भन्सारको एउटा साझा चरित्र भनेको बास्ना वा गन्ध पनि हो।
धेरै भन्सारका साहित्यमा पढ्न पाइन्छ — केही अनौठो गन्ध वा बास्ना आएमा भन्सार नजिकै छ!
विभिन्न किसिमका बास्नादार सामानहरू बोकेर आउने ट्रकहरूको बास्ना अनि परिश्रमी ट्रक चालकहरूका पसिनाको गन्ध नआउने भन्सार यार्ड नै हुँदैन भन्न सकिन्छ।
साथै भन्सार यार्डमा ट्रकमुन्तिर बसेर खाना पकाउँदै गर्दाको बास्नाले र्याल चुहिने बनाउँछ जो कोहीलाई।
सबैलाई आफ्नै हातमा स्टेरिङ होओस् भन्ने लाग्नु स्वाभाविक पनि छ। अझ प्रतिस्पर्धाको दुनियाँमा आफ्नै निर्णय सर्वोपरी बनाउन को पो चाहँदैन र?
असली स्टेरिङ त ट्रक चालकहरूको हातमा छ। जसले सामान नल्याइदिने हो भने आजको दुनियाँ कल्पना गर्न सक्ने नै हुँदैन। हामीले उपभोग गर्ने सरसामानहरू कसरी टोलको पसलसम्म आइपुगे त? ती पसलमा सजिने सामान कसले ढुवानी गरेर त्यहाँसम्म ल्यायो?
उपभोग गर्दा हामी ख्याल गर्छौं र?
चालक ट्रकको, ट्रक साहुको, बोकिएको माल अर्कै देशको साहुको। अजब पेसा गजब जिन्दगी!
कुनै मुसाफिर यात्रीभन्दा फरक कहाँ छ र यो दिनचर्या!
कस्मिरदेखि कन्याकुमारीसम्मको यात्रा होस् वा बेइजिङदेखि कुन्मिनसम्मको, वा ताप्लेजुङदेखि बैतडीसम्मको! हतारबिना सम्भव गर्ने यिनै ट्रक चालकहरू हुन्।
साहुलाई कहाँ फुर्सद होला यी ठाउँ पुग्ने?
चालकहरूको त काम भनेकै यात्रा हो।
आफ्नै ट्रक बिस्तारा हो, भान्छा हो, खेलमैदान हो र हो सुविधा सम्पन्न घर वा होटल पनि। त्यहीँ एउटा समाज बनेको देखिन्छ ट्रक चालकहरूको। फरक फरक ठाउँबाट आउने यी चालकहरूको भाषा एउटाको अर्कोसँग मिल्नै गाह्रो।
जहाँ सफा पानी छ, त्यहाँ नुहायो, धोयो। घाटघाटको पानी पिउनुको मज्जै बेग्लै। आजको गन्तव्य थाहा हुँदैन। कहाँ के कारणले रोकिन्छ, पत्तो लगाउनु पनि पर्दैन। जब बाटो खुल्छ अनि फेरि यात्रा सुरू।
सामानको मूल्यका आधारमा नेपालको लजिस्टिक कस्ट (यातायात खर्च) अलि धेरै छ। त्यो घटाउन नेपालले धेरै प्रयास पनि गरेको छ। तर पहाडी बाटो, प्राकृतिक प्रकोपको समस्याका कारण भने जति सुधार हुन सकेको छैन। गैरकर अवरोधको पटकपटक चर्चा हुने गरेको छ। तर उल्लेख्य परिवर्तन हुन सकेको छैन।
सुधारका लागि एकीकृत जाँचचौकी र सुख्खा बन्दरगाहहरू बनेका छन्। जहाँ ट्रक चालकहरूलाई बेग्लै खाना पकाउने स्थानको पनि व्यवस्था गरिएको छ। पानी र स्नान गृह छ।
जतिसुकै सञ्जालयुक्त सडक भए पनि एकपटक यात्रा गरेको ठाउँ नभुल्नु समेत ट्रक चालकहरूको विशेषता रहेछ। अनि नआत्तिइकन लामो बाटो होस् वा छोटो, बिस्तारै हिँड्नु र गन्तव्यमा पुग्नु अर्को विशेषता। न त एट्लस छ, न नयाँ प्रविधिको गुगल म्याप! नयाँ ठाउँ जाँदा पनि कताकति सोधेर काम चलाउँछन् उनीहरू।
मेरो काम भन्सार यार्ड कम्तीमा दिनको दुई पटकसम्म निरीक्षण गर्नु हो। त्यसैले उनीहरूको दिनचर्याबारे बुझ्ने पटकपटक प्रयास गरेको छु। टुटेफुटेको हिन्दी (स्थानीय भाषा) मा जवाफ दिन्छन् नेपालमा माल बोकेर आउने अधिकांश भारतीय ट्रक चालकहरूले। नेपालमा प्रतिदिन भारतीय करिब एक हजार एक सय मालबाहक ट्रकहरू भित्रिन्छन्। यिनै ट्रक चालकहरू नै हुन्, उपभोग्य बजारका जीवन रेखाहरू।
खाना पकाउँदै गर्दा खानाबारे सोध्ने गरेको छु।
बडो हृदयताका साथ आमन्त्रण गर्छन् — हमारे साथ खाइए!
