केही दिनअघि कास्कीका एक वडाध्यक्ष धेरै चर्चामा रहनुभयो। विषय हो, बाँदर आक्रान्तबाट जोगिन रूख कटान गर्ने कुरा। बाँदरले अति गरेपछि गाउँबस्तीका रूख कटान गर्ने सार्वजनिक सूचना नै जारी गरिएछ।
यसका पक्ष र विपक्षमा समाजदेखि संजालसम्म हालका बाँदर पीडित, बाँदरद्वरा लखेटिएकाहरू संरक्षणकर्मीहरू (वातावरण/वनस्पति/वन्यजन्तु) र कहिँकतै सम्बन्ध नै नहुनेहरू पक्ष र विपक्षमा आ-आफ्ना मत जाहेर गरी नै रहेका छन्। एक पक्षले भन्छ- रूख काट्नु अपराध हो, रूख काट्ने बुद्धि यिनीहरूलाई कसले दियो? हैन यस्ता निर्णय गर्ने यिनीहरू के खान्छन्? यिनीहरू कहाँका प्राणीहरू हुन्?
अर्को पक्ष भन्छ- तिमीहरूलाई के थाहा छ बाँदर आतंक कस्तो हुन्छ भनेर? स्याहार्नी बेला भएको अनाज बाँदरले केही घण्टामा सखाप पारेको देखेका छौ? खेतबारीको कुरा छाडौं, घरभित्र धन्सारमा राखिएको अन्न समेत हुलका हुल बाँदर छिरेर सखाप पार्दिँदा कस्तो हुन्छ? घरमा भएका केटाकेटी, महिलालाई नटेरी पकाएर राखेका कुकर, कसौडी, कराई बाँदरले बोकेर लगेको पीडा कस्तो हुन्छ, भोगेका छौ?
यिनीहरूको बीचमा रमिता हेर्ने न संरक्षणकर्मी, न बाँदर पीडित; पशुपती र स्वयम्भूमा बाँदरको रमाइलो हेर्ने अर्को जामत देखिन्छ। जसलाई गहिराइमा पुग्नु रहर नि छैन, आवश्यकता पनि छैन। यही पक्षहरूको मध्येमा म पनि एउटा पक्षको प्रतिनिधित्व गर्दछु।
मेरो घर नेपालको पहाडी क्षेत्र, जुन क्षेत्र बाँदर समस्याबाट पीडित मध्येको एक जिल्ला गुल्मी, छत्रकोट गाउँपालिका- ५ मा पर्दछ। यो भूभागमा एक दशक अघिसम्म बाँदर थिएन, आक्कलझुक्कल समूहबाट छुट्टिएर आएका एक दुई बाँदर गाउँ छिर्थे जसलाई हामी एक्ले बाँदर भन्थ्यौं। जसलाई हेर्न, जिस्काउन ठूलो भिड लाग्थ्यो। अर्को दिन स्कुलामा गएर फूर्तिका साथ मैले त हिजो बाँदर देखेको नि भन्दै साथीभाइसँग गफ लडाउथ्यौं। दशक अगाडि यस भेगमा बाँदर भन्ने नजानेको भए पनि छिमेकी गाउँतिर भने फाट्ट्फुट्ट बाँदर थिए। जस्तै छत्रकोट- ६, दौघा, छत्रदेव अर्घाखाँची।
कुरा गरौं अहिलेको अवस्था। मेरो परिवार छत्रकोट- ५ मान्कोटमै बस्दै आएको छ तर विडम्बना, अब त्यो परिवार करिब करिब बसाइँसराइ गर्ने संघारमा पुगेको छ। प्रमुख कारण हो, बाँदर आक्रान्त र खानेपानीको समस्या। वर्षौंदेखि झेल्दै आएको खानेपानीको समस्या त टरेकै थियो, तर बाँदरले अब केही गरी बस्न खान दिएन किनभने १२ घण्टा (बाँदरले रातिमा केही गर्दैन) निगरानी गर्नै गाह्रो। त्यही पनि निगरानी भई नै राखेको हुन्छ, तर नि आँखा झिमिक्क सयौंको सङ्ख्यामा बाँदरका हुल छिरेर मिनेटभरमै अनाज सखाप पार्दिन्छ।
गाउँमा पहिले चैते मकै रोप्ने चलन थियो (फागुन/चैतमा रोपिने, नियमित मकै वैशाख/जेठमा रोपिन्छ)। चैते मकै बन्द भयो, एकबाली धान र अर्को बाली मकै रोपिने पहाडका खेतमा मकै रोप्न छोडियो किनभने पहाडी खेतहरू बेसीमा बस्तीबाट टाढा हुने भएकाले मकै जोगाउन असम्भव जस्तै हुनेभयो, त्यो पनि बन्द भयो। आजकाल ती खेतहरूमा जेनतेन एकबाली धान (असार/साउनमा) अरुबेला क्रिकेट मैदानमा रुपान्त्रण हुने गर्दछन्।
