पटक पटक अरूका बाआमाको मलामी गएर आउँदा समेत मलाई लाग्थ्यो- 'मेरा बाआमा कहिल्यै मर्दैनन्।'
मलाई यो धरामा ल्याउने शक्तिसँग जोरी खोज्ने काल आफैं निस्तेज भएर जान्छ भन्ने लाग्थ्यो। तर त्यो मेरो आत्मविश्वास नियतिका लागि मञ्जुर भएन।
आखिर मेरो आस्थामाथि धक्का दिएर ५ वर्षको अन्तरालमा हामीबाट हाम्रो सुरक्षाको छानो उडेर गयो। त्यसपछि समथर बाटो बिग्रिएर घाटो बन्यो। आस्थाको त्यो जीवित मूर्तिले एकाएक पिण्ड र तर्पणको लय पक्रियो। आशा हरायो, विश्वास हरायो, भविष्यको सपना हरायो। जीवन एकाएक सामुद्रिक आँधीमा असन्तुलित बनेको डुंगाजस्तो बन्न पुग्यो।
आँसुका पनि सीमारेखा हुँदा रहेछन्। एउटा बिन्दुमा पुगेर रित्तिँदो रहेछ। बाआमा गुमेपछिको जन्मघर स्याहार नपाएको धर्मशाला बन्ने क्रम सुरू भयो। हामी तीन दाजुभाइमध्ये जेठा दाजुको २१ वर्षको उमेरमै असामयिक देहवसानपछि पुत्रशोकले ग्रसित बाआमाको पीडाबोध नजिकबाट अनुभव गरेको मेरा लागि बाआमाको महाप्रस्थान अप्रत्याशित मात्र थिएन, आकाश खसेको दुर्दिन थियो। यो यस्तो दुर्घटनामा न त्यसको प्रतिवाद गर्ने तयारी हुन्छ, न सामर्थ्य नै।
ठूलोबा बितेको महिना दिन नबित्दै बालाई लस्करै बिदा गर्नुपर्दा अर्को आशको लौरो भाँचिएको तीतो सत्यसँग सम्झौता गर्नुपर्यो।
आमा बिते पनि बा हुनुहुन्थ्यो। बा हुनुहुन्थ्यो र नै त बिर्घा थियो। कसैले मलाई सबैभन्दा शक्तिशाली सुगन्ध केमा हुन्छ भनेर सोध्यो भने मेरो उत्तर हुन्थ्यो-म जन्मिएको माटो।
बालाई सन्तान भएको अधिकार स्वरूप एकमुठी पानी ख्वाउन नपाई उहाँले महायात्रा तय गरेको त्यो दिन सम्झँदा अहिले पनि जमिन फाट्छ, आकाशले थिच्छ। बा हुनुहुन्थ्यो, सन्तानको परिचय पूर्ण थियो। कसैले कुनै पारिवारिक निर्णय दिन आग्रह गर्दा स्वतः फुस्कन्थ्यो- 'बालाई सोध्नुपर्छ।'
तीर्थ, ब्रत, दान, जुठो, सुतक, जन्ती, मलामी सबै बाआमाका भागमा पर्थे। सुख्खा लागे पनि ताउलोमा अन्न भरिपूर्ण हुन्थ्यो। पहिरो जाओस्, घरमा अन्नको रास हुन्थ्यो। आम्दानी घटे पनि लगाउने लुगाको कमी हुन्थेन। बस घुक्र्याउनासाथ सबै फुर्माइस पूरा हुन्थे।
बाको प्रस्थानपछि पूर्वबाट उदाउने मेरो जीवनको घाम पश्चिमबाट उदाउन थाल्यो। त्यो वियोगपछि भर्खरै आमाको गर्भबाट झरेको लैनो पाडोझैं जिउने कला सिक्ने अभिभारा आइलाग्यो। यहीँबाट सुरू हुन्छ मेरो माटोप्रतिको एकाग्र समर्पण।
साँच्चै भन्ने हो भने सानैमा हामी गुरूकुल पद्धतिमा झैं हुर्कियौं। सूर्योदयअघि नै ट्युसन पढ्नेको भीडले हाम्रो घर गुलजार भइसकेको हुन्थ्यो। अंग्रेजी पढाउने 'नारायण सर' को ख्याति कति रहेछ? उहाँ परलोक भएपछि बल्ल थाहा हुँदैछ। सगरमाथाको सौन्दर्यपान टाढाबाट आकर्षक देखिएजस्तै जहाँ जाँदा पनि मेरा बाका चेलो हुनुमा गौरव गर्नेहरूको बाक्लो उपस्थिति देख्दा गर्वले छाती नाङ्लो जस्तो हुन्छ।
