आजभन्दा १४ वर्षअघिको कुरा हो, घरबाट निस्किनुअघि मम्मीले 'त्यहाँ पुगेपछि मेरो बुवासँग फोनमा कुरा गराइदे है' भन्नुभएको थियो। मैले जवाफमा 'हुन्छ' भन्दै रोल्पाको यात्रा सुरु गरेको थिएँ।
त्यसबेला सबैको हात-हातमा मोबाइल थिएन। त्यसैले मामाको पसलमा भएको ल्याण्डलाइन फोनबाट मम्मीलाई फोन गरें। तर फोन लाग्दै लागेन। २/४ चोटि प्रयास गरेको थिएँ, नेटवर्क राम्रो नभएर होला सम्पर्क हुन सकेन। त्यसपछि भने म आफ्नै साथीभाइहरूसँग रम्न थालें, मम्मीको अनुरोध त चटक्कै बिर्सिएछु।
तिहार भर्खरै सिद्धिँदै थियो, मम्मीलाई एक्कासी मेरै आँखा अगाडि देखें। 'अरे! मम्मी त यही आउनु भएछ' मनमनै सोच्दै थिएँ। त्यसपछि भाइबहिनी तिर आँखा गयो। सुरुमा त ठम्याउन गाह्रो भो, उनीहरूले एउटै खालको ज्याकेट लगाएका थिए। रङ भने फरक थियो। धेरै पछि देख्या जस्तो भान भो।
बहिनीले कपाल काटेको पनि चाल पाएँ, भोगटे कट। ऊ धेरै राम्री देखेकी थिई। वजन थोरै घटेछ अनि उचाइ पनि हल्का बढिसकेको रहेछ उसको। हातमा चिजबल/कुरकुरे बोकेका थिए दुवैले, मोटाघाटा असाध्धै राम्रा देखें मैले। यत्ति नै हो मलाई, मधुरो-मधुरो सम्झना भएको।
भेट्ने बित्तिकै मम्मीले गाली गर्नुभयो, 'फोन किन नगरेको? बुवासँग फोन किन नगराइदेको?'।
पोहोर साल मात्र मातृ वियोगबाट गुज्रिनु भएको मेरो मम्मी, यसपालि उहाँको पिता अर्थात् मेरो बाजे स्वर्गीय हुनु भएछ। मम्मी रोल्पा आउनुको कारण त यही पो रहेछ। बल्ल थाहा पाएँ अस्तीभर्खर भेटेको मेरो बाजे अब यो संसारमा हुनुहुन्न भनेर।
कति आश थियो मेरी मम्मीलाई छोरीले फोन गर्ली र बुवासँग कुरा गरुँला भनेर। कति रहर थियो उहाँलाई बाजेको आवाज सुन्न, उहाँसँग बोल्न। तर रहर रहरै भयो, अधुरो भयो। अहिले सम्झँदा पनि मनमा न्यास्रो लागेर आउँछ, छट्पट हुन्छ, पश्चताप हुन्छ। कलिलै उमेर भए पनि मन त मन नै हो, खुसी दुखी यी सबै भावनाहरू महसुस हुँदो रहेछ।
त्यसपछि भने बाजेको परम्परागत तेह्र दिने काजकिरिया सकेपछि हामी पुनः काठमाडौं फर्कियौं। बाजेलाई आफ्नो श्रीमती अर्थात् मेरी बुई यस संसारमा हुनु हुँदैन भन्ने थाहा थिएन। कसैले भनेनछन्, बुढो मान्छे सुर्ता हराएको आफ्नो जीवनसाथी गुमाएको पीरले झन् बिमार पर्लान् भनेर।
सुर्ता हुँदा उहाँ कादधारा भन्ने ठाउँ जहाँ गाडीहरू आएर रोकिन्थे, त्यहाँ दिनभरि बस्नु हुन्थ्यो रे । काठमाडौंमा भएकी छोरीको घरबाट बुई फर्किनु हुन्छ कि भनेर कुरेर बस्नु हुन्थ्यो रे। सांसारिक दुनियाँ छोडेर गएको मान्छे अहिलेसम्म को पो फर्केर आएको छ र, कादधाराको बस स्टेशनमा पर्खिँदा पर्खिँदै थाक्नु भएको मेरो बाजेले एक वर्षको अन्तरालपछि बुईलाई सायद मृत्युपछिको संसारमा भेट्नु भयो होला।
मैले १२ कक्षा पास गरेपछि मात्र बाजेको मृत्युको कारण थाहा पाएँ । माओवादीले द्वन्द्वकालको बेला मेरो बाजे-बुईको घरबाट अलिअलि भएको सुन र चाँदीका गहनाहरू, भाँडाहरू डरधम्की देखाएर लुटेका रहेछन्। जेठा मामालाई बन्दुक तेर्साएर मार्छु भन्या रहेछन्। उहाँहरूकै अगाडि बेस्सरी कुटेछन्। मेरो बुईले रोइकराई बिन्ती गरेपछि दया देखाएर जिउँदै छोडी दिएछन्।