अलि अगाडिसम्म गाउँभरि प्रशस्त मात्रामा हुने उखु लगभग लोप भैसकेको छ। घरमा भित्राएको मकैको घोगा, बारीमा फलेका केराउ, चना, दाल, आलुका बोट, माटोमुनिको फलेको आलु मात्र होइन, रोपेको बिउ आलु समेत खोस्रेर सखाप। भर्खर उम्रेका अन्नबालीका टुँसा केही पनि राख्दैन बाँदरले, पकाएर राखेको खाने कुरा भाडै सित हाम्रै आँखा अगाडि कैयौं पटक दगुराएको छ बाँदरले।
प्रायः झ्याम्म परेका रूख अनि बाँसका झ्याङमा बास बस्ने यस जन्तुले एकै रातमा सयौं बाँसका तामा भाचिदिएको देखेका छौं। डाले घाँसका भर्खर पलाएका मुना, हाँगा, सखाप पारेको छ, महिला र केटाकेटीलाई त टेर्दा पनि टेर्दैन उल्टै आक्रमण गर्दिन्छ। त्यति मात्र होइन, अलि एकान्तमा पार्यो भने त पुरुषलाई पनि छोड्दैन, एकदुई पटक म आफैं शीकार भएको छु, मुटु फुट्ने गरी दौडेर ज्यान जोगाएको बाँदरको ठूलो र आक्रामक हुलसँग।
के-के गरिएन गाउँमा भने विषयमा चर्चा गर्दा, गाउँभरि बाँदर लखेट्ने अभियान चलाएर ३ डाँडा कटाएर जंगलमामा पनि छोडिए। गुलेली लगायत अन्य घरेलु हतियार प्रयोग भए। यदाकदा भरुवा बन्दुकका नाल तेर्सिए, पड्किए पनि। महावीर पुनका बाँदर धपाउने बन्दुक नि पड्किए। बाँसका टुप्पा काट्ने अभियान पनि चले तर अहँ! बाँदर झन बढ्दै गए। झन् आक्रामक हुँदै गए। झन् घुलमिल हुन थाले। गाउँका बुद्धिजिवीहरूको सल्लाह बमोजिम पानीका मुहान नभएर पानी खान बाँदर गाउँ छिरेको हो भनेर जंगलको भित्री भागमा कुवा (पँधेरा) बनाउने काम नि भए। खर्कमा गरिने खेतिपातीहरू लगभगग बन्द नै भए। अहँ! केही सीप लागेन। समस्या झन्-झन् विकारल हुँदै गयो।
पूर्ण रुपमा कृषिमा निर्भर परिवार, त्यसमाथि पहाडको कृषि निर्वाहमुखी पनि छैन, जेनतेन ४/५ महिना खान पुग्ने हो। त्यो वर्गले के गर्ने? ठिक्कको परिवार त विकल्प भए सहरतिर बसाइँ सर्ला रे, अरुले के गर्ने? नङ्ग्रा खियाएर खेतिपाती गरेको बाँदरलाई सुम्पिदिने? बाँदरका कारण बसाइँसराइ गर्ने होइन भन्ने मेरो र मेरोजस्तो अन्य परिवारहरूलाई पनि लागेको छ र लागिरहनेछ।
फलस्वरुप, अब बाँदर धपाएर हुँदैन, बरु बाँदरमैत्री कृषि अङ्गिकार गर्नुपर्छ भनेर गाउँघरमा व्यक्तिगत र सामूहिक तबरबाट सानातिना त्यस्ता कार्यक्रमहरू देखिन थाले। तर स्थानीय सरकार र अन्य टाढाका सरकारसँग अहिलेसम्म त्यस्ता कुनै योजना देखिएका छैनन् र वास्ता पनि छैन। बरु चुनाबमा सबै पार्टीका घोषणापत्रमा बाँदर समस्या मुक्त गराउने वाचा भने देखिन्थे।
गाउँमा केही समूहले कागती, टिमुर जस्ता बिरुवाहरू जुन नगदे बाली पनि हुन् र बाँदरले क्षति नि नगर्ने खालका भए हावा पानी उचित हुने, काँडा हुने, राम्रो बजार भाउ भएका बिरुवा रोपिए। तर सबै बिरुवाहरू मरिसके। कारण पानीको समस्या। खडेरीमा पिउने पानीको हाहाकार हुने ठाउँमा कहाँबाट बिरुवामा पानी लगाउनु र बिरुवा हुर्काउनु?
