विसं २०५७ साल हिउँदमासको कुनै शनिबारको दिन। मुलुकमा संकटकाल लागिसकेको थियो। म बरुण बहुमुखी क्याम्पस खाँदबारीमा कक्षा ११ मा पढ्थें। बिहान उठेर क्याम्पस जानु र फर्केर खाना खाएपछि भैंसी चराउन जानु मेरो नियमित दिनचर्या जस्तै थियो त्योबेला किनकि घरमा बुबा, आमा र म मात्र थियौं।
म सदाझैं भैंसी गोठालो गएको थिएँ। भैंसी आहाल खेलेर समिति वन (मकर सामुदायिक वन) हुँदै ठूलो पाखा (खेत, करिब-करिब चारैतिरबाट जंगलले घेरिएको जुन त्यतिबेला प्राय: बाँझै रहने गर्थ्यो) मा झर्यो। बाँझो खेत हुनाले हाम्रो नियमित चरन जस्तै थियो ठूलो पाखा। म पनि सँगसँगै जस्तो झरें अनि भैंसीभन्दा अघि-अघि गएर खेतको पारिपट्टिको सिमानामा भएको एउटा चिलाउनेको बाङ्गो रुखमा अलिकति माथि चढेर बसें।
अनि झोलाबाट सानो कालो रेडियो झिकें र त्यसको एरियल तान्दै थिएँ। एरियलको लम्बाई बढ्दै जाँदा मेरा आँखा पनि त्यससँगै तानिँदै थिए। झट्ट देखिएको अगाडिको दृष्यले अचानक अवाक् र स्तब्ध भएँ। टक्क रोकिएँ, मानौं म एक्कासी मूर्तिमा परिणत भएँ। आँखा तिरमिर भए, दिमाग ठप्प भयो। म केही गर्न नसकी वाल्ल परिरहें।
१०/१५ मिटर जति माथि खेतको गराबाट एउटा बन्दुक सिधा मतिर सोझिएको थियो। अनुहारभरि कालोमोसो दलेको हेर्दै डरलाग्दो कम्ब्याटधारी सैनिकले बन्दुक (सायद ए के ४७ हुनुपर्छ) को नालको प्वाल मात्र देखिने गरी मतिर तन्काएर ट्रिगर थिच्ने तयारीमा थियो। म जिल्ल परेको देखेर हो कि उसले रुखो स्वरमा भन्यो- 'ओई के गरेको त्याँ? खुरुक्क यहाँ आइज!'
म रुखबाट झरेर डराउँदै डराउँदै ऊ भएतिर गएँ। 'यही हो?' उसले छेउमै रहेको रातो टिसर्ट लगाएको मोटो मोटो कालो केटालाई सोध्यो।
'यस्तै-यस्तै थ्यो सर्' उसले मन्द स्वरमा सही थाप्यो।
मनमा चिसो पस्यो अझैं। त्यसपछि बन्दुकधारीले बन्दुकको नाल मेरो छातीमै टाँस्दै इन्क्वायरी अघि बढायो। 'तँ को होस्? यहाँ के गरिराको छस् जंगलमा?'
मैले जवाफ दिएँ- 'म फलानो, भैंसी चराउन आएको हुँ।'
भैंसी पनि त्यही तल गरामा चरिरहेको रहेछ। उसले थप विवरण बुझ्न चाह्यो- घर कहाँ हो, बाबुको नाम के हो, के गर्नुहुन्छ? घर/गाउँमा माओवादी को-को छन्, त्यो झोलामा के छ? आदि, इत्यादि।
उसले झोला खोतल्यो। झोलामा 'नायब सुब्बाको गाइड' भन्ने पुस्तक थियो। उसले किताब झिक्यो, यो के हो? भनेर सोध्यो। मैले किताबको नाम भनें। पल्टाएर यता उति हेर्यो, केही पढे जस्तो गर्यो। 'रुखमा किन चढेको?' भनेर सोध्यो।
मैले रुखमा चढ्दा रेडियो अलि राम्ररी टिप्ने व्यहोरा जाहेर गरें। गोठालो गर्दा समय कटाउन रेडियो र किताब बोकेर हिंडेको स्पष्टीकरण दिएँ। उसका सबै प्रश्नहरूको यथोचित र वास्तविक जवाफ दिएँ।
उसले फेरि सोध्यो- 'पातलो-पातलो तँजस्तै एउटा केटा यतै भाग्दै आएको थ्यो नि, कता गयो भन्?'
