सगरमाथाभन्दा माथिबाट उड्दै गन्तव्य पुग्ने खोया हाँस होस् वा एकैचोटिमा १४ हजार किलोमिटर उड्न सक्ने बारटेल्ड गडविट, मौरीझैं सानो हमिङबर्ड होस् कि मान्छेभन्दा ठूलो अस्ट्रिच, उड्न नसक्ने पेन्गुइन होस् वा घन्टामा एक सय ११ किलोमिटरको गतिमा उड्ने कमन स्विफ्ट, यी हाम्रा साथीहरू पृथ्वीका आश्चर्य हुन्।
पृथ्वीको सबभन्दा चिसो ठाउँदेखि सबैभन्दा गर्मी ठाउँसम्म पाइने यी चराहरूको चर्तिकला आफैंमा आश्चर्य हो।
संसारमा अहिले करिब दस हजार प्रजातिका चराहरू पाइन्छन्। दस हजार चराका दसै हजार विशेषता छन्। मैले चराबारे अध्ययन गर्न थालेको पनि जम्मा दस वर्ष भयो। र, मैले धेरै कुरा थाहा पाइसकेकै छैन।
हरेक दिनजसो यिनीहरूबारे म नयाँ नयाँ कुरा सुन्दै, पढ्दै हुन्छु र अचम्म पर्दै जान्छु। त्यसैले मैले अर्निथोलोजी (चराहरूको अध्ययन) कक्षा सुरू गर्दा भन्ने गर्छु — बर्ड्स आर असम अर्थात् चराहरू साह्रै उत्तम हुन्छन्!
कुनै समय डायनासोरले पृथ्वीमा राज गरेको कथा हामी सुन्छौं। चरा तिनकै सन्तान हुन्।
अहिले मान्छेले राज गरेको संसारमा पनि चराहरू कम छैनन्। सबभन्दा प्रशस्त पाइने प्राणीमा यिनै पर्छन्।
डायनासोर उड्न सक्थे, तर चराहरूले उडानलाई अर्कै स्तरमा पुर्याएका छन्। उडानको यो यात्रामा उनीहरूले आफ्नो शरीरलाई यसको अनुकूलन गरेका र गराएका छन्। जस्तो, गह्रौं बंगाराको हड्डी, दाँत र पिसाबको थैली जस्ता अंग उडानमा भारी हुन्थे। त्यसैले यिनलाई छाडेर चराहरूले दाँत नभएको चुच्चो, खोक्रो हड्डी भएको ज्यान र प्वाँख भएको पखेटा विकास गरेका छन्।
उनीहरूका प्वाँख यति धेरै थरी हुन्छन् कि हामी देखेरै दंग खान्छौं। चराका रङले पनि हामीलाई उसैगरी मोहित बनाउँछन्। यी सबै कुरा प्रकृतिमा उड्दै बाँच्न उनीहरूले विकास गरेका हुन्।
चराका रंगीन प्वांख देखेर चार्ल्स डार्विन अलमल परेका थिए। उनी विशेषगरी मयुरको प्वाँख देखेर दिक्क भएका थिए।
उनले लेखेका छन् — मयुरको प्वाँख देख्यो कि मलाई दिक्क लाग्छ!
जीवहरूको क्रमिक विकास हुन्छ भन्ने सिद्धान्त प्रतिपादन गरेका डार्विनले त्यो मयुरको लामो पुच्छरको कुनै महत्त्व देखेका थिएनन्।
उनलाई लाग्थ्यो — क्रमिक विकासमा त्यो पुच्छरले केही मद्दत गर्दैन!
उनले प्रश्न गरेका छन् — यस्तो नचाहिने कुरा कसरी त्यति राम्रो र आकर्षक हुन गयो?