मेरा बा जति बाँच्नु भयो, चैतन्य र प्रज्ञाको उचाइमा बाँच्नुभयो। त्यसैको खेती र गोडमेललाई आफ्नो जीवनको पथ बनाउनुभयो। सन्तानलाई त्यसमै हाँस्न, रमाउन सिकाउनुभयो। इमानलाई पुँजी बनाउन प्रेरित गर्नुभयो। बाआमा गएपछि आफन्तका नजरमा एकाएक 'टिठलाग्दो' हुन पुगियो। घर परदेश बन्न थाल्यो। शोकसँगै आफन्त नारायण दाइ, बा, सेन्बाको पदचाप नबिर्सन सम्झाउँथे। शुभचिन्तकहरू गाउँ माया मार्दा, गाउँले मार्ने मायाको ननिकोसँग बेलिविस्तार लगाउँथे।
कर्तव्य सम्झाउनेहरूको खबरदारीमध्ये विशेष थियो– बाको कीर्ति शिरमा राख्नू। बाका आधा बाटाहरूलाई पूर्णता दिनू। आखिर नारायण सरको छोरा रोज्ने निर्णयमा पुगें। बाका सपना केलाउन घोत्लिएँ। आशाका हजार पिपिरापिपिरी पलाएको अनुभूति भयो। सोंचे- बिर्घाकै माटोको चन्दन लगाउँछु। बाले सपना, विपना र जपना बनाएको मातृभूमि पुस्तकालयलाई गोडमेल गर्छु। मैले पितृलाई गर्ने तर्पणको अंश यसैभित्र परोस्। ज्ञानका भोकाहरू तृप्त भएर पुस्तकालय हाताबाट निस्कँदा त्यो सन्तुष्टिको अंशमा मेरो बाको सपनाले बास गरोस्। यही सोचेर म मातृभूमि पुस्तकालयको अनुष्ठान पूरा गर्ने एकलव्य यात्रामा निस्किएँ।
यो मैले मेरो भविष्य निर्माणका लागि बनाएको आधार नभएर माटोको ऋण चुक्ता हो।
पुस्तकालय चन्दन हो। मेरा बाका समवयीहरू मेरा मार्गरेखा हुन्। सहयोगी हातहरू महायज्ञका घिउ बत्ती हुन्। भवन निर्माणमा जुटेका हातहरू चरु हुन्। यही ब्रतले पुस्तकालयको एउटा अध्याय पूरा भएको छ। यो आधा बाटो हो।
घरगाउँको राजु, साथीभाइको आरपी र नागरिकताको राजेन्द्रप्रसादबीच कुनै विभेद नहोस् भन्नेमा म सजग र सचेत छु। काठमाडौंमा रहँदा मेरो गाउँमा समृद्धिको एउटा भए पनि इँटा सुटुक्क लान पाए हुन्थ्यो भन्ने भोकले आधारातमा पनि ब्युँझिन्छु। गाउँ जान्छु- मेरा बा सुतेको खाटमा सुतेर इमानको शपथ लिँदै जन्म लिएको माटो लागि वाचा र कर्मले लाग्ने प्रेरणा माग्छु। निर्णय क्षमतामा कालीगण्डकीको सालिग्रामजस्तै चट्टानी र निख्खर हुन पाइयोस् भन्ने कामना गर्छु।
आत्मविश्वासको ऊर्जा थोरैमात्र घटेको महसुस हुनासाथ इन्धन भर्न बिर्घा हुतिन्छु।
अहिले त यो नशाजस्तै बनेको छ। बिर्घाका हरेक घर मलाई अहिले तीर्थजस्तो लाग्छ। त्यहाँ रहेका हरेक मायालु स्वरभित्र सामर्थ्य लुकेको भेट्छु। सकी नसकी, भई नभई उहाँहरूले भावनात्मक होस् या सिधोपिठोका पोका कसेर मलाई दिँदा गुमेको मातृवात्सल्य सम्झिएर भक्कानिन्छु। आमाका दौंतरीसँग बातचितले शक्तिसँगै शोक ब्युँताएर कति दिन त मैले बिना निद्रा कटाएको छु। मेरो माटो भएर नै यी विविधतासँग खेल्न पाएको छु। त्यसैले म आफूलाई नि:सन्देह संसारका थोरै भाग्यमानीभित्र पाउँछु। नत्र गाउँसँगको मेरो सम्बन्ध रानोबिनाको घारमा मौरीको आकर्षणजस्तै विडम्बनायुक्त हुने थियो।