म अलमल्ल परें। उसले देखिस् कि देखिनस्? भनेर नै सोधेन। सोधेको भए मलाई जवाफ दिन सजिलो हुन्थ्यो। मैले भनें- 'देखिनँ सर।'
उसले बन्दुकको नाल मेरो छातीमा टस्याउँदै ट्रिगर पनि थिचिहालुँला झैं गर्दै झन् रुखो स्वरमा भन्यो- 'नढाँटी भन्, नत्र तँलाई यहीं भुक्लुक्कै ढाल्दिन्छु।'
मैले पुन: भनें- 'देखेको छैन सर मैले, म भर्खर आइपुगेको। त्यही भएर कोही आए नआएको थाहा भएन।'
उसले फेरि छेउको केटातिर हेर्यो। केटाले 'यो होइन' भन्ने भावले मुन्टो हल्लायो। अनि बन्दुकधारीले भन्यो– 'तेरा दिन बलिया रछन्, नत्र आज तँलाई ढुकुर ढलाए जस्तो ढलाइदिन्थें, गोली हानिसकेको थिएँ, भैंसी आइपुगेर रोकिएँ। यो भैंसीले आज तेरो ज्यान बचायो। त्यसलाई ढोगे नि हुन्छ तैंले। अबदेखि एक्लै-एक्लै यस्ता ठाउँमा नआइज, कुन दिन मर्लास् फेरि!'
अत्यन्त कर्कश आवाजमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा थर्काएर गयो। सातो लिएर गयो तत्कालका लागि भनुँ न एक हिसाबले। त्यसपछि एकआपसमा मैले नबुझ्ने गरी खासखुस गर्दै फर्किए तिनीहरू।
उनीहरू हिंडेपछि मलाई ठूलो राहत महसुस भयो। मनमनै सोचें- ठूलो झमेलाबाट पार पाएँ। एक मनले भन्यो– आज शनिबार यी यत्तिकै गस्ती गर्न आएका थिए। मलाई यो अनकण्टार ठाउँमा एक्लै देखेर थर्काएर, बन्दुकको तुजुक देखाएर, आफ्नो शक्ति/रवाफ देखाएर रमाइलो गरेर गए। उसले यतिकै लहडमा यो काम गरेको थियो। यो सिर्फ संयोग थियो।
अर्को मनले भन्यो जे पनि हुन सक्छ नि! उसले लहडमै सही एक्लै निर्जन ठाउँमा भेटिएको (अझ उसको नजरमा शंकास्पद पनि) मान्छेलाई गोली हान्नु उसलाई लामखुट्टे मार्नुभन्दा बढी थिएन। हानेको भए त सक्किहाल्थ्यो नि! त्यसबेला सामान्य भुइँमान्छे मारिनु लामखुट्टे मारिनु सरह नै थियो। उस्तै परे समाचारपत्रमा छापिन योग्य समाचारसम्म नि हुन्नथ्यो, छापिइहाले नि एकदम मसिना अक्षरमा भित्री पृष्ठको कुनै कुनामा मात्र त्यसले स्थान पाउँथ्यो।
कल्पनाले मुटु सिरिङ्ग भयो। म भैंसी लखेटेर घर गएँ। बुबाआमालाई घटना सुनाएँ। मेरो कुरा सुनेर वहाँहरूले जिब्रो टोक्नुभयो। तर बुबाले पनि मौकाको सदुपयोग (मेरा लागि दुरुपयोग) गरेर गए भनेर निष्कर्ष निकाल्नुभयो। तैपनि भन्नुभयो- 'अबदेखि यतै आफ्नै खेत गल्लीमा चराउनू, अन्त लानु पर्दैन।'
