यति बेला हामीकहाँ फिल्म बनाएर कसरी पैसा कमाउने अथवा कसरी हिट फिल्म बनाउने, कस्तो फिल्म बनाउँदा हिट हुन्छ अथवा पैसा कमाइन्छ भन्ने होड नै चलेको जस्तो देखिन्छ।
व्यवसायभन्दा कलाका बढी पक्षपाती भनिएर चिनिएका चलचित्रकर्मीहरू पनि भएन अब पैसा कमाउने फिल्म बनाउनु पर्यो भनेको सुन्न पाइन्छ।
कतिपयले मलाई पनि 'ल भएन, अब तपाईंले पनि ‘चल्ने’ फिल्म बनाउनु पर्यो', भनेर राम्रो मनसायले सल्लाह दिनुहुन्छ।
आफूले बनाएको पहिलो कथानक चलचित्र चुर्लुम्म डुबेको मजस्तो व्यक्तिले चलचित्र चल्नु अथवा पैसा कमाउनु कति महत्वपूर्ण हुन्छ कुरा मैले राम्रोसँग बुझेको छु।
निश्चित रूपमा आफूले गरेको कामबाट पैसा कमाउन चाहनु चलचित्रकर्मीका लागि मात्र होइन, जुनसुकै क्षेत्रको अथवा व्यवसायको मानिसको लागि स्वाभाविक कुरा हो।
समाज सेवा गर्नेको कुरा अर्कै भयो, मान्छेले मुख्यतया पैसा कमाउनकै लागि काम गर्ने हो। पैसा सबैलाई चाहिन्छ। पैसाले धेरै कुरा मानिसको पहुँचमा ल्याइदिन्छ। फेरि कस्तो चलचित्र बनाउने भन्ने कुरा निर्क्यौल गर्ने कुरा एउटा चलचित्रकर्मीको नितान्त वयैक्तिक रोजाइ र इच्छाको कुरा हो।
कसैलाई पनि तिमीले यस्तो चलचित्र बनाऊ वा बनाउनुपर्छ भनेर भन्न मिल्दैन र दर्शकको हकमा पनि सोही कुरा लागू हुन्छ।
कुन दर्शकलाई कस्तो चलचित्र मनपर्छ, त्यो उसको व्यक्तिगत रोजाइको कुरा हो। जसरी हामीले कुनै चलचित्रकर्मीलाई तिमीले यस्तो चलचित्र बनाउनुपर्छ भनेर भन्न मिल्दैन त्यसरी नै हामी कसैले पनि तिमीले दर्शक भएर यस्तो चलचित्र हेर्नुपर्छ अथवा मन पराउनु पर्छ भनेर भन्न मिल्दैन।
फेरि एउटा चलचित्रकर्मीले अरूका लागि अथवा दर्शकका लागि चलचित्र बनाएको हुन्छ। त्यसैले पनि दर्शकलाई नजरअन्दाज गर्न मिल्दैन। (सुने अनुसार भारतको पुनेस्थित फिल्म एण्ड टेलिभिजन इन्ष्टिच्यूट् अफ इण्डिया (एफ्टिआइआइ) को हलमा एक जना चलचित्रकर्मीले आफ्नो फिल्म देखाउन ल्याए रे।
फिल्म सुरू हुन अगाडि उनले आत्मगौरवका साथ भने रे, 'यो चलचित्र मैले मेरा लागि बनाएको हो। अरू कसैलाई जे–जस्तो लागोस्, मन परोस्–नपरोस् मलाई मतलब छैन।'
उनले यति भने पछि उनको चलचित्रको स्क्रिनिङ्ग सुरू हुनुअघि नै उपस्थित सबै दर्शक चुपचाप हल छोडेर बाहिर निस्के रे।
कसैले उनलाई 'तिमीले आफ्नो लागि मात्र बनाएको हो भने किन हामीलाई बोलाएको त? तिमी आफैं एक्लै बसेर हेरे भइहाल्यो नि' भनेर भनिदिएको भए पनि हुन्थ्यो नि! एउटा चलचित्रकर्मीका लागि यस्तो अवस्था आउनु बिल्कुलै राम्रो होइन।
