सामान्यतया विषादी भन्नाले बाली बिरुवा, मानव स्वास्थ्य, पशुपन्छी, निर्माण क्षेत्रमा लाग्ने विभिन्न शत्रुजीवहरूलाई रोक्न, नियन्त्रण गर्न वा व्यवस्थापन गर्न प्रयोग गरिने विषालु पदार्थलाई जनाउँछ। यदि यी विषालु पदार्थहरूको सही प्रयोग भएन भने मानव स्वास्थ्य, पशुपन्छी, जीवजन्तुका साथै वातावरणमा नराम्रो असर पर्छ। त्यसैले यी विषालु पदार्थहरूको लगातार र नियमित प्रयोगलाई स्वीकार गर्न सकिँदैन।
विषादीहरू मानव शरीर छाला, आँखा, मुख र श्वासप्रश्वासको माध्यमबाट शरीरभित्र प्रवेश गर्छन् र तत्कालीन तथा दीर्घकालीन रोगहरू जस्तै दम, पेट, मुटु र नसा सम्बन्धी रोग निम्त्याउनुका साथै स्मरणशक्ति हराउने, गर्भपतनको समस्या, बच्चामा विकृति भएर जन्मने आदि समस्याहरू देखिन्छ।
त्यसैले यस्ता समस्याबाट बच्न यिनीहरूको उत्पादन, प्रयोग, भण्डारण जस्ता कुराहरू गर्दा विशेष सावधानी अपनाउन जरुरी छ। यदि रासायनिक विषादीको प्रयोग गर्ने परेको खण्डमा यिनको असरबाट बच्न, व्यापारी, उपभोक्ता किसान आदि संलग्न व्यक्तिहरूले सावधानी अपनाउनु पर्छ।
आयातकर्ता
जीवनाशक विषादी व्यवस्था ऐन २०७६ र नियमावलीले व्यवस्था गरे अनुरुप प्रभावकारी र सुरक्षित विषादी पञ्जीकरण गराई आयात र बिक्रीवितरण गर्ने र कुनै कारणले फुटेका, चुहिएका पेखिएका विषादीहरूको उचित व्यवस्थापन गर्ने। म्याद नाघेका र म्याद भएका विषादीको तोकिएको मापदण्डअनुसार व्यवस्थापन गर्ने।
संश्लेषण
जीवनाशक विषादी व्यवस्था ऐन २०७६ र नियमावलीले व्यवस्था गरे अनुरुप आफूले कुन-कुन विषादीहरू संश्लेषण गरी उत्पादन गर्ने हो ती विषादीहरूलाई उत्पादन, भण्डारण र बिक्रीवितरण तोकिएको मापदण्डअनुसार गर्ने।
छर्कने व्यक्ति/व्यवसायी
विषादी शरीर भित्र नपस्ने गरी सुरक्षित पहिरन लगाउने, विषादीको लेबल पढ्ने र सुरक्षित लेबलको विषादीको मात्रै प्रयोग गर्ने। विषादी छर्ने उपकरणको अवस्था चेकजाँच गर्ने, हावाको गति र बहावटलाई ध्यान दिने। यदि २४ घण्टाभित्र पानी पर्ने सम्भावना भएमा विषादी नछर्ने। बिरुवा वा बालीको स्वभावअनुसार छर्ने स्टिकर टाँसी छर्ने, प्रयोगपश्चात उपकरणहरू सही तरिकाले सफा गरी राख्ने।
कृषक