त्यहाँ भेटिएका थिए भोरिक सिंह। उनी पटना, जारा भन्ने ठाउँका हुन्। दस वटा ट्रक भएको कम्पनी चलाउँछन् र आफैं चालक पनि। कुनै बेला उनी ट्रक साहुका मुख्य मान्छे रहेछन् र कम्पनीमा उनको सेयर पनि रहेछ।
उनीभन्दा पनि अझ नाम चलेको रहेछ जज सिंहको। उनी क्याप्टेन चालक रहेछन्। गाडीको खटपटन गराउने क्याप्टेन।
उनीहरूले पकाएको खानेकुराको स्वाद पनि मैले चाखेको छु। कति स्वादिष्ट भोजन — रोटी, भात, दाल, सब्जी अनि आलूको चोखा। स्वस्थकर र सस्तो खान्छन्। यात्रामा स्वास्थ्य ख्याल गर्नुपर्छ भन्छन् भोरिक सिंह।
उनीहरू मलाई जिस्क्याउँदै थिए, 'साहेब आउने थाहा भएको भए मासु बनाउँथ्यौं!'
मैले खाएको खानाको पैसा दिन चाहेँ तर लिनै मानेनन्। बरू बाटोमा दुःख पाउँदा सम्झिने भनेर मेरो फोन नम्बर लिए।
खाना खाँदै गर्दा घरायसीदेखि व्यापारसम्मका कुरा भए। यात्रामा हुने दुःखदेखि सुख र रमाइला कुराहरू भए। एक छाकको वा बढीमा दुई छाकको मात्र जोहो गर्ने उनीहरूको दुईदेखि तीन जनाको खानाको मूल्य करिब २०० भारू पर्ने रहेछ।
कहिलेकाहीँ फुर्सद हुँदा माछामासु पनि बनाउने रहेछन्। माछामासु खाने समय तालिका भने रहेनछ। दारू जन्मेदेखि आजसम्म नचाखेको बताए दुवै जनाले। खाना खाने समय भने करिब करिब मिलाउँदा रहेछन्, एक-दुई घन्टाको वरपर।
बनाउन नभ्याउँदा भने ढावा वा कतै होटल/रेस्टुरेन्टमा खाने रहेछन्। लामो राजमार्ग वा बाटोमा जब खाना बनाउने ठाउँ हुँदैन, त्यस्तो बेला! त्यस्तो खाना मीठो नहुने, पेट नभरिने, आफ्नो स्वादको नहुने, स्वस्थकर नहुने र महँगो पनि पर्ने बताउँछन् जज सिंह।
भोरिक सिंह २५ वर्षदेखि भारतका विभिन्न सहर र नेपालका थुप्रै ठाउँसम्म ट्रक चलाएर पुगेका रहेछन्। तैपनि नेपालका कुनै होटल/रेस्टुरेन्टमा नखाएको बताए। नेपालको पिउने पानी भने सफा र राम्रो भएको र खोलामा नुहाउन पनि रमाइलो हुने उनले बताए।
नेपालका ट्रक चालकहरू भने यसरी आफैं खाना पकाएर खाँदैनन् रे। उनीहरू बाटोमा लामो समय होटलमा बस्ने गरेको पनि उनीहरूले सुनाए।
साँच्चै, नेपाली ट्रक चालकहरूले बाटोमा आफैं खाना बनाएर खाएको देखिएको छैन!
तर नेपाली ट्रक चालकले पनि खाने ठाउँ विशिष्टिकृत नै हुँदा रहेछन्।
मैले तत्कालै राजमान भन्ने नेपाली ट्रक चालकसँग सोधेँ। उनीहरूलाई घिउ समेत हालेर बाटोको होटलमा सस्तोमा खाना खुवाउँछन् रे, करिब दुई सय रूपैयाँमा। उनीहरूले खाने होटल बजारमा हुँदैन रे, जंगल छेउछाउतिर बाटो किनारमा बनेका झोपडपट्टीमा हुन्छन् रे। खाना बनाउन धेरै चिज जोहो गर्नुपर्ने र आजसम्म आफैं खाना नबनाएको बताए राजमानले।
जज सिंहले खानाका लागि महिनामा भारू ९ हजार र तलब १६ हजार पाउँछन्। नौ हजारभन्दा बढीको खाए आफैंले तिर्नुपर्ने रहेछ!