प्राकृतिक छनौटका प्रणेता डार्विनले 'सेक्सुअल सेलेक्सन' कै कारण मयुरको प्वाँख त्यस्तो भएको भनेर सोच्न भ्याएनन्। हुन त उनले 'डिसेन्ट अफ म्यान' चराहरूमा सेक्सुअल सेलेक्सन हुन्छ भन्ने कुरा लेखेका छन्। तर मयुरको प्वाँख सेक्सुअल सेलेक्सनले विकास गरेको हो कि भन्नेतिर उनको ध्यान नगएको हुन सक्छ।
पोथी चराहरूले सहवास गर्न भाले छान्ने गर्छन्। छान्ने क्रममा उनीहरूले भालेमा विभिन्न गुणहरू खोज्छन्। भालेहरूबीच पोथीले आफूलाई छनौट गरोस् भन्ने प्रतिस्पर्धा हुन्छ। त्यसैले गर्दा भालेलाई आकर्षक बन्नुपर्ने दबाब हुन्छ। यसरी सेक्सुअल सेलेक्सनमार्फत पोथी चराले खोज्ने विभिन्न गुणहरूले गर्दा भाले चराहरूमा जुन हिसाबको भिन्नता वा आकर्षण विकास भएको छ, त्यो अरू कुनै जनावरमा देख्न सकिँदैन।
भालेहरू रंगीन र राम्रा अनि पोथीहरू फिक्का रङका हुने त्यही भएर हो। हाम्रो राष्ट्रिय चरा डाँफे सम्झिनुहोस् त! भाले कति राम्रो र पोथी कति फिक्का हुन्छ! मयुर नै पनि त कति फरक हुन्छ।
सेक्सुअल सेलेक्सनकै कारण भाले चराको प्वाँखमा पनि पनि भिन्नता देखिन्छ। अमेरिकातिर पाइने हमिङबर्डले त आफ्नो पुच्छरले आवाज निकाल्न सक्छ जो उसको समागम अनुष्ठानमा पर्छ। पोथीलाई आकर्षण गर्न उसले गीत गाउनुपर्ने हुन्छ। र त्यही गीत गाउने क्रममा आकाशबाट झर्दा उसले आफ्नो पुच्छरको प्वाँख एकअर्कासँग रगडेर आवाज निकाल्छ।
चराहरूको प्वाँख र सम्भोगको प्रकृतिकै कारण पृथ्वीमा सबभन्दा गतिशील जीव सायद चराहरू नै हुन्। उनीहरूले गर्ने हरेक कुरामा विविधता छ। एकअर्कासँग कुरा गर्ने र सूचना आदानप्रदान गर्नमा पनि उनीहरू निकै अघि छन्। गीत गाउने कुरामा त उनीहरूलाई मान्छेबाहेक अरू कुनै जीवले जित्न नसक्ला! दस हजार प्रकारका चराहरूमध्ये सबैका आफ्नै आफ्नै गीत छन्। अझै कतिले त एउटाभन्दा धेरै गीत गाउँछन्।
चराहरू गीतको हिसाबले दुई किसिमका हुन्छन् — ओसिन र सब-ओसिन।
ओसिन चराहरूको भोकल कर्ड एकदम विकसित हुन्छ। उनीहरूले आफ्ना आमाबाबु वा आफ्नै प्रजातिका अरू चराको गीत सुनेर गाउन सिक्छन्। सब-ओसिनले भने सिक्नै पर्दैन, आफैं जान्दछन् भन्ने अध्ययनले देखाउँछ।
अझै रमाइलो कुरा चराहरूको आफ्नो आफ्नो लवज हुन्छ। अमेरिकामा एउटै प्रजातिका चरा पनि पूर्वमा एउटा हिसाबले कराउँछन् भने पश्चिममा अर्कै। त्यसलाई हामी चराहरूको क्षेत्रीय लवज भन्छौं।
भीमराज चिबे जस्ता चराले अरू चराको आवाज नक्कल गर्न सक्छन्। अस्ट्रेलिया र तस्मानियामा पाइने लायर बर्डले अरू चराहरू मात्र होइन, मान्छेहरूका विभिन्न गतिविधिबाट आउने आवाज पनि निकाल्न सक्छन्। कहिले बच्चाहरूले खेलेको, कहिले अरू जनावर कराएको, कहिले त गाडीको हर्नजस्तो अझ धेरै थरी आवाज निकाल्न उनीहरू माहिर छन्। विभिन्न आवाज निकाल्न सक्ने क्षमताले पनि चराहरूलाई अनौठा बनाएको छ।