विभिन्न जैविक तथा वनस्पातिक विधिहरू अवलम्बन गर्ने, स्थानीय स्तरमा पाइने श्रोत साधन (जस्तै- विभिन्न जडिबुटी मसलादार बालीहरू) र फरक स्वाद भएका वनस्पतिको प्रयोग गर्ने। यदि विषादी प्रयोग गर्नै पर्ने भएमा विषादी सम्बन्धी जानकारी भएको व्यक्ति वा कृषि प्राविधिको सल्लाह बमोजिम सही विषादी, सही मात्रा, सही समय, सही प्रयोग गर्ने। आवश्यक पहिरन लगाउने, खोल, बट्टा, प्याकेट जथाभावी नफाल्ने र पानीको मुहान नजिक विषादीको खोल-बट्टा सफा नगर्ने। मौरी तथा परागसेचनमा फाइदा पुर्याउने किराहरूलाई नोक्सानी गर्ने खालका विषादीको प्रयोग नगर्ने। विषादी छरेको सूचना खेतमा राख्ने, खान योग्य हुनका लागि पर्खने अवधि ख्याल गरेर मात्रै बाली टिप्ने।
उपभोक्ता खानेकुरा, हावा, पानीको माध्यमबाट विषादी हाम्रो शरीरमा आउने भएकाले खाने कुराबाट आउने विषादीलाई कम गर्न देहाय बमोजिमका उपाय अपनाउनु पर्छ-
१) पानीले धुने
तरकारी वा फलफूललाई भाडोमा डुबाएर धुनुभन्दा धारा वा बग्ने पानीमा ब्रसले कुनाकाप्चा समेत धोएपछि त्यसमा रहेको सम्पर्क विषादी ७०% सम्म कम हुने र व्याक्टेरिया तथा फोहोर समेत जाने गर्दछ। २% नुन वा खाने सोडा वा कागती पानीमा तरकारीलाई धोएर प्रेसर कुकरमा पकाएर खाँदा विषादीको मात्रा ८०% सम्म घट्छ। गोलभेडालाइ २% नुनपानीमा पखालेर पकाउँदा ९९% विषादीको अवशेष कम हुन्छ। पानीमा सजिलै घुल्ने दैहिक जस्ता विषादी पानीले पखाल्दा तिनका अवशेष नष्ट हुँदै जान्छन्।
२) बाहिरी पात फाल्ने र बोक्रा ताछ्ने
बन्दा जस्ता तरकारीहरूको बाहिरी पत्ता हटाई राम्ररी धुँदा वा तरकारी, फलफूलका बोक्रा ताछ्दा त्यसमा रहेका सम्पर्क विषादीहरूको मात्रा ४५-९९% सम्म कम हुँदै जान्छ।
३) धेरै परिकार खाने
दैनिकजसो एउटा मात्र तरकारीको सेवन नगरी फरक-फरक प्रकारका तरकारी, फलफूल खाएमा औसत विषादी अवशेषको मात्रा कम हुन आउँछ।
४) सुख्खा बनाउने
राम्रोसँग सफा गरी सफा कपडाले पुछी सुख्खा भएपछि मात्रै सेवन गर्ने। खाने सोडामा स्याउलाई १२ मिनेट जति डुबाएर पुछेमा त्यसमा भएका विषादीका अवशेष ९६% जति नष्ट हुन्छन्।
५) पकाएर खाने
बोक्रा ताछेर पकाउँदा अर्गानोफस्फेट विषादीको मात्रा ३५–६०% र अर्गानोक्लोरिनको मात्रा २० देखि २५% सम्म कम हुने गर्दछ। ३० मिनेट जति तरकारीलाई उमाल्दा दैहिक विषादीको अवशेष ८०-९०% कम हुने गर्दछ। ओभन वा फुड ड्रायरमाभन्दा घाममा सुकाएको फलफूलमा २०-३०% सम्म विषादी नष्ट हुन जान्छ।
६) फ्रीजमा राख्ने
तरकारी वा फलफूललाई फ्रीजमा १० डिग्री सेल्सियसमा ३-४ दिन राख्दा विषादीको अवशेष २४-९४% कम हुने गर्दछ।
७) निर्मलीकरण
दूध वा खानेकुरा निर्मलीकरणको लागि तताउँदा वा चिसोमा राख्दा विषादीको अवशेष नष्ट हुने गर्दछ।
विषादी विष हुन्, औषधि होइन। यिनको प्रयोग गर्दा सावधानी अपनाऔं।
(लेखक कृषि प्राविधिक हुन्।)