त्यसैले गर्दा मेरो बाजे र बुई १० वर्षे माओवादी द्वन्द्वबाट मनोवैज्ञानिक रूपमा प्रभावित हुनुहुन्थ्यो। उहाँहरू मानिसहरूलाई देखेर डराउनुहुन्थ्यो, उहाँहरूको सुर्ता हराएको थियो। कल्पनामै माओवादी आए भनेर डरले घर-कोठाको झ्यालढोका नखोल्ने, लुकेर बस्ने गर्नु हुन्थ्यो। मेरो बाजेबुई आफ्नै घरमा मनोरोगी भएर कैदी जसरी बस्नुपर्ने वातावरण श्रृजना गरेको त्यो समय सम्झिँदा मलाई अझै पनि धुरूधुरू रुन मन लाग्छ।
२०६६ साल तिहारको बेला देउसीभैलो खेल्न आएका मान्छेहरूलाई माओवादी भन्ठानी डराएर लुक्न भनी रानीवन पस्नु भएछ बाजे। लुक्दै जाँदा रानीवनकै भीरबाट खसी उहाँको निधन भयो। प्रहरीसमेतको सहयोग लिई उहाँलाई खोजी गर्दा ५/६ दिनपछि बल्ल उहाँको लास फेला पर्यो। मेरो मम्मी र उहाँको अन्य दिदीबहिनी, दाजुहरूले बाजेलाई अन्तिम पटक हेर्न पाउनु भएन।
उहाँहरूले गुनासो गर्दै कान्छा मामालाई सोधे, 'हामीलाई नपर्खी किन बुवाको अन्त्येष्टि गर्यौ?'
उहाँले टाउकोमा हात राखी धुरुधुरु रुँदै भन्नु भएछ- 'आफ्नो जन्मदिने मातापिताको कसलाई माया लाग्दैन र? बुवाको लास गलेर गनाउने भएको थियो, समाजले हाम्रो बुवाको शवलाई छि:छिः , दूरदूर गर्लान् भन्ने पीरले मैले जंगलमै उहाँको अन्त्येष्टि गरें। तिमीहरूलाई नपर्खी उहाँको शवलाई जलाएँ।'
यसरी मैले मेरो बाजे गुमाउनु पर्यो। मेरो मम्मी, जेठामै, सानीमा, मामाहरूले पिता गुमाउनु पर्यो। माओवादी द्वन्द्वका कारण र त्यसले गर्दा उब्जिएको मनोवैज्ञानिक समस्याले मेरो बाजेको दुःखद् निधनजस्ता सत्यकथा र घटना अरु कति होलान्? अझै कति पत्ता लाग्न बाँकी छ? अझै अरु कति छानबिन हुन बाँकी छ? उनीहरूले भोग्नुपरेको पीडालाई मुख्यधारका मिडियामा निरन्तर रुपमा हाइलाइट गरिनुपर्छ। कानुनमार्फत लड्न चाहने पीडितहरूलाई त्यसो गर्न अनुमति दिनुपर्छ। तिनीहरूका मुद्दाहरू पुन: खोलिनुपर्छ।
माओवादी द्वन्द्वका लडाकु जसले नयाँ नेपालको सपना देखेका थिए स्वतन्त्रताको, भेदभावको नामनिशान हराएको, शान्ति र सुखी नेपालीको, तर ती सबै सपना र कल्पनामा मात्रै सीमित रहे। त्यसबेलाका धेरैभन्दा धेरै संरचनाहरू (विद्यालय, स्वास्थ्यचौकी, घर, मन्दिर आदि) ध्वस्त भए, तर पुनःनिर्माण गर्नेप्रति कसैले चासो देखाएनन्। आज ती नि:स्वार्थी नेपाली जसले १०/१३ वर्ष लडे, उनीहरूसँग न त परिवार रह्यो, न जवानी नै। रह्यो त केबल घाइते शरीर र बुढेसकाल मात्रै।
द्वन्द्वमा ज्यान गुमाएका परिवार तथा घाइतेहरूलाई, उनीहरूको बितिसकेको समय र जवानी फिर्ता ल्याउन त नसक्ला, घाइते शरीरलाई फेरि सकुशल पार्न त नसक्ला तर उनीहरूलाई यो हालतसम्म पुर्याउनेहरूलाई सजाय दिई पीडितहरूलाई रोजगारीको अवसर, पेन्सन, निःशुल्क शिक्षाको व्यवस्था गरी उनीहरू र उनीहरूको आफन्तहरूलाई सरकारले न्याय देला भन्नेमा विश्वस्त छु।
न्याय पाइएला नि है सरकार?