त्यो घटना मनबाट हराउँदै गएको थियो, अथवा त्यसको सम्झना पातलिंदै गएको थियो। बिहान, दिउँसो, बेलुकै र दिनहुँ नै सुनिने अपरहण, दोहोरो भिडन्त, हताहती भएका/सहादत प्राप्त गरेका समाचारले सञ्चारमाध्यमको समाचारको मुख्य हिस्सा ओगट्थे। कतिपय आँखाले देखिएको पनि थियो, कति हल्ला सुनिन्थे, कति अफवाह समेत थपिंदै आएर झन बढी मुटु कँपाएर जान्थे।
केही समय पहिले मेरो आँखै अगाडि सिर्फ उसको प्रश्नको जवाफ दिने शैली नमिलेको आरोपमा मेरो दाइ (सानिमाको छोरा) र सानाबालाई पशुलाई झैं पिट्दै आँखामा कालो पट्टी बाँधेर, हात पछाडि बाँधेर लात्ती/मुड्की वर्षाउँदै सुरक्षाकर्मीले लगेका थिए। निरपराध भए पनि एक ढेढ महिना निकृष्ट स्तरको बन्दी जीवन बिताएर फर्किनुभएको थियो।
एकपटक कलेजबाट घर फर्किंदा साँघुरो बाटोमा हिंड्ने क्रममा छोइएको निहुँमा एउटा सुरक्षाकर्मीले लात्तीले हानेर बाटोमुनि झारिदिएको थियो, मेरो एउटा साथीलाई। म संयोगवश बचिरहेको थिएँ। संयोगवश नै बचिहरको थिएँ भनूँ, वा बच्नु नै संयोग मान्दा हुन्थ्यो, यसमा तात्विक फरक थिएन त्यसबखत। यस्तै-यस्तै भोगाइ/सुनाइले पनि विस्तारै बानी परिंदै थियो केही न केही यस्ता अराजकतासँग। कहीं कतै यसको सुनुवाइ हुनु त के त्यस्तो कल्पना मात्र गर्न नि सकिन्नथ्यो। 'भुइँमान्छे' मान्छे नै गनिन छाडेको थियो।
एक हप्ता यत्तिकै बित्यो, अर्को शनिबार आयो। बेलुकापख बुबाले बोलाउनुभयो अनि भन्नुभयो- 'अस्ति तँलाई साँच्चै झण्डै मारेनछन् नि कान्छा! यत्तिकै जिस्काएका होलान् भनेको हैन रछ। साँच्चै रछ।'
म बुवाको कुराले आश्चर्य, छक्क र अलमल्ल सबै एकैचोटि परें। कान ठाडा, आँखा तनक्क पारेर चनाखो भएर कुरा सुन्न लागें। बुबाले बेलिविस्तार लाउनुभयो– अस्ति (केही समयअघि) माल्टामा फलानाको घर घेरेर २ जना माआवादी मारेका थिए नि, त्यही बेला एउटालाई चाहिँ जिउँदै पक्रेर सुराकी बनाएका रछन्। त्यो (त्यही काले केटो) फलानाको छोरो रहेछ। अनि त्यही सुराकीलाई लिएर शनिबारे हटियामा हुने भीडभाडमा अरु माओवादीहरू चिनाउन र समात्न उसलाई लिएर टुँडिखेल गएका रहेछन् आर्मीहरू। हटियामा आएको एउटा माओवादी केटालाई चिन्ने र पक्रने योजना रहेछ। कसो-कसो त्यो केटोले त्यसको सुइँको पाएछ र त्यहाँबाट भाग्न सजिलो र जंगलमा लुक्न नि सजिलो हुनाले होला त्यतै भागेछ। आर्मी खेद्दै पछि-पछि गएको रहेछ। त्यो केटा जंगल सुरु हुने वित्तिकै जंगलतिर चप्पल तेर्साएर अर्कातिर सुइँकुच्चा ठोकेछ। आर्मी झरेछन् सिधैं र तँसँग जम्काभेट भएको रहेछ।
