मे २ मा सुरू भएको हलिउड लेखकको हड्ताल सेप्टेम्बर २७ मा आएर टुंगियो। हलिउडमा योसँगै आठ पटक लेखकहरूको हड्ताल भएको रहेछ। हाम्रो नेपाली चलचित्र क्षेत्रमा धेरैवटा समस्या छन् तर म आफू पटकथा लेख्ने मान्छे भएकोले विशेष गरी पटकथा लेखनकै बारेमा केही लेख्न चाहेँ।
हुनत हलिउडको त्यो सन्दर्भलाई नेपालको चलचित्र क्षेत्रसँग जोड्न खोज्दा हाँस्यास्पद लाग्न सक्छ किनकी यहाँ फिल्म स्टुडियो छैन र धेरै वर्षसम्म सबैले एकल प्रयासबाटै फिल्म निर्माण गरिरहने हो। तर पनि लेखन र लेखकको महत्व यो क्षेत्रमा कति छ भन्ने कुराको उदाहरण भने हामीले लिन सक्छौं। हलिउडमा भएका ती हड्तालको पृष्ठभूमि र परिणाम अध्ययन गर्ने हो भने शायद हामीलाई पनि काम लाग्न सक्छ।
लेखक भनेको सिर्जना गर्ने र अक्षरमा कथा भन्ने मान्छे हो। कथा भन्ने मान्छेले आफ्नो सिर्जनामा अपनत्व खोज्छ। लेखकको लागि अपनत्व भनेको तीनवटा कुराले तय गर्छ।
१. सिर्जनात्मक अपनत्व
२. बौद्धिक अपनत्व
३. आर्थिक अपनत्व
यी तीनवटा मध्ये कुनै अपनत्व आफूले महसुस नगरेपछि हलिउडमा बेला बेलामा लेखकहरूको हड्ताल हुने गरेको छ।
अब कुरा गरौं नेपाली चलचित्र क्षेत्रको। के पटकथा लेखकले यहाँ यी तीन अपनत्व महसुस गर्ने गर्छन्? यसको उत्तर लिनको लागि एक पटकथाकारलाई सोध्नुपर्ने हुन्छ होला। म पनि तीमध्यकै एकजना हूँ। के मैले महसुस गरेको छु त? पहिले आफैलाई प्रश्न गरे।
पाँचमा एक पटक मैले यी तीनवटै अपनत्व केही हदसम्म महसुस गरेको छु। किन जरूरी छ त लेखकको लागि यी अपनत्वहरू? छलफल गरौं–
सिर्जनात्मक अपनत्व
सिर्जनाले मौखिक र भावनात्मक सिमाहरूलाई पार गर्न सहयोग गर्छ। साथमा अपनत्व जस्तो साझा भाव निर्माण गर्छ। लेखकले सिर्जना गरिरहँदा त्यस प्रकृयामा महसुस गर्ने यो भावलाई विशेष गरी निर्देशक र निर्माताले सम्बोदन गर्नुपर्ने हो।
नेपाली चलचित्र क्षेत्रमा भने धेरैजसो उल्टो हुन्छ। निर्देशक र निर्माता सिर्जना गर्ने मान्छेलाई अपनत्व महसुस गराउन छोडेर कलाकारलाई रिझाउन तल्लीन रहन्छन्। लेखक फगत निर्देशक र निर्माताको अनुवादक मात्रै रहन्छ। कलाकारलाई चलचित्रको उद्देश्य र पूर्ण चित्र सम्झाउने काम निर्देशकको हो। तर यहाँ लेखकले बुझाउनुपर्ने हुन्छ। लेखकको काम त्यो होइन।
केही अपवाद छोडेर धेरैजसो नेपाली चलचित्र छांयाकनमा गएदेखि लेखकले सिर्जनात्मक अपनत्व पूर्ण रूपमा गुमाउन थाल्छ। उसले सिर्जना गरेका पात्र कलाकारको अहंकारमा हराउँछ भने कथा निर्देशकको दिशाहिनतामा।
कथाको केन्द्रमा कुन विषय थियो र त्यसले भन्न खोजेको के हो भन्ने कुरा पर्दामा आउँदासम्म कलाकारको संवादमै सिमित हुन्छ। त्यसपछि लेखकको लागि त्यो चलचित्र 'त्यो फिल्मको प्राविधिक लेखक म हो है' भनेर क्रेडिट रोलमा नाम देखाउने बाहेक भूमिका लगभग समाप्त हुन्छ।