यति हुँदाहुुँदै पनि चलचित्र व्यवसाय मात्र होइन एउटा कला पनि हो। वास्तवमा जब विश्वमा चलचित्र बनिन सुरू भयो, यसलाई एउटा कला (आर्ट फर्म) को रूपमा तत्काल स्वीकार गरिएन। सुरूआतमा यसलाई एउटा फगत मनोरञ्जन, एउटा चटकीबाजले देखाउने चटक जसरी लिइयो, विशेष गरी पढेलेखेका र कला समीक्षकहरूद्वारा। चलचित्रलाई सातौं कलाको रूपमा स्वीकार गराउन र त्यस्तो दर्जा दिलाउनका लागि चलचित्रकर्मको इतिहासमा धेरै चलचित्रकर्मीहरूको धेरै पसिना बगेको छ।
सबै जना यो कुरामा सहमत नहुन सक्छन्। तर केबल धेरैभन्दा धेरै पैसा कमाउने हेतुले चलचित्रको सिर्जनात्मकतालाई कम्प्रमाइज गरिएको चलचित्र उत्तम चलचित्र मान्न सकिँदैन चाहे त्यो व्यावसायिक रूपमा जति नै सफल किन नहोस्।
विश्वमा यस्ता चलचित्रकर्मीहरू पनि पाइन्छन् जो आफ्नो चलचित्रले धेरै पैसा कमाउनु पर्ने कुरामा विश्वास गर्दैनन् अथवा आफ्नो चलचित्र कति दर्शकले मन पराउँछन् भन्ने कुरालाई धेरै महत्व दिँदैनन्।
अब यस्ता चलचित्रकर्मीको त कुरा नै बेग्लै भयो। उनीहरूलाई सलाम ! (फेरि, सुने अनुसार प्रख्यात् फ्रान्सेली चलचित्र निर्देशक गोदार्द भारतको पुनेस्थित एफ्टिआइआइमा गेस्ट् लेक्चर दिन आएका थिए रे। लेक्चर दिनुभन्दा पहिले नै उनेले विद्यार्थीलाई, 'तिमीहरूमध्ये जसले चलचित्र बनाएर पैसा कमाउँछु भन्ने जस–जसलाई लागेको छ, मेरो क्लासबाट बाहिर जाऊ' भने अरे। अब गोदार्द जस्ता चलचित्रकर्मीहरूलाई त ‘सलाम’ बाहेक अरू के भन्न सकिन्छ र ?)
तर यदि आमदर्शकले सामान्यतया एउटा निश्चित प्रकारको सो–कल्ड् कमर्सियल फिल्म मन पराउँछन् भन्ने मान्ने हो भने पनि विश्वको कुनै पनि मुलुक वा समाजमा रहेको चलचित्रकर्मीले गर्नु पर्ने कोसिस भनेको यस्तो चलचित्र बनाउने हो जुन आमदर्शकका लागि ग्राह्य पनि होस् तर आफ्नो सिर्जनशीलता पनि चलचित्रमा कायम रहोस्।
अर्काे शब्दमा भन्नु पर्दा व्यवसाय र सिर्जनाको सन्तुलन राख्न सक्नु चलचित्रकर्मीको आजको मुख्य चुनौती हो।
तर यो यति ठूलो चुनौती पनि होइन, जसलाई सम्बोधन गर्न असम्भव होस्।
चलचित्रको इतिहास र वर्तमानमा धेरै यस्ता चलचित्र र चलचित्रकर्मीहरू पाइन्छन्, जसले यो चुनौतीलाई सफलातापूवर्क सामना गरेका छन्।
