२०७६ को दसैं।
मैतिदेवी मन्दिर नजिकै घर भएकाले साँझ दर्शन गर्न गएँ। मन्दिर पस्नासाथ सुकदेव सिंहसँग भेट भयो। उनी करिब २५ वर्षदेखि हाम्रो टोलको इलेक्ट्रिसियन थिए।
केही वर्षदेखि दसैं, तिहार र छठको बेला मैतिदेवीमा बत्ती हाल्ने जिम्मा पनि उनैको थियो। मन्दिर वरिपरि दसैंदेखि छठसम्म बत्ती हाल्ने चलन सुरू भएदेखि नै उनको मुहारमा अलग्गै चमक थियो। अरू बेलाभन्दा दसैंमा उनी दस वर्ष कान्छो देखिन्थे। सायद राम्रो काम गरेको आत्मसन्तुष्टिले हुनुपर्छ!
प्रायः फोटो खिच्नुपर्छ भन्ने हेक्का नगर्ने मैले उनीसँग त्यस दिन फोटो खिचाएँ। साँझमा भीड कम भएको मौका छोपी एकछिन कुराकानी पनि गरेँ।
‘व्यस्त हो तपाईं?’ मैले सोधेँ।
‘अँ दसैं सुरू हुँदा निकै व्यस्त भइन्छ। सबै तार लगाउनु पर्छ। त्यसपछि जलेका बत्तीहरू फेर्नुपर्छ,’ उनले जवाफ फर्काए।
मैले भने, ‘एक-दुई बल्भ जले खासै याद हुन्न होला नि!’ ढाडस दिन यस्तो भनेको त उनी अलि तर्सिए।
मेरो कुरा सुन्ना साथ भने, ‘राम्रो हुन्न न्रि एउटा बल्भ जानासाथ पूरै तारको बत्ती निभ्छ। चाँडै फेरिहाल्नु पर्छ। हिजो-अस्ति मसँग काम गर्ने केटाहरू पूरै जाग्राम बसेर लाइट लगाए। अब केही दिन यतै बसी सब कुरा हेर्छन्।’
उनको चटारो देखेर मैले धेरै समय नलिने निधो गरेँ र भनेँ, ‘ल निकै काम रहेछ तपाईंको। डिस्टर्ब गर्दिन।’
उनले पनि कुरा बुझिहाले र भने, ‘राति दस–एघार बजेतिर आउनु न। यहाँको बत्ती सबैभन्दा राम्रो देखिन्छ। कोही नहुने भएकाले शान्त हुन्छ। छिमेकका बत्ती निभिसक्ने हुनाले मन्दिरको बत्ती झन् चम्किलो देखिन्छ। तपाईंको घर यतै त हो। डर मान्नु पर्दैन।’
४० को दशकमा मौतिदेवीमा हुर्केका मजस्तालाई त्यतिबेला डर मान्नुपर्ने थुप्रै कुरा थिए। मौतिदेवीमा भर्खर-भर्खर बस्ती बस्न थालेको थियो। वरिपरि धान खेत थिए। खेतका मुसा, सर्प घरमै छिर्लान भन्ने पीर हुन्थ्यो। साँझपख बाटो सुनसान हुन्थ्यो। रातमा कुकुर कराएको हो कि स्याल भनेर सजिलै ठम्याउन सकिदैनथ्यो। टोलका दाईहरूले पहिला मैतिदेवी मन्दिरछेउ मसानघाट थियो भन्दा सजिलै पत्याइन्थ्यो। यदि कसैले त्यसबेला भविष्यमा यता झलमल्ल बत्ती बालिनेछ र सहरबासी सबै त्यो शृङार हेर्न आउनेछन् भनेको भए पत्याउन गाह्रो हुन्थ्यो।
त्यो दसैंमा म साँझ, रात र बिहान बत्ती निभ्नुअघि धेरैपटक बत्ती हेर्न गएँ। मन्दिरको धुरी र परिसरको ग्रील अनि मन्दिरलाई छुट्टै पहिचान दिने पीपल बोट र पाटी सबै स-साना बत्तीहरूका मालाले सजिएका थिए। बत्ती बालिने ठाउँ हरेक साल बढ्दै गएको थियो। त्यस साल एकातिर मैतिदेवी चोक र अर्कातिर ज्ञानेश्वर ओरालोसम्म बत्तीका लहराहरू सडकमाथि राखिएको थियो।