एउटा कथा बुन्ने क्रममा कथाकारले हरेक पात्र र कथानकको जग बनाएको हुन्छ। पात्रले गर्ने क्रिया र कथामा हुने घटना सबै केही कारणले घटेको हुन्छ। त्यसको कारण राम्रोसँग पटकथा अध्ययन गर्ने हो भने त्यसमै भेटिन्छ। होइन कारण भेटिएन भने कलाकारले निर्देशक अथवा लेखकलाई सोध्न सक्छ। कारण थाहा पाइसकेपछि उसले गर्ने भनेको त्यसलाई आफ्नो कलामा अनुवाद हो। तर कलाकार नै लेखक हुन् थालेपछि लेखकले आफ्नो सिर्जनात्मक अपनत्व फेरि पनि गुमाउँदै जान्छ। यहाँका निर्देशकहरू पनि कलाकारबाट यति प्रभावित हुन्छन् कि लेखक यो क्षेत्रमा टाइम पास मात्रै गर्न आएका छन् भन्ने महसुस हुन्छ।
धेरै कलाकार नाटकको पृष्ठभूमिबाट आएको भएर होला उनीहरू लेखनमा पनि आफ्नो भागिदारी खोज्छन्। आफ्नो धारणा राख्न खोज्छन्। धारणा राख्नु धेरै राम्रो हो तर लेखक, निर्देशकलाई आफू समर्पण नगर्नु चाहिँ भूल हो। त्यसले समग्रमा हामी कहीँ पनि पुग्दैनौं।
यसमा ध्यान दिनुपर्ने व्यक्ति भनेको निर्माता र निर्देशक हो। हाम्रोमा निर्माता खासै सिर्जनात्मक तवरले आफूलाई कथा लेखनको प्रक्रियामा सामेल त गराउँदैनन्। निर्देशकले चाहीँ यो जिम्मेवारी लिनुपर्ने नै हो। धेरैजसो निर्देशक भने कलाकारको अगाडि लम्पसार पर्ने अनि कलाकार नै चलचित्रको मेरूदन्ड हो भन्ने सोच्नेले लेखकको सिर्जनात्मक अपनत्व शून्य रहन्छ।
बौद्धिक अपनत्व
लेख्नु भनेको फेरि पनि सिर्जना गर्नु हो। सिर्जनामा मौलिकताको कुरा जोडिन्छ। पटकथा लेखकले आफ्नो मौलिक आवाज कथामा खोज्ने भनेको लेख्ने प्रक्रियामा हो। पहिला त लेखकको पनि आफ्नो मौलिक आवाज हुन्छ है भनेर निर्देशकले मान्दैन भने उक्त निर्देशकसँग सहकार्य गर्नु मुर्खता हो।
पहिलो चरणका ड्राफ्टमा कथा निर्देशकले भन्न खोजेको भाव निकाल्ने प्रयास हुन्छ। त्यसपछि लेखकले त्यसमा आफ्नो मौलिक आवाज भर्न सुरू गर्छ। अब निर्देशक र लेखकको सहकार्य हुँदै एउटा बिन्दुमा गएर त्यस पटकथाले पूर्ण आकार लिने हो।
लेखनको यो पूनर्लेखन प्रक्रियालाई नबुझ्ने कुनै पनि निर्माता र निर्देशकसँग काम गर्न धेरै कठिन हुन्छ। पटकथाको पहिलो ड्राफ्टनै झूर भयो भनेर टिप्पणी गर्दा लेखकको बौद्धिक क्षमतामा प्रहार हुन्छ।
लेखकको बौद्धिक क्षमतामा प्रहार भइसकेपछि त्यहाँबाट सुरू हुन्छ बौद्धिक अपनत्वको अधोगति। जब एउटा लेखकले बौद्धिक अपनत्वनै महसुस गर्दैन भने कथामा मौलिक आवाज पनि आउँदैन।
कथामा मौलिकता कति आवश्यक छ भन्ने सायद अहिले हामीले बुझ्दै छौं। नेपाली चलचित्रको मौलिकता के हो? भन्ने प्रश्न पहिले पनि उठिरहेको थियो र अहिले पनि उठिरहेको छ। उत्तर कसैसँग होला कसैसँग नहोला। उत्तरमा भन्दा पनि हामीले त्यो मौलिकता चलचित्रमा चाहीँ कति देखेको छौं?
