घर पुगेको बेला मैले पुग्न नछुटाउने अर्को घर थियो– मेरो बुढो मामाघर। त्यहाँ मेरी शताब्दी नाघेकी कुप्रीआमा (बुबाको मामाघरकी हजुरआमा) हुनुहुन्थ्यो। कुप्रीआमासँग प्रेमिल हाँसो थियो। हाँसोभित्र ऊर्जा थियो। शान्त, सौम्य, धरतीझैँ कतै नडगमगाउने बेग्लै आभा थियो।
शताब्दी नाघेकी हजुरआमासँग आशीर्वाद लिनु एउटा कुरा। त्यो झरी, बादल, बेग, हुरी र आँधीसँग पनि नडगमगाउने धर्तीलाई हेरेर प्रेरणा लिनु अर्को कुरा। म पुग्थेँ यी नै दुई कारणले। यो एक प्रकारको लतजस्तै थियो मेरो। मलाई कसैले नजा पनि भन्दैनथ्यो। कसैले जा पनि भन्दैनथ्यो। आइज पनि भन्दैनथ्यो। नआइज पनि भन्दैनथ्यो।
हजुरआमा स्वयम् नै पनि हिँड्ने बेला फेरि आइज भन्नुहुन्नथ्यो। बरु भन्नुहुन्थ्यो, 'अब के गर्नु आआफ्नो गरी खानै परो। तिमेरू काममा जाने मान्छे हामीले भनेजस्तो हुँदैन। काम नगरी पनि हुँदैन। ऊबेला जस्तो छैन बाबै।' त्यो निश्चिन्त र गुनासोरहित संवेदनासँग भावनात्मक सामीप्यता भएकै कारण म पुग्थेँ सायद।
मृत्यु शाश्वत सत्य हो। विज्ञानको जतिसुकै चमत्कार भए पनि यसको तिथि, बार समयको अनुमान पत्ता लागेको छैन। लाग्दैन पनि सायद। तर उमेर ढल्किँदै गएपछि मान्छेलाई लाग्दो रहेछ, पाका मानिससँग भेटिरहनुपर्छ। मलाई योसँगै अर्को कुरा पनि नलागेको होइन। हजुरआमा जीवित छैँदै उहाँको जीवनको डायरी लेखौँ। यसबाट भोलिको पुस्ताले प्रेरणा लेओस्। ठेस लाग्दा उठेर आफैँ हिँडोस्। चोट लाग्दा त्यसैलाई सुम्सुम्याइ नरहोस्। केही सिकोस् र अघि बढोस्। त्यसैले म पुगेको बेला उहिलेका कुनै न कुनै कुरा सोधिबस्थेँ, खोजिबस्थेँ। हजुरआमाले एउटा कुरा कहिल्यै भन्नुभएन, 'मैले जीवनमा धेरै दुःख गरेकी छु। धेरै भोगेकी छु।' उहाँको दिमागमा कुनै हलचल, कुनै छटपट थिएन। हरेक बोलीमा मिठास थियो। हरेक शब्द प्राकृतिक थिए।
'हजुरआमाको जन्म कति सालमा भा'को?'
'७५ साल अरे,' टाउको तन्काएर हजुरआमा बोल्नुभो।
'कुन महिना?'
'माघ'
'कति गते?'
'पाँच गते।'
'बार पनि था' छ होला?'
'आइतबार,' हजुरआमा जोशिली हुनुभयो।
'म पनि आइतबारको, बार मिलेछ।'
'मिलेछ,' भासिइसकेको मुखको हाँसो र झलमल्ल अनुहार नै धेरै वर्षसम्म बाँच्ने सबैभन्दा ठूलो हतियार हो। हजुरआमाको हाँसोले त्यही भनिरहेको थियो।
खासमा म हजुरआमाको डायरी लेख्न चाहन्छु। छहारी दिने यो बोटले जीवनमा कस्ताकस्ता उतारचढाव भोग्यो मलाई जान्नु छ। सोध्छु, 'तपाईंको खेल्ने साथी को थियो नि?'