त्यो सबै ठूलो पाखाको सिरानको छेउमा गोठ/खेत भएकी एकजना दिदी (मञ्जु)ले देखेकी रहिछिन्। उनका दाइ पनि आर्मी थिएँ अनि त्यो आर्मी नि दाइसँग बेलाबेला आउने भएर चिनेको रहेछ। उसले फर्किंदा उनलाई देखिछ अनि भन्यो रे- 'आज यस्तो भो। विकास कि भन्ने केटा रहेछ, यतैतिरको। मरिसकेको थियो मेरो हातबाट, कसो-कसो भाग्यले बाँच्यो।' यस्तो-यस्तो घटना भयो भनेर सुनाएछ। दिदी नि झसंग भइछिन्। अनि ए त्यो भाइ यस्तो हो, तपाईंहरूले खोजेको केटा यता गयो यसरी भनिन् रे। ती दिदीले हटियामा बुबालाई भेटेको बेला सुनाइछन्।
बुवाको कुरा सुनेपछि मन सिरिङ्ग भो फेरि एकपल्ट। चिसो भएँ म यत्तिकै। मैले सामान्य संयोग झैं मानेर बिर्सिन थालेको कुरा फेरि सम्झें, म भैंसीलाई ढिस्कावारि नै छोडेर गएको थिएँ, म पारि पुग्दा भैंसी देखिएको थिएन पहिले। कति छिटो पुगेछ। के साँच्चै त्यसले भनेझैं भैंसीले नै मेरो ज्यान बचाएको थियो त? बन्दुक तानिसकेको अवस्थामा त्यो भैंसी नदेखेको भए त्यसले साँच्चै गोली हान्थ्यो मलाई। म यसमा ढुक्क थिएँ। किनकि तत्कालीन अवस्थामा विकसित घटनाक्रम र वातावरणमा त्यो सामान्य थियो, अझ उसका लागि त्यही उचित र अपरिहार्य कदम थियो। तर त्यस्तो भएन।
यदि त्यस्तो भएको भए म पनि द्वन्द्वकालमा दुवैपक्षबाट मारिएका, मरेका कयौं ज्ञात अज्ञात सहिदको सूचीमा पर्न सक्थें, नपर्न पनि। मेरा बुवा-आमा, आफन्त अनि प्रियजनलाई पर्ने वियोगको दु:ख/पीडाको कुनै सुनुवाइ हुने थिएन। कुनै भरपाइ हुने थिएन। सम्झेर मनमनै रुनु, आँसु बगाउनु, आँसु लुकाउनु नै नियति बन्ने थियो, अनगिन्ति सर्वसाधारणको जस्तै। बरु मलाई अहिले आएर यो सत्य थाहा नभएको भए नि हुन्थ्यो नि जस्तो लाग्यो।
कतिपय बेला त सत्यभन्दा भ्रम मिठो हुन्छ बरु। भ्रममा नै एक किसिमको शान्ति/सहजता थियो। सत्यले त्यसलाई नङ्ग्याइदियो, बिथोलिदियो वित्थामा। मृत्युवाण मानौं कानछेउबाटै सुइँय सुसाउदै गयो, जीवनको क्षणभंगूरतालाई टड्कारो गरी दिमागमा गुञ्जाउँदै। त्यसको गुञ्जन म अहिले नि उस्तै महसुस गर्न सक्छु। यो त अति साधारण घटना थियो त्यस बखत। आफूलाई परेकोले मात्र ठूलो भएको थियो मलाई। अरु जो कोहीले सुन्दा 'ए!' भन्ने भन्दा बढीको थिएन, एकदम सामान्य। बानी परिसकेको थियो समाज यस्ता कुरामा।