हुन त सहरका अरू मन्दिर पनि नसजाइने होइन। दरबारमार्गका ठूला भवनहरू पनि सजिन्छ। हाउजिङका घर र तारे होटेलहरूमा पनि यस्तै शृंगार हुन्छ। तर मैतिदेवी जस्तो मन्दिरदेखि सडक र घरसम्मै एकनासले मिलाएर राखिने बत्ती कमै ठाउँमा पाइन्छ। सजिलै पुग्न सकिने सार्वजनिक थलो भएकोले यस्तो भव्य सजावट सबैको पहुँचमा छ। मन्दिर परिसर धेरै फैलिएको छैन। बाटोकै आडमा मन्दिर भएकोले आवतजावत गर्न पनि सजिलो हुन्छ।
सुकदेवले भनेजस्तै रातको बत्ती अलग्गै थियो। बत्तीका दानाहरू रातको आकाशमा ताराजस्तै चम्किन्थे। काठमाडौंमा प्रदूषणले राति बिरलै राम्ररी देखिने आकाश हुन्थे। बत्तीको उज्यालोमा आकाश पनि नजिक आएजस्तो लाग्थ्यो। त्यस क्षण मलाई सजावटमा लागेका इलेक्ट्रिसियनहरू आधुनिक तान्त्रिक जस्तै लागे।
प्राचीनकालमा तान्त्रिकहरूले सहरलाई राम्रो हुन्छ भनेर तिब्बतबाट भारत उडेका भौरवलाई यतै राख्न सफल भएका थिए रे। मन्दिर सजाउनेहरूले रातको आकाशलाई केही हप्ताका लागि भए पनि धर्तीमै ल्याइदिएजस्तो लाग्थयो। बत्तीको झिलिमिलीले बाटोको कुनाकाप्चा सबै देखिन्थ्यो। बाटो प्रायः खाली नै भए पनि डर पटक्कै लाग्दैनथ्यो। कोही बाटोमा हिँडेको देख्दा पनि आफूजस्तै बत्ती हेर्न आएका हुन् कि जस्तो लाग्थ्यो।
बत्तिले ल्याएको न्यानोपनले केही सकारात्मक सोच्ने, केही नयाँ आट्ने र कल्पना गर्ने उर्जा दिएको थियो। ती कुरा सम्झँदा अहिले हाँसो लाग्छ। तर त्यो बेला यिनै साना कुरा मेरा अनेक सपनाकाे प्रेरणा बनेका थिएँ।
छठपछि सुकदेवसँग मैतिदेवीको ट्याक्सी स्टेण्डनिर भेट भयो। उनी बत्तीका तार बेर्दै बक्साहरूमा राख्दै थिए।
उनलाई देख्ने बित्तिकै सोधे, ‘अब यो अर्को वर्षका लागि राख्ने हो?’
अलि थकित पारामा उनले भने, ‘हेरौं, कस्तो डिजाइन हुन्छ!’
कुराकानी अगाडि बढाउन मैले उनलाई सोधेँ, ‘यसपालिको डिजाइन तपाईंले गर्नुभएको हो?’
उनी एकछिन अक्मकिए र भने, ‘छोरा राजेश इन्डिया गएको थियो। उसले त्यतै दुई-तीन ठाउँ हेरेर आएको थियो। उसैले मिलायो।’
अनि फेरि सोधेँ, ‘बत्ती पनि त्यतैबाट ल्याउनुभएको?’
उनले भने, ‘होइन चाइनाबाट आउँछ।’
‘नेपालको अरु सब थोक जस्तै रहेछ’ मैले यस्तो भनेपछि यो विषय त्यही टुंगियो।
उनले कुरा मोडे, ‘कालिकास्थान जानुभयो यसपालि? तपाईंलाई मनपर्ने सेतो बत्ती हालिएको थियो।’
‘अँ देखे। राम्रो लाग्यो।’ मैले उत्तर दिए।
त्यसपछि उनले उत्साहित हुँदै सुनाए, ‘अब अर्को वर्ष मैतिदेवी चोकदेखि माथि कालिकास्थानसम्म बत्ती हाल्छौं। यताबाट पनि ज्ञानेश्वरसम्म पुर्याउँछौं।’
‘निकै भव्य देखिन्छ होला है?’ उनको कुरा सुनेर दंग पर्दै मैले भने।
उनले अलि मसिनो स्वरमा भने, ‘अब हरेक साल केही फरक गर्नु पर्यो नि।’
मलाई उनको कुरा सही नै लाग्यो।
२०७६ सालको तिहारको केही हप्तापछि सुकदेवलाई हृदयघात भयो। दसैं आउन पूरै एक वर्ष बाँकी भए पनि उनको निर्देशन बिना मन्दिरको सजावट कस्तो होला भनि सोचे। उनको योजना भाताभुङ हुने हो कि भन्ने पीर पनि लाग्यो।
त्यसपछिको दसैं कसैले कल्पना नगरेको कोरोना महामारीबीच बित्यो। लाग्छ, त्यो वर्ष मन्दिर सजाइएन। महामारीपछि बाहिर निस्कँदा सुकदेवझैं चिनजानका धेरै गुमाइसकेको थिएँ।