पटनादेखि खाद्यान्न बोकेर आएका रहेछन्। अघिल्लो दिन नेपालतर्फको भन्सार यार्ड छिरेका, त्यही दिन पास हुन्छ कि सामान भन्दै थिए। भन्सार पास गराउने मान्छे आएका थिए रे।
अप्ठ्यारो बाटोमा स्थानीय चालकले दुःख दिने गरेको पनि उनले सुनाए। भाषाको समस्याले कतिपय ठाउँमा भनेका कुरा नबुझ्नाले समेत दुःख पाएको रे। कतिपय ठाउँमा प्रहरीले सहयोग गर्लान् भन्दा झन् धेरै दुःख दिएका रहेछन्। कुनै कारणबिना सवारी घन्टौंसम्म रोकिदिएका पनि सुनाए। तौल कम हुँदा पनि बढी तौलको भनेर जरिवाना लगाएको समेत रहेछ।
नेपालमा भारतीय सवारी ठूलो ट्रक भनेर हेला गर्ने र बोलीमा सम्मान नभएको पनि उनीहरूले सुनाए।
भन्सार यार्डमा ती दिनदेखि बसेका छन् हरियाणाका महबुब जमीर। रक्सौल हुँदा फोनमा कुरा भएको साहुको मान्छेसँग तर मालवस्तुको कागजात लिएर अहिलेसम्म नआएको गुनासो गर्दै थिए।
भन्सारमा के कारणले रोकियो उनलाई थाहा छैन। साहुको मान्छेले एकछिन भनेर जान्छ, दुई दिन आउँदैन। न उता जान मिल्छ, न बाहिर।
'ट्रकमा भएको सामान हराए वा टुटफुट भए दोष हामीलाई नै दिन्छन् साहुहरू,' महबुब जमीरले भने।
उनको ट्रकले मेसिनको पाटपूर्जा बोकेर ल्याएको छ।
कतिपय साहुहरू खर्चको प्रबन्ध समेत सोध्छन् र कुनै कुनैले बाटो खर्च समेत दिने गरेका रहेछन्। कति साहु भने बाटो खर्च माग्दा रिसाउँछन् रे।
एकपटक गाडीको ट्यांकीमा भएको डिजल बेचेर रोटी खाएर बल्लतल्ल हरियाणा पुगेको महबुबले सुनाए। त्यहाँ उनका काकाका छोरो पनि चालक रहेछन्। उनैले खर्च र तेल हालिदिएपछि राजस्थान पुगेछन्।
सात महिनाअघि बाटो पर्दा ३ घन्टा जति घरनिर गाडी पार्क गरेर बसेका रहेछन्। नभए वर्षमा एकपटक मात्र घर पुगेर रात बस्ने कुरा सुनाए।
'कहिलेकाहीँ सवारी बीच बाटोमा बिग्रिएर दुःख पाइन्छ। जंगल वा मिस्त्री नभएको ठाउँमा बिग्रियो भने अझ सास्ती,' उनी सुनाउँदै थिए, 'त्यस्तो अवस्थामा अर्को ट्रक चालकले सहयोग गर्छन्।'
वास्तवमा ट्रक चालकहरूको जिन्दगी दुःख त छ नै, रसपूर्ण पनि छ।
भारतका सडकपरिवहन मन्त्री नितिन गडकरीको एउटा भाषण सुनेको छु। ट्रक चालकहरू कम भएको बताउँदै उनले सडकमा उनीहरूका लागि निःशुल्क शयन कक्षसहितको ढावा समेत व्यवस्थापन गरेको बताएका छन्। भारत यात्रा गर्दा लामा राजमार्गमा त्यस्ता शयन कक्ष देखिन्छन् पनि। त्यसै गरी सुरक्षित यात्राका लागि एयरकन्डिसनर व्यवस्थापन समेत गरिएको उनको ट्विटमा पढेको छु।
हामीले प्रयोग गर्ने सामानहरू बोकेर ल्याइदिने कर्मयोगी यी ट्रक चालकहरूलाई मनैदेखि धन्यवाद।
(लेखक हरिहर पौडेल भन्सार विभागका निर्देशक हुन्।)
ट्विटर- @Harihar029