, बोर्डो मिश्रणको प्रयोग गर्नुपर्छ र यसको प्रयोगले बिरुवालाई ढुसी र ब्याक्टेरियाजन्य संक्रमण हुनबाट बचाउने गर्छ। सुक्खा सिजनमा मौसमको अवस्था हेरेर ७-१० दिनको फरकमा सिँचाइ गरिराख्नु पर्छ।
घ) रोग किराको प्रकोप
१) सिट्रस ग्रीनिङ
यो रोग पछिल्लो समय सुन्तला जात फलफूलमा व्यापक प्रकोपको रुपमा फैलिरहेको छ। यो एक ब्याक्टेरियाजन्य रोग हो। यो रोग सिट्रस सिल्ला नामक किराको माध्यमबाट र रोगी माउ बोटबाट लिइएका साइनको प्रयोग गरी उत्पादन गरिएका बोटको माध्यमबाट सर्ने गर्दछ। यो रोगको संक्रमण भएका बिरुवाहरूमा कुनै एउटा/दुइटा हाँगा पहेँला भएका छन् वा सम्पूर्ण बोट नै पहेँलो भएको हुन्छ र फलमा भेट्नो तिरबाट पहेँलो हुँदै गएको हुन्छ। फललाई बराबर साइजमा काटेर हेर्दा एउटा पाटो सानो र अर्को पाटो ठूलो हुने गर्दछ। बिउ फोस्रा तथा खिया लागे जस्ता देखिनुको साथै कहिलेकाहीँ बेमौसममा पनि फूलहरू फुल्ने गर्दछन्। यो रोगको लक्षण जरा कुहिने रोग र खाद्य तत्त्वको कमीले गर्दा पातमा देखिने लक्षणसँग मिल्दोजुल्दो हुने गर्दछ। तसर्थ आँखाले हेरेको भरमा ठोकुवाका साथ भन्न कठिन हुन्छ। ग्रीनिङ रोग हो या होइन भनी एकिन गर्न शंकास्पद बोटका पातलाई प्रयोगशालामा पिसिआर प्रविधिबाट परीक्षण गरी पत्ता लगाउन सकिन्छ। यो रोगको लक्षण सुन्तलाभन्दा जुनारका बिरुवामा अझ स्पष्ट हुन्छ।
यो रोगको निदान गर्न वा यो रोगबाट बच्न निरोगी बिरुवा (जालीघरमा उत्पादित बिरुवा, १२०० मिटरको उचाइभन्दा माथि हुर्काइएका बेर्ना, निरोगी माउबोटबाट साइन लिइएका बिरुवा) को प्रयोग गर्ने। बिरुवा आयात निर्यात गर्दा क्वारेन्टाइन प्रकृया अपनाइएका बिरुवा मात्रै रोप्ने, रोगी बिरुवा नष्ट गर्ने, सिट्रस सिल्ला किराले कामिनी, बन बकाइनो, कडीपातका बिरुवालाई आश्रयस्थल बनाएर बस्ने भएकोले बगैँचा नजिकका यी बिरुवाका बोटहरू नष्ट गर्ने र सिट्रस सिल्ला किराको नियन्त्रण गर्न दैनिक किटनाशक विषादी (रोगर इमिडाक्लोरोप्रीड) को प्रयोग गर्ने।
२) साइट्रस ट्रिस्टेजा भाइरस
यो रोग ट्रिस्टेजा नामक भाइरसको कारणले गर्दा लाग्ने गर्दछ। पछिल्लो समयमा सुन्तला बगैँचामा यो रोग व्यापक प्रकोपको रुपमा देखा परिरहेको छ। यो रोगले गर्दा हुने प्रमुख समस्या भनेको बगैँचा मर्ने हो। यो रोगले गर्दा बगैँचामा देखिने लक्षणहरू भनेको पालुवा आउने बेला नआउने, रोगी बिरुवा पहेँलिँदै जाने, विस्तारै पात झर्दै जाने, बोटको वृद्धि रोकिने, हाँगाहरू शिख देखिने, पछि सुक्ने, बोक्रा खुर्केर हेर्दा खोपिल्टहरू देखिने र फल सानो र कम लाग्ने आदि समस्याहरू हुन्। यो रोगको व्यवस्थापन गर्न साइन र रुटस्टक छान्दा रोगरहित छान्ने, तन्तु प्रजननबाट निकालिएका बिरुवा भाइरस मुक्त हुने भएकोले यस्ता बिरुवाहरू रोप्ने, यदि रोगी बोट भेटिएमा तुरुन्त नष्ट गर्ने र यो रोग लाही किरा लगायत चुसुवा किराले एक बोटबाट अर्को बोटमा सार्ने भएकोले किराको समयमै व्यवस्थापन गर्ने।
३) जरा कुहिने रोग