त्यसपछिका कति दिनसम्म मनमा कुरा खेलिरहे, अहिले सम्झिँदा नि लाग्छ कति बुवा-आमाहरूले छोराछोरी जन्माए, हुर्काए बापतको दण्ड पाए जस्तो गरी आफ्ना प्राणभन्दा प्यारा हुर्केका/राम्ररी हुर्किन पनि नपाएका छोराछोरीको आहुति दिए। दिन बाध्य पारियो। छोराछोरीको लास आफ्नै अगाडि ढलेको देख्दा, जलाउँदा कस्तो हुँदो हो ती बुवा-आमालाई। ती ढल्दा ती मात्र ढल्दैनन्, बाबु आमाको आशा ढल्छ, भरोसा ढल्छ, टेक्ले लाठी भाचिन्छ, समाउने हाँगो भाचिन्छ। ती जल्दा बाबुआमाको सपना पनि जल्छ, जीवनको खुसी जल्छ। सपना बिना, चाहना बिना, लक्ष्य बिना अनि आफ्ना बिना कस्तो हुन्छ जीवन? श्मसान बन्छ बाँच्नेको जीवन पनि।
अरु कति बेपत्ता पारिए त्योबेला। अझै पनि बाटो हेरिरहेछन् कति- 'कि मेरो छोराछोरी कतै जीवितै छ कि, आमा-बाबा भन्दै आइपुग्ने हो कि' भनेर। तर आउँदैनन्। माया मारुँ आफ्नो मुटुको टुक्रालाई यसै कसरी माया मारुँ मनले आशा मार्न मान्दै मान्दैन, कुनै प्रमाण पनि त छैन। फर्केर आउला भनूँ, खै त? कतिन्जेल यो जीवन मृत्युको दोसाँधमा बाँच्ने? यस्तो खाले वियोगको शूल बारम्बार हृदयमा रोपिंदा कति तड्पींदो हो प्रियजनको मन? यसरी सास न लास भएकालाई के बितिरहेको होला?
अंगभंग भएर थला परेका कति छन्। न तिनले श्रम गरेर बाँच्न सक्ने अवस्था छ, न अरु कुनै इलम, न अरु कुनै सहायता। देशका लागि, आफू अनि आफ्नाका लागि भनेर आफ्नो घर परिवार त्यागेर आफ्नो जवानीसँगै जीवन नै माया मारेर यो हालतमा आइपुगेकाहरूले के देखेर, के पाएँ भनेर चित्त बुझाउने होला? केका लागि गरिस् यो सब तैंले? भनेर कसैले सोध्दा के जवाफ दिने होला? आफैंलाई के भनेर सम्झाउने होला? आफ्नो त्याग/बलिदानीलाई सिर्फ बेबकुफी सम्झेर आफैंलाई सरापेर, पछुताएरै बाँच्नुपर्ने हो त सास रहुन्जेल?
यो सम्झिँदा, यस्ता व्यथा बोकेका मान्छे देख्दा सुन्दा त्यो समयको, त्यो परिस्थितिको नेतृत्व गरेकाको मुटु हल्लिदैन? मन दुख्दैन? हुटहुटी हुँदैन मनमा? के ले बनेको होला है?' कसलाई सुनाउने जनताले आफ्ना व्यथा? कोसँग गुहार माग्नुपर्छ जनताले यो लोकतन्त्रमा सरकारसँग नमागे? तर खै त न्याय? न्यायको पर्खाइमा अनसन बस्दा बस्दै प्राण त्यागेको सुन्नुपर्छ, आफ्नै प्राण त्यागुन्जेल पनि सामान्य सुनुवाइ पनि नहुने। यतिसम्म कठोर, यतिसम्म निर्लज्ज हुन मिल्छ राज्यले? सधैं जनताको दुहाई दिएर नथाक्ने राजनीतिज्ञहरूले के गरिरहेका छन्? जनताको जीवनभन्दा आधारभूत त्योभन्दा प्राथमिक मुद्दा के हुन्छ अरु सरकारका लागि? अनि खै त ध्यान गएको? खै त न्यायको अनुभूति दिएको?