'थिए नि, मामाका छोराछोरी।'
'अनि के खेल्नुहुन्थ्यो त?'
'के खेलियो खेलियो नि,' उही हाँसो दोहोरियो।
'अनि कति वर्षमा बिहे भ'को नि?'
'९ वर्षमा।'
'बिहे हुँदै गर्दा बिहे गरेको भन्ने थाहा थियो?'
'खै के के थ्यो के-के नि,' मेरो मुखमा एकोहोरो हेरेर हजुरआमा हाँस्नुभो।
'अनि डोलीमा ल्या'को कि हिँड्दै?'
'डोलीमा।'
'कहाँ लगे मलाई भन्ने लागेन?'
'के थ्यो के। बिर्सियो पनि।'
'घरमा आएपछि भात कसले पकायो त?'
'खै कल्ले पकायो कल्ले?'
'हजुरआमा खेल्नतिर लाग्नुभो कि?'
एकोहोरो मेरो मुखमा हेरेर हजुरआमा टोलाउनुभो। हजुरआमालाई मैले दिक्दारी त लगाइरहेको छैन? केहीबेर अड्किन्छु। हजुरआमाले आफैँ सन्नाटा चिर्नुभो, 'के-के गरेँ के-के नि। उसबेलाको तिमेरु जान्दैनौ।'
'त्यही भएर त भन्नु भनेको।'
'तीन-तीन जना गरी छ जनाको बिहे गरेको एकैपल्ट। तीन चम्का बनाएर। मेरी नन्द, माइला दाजु र मेरो एकै ठाममा गरेको।'
'किन त्यसो गरेको त?'
'किन गरेको किन नि,' ट्वाल्ल मेरो मुखमा हेर्दै टोलाउनुभो, 'बिर्सियो पनि।'
गलल्ल हाँसोको फोहोरा छुट्छ। त्यो हाँसोमध्येको एउटा हाँसो हजुरआमाको पनि हो।
'मेरी नन्द भट्टराईलाई दे, भट्टराईकी छोरी फेरि मेरो दाजुलाई दे। मलाई अधिकारीलाई दे। अनि तीन चम्का घुमा'र बिहे गरेको।' चम्का चिनाउन हजुरआमाले हड्डीमा छाला टाँसिइसकेको हात घुमाउनुभो एकफेर।
'अनि अरु पनि तपाईं जत्रै हुनुहुन्थ्यो कि?'
'अरु मभन्दा ठूलाठूला थे। म सबैभन्दा सानी। अरु ११, १२ वर्षका थे होलान्।'
'अनि घरमा पुगेपछि कसले भात पकायो त?'
हजुरआमाले बुझ्नुभएन। एकोहोरो मेरो मुखमा हेर्नुभो। थोरै मुस्कुराउनुभो।
'जिस्क्याउँदा पो र'छन्,' थोरै पछाडि सर्नुभो।
कस्तो हुस्सु रै'छु। उहाँलाई दिक्दारी भयो कि भन्ने हेक्का पनि राखिनँ।
मैले हजुरआमालाई मन पर्ने जेरीको पोको तानेपछि उहाँ भित्तामा ढल्किनुभो। तर पनि मैले प्रश्न सोध्न छोडिनँ। मलाई उसबेलाको कुरो सुन्ने धीत मरेकै थिएन। हजुरआमाकी बुहारी अर्थात् मेरी हजुरआमा (बुबाकी माइजू) ले एउटा जेरी हजुरआमाको हातमा राखिदिनु भयो। उहाँले मलाई दिएको जेरी मैले हजुरआमालाई खुवाइदिनू भनेपछि उहाँले मेरो मुखै छेउमा सिँङ्गो जेरी राखिदिनु भयो। मैले क्वाप्प जेरी टोकेको देखेपछि हजुरआमा उसैगरी हाँस्नुभयो। अडेस लागेर जेरी चपाइरहेकी हजुरआमाको चेहराले भन्थ्यो, १०२ वर्षसम्म पनि जेरी खानलाई हाँस्नुपर्छ। जीवनलाई चिन्न सके यो अमूल्य छ।
म हजुरआमाका दुई हात समातेर बिदा माग्छु। हजुरआमा म हिँडेको बाटो परसम्म हेरिबस्नु भएको छ। पछाडि फर्किन्छु, उहाँ त झन् झन् 'बालख' पो हुँदै हुनुहुन्छ।