यो सुन्तला जात फलफूलमा लाग्ने ढुसी जन्य रोग हो। यो रोग फिटोपथोरा प्यारासिटिका/सिट्रोपथोरा नामको ढुसीको कारण लाग्ने गर्दछ। यो रोगको संक्रमणपछि जरा कुहिन थाल्छ र बिरुवाको विकासमा प्रतिकूल असर पर्छ। यो समस्या कलमीभन्दा बिजु बिरुवामा बढी देखिन्छ। खासगरी १००० मिटरभन्दा तल्लो क्षेत्रमा पानी जम्न गई बारी खनजोत गर्दा जरामा चोटपटक लागेमा यो रोग देखिन थाल्छ। यो रोग लागेमा बिरुवामा बोट पहेँलो हुने, पात साना हुने, डाँठको लम्बाइ र वृद्धि कम हुने, हाँगाहरू विस्तारै मर्ने र जरा रातो तथा खैरो हुने आदि समस्याहरू देखापर्छन्। यो रोगको व्यवस्थापन गर्न तीनपाते सुन्तला (ट्राइफोलिट, सिटरेन्ज, सिटरुमेला जस्ता रोग अवरोधक रुटस्टकमा कलमी गरेका बिरुवा मात्रै लगाउने। वर्षा सुरु हुनुभन्दा पहिला (जेठ -असारमा) माटो चढाई बोटको फेदमा पानी जम्न नदिने। रोग लागेका जरा पुस-माघतिर काँटछाँट गरी हटाउने र बोर्डो मिश्रणको घोललाई पात र जारामा भिज्ने गरी छर्कनु पर्छ।
४) फेद कुहिने
यो रोग पनि एक प्रकारको ढुसीजन्य रोग हो। यो रोग फिटोपथोरा प्यारासिटिका/सिट्रोपथोरा नामक ढुसीको कारणले लाग्ने गर्दछ। यो रोगले आक्रमण गरेका बोटको डाँठ र फेद सड्न थाल्छ। सुरुमा बोटको फेद वरिपरि बोक्रा चर्किन थाल्छन् र कुहिन्छन्। साथै बोक्रा खुइलिएर भित्री भाग देखा पर्छ। यो रोगको आक्रमणपछि बोक्राको भित्रपट्टि पहेँलो र खैरो रंग देखापर्छ। जुन सामान्य रंगभन्दा भिन्न हुने गर्दछ। आक्रमण बढी भएमा बोक्रा फुट्न गई गम (खोटी जस्तो) निस्कन थाल्छ। विस्तारै पात पहेँलो भएर झर्ने, हाँगाहरू सुक्दै जान्छन् र अन्त्यमा बोट नै मर्न थाल्छ र कलिला फलहरू झर्ने गर्छन्। यो रोगको व्यवस्थापन गर्न पिच घटाउने, पोटासको प्रयोग गर्ने, वर्षा सिजन सुरु हुनभन्दा पहिला नै बोटको फेद वरिपरि बोर्डोपेस्ट लगाउने, रोग लागेको ठाउँमा खुर्केर बोर्डो पेस्टको लेप लगाउने, ट्राइकोड्रमा नामक जैविक ढुसीको प्रयोग गरी माटो उपचार गर्ने।
५) धुले ढुसी (पाउडरी मिल्ड्यु)
कलिला पात र मुनामा सेतो खरानी जस्तो पाउडरले ढाक्छ, बढी भएमा फलमा पनि आक्रमण सुरु हुनथाल्छ। प्रकोप बढी भएमा पातहरू झर्छन्, हाँगाहरू मात्र बाँकी रहन्छन् र विस्तारै हाँगाहरू टुप्पोबाट सुक्दै जान्छन्। फल झर्ने थाल्छन्, फलको वृद्धि राम्रोसँग नहुने र रोग लागेको भागमा कालो दाग बस्ने हुन्छ। यो रोगको व्यवस्थापन गर्न बिरुवाको काँटछाँट गरी बगैँचामा सफा हावा खेल्ने वातावरण बनाउनु पर्छ। बगैँचामा लहरा जाने बालीहरू (काक्रा, फर्सी, लौका, करेला) आदि बालीहरू लगाउनु हुँदैन र क्याराथियन नामक ढुसी नासक विषादी १ देखि २ मिलि प्रतिलिटर पानीमा हालेर छर्कने। हिउँदमा एकपटक नयाँ पालुवा आएपछि र वसन्त ऋतुमा एकपटक १ प्रतिशतको बोर्डो मिश्रण छर्केर यो रोग नियन्त्रण गर्न सकिन्छ।
६) कत्ले किरा
सुन्तला जात फलफूलमा लाग्ने कत्ले किराले बिरुवाको विभिन्न भाग जस्तै (हाँगा, मुना, फल, पातमा) बसी रस चुस्न थाल्छन्। र, शरीरबाट एक प्रकारको मधुरस निकाल्छन् जसमा केही समयपछि एक प्रकारको कालो ढुसी देखापर्छ। जसले बिरुवाको वृद्धि विकासमा निकै असर गर्दछ। यो किराको नियन्त्रण गर्न किरा लागेका हाँगा, फल, पात जम्मा गरेर जलाउने वा नष्ट गर्ने परजीवी बारुला, शिकारी खपटे आदिको संरक्षण गर्ने। संक्रमण अधिक भएमा दैनिक विषादी वा खनिज तेल (सर्बो) १० मिलि प्रतिलिटर पानीमा मिसाई प्रयोग गर्नु उपयुक्त हुन्छ।
प्रत्यक्ष रुपमा बगैँचा ह्रास गर्नुमा यी माथि उल्लेखित रोग किराको प्रमुख भूमिका रहे पनि अन्य रोग किरा जस्तै- लाही, पतेरो, फल कुहाउने औसा, झ्याउ, लिफ माइनर, कालो ध्वासे, क्यांकर, पटुके, पिंक आदिको पनि बगैँचा साथै उत्पादन ह्रास ल्याउनुमा भूमिका रहेको हुन्छ।
(लेखक बाली संरक्षण प्रयोगशाला, सुन्दरपुर कञ्चनपुरका कृषि प्राविधिक हुन्।)