गत वर्षसम्म महामारी सबैले लगभग बिर्सिसकेका थिए। मौतिदेवी मन्दिरमा पनि बत्ती फेरि लगाइएको थियो। सुकदेवका छोरा राजेश कुमारले बत्ती लगाएका थिए। ब्यानरमा आफ्नो पसल 'ॐ इलेक्ट्रिक सेन्टर' को विज्ञापन राखेकाले टोलबासीबाहेक अरूले पनि सजावट पछाडि कसको मिहिनेत थियो भनेर थाहा पाउने मौका पाएका थिए।
मैतिदेवी मन्दिरमा पहिला भन्दा निकै भिड थियो। भीड हुनु स्वभाविक पनि थियो। दुई वर्षपछि चाड मनाउन पाएको उत्साह जो थियो सबैमा। यस वर्ष भने भीड सय गुणा बढेझैं लाग्यो। खासगरी भिडियो बनाउन आएकाहरुको भीड थियो। त्यस्तो भीड मैले मोबाइलमा मोहिनी झर्नाको भिडिओ हेर्दा देखेकी थिएँ। त्यस्तो दृश्य घर अगाडि नै पाएँ।
मैतिदेवीमा आउने दर्शणार्थीहरू बदलिए जस्तै केही वर्ष यता ममा पनि बदलाव आएको महसुस गर्छु। पहिला मलाई मन्दिरको शृङार र जात्रा व्यवस्थापन टाढाबाट हेर्दैमा रमाइलो लाग्थ्यो। अब भने त्यतिले चित्त बुझ्दैन। धेरैपटक मन्दिर सजिएको हेरिसकेको भएर हो कि? वा आफ्नो टोल भएर हो? बढ्दो उमेरको असर पनि हुनसक्छ! अचेल आफ्ना धारणा, विचार, प्रतिक्रिया सबै व्यक्त गर्छु। भीड देख्दा मन्दिर नै दर्शन गर्न नपाइला कि भनेर छिमेकी पसलेसँग गुनासो गर्छु।
मेरो गुनासो सुनेर उनी भन्छन्, ‘लाइन त व्यवस्थित छ। बत्ती हेर्नचाहिँ टीका कुर्नु पर्ला।’
लाइन त राम्ररी अघि बढिरहेको देखेँ। महिला स्काउटको परिचालन पनि गरिएको छ। स्काउटहरूसँग कुन टाइममा आउँदा हुल हुन्न भनेर सोध्छु। प्रवेशद्वारको पछाडि बेलुन जोडेर अर्को गेट बनाइएको छ। न दिनमा न रातमा राम्रो देखिने! बरू पहिले जस्तो बाटोमा बत्तीका साथै तोरण लगाएको भए हुने! तोरण हुँदा त दिउँसै पनि बाटो उल्लासमय देखिन्थ्यो। अब इलेक्ट्रिसियनहरू भेट्दा यसबारे कुरा गर्नुपर्छ भन्ने ठाने।
हरेक रात गल्लीमा बाइकहरू पार्क गरेको देख्दा बाहिर कसरी जाने भनी घरमा सोध्छु। गल्ली मात्र नभई मुख्य सडक पनि व्यस्त छ। खैर भिआइपीहरू आउँदा बाटो छेकिनु भन्दा सर्वसाधरणलाई सुविधा हुनेगरी बाटो छेकिएको बेस! गाडीमा आउनेहरूलाई यसपालि फाइदा छ। जाम हुनाले बिस्तारै गाडी हाक्दै बत्ती हेर्दै जान पाइन्छ।
नभन्दै पुरानो साथीले फेसबुकमा लेख्यो, 'तिम्रोतिर त कस्तो राम्रो गरेको रैछ। मजाले ड्राइभ गर्दै हेर्दै आएँ।'
उसले नभेटी गएकोले चित्त दुख्दा रिप्लाइमा लेखेँ, 'पार्क पनि मन्दिरमै गर्यौ होला होइन?'
यसपाली मन्दिरछेउ नर्सरी हटाइएको ठाउँमा पार्किङ बनाइएकाले पहिलेभन्दा सुविस्ता छ। नर्सरी हटाएदेखि फुटबल प्रतियोगितादेखि अगाडिको गुठी भवन बनाउने सामाग्री राख्न राम्रो प्रयोग भएको छ। तर काठमाडौंको खाली जमीन धेरै समय टिक्दैन।
यस्तै कुरामा दिमाग धेरै अलमलिरहन्छ। अनि आकाशतिर हेर्छु। पर–परसम्म बत्तीको झिलिमिली देख्दा मन शान्त हुन्छ।