हजुरआमाले नभनीकनै उहाँको बारेमा मैले थाहा पाएको एउटा कुरा हो– एउटा मानिसले कल्पना गर्ने जति पीडा उहाँले जीवनमा भोग्नुभयो। आफ्नो श्रीमान गुमाउनु भयो। आफ्ना छोरा गुमाउनु भयो। आफ्नी छोरी गुमाउनु भयो। आफ्ना दुवै ज्वाइँहरू गुमाउनु भयो। आफ्ना नाति गुमाउनु भयो। आफ्नै जीवनसँग जुध्दाजुध्दा अन्तिम अवस्थामा पुगेकी बाँकी एक छोरीलाई सान्त्वना दिनसम्म पुग्नुभयो। त्यो भयानक, कारुणिक र मार्मिक दृश्य आजपर्यन्त म बेलाबेला सम्झिन्छु। यति धेरै वेदना र विरहले भरिएकी हजुरआमाले कहिल्यै गुनासो गर्नुभएन।
मेरी हजुरआमा अर्थात् उहाँकी कान्छी छोरी एकपटक अन्तिम अवस्थामा पुग्नुभयो। बिरामी हेर्न आउनेजाने कसैले उहाँलाई निको हुन्छ भनेनन्। बेहोसीमा आमाआमा बाहेक उहाँको अरु आवाज थिएन। उहाँलाई जे गर्दा सहज हुन्छ सो गर्नुबाहेक हामीसँग अर्को कुनै उपाय थिएन। आउनेहरूले भन्थे, 'आमाआमा भनिरहनुभएको छ। सायद आमालाई नै पर्खिरहनु भएको होला। बोलाइदिऊँ।' हजुरआमालाई कसैले यो प्रस्ताव लग्यो। उहाँले सहजै स्वीकार्नुभयो।
भोलिपल्ट पोल्टामा एक मुठी मिश्री, सय, पचासका केही थान नोट, एक चानो नरिवल बोकेर हजुरआमा अन्तिम अवस्थाकी छोरी भेट्न जानुभएछ। छोराछोरी जतिसुकै पाका होऊन्, आमाहरूको कोसेलीले विभेद गर्दैन। वरिपरिका हेर्ने सबै भावुक थिए। हजुरआमा निश्चिन्त आफ्नी छोरीकोबारे भनिरहनु भएको थियो।
'यसले मेरी आमा-आमा भनी अरे। अनि म आ'की।'
वरिपरिका मान्छेको उत्तर नि दिनु छ। छोरीलाई सम्झाउनु पनि छ।
'के खान्छेस्?'
मिश्रीको डल्लो आमाका हाततिर सार्नुभो। अनि सयका दुइटा नोट। त्यो दिएको भिडिओ आज हेर्दासमेत मलाई आँसु आउँछ। हजुरआमा कुनै आफ्नै वयकी भर्खर चिनेकी छिमेकीलाई हेर्न गएझैँ कुर्सीमा बसेर सोधिरहनु भएको छ, 'तँलाई कहाँ दुख्छ?'
हजुरआमाको भेट भनौँ वा जादु आमालाई बेलुकादेखि ठीक हुन थाल्यो। पछि हजुरआमा र आमा सँगै भएका बेला मैले सोधेको थिएँ। उहाँ भन्नुहुन्थ्यो, 'अलिअलि बिरामी हुनासाथ ओखती खाइहाल्नु हुँदैन। ठीक हुन्छ।'
सोचेको थिएँ, म बेहुलो भएर अन्मिँदा हजुरआमाको हातबाट टीका लगाएर अन्मिन पाऊँ। त्यो स्मृति जुगौँसम्म ताजै रहोस्।
म बुढामावल पुग्दा हजुरआमा बाहिर खाटमा उसैगरी बसिरहनु भएको थियो। मैले बहुत फूर्तिसाथ हजुरआमालाई निम्ता गर्न आएको र एउटा गाडीमा बिहेको दिन लिन आउँछु भनेँ। कहिल्यै कुनै कुरालाई नकार्न नमान्ने हजुरआमाले त्यो दिन मलाई भन्नुभो, 'हुन्दे बाबु, अब म घर छोड्दिनँ। अरु आउँछन्।' मेरो मन खस्रक्क भयो। केही बेर गफिएर फर्किएँ। अन्मिनुअघि पनि सम्झिएँ, हजुरआमा पनि हुनुभएको भए!