ठीक छ, चलचित्रले मनोरञ्जन दिनुपर्छ। तर के चलचित्रले मनोरञ्जनसँगै जीवन र जगतबारे, आफ्नो समाजबारे, समाजमा रहेका सवाल र समस्याहरूबारे पनि केही भन्न सक्दैन र? चाहे त्यो जुनसुकै रूप, शैली अथवा ढंगमा होस्। चाहे त्यो एकदमै सुसुप्त र अप्रत्यक्ष रूपमै किन नहोस्? अथवा चलचित्रमार्फत् केही सन्देश दिन सकिँदैन? सन्देशको कुरा आउँदा प्रसिद्ध अमेरिकी निर्माता स्यामुअल गोल्डविनको याद आउँदाखेरी।
उनी भन्थे, 'तिमीसँग कुनै सन्देश छ भने टेलिग्राम पठाउनू।'
गोल्डविन साहेब, टेलिग्रामबाट पठाउने सन्देश र चलचित्रबाट दिने सन्देश बेग्लैबेग्लै हो क्या, कस्तो नबुझेको यति कुरा पनि? तर सन्देश दिनेबाहेक अरू कुरा पनि गर्न त सकिन्छ चलचित्रमार्फत्। जस्तो कि, समाजको कुनै पक्ष, मूल्यमान्यता, परम्परा, शक्ति संरचना आदिबारे प्रश्न गर्न। (यहाँनिर मलाई सबभन्दा पहिला भारतीय चलचित्र निर्देशक मणि रत्नको याद आउँछ, उनको दृष्टान्त अलिक पुरानो भएता पनि। उनी कमर्सियल सेट्अपमा चलचित्र बनाउँछन्, उनको फिल्ममा नृत्य हुन्छ, गीत हुन्छ, मनोरञ्जनका सो–कल्ड अरू एलिमेन्ट् पनि हुन्छन्। तर तिनै चलचित्रमार्फत् उनले भारतीय समाजका विभिन्न परम्परा वा मान्यता आदि माथि प्रश्न गरेका छन्। महत्वपूर्ण कुरा, उनको अधिकांश चलचित्र आमदर्शकले हेर्छन्, मन पराउँछन् र हिट भएका छन् ।)
उच्चतम् सिर्जनशीलता अथवा अभिव्यक्ति भएको सिर्जना आममानिसलाई ग्राह्य हुँदैन भन्नेहरूलाई चलचित्रकर्मी तथा प्राध्यापक माइकल र्याबिगर के भन्छन् भने हामीले के बिर्सनु हुँदैन भने सेक्सपियरले आफ्ना नाटक त्यतिबेलाका आममानिसको मनोरञ्जनका लागि लेखेका थिए।
उनको नाटक हेरेर आममानिस हाँस्थे, रुन्थे, भरपुर मनोरञ्जन लिन्थे। तर आजसम्म पनि उनको नाटक उच्चतम कोटीको कालजयी सिर्जनाको रूपमा जीवित छन्। हामी सबै सेक्सपियर हुन त पक्कै सक्दैनौं तथापि प्रोफेसर र्याबिगरको यो कुरा मननयोग्य नै छ।
एउटा चलचित्रकर्मीले 'यस्तै फिल्म चल्छ त्यसैले म यस्तै बनाउँछु अथवा जस्तो चल्छ त्यस्तै बनाउँछु' भन्नु त एउटा कर्मचारीले सबैले भ्रष्टाचार गर्छन्, त्यसैले मैले पनि नगरी सुख छैन अथवा एउटा व्यापारीले सोझो तरिकाले व्यापार गरेर फाइदै हुँदैन त्यसैले म अलिक बाङ्गोटिङ्गो बाटोबाट पनि व्यापार गर्छु' भन्नुमा कति फरक होला र?
यदि कुनै चलचित्रकर्मीले सो–कल्ड कमर्सियल ढाँचामा चलचित्र बनाउँछ तर त्यसमा आफ्नो सिर्जनात्मकता कायम राख्छ भने त्योभन्दा गजब त के हुन सक्ला र?