कि आर्मी/प्रहरी वा सुराकी, कि माओवादी वा त्यसको सहयोगी गरी जवरजस्ती दुई कित्तामा विभाजन गरियो जनतालाई त्यसबेला। स्वतन्त्र रहनै पाएन कसैले! सर्वसाधारणले सर्वसाधारण नै रहन नि पाएन। दुवै पक्षबाट आ-आफ्नै हिसाबले, मनमौजी तरिकाले परिस्थितिवश र कतिपय नियतवश पनि प्रशस्त दु:ख दिइयो सोझा निमुखा जनतालाई।
घरको कोही सदस्य आर्मी वा प्रहरी भएकै मात्र कारण पनि सुराकी वा गद्दार घोषणा गरी घरपरिवारका सबैलाई धम्क्याउने, अपरहरण गर्ने, बलात्कार गर्ने, सफाया गर्ने काम भयो। राज्यपक्षबाट पनि सोही स्तरमा दमन र बर्बरताको पराकाष्ठा नाघ्ने गरी इवी साँध्ने काम भयो त्यो बेला। बिना कसुर आफ्नै घरभित्र थुनेर जलाएर मार्ने, शक्तिको मातले उन्मत्त भई हत्या र बलात्कार गर्दै हिँड्ने मान्छेहरूलाई छाती फूलाएर आफ्नै आँखा अगाडि निस्फिक्री घुमिरहेको देख्दा पीडितको मनमा कति जलन हुँदो हो। आफ्नै जीवनले आफूलाई नै गिज्याएझैं लाग्दो हो।
शान्तिसम्झौता भएको दुई दशक बित्न लाग्दासम्म पनि अझै पीडितहरूले केही राहत महसुस गर्न सकेका छैनन्। तर पीडितको घाउमा मलम लाउनेतिर कसैको ध्यान जान सकेको छैन। यथासक्य चाँडो कानुन ल्याएर नियतवश अनि युद्धको सामान्य नियम पनि पालना नगरिएका, स्वधर्म र नैतिकताको न्यूनतम स्तर पनि कायम नभएका, मानवताको खिल्ली उडाउने गरी गरिएका, गराइएका- क्रूरतम अनि दानवीय हत्या, अपहरण, बलात्कार जस्ता अपराधमा संलग्नलाई हदैसम्मको कारबाही होस्।
पीडितको चित्त बुझ्ने गरीको पीडितमैत्री कानुन बनोस् अनि तुरुन्त कार्यान्वयन गरियोस्। मुलुकलाई साँच्चै अग्रगमनमा लाने गरीका नीति-नियम, कानुन बनुन्। प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाई त्यसको उचित नेतृत्व प्रदान गरियोस राजनीतिज्ञहरू सबैबाट। अनि मात्र जनयुद्धको नाममा भएको नरसंहार, स्वेच्छिक अनि जबरजस्ती गरिएका/गराइएका सामाजिक/साँस्कृतिक त्याग, बलिदानीले नि केही अर्थ राख्दछ। तब मात्र इतिहासमा त्यो सिर्फ एउटा 'काण्ड' हुनबाट जोगिनेछ। एउटा भनाइ छ– ढिलो गरेर न्याय पाउनु, न्याय नपाउनु सरह हो। चेतना भया!