कागतीले भने राम्रै आशा देखाइरहेको छ जुन यस ठाउँमा बाँदरको बिगबिगीबाट जोगिन राम्रो बैकल्पिक नगदे बाली साबित हुनसक्छ। स्थानीय सरकारले यस्ता कार्यक्रमहरूलाई ट्रायलको रुपमा लिएर बाँदरले क्षति पुर्याउने अन्न बालीको स्थानमा अन्य नगदेबाली जस्तै कागती, टिमुर, खुर्सानी, अदुवा, बेसार, कडा खालका फलफूलहरू रोज्न सकिन्छ र अभियान चलाउन सकिन्छ।
सबै कुराको अध्ययन गरी सफल कृषि भएका देशमा जस्तै एक गाउँ एक कृषि कार्यक्रम अगाडि बढाउनु पर्दछ जसले मात्रै नेपाललाई कृषिमा व्यावसायिक बनाउन सक्दछ। अहिलेका स्थानीय सरकारहरू एकजना किसानलाई जो व्यावसायिक किसान पनि होइन उसैलाई ५ वटा कागती, १० वटा केरा, एक घार माहुरी, एउटा बाख्रा, अझ सिलाई कटाइ तालिम पनि उसैलाई बाँड्न व्यस्त छ। कमसेकम एउटा सानो समूह अथवा व्यक्तिलाई नै २०० कागती, अर्कोलाई ५० घार माहुरी, अर्कोलाई २०० केराको बिरुवा, अर्को समूहलाई बाख्रा दिनू। त्यसलार् ट्रायलको रुपमा लिनू, सफल भए अरु लागु गर्नू। उनीहरूले भने बमोजिम नगरे उनीहरूलाई कारबाही गर्नू। यस्ता कार्यक्रमबाट बाँदर प्रकोपबाट केही हदसम्म जोगिन सकिन्छ। कृषिलाई निरन्तरता दिन सकिन्छ। साथै बसाइँसराइ पनि रोक्न मद्दत मिल्छ।
यी त भए बाँदरका समस्या। यसको तत्कालीन तथा दीर्घकालीन समाधान के त? अब कुरा गरौं- रूख काट्ने प्रसंग। गाउँमा जसको घरमा फलफूलको रूख हुँदैनथे, उनीहरू फलफूलका बोट हुनेहरूलाई भन्ने गर्थे कि त्यही फलफूलले गर्दा बाँदर आतंक बढेको हो। त्यो पनि हो जस्तो लागेर बारी अनि कान्लामा भएका नास्पाती, आरु, बेलौती, कटहर, केराका बोटहरू पनि हटाइए अथवा डाले घाँसमा परिण्त गरिए, मतलब फल्न दिइँदैन अचेल। मेरै घरमा हुने अग्ला-अग्ला मेवाका बोट विगत केही वर्षदेखि हुनै छाडे। आजकाल गाउँघरमा पनि चितवनकै मेवा खाने हो।
रूख काट्नु नराम्रो पनि होइन, तर कुरा रहन्छ कस्ता रूख काट्ने? कति काट्ने? कहाँका काट्ने? कसरी काट्ने भन्ने हो। पोखराको रूख काट्ने सूचनाले पक्कै पनि गाँउघरका सम्पूर्ण रूखहरू काटेर चिल्लो नै बनाउने, ध्वस्तै पार्ने पक्कै भनिएको होइन होला। केबल घर वरिपरि भएका डालेघाँस, कु–काठ, काठहरू पनि काटछाँट गर्ने भनिएको होला। बारी कान्लाका बुढा रूखहरू हटायो भने बल्ल मुनाहरू लाएर हुर्किन्छन्।
प्राकृतिक वातावरणमा बिरुवाहरूको प्राकृतिक पुनरुत्पादन हुन्छ। परिपक्व, बुढा रूखहरू हटाउन डराउनु पर्दैन। विधि पुर्याएर गर्यो भने त्यो राम्रो हो। जंगल नै फडानी पो गरिनु भएन। बाँदर खासै हिँड्न मन पराउँदैन, एकबाट अर्को रूखमा हाम फाल्दै हिँड्न मन पराउँछ। त्यसैले घर वरिपरिका बुढा र आनावश्यक रूखहरू हटाउँदैमा केही फरक पर्दैन। केही हदसम्म बाँदर आतङ्कबाट जोगाउँछ।