अनि यस्तो फिल्म सुपरहिट भएमा हामी सबैले उल्लास नमनाउनु पर्ने के कारण नै बाँकी रहन्छ होला र? तर मलाई अरू कुरा मतलब छैन, जसरी नि हिट फिल्म बनाउँछु, जस्तो बनाउँदा हिट हुन्छ त्यस्तै बनाउँछु भन्ने निर्देशक सर्जकबाट विशुद्ध व्यापारी बन्ने बाटोतिर अग्रसर हुन्छ।
एउटा चलचित्रको निर्माताले आफूले लगानी गरेकोले त्यसले धेरैभन्दा धेरै मुनाफा कमाओस् भन्ने चाहना राख्नु स्वाभाविकै होला। तर एउटा चलचित्रकर्मी अथवा निर्देशकले उच्च मुनाफालाई प्राथमिकतामा राख्नु हुन्छ जस्तो मलाई लाग्दैन। हलिउड वा बलिउड कदापि हाम्रो आदर्श वा मोडल हुन सक्दैन।
अर्कातिर, काम चाहिँ चलचित्र बनाउने गर्ने तर भात खानका लागि अर्काे कुनै काम गर्ने अथवा विकल्प खोज्नुपर्ने अवस्थालाई पक्कै पनि उचित मान्न सकिँदैन। तर मलाई एउटा चलचित्रकर्मीले व्यापारी बन्ने उद्देश्य लिनु अथवा प्रयत्न गर्नुहुन्छ जस्तो लाग्दैन। उसले राख्ने अपेक्षा भनेको चलचित्रकर्मबाट जीविकोपार्जन गर्ने हो, जीवन चलाउने हो, करोड पति बन्ने होइन। यहाँनिर मलाई सत्यजित रेको याद आउँछ, भलै उनी जस्ता महान् र उच्च दक्षता भएको चलचित्रकर्मीको उदाहरण यस प्रसंगमा कति उपयुक्त हुन्छ मलाई थाहा छैन।
आफ्नो जीवनकालमा उनले २९ वटा फिचरसहित जम्म ३६ वटा चलचित्र बनाए। उनका चलचित्र कहिले पनि सामान्य अर्थमा भनिने ‘सुपरहिट’ भएन तर शायदै उनको कुनै चलचित्र घाटामा गयो।
उनको निर्माताहरू रातौरात करोडपति भएनन् तर उनीहरूले घरबार बेच्नु परेन। त्यति जति पैसा आउथ्यो कि ती निर्माताहरू उनीसँग खुसीखुी अर्काे फिल्म बनाउन राजी हुन्थे।
'घर चलाउन कति गाह्रो छ उनलाई (सत्यजीत रेलाई) थाहा छैन' सत्यजीतकी श्रीमती बिजोया कहिलेकाहीँ भन्थिन्। 'घर चलाउने जिम्मा तिम्रो। मलाई मैले चाहेको पुस्तक र संगीतको रेर्कड किन्न पुगेकै छ। त्योभन्दा बढी मलाई के चाहियो ?,' ठ्ट्यौली पारामा भन्थे।
दक्षिण कलकताको साउथ एभेन्यूमा उनी आफ्नो ठूलो संयुक्त परिवारसहित भाडाको घरमा बस्थे।
उनी दिनमा सरदर १२ घण्टा काम गरेर राति दुई बजे सुत्थे। बर्खाको याममा पनि कलकताको गर्मीमा बिना एसी पंखाको भरमा उनी काममा तल्लीन देख्दा उनलाई भेट्न आउने विदेशीहरू चकित हुन्थे। व्यावसायिक रूपमा पनि हाम्रो आदर्श रे वा उनी जस्ता चलचित्रकर्मी हुन सक्छन् कि बरू?
आजभन्दा १५–२० वर्ष अघि हामी बलिउडको कपी गर्नुलाई चलचित्र बनाउनु भन्थ्यौं। केही जोखिम मोलेर, हाम्रो मेहनत, भिजन र सिर्जनशीलताले गर्दा आज त्यो अवस्था फेरिएको छ। यो सानो उपलब्धी होइन। एउटा स्टेरियोटाइपलाई हामीले तोडेर अघि बढ्यौं। तर फेरि जे कुराले हामीले त्यो स्टेरियोटाइपलाई तोड्यौं त्यही कुरा अर्काे स्टेरियोटाइप बन्ने जोखिम देखिएको छ। यसबाट हामी बच्नुपर्छ जस्तो लाग्छ। हामी किन पनि बच्नुपर्छ भने हाम्रा दर्शकका नजरमा गिर्यौं भने, ‘डिस्क्रेडिटेड्’ भयौं भने फेरि त्यो विश्वास जित्न लामो समय लाग्ने छ। र यसको एउटै उपाय भनेको व्यावसायिक हुने ध्याउन्न अथवा अझ भनौं बहानामा आफ्नो चलचित्रमा कला र सिजनात्मकता नमरोस् भन्ने कुरामा सचेत हुनु हो। बाँकी कुरा डिटेल हुन्, तपशिलका कुरा हुन्। चलचित्र बनाउनु कहिले पो सजिलो थियो र?