दुलही लिएर भेट्न गएँ। टीका लगाइदिनु भयो। राति भएको थियो। बत्तीको प्रकाशमा एकटक दुलहीको अनुहार हेर्नुभयो। भन्नुभो, 'केटी त हेरेछ!' गलल्ल हाँसोको फोहरा छुट्यो। सोचेँ हजुरआमाले त्यही दिन चाहिँ किन हुन्दे भन्नुभयो!
म ल्यापटपको झोलाको बाहिरी गोजी छाम्छु। जहाँ डाक्टर दिनेशले मलाई 'खाना पछाडि खानू' भनेर दिएको एउटा औषधि हुनुपर्ने थियो। रित्तो खोल मात्रै देखेपछि पढ्दै गरेको पुस्तकको दायाँ पेजमा बुकमार्क राखेर म सिधैं ग्राण्डीको फार्मेसी दौडिन्छु।
यहाँ अनुभवी व्यक्तिबाट मात्रै औषधि बेचिन्छ लेखिएको बोर्डमुनिका सुकिला अधबैंसेले क्याल्कुलेटर थिच्छन्। ओहो मेरो गोजीको पैसा त हिजै लाउन्ड्रीमा तिरेँ नि। म पर्सको भित्री गोजीबाट जस्तै परिस्थितिमा पनि नमास्ने भनेर राखेको रु ५० को नोट थपेर उनको बिल भुक्तानी गर्छु र नजिकैको एटिम पस्छु। दौडिएर फार्मेसीमै आएको देखेपछि उनी मलाई सोध्छन्, 'के बिर्सिएछ?'
'मलाई त्यो पचासको नोट दिनु र यो पाँच सयबाट पचास काट्नू' उनी छक्क पर्छन्।.
'किन र?'
'त्यो पचासको नोट मेरी सय वर्ष नाघेकी हजुरआमाले दशैंको टीका लगाएर दिनुभएको हो। जसलाई मैले मनमनै जस्तै परिस्थितिमा पनि मास्दिनँ भनेर प्रण गरेको छु।'
'कुन चाहिँ नोट हो फेरि?,' छेउको मान्छे गलल्ल हाँस्छ।
'त्यही हो' अलि बढी नै दोब्रिएको र रातो लागेको नोट म चिनिहाल्छु।' .
'ल लिनुस् तपाईंको नोट,' ऊ मेरो अनुहार नहेरी पचासको नोट सोकेसमाथि फाल्छ।
दौडमा पहिलो स्थान हासिल गरे झैँ म बुर्कुसी मार्छु।
खाना खाएर अफिस हिँड्न तयार भएको छु। दाजु सन्तोषले भिडिओ कलमा भन्नुभयो, 'हजुरआमा रहनुभएन।'
मानसपटलमा एउटै कुरा खेल्यो। त्यत्रो पटक भेट हुँदा मैले हजुरआमाको डायरी किन लेखिनँ? के अब ती दिन फेरि आउँछन्? आज मसँग हजुरआमाले दिएको पचासको नोट पनि छैन र हजुरआमा पनि हुनुहुन्न। अनि छैनन् बतासेदेखि सिकरकटेरी र गोठगाउँसम्मका कथाहरू। मैले किन त्यही बेला केही लेखिनँ?
(प्रकाशोन्मुख 'नगरमाता महेश्वरा स्मृतिग्रन्थ'बाट)