सहरमा लाखौंको पसल अगाडि नगरपालिकाले बिरुवा रोपिदिन्छ पसलेले त्यो बिरुवामा एक थोपा पानी हाल्न, गोडमेल गर्न नि कन्जुस्याइँ गर्छ अनि भन्छ सरकारले केही गरेन। उसैले गर्छ संरक्षणका कुरा। उसलाई भन्दा वडाध्यक्षलाई पक्कै धेरै रूखको माया होला।
यसरी अनावश्यक रूखहरूलाई विशेष गरी मुख्य अन्न बाली पाक्ने बेला र भित्र्याउने बेला काट्छाँट गर्यो भने केही हदसम्म अनाज जोगाउन सकिन्छ, र नोक्सानी नि काम गराउन सकिन्छ। यी भनेका अति सूक्ष्म अनि तत्कालीन उपाय हुन्। आलोचना मात्र गर्नुभन्दा सबै विज्ञहरू भएर समाधानका उपायसहित एउटा सार्वजनिक बहस गर्दिए कैयौं बाँदर पीडितहरू लभान्वित हुनेथिए।
दीर्घकालीन समाधानका निति नियम बनाउन न त वडाध्यक्षहरू त्यो अवस्थामा हुन्छन्, न त सबै कुरामा विज्ञता नै हुन्छ। उनीहरू आफूले पनि विज्ञहरूसँग सरसल्लाह लिनुपर्यो। विज्ञहरू पनि सामाजिक संजालमा ज्ञान बाँड्नुभन्दा यस्ता स्थानीय निकायका जिम्मेवार व्यक्तिहरूलाई दिने हो भने उनीहरूले ती ज्ञान समुदायमा लागु गर्ने थिए। संजालमा बहस मात्र गरेर मात्र हुँदैन, नेपालको पहाडी भूभागमा यो समस्या विकराल बन्दै गएको छ र झन् भिमकाय हुने वाला छ। बहस दुवै आयामबाट गर्नु पर्दछ। पहिलो बाँदर पनि यही पृथ्वीको एउटा सृष्टि हो, र मानिस पनि। दुवैलाई यहाँ बस्ने, खाने समान अधिकार छ। तसर्थ बाँदरलाई पनि आफ्नो बासस्थान र आहार मिलोस् र गरिब किसानले पनि खान पाओस्।
बाँदर लगायत समस्याका आस्थायी उपायहरू अपनाऔं जुन वातावरण मैत्री हुन्। आवश्यक परे अनावश्यक बुढा पुराना रूख काट्न किन नपरोस्, गरिब किसानका पीडामा मलम लगाउने जिम्मेवारी जनप्रतिनिधिहरूकै हो। अनि डम्फु मात्र बजाउने माथिल्ला निकाय र विज्ञ वर्गहरूले योजना अगाडि सारौं। नत्र यो समस्याले अझै विकारल रुप लिनेछ।
साँच्चिकै बाँदरको बासस्थान विनाश भएर यस्तो भएको हो कि, अरु कुनै कारणले बाँदरको उच्च जनसंख्या बृद्धि भैराखेको हो अथवा कहाँनेर र कसरी पारिस्थितिक प्रणालीहरू असन्तुलन भएको छ? यसका समाधानहरू, यी र यस्ता विषयमा गहन बहस गर्नु जरुरी छ। किनभने आजकाल पहाडी ग्रामीण भेगहरूमा मोटर बाटोको लागि डोजर चलाउने बाहेक अन्य कारणले वन विनाश भएको देखिँदैन, बरु झन् घना र सुनसान हुँदै गएका छन्। यो पनि सोच्ने कि?