पटकथा लेखकको मौलिक आवाज किन महत्वपूर्ण छ त?
३० सेप्टेम्बर २०११ बाल्टामा भएको लेक्चरमा ठूलो पर्दाको लागि कथा लेख्ने सम्बन्धी हलिउडका प्रसिद्ध लेखक चार्ली कफम्यानले पटकथाकार कति इमान्दार हुनुपर्छ भन्ने बारेमा भनेका छन्। सारमा केही भन्छु।
उनले भनेका छन् 'कथामा तपाइ को हो त्यसलाई इमान्दार भएर खुला तरिकाले भन्नुस्। तपाइको लेखन तपाइको समयको प्रतिबिम्ब हुनुपर्छ। यदि तपाइ लेखनमा आफू को हो भन्ने बारेमा इमान्दार हुनुहुन्छ भने आजको, भोलिको वा पाँच सय वर्षपछिको कोही एक्लो मान्छेले तपाइको काममा आफूलाई पाउनेछ र कम एक्लो महसुस गर्नेछ।'
मौलिक आवाजको लागि इमान्दारिता आवश्यक हुन्छ। तर चलचित्रमा लेखक मात्रै इमान्दार भएर भने हुँदैन। त्यो इमान्दारिताको भावलाई बुझ्ने निर्देशकको खाँचो रहन्छ।
यहाँको सन्दर्भमा फेरि पनि उद्देश्यकै कुरा आउँछ। निर्देशकको उद्देश्य। ऊ जति इमान्दार भएर कथा भन्न चाहन्छ लेखक पनि त्यतिकै इमान्दार हुन सक्छ। निर्देशकभन्दा एक कदम अगाडि गएर लेखकले इमान्दार हुन मिल्दैन। यसको कारण भनेको अन्तिममा कथालाई दृष्यमा कल्पना गर्ने मान्छे निर्देशक नै हो।
आर्थिक अपनत्व
आर्थिक अपनत्व भने केही असल निर्देशक र निर्माताको प्रयासले धेरै हदसम्म सुधार भइरहेको छ। सुधार भइरहेको भए पनि सिर्जनाको मूल्य के? भन्ने प्रश्न सधैं रहिरहन्छ।
एउटा ठूलो बजेटको चलचित्र निर्माण गरिरहँदा, साथमा कलाकारलाई बजेटको पच्चीस प्रतिशत पारिश्रमिक दिइरहँदा त्यसको परिकल्पना गरेर जग हाल्ने मान्छेलाई पाँच प्रतिशत पारिश्रमिक दिने कि नदिने? पटकथा लेखनलाई फगत किबोर्ड र अक्षरसँग मात्रै दाँज्ने कि सिर्जनाको सही मुल्यांकन गर्ने?
यो प्रश्नहरू म आफूले पनि आफूलाई गर्दैछु। आज म लेखक हूँ, भोलि निर्देशक र पर्सी निर्माता हूँदा यी कुरालाई सम्बोदन गर्न मैले सक्ने छु या छैन? त्यो कुरा समयले नै देखाउला। अहिलेको लागि कुरा यति हो लेखकले सम्मानपूर्ण पारिश्रमिक पाउनुपर्छ। यदि कलाकार र निर्देशकले आफ्नो काम गरेर परिवार पाल्न सकिरहेका छन् भने लेखकले पनि पाल्न सक्नुपर्छ।
अन्त्यमा नेपाली चलचित्र क्षेत्रमा राम्रो लेखक कम हुनु आफैमा लेखक हड्ताल हो। जबसम्म यी तीनवटै अपनत्वको प्रत्याभुति हुँदैन तबसम्म हामीले यो क्षेत्रमा राम्रो लेखक टिकिरहने आश पनि गर्न हुँदैन। सुरू नै लेखनबाट हुने चलचित्रको कलालाई हामीले कुनै न कुनै दिन अलिक गम्भीर भएर लिनेछौं। मलाई त्यो दिनको प्रतिक्षा छ।
(आकाश बराल दिमाग खराबको लेखक हुन्।)