चराका चल्लाहरूले अण्डाभित्र नै पनि यी गीतहरू सुन्न र सिक्न सक्छन्। तीमध्ये 'सुपर्व फेरी रेन' प्रजातिको चराको कहानी रोचक छ। अरू चरासँग प्रतिस्पर्धा गर्न तिनीहरूले आफ्नै विशेषता विकास गरेका छन्। जस्तो, कतिपय पोथी चराले अरूको गुँडमा अन्डा पार्छन्। कोइलीले त अरूको गुँडमा अन्डा पार्ने मात्र होइन, त्यो अन्डा जसको गुँडमा पारेको हो, उसकै जस्तो अन्डा बनाइदिन सक्छन्। अनि उनीहरूको भन्दा अगाडि कोरलिने गरी अन्डा पार्छन्।
अगाडि कोरलिएका चल्लाहरूले त्यो गुँडका चल्लाहरूलाई त धकेलेर फाली नै दिन्छन्। र, यही कुरा प्रतिकार गर्न सुपर्व फेरी रेनका चल्लाहरूले अन्डामै गीत गाउने रहेछन्। त्यो गीतमा एउटा गोप्य पासवर्ड राख्ने हुने रहेछ! चल्ला भएपछि त्यो पासवर्ड भएको गीत चाहिँ आफ्नो चल्लाले मात्र गाउन सक्ने भएकाले तिनीहरूले आफ्नो र अरूको बच्चाबारे थाहा पाउँछन्।
सन् १९२० ताका इंगल्यान्डमा एउटा रमाइलो घटना भयो।
घरेलु डेरीबाट मान्छेको घरघरमा दूध पुर्याउन सिसाको बोतल प्रयोग गरिन्थ्यो। त्यो बोतलको बिर्को अर्थात् मुख छोप्ने चिज आलुमिनियमको पातलो फोइलबाट बनेको हुन्थ्यो। त्यो बेला दक्षिणी इंगल्यान्डतिरका धेरै घरमा ती बोतलका फोइलमा साना साना प्वाल देखिन थाले। सुरूसुरूमा त डेरीका मान्छेहरूले गुनासो पनि खप्न पर्यो।
ती प्वाल के हुन् त भन्ने कुरा बुझ्दा थाहा भयो, त्यो त चिचिलकोटे चराको काम रहेछ!
तिनीहरूले त्यो फोइलमा प्वाल बनाएर दूधबाट क्रिम (तर) खान सिकेछन्। केही दशक समयसम्म त फोइलमा प्वाल बनाएर क्रिम खान इंगल्यान्डभरिका चराहरूले सिकेछन्। उनीहरूको गीत वा कलबाट सञ्चार आदानप्रदान भएर नै यस्तो सम्भव भएको हो।
चराहरू बुद्धिमान पनि हुन्छन्। काग, लामपुच्छ्रे र सुगाहरू त एकदमै बाठा हुन्छन्। अलेक्स नामको ग्रे-प्यारोट (सुगा) ले ५० वटाभन्दा धेरै कुराहरू चिन्न र गन्न सक्थ्यो। त्यस्तै क्यानेडियन कागहरूले अजिबअजिब पजलहरू समाधान गर्न सक्छन्। कागहरूले मान्छे चिन्ने भएर कागमा अध्ययन गर्ने वैज्ञानिकहरूलाई मास्क लगाउनुपर्ने हुन्छ।
चराले अन्डा पार्ने/हुर्काउने कथा पनि रोचक छ।
यसमा पनि उनीहरूलाई मुख्य रूपमा दुई प्रकारमा विभाजन गर्न मिल्छ — प्रिकोसल वा एल्ट्रिसल।
एल्ट्रिसियल अन्डाबाट निस्किँदा आँखा नदेख्ने र रौंबिनाका चिल्ला हुन्छन्। प्रिकोसल चल्लाहरू भने रौं भएका, अन्डाबाट निस्किन नपाई हिँड्न र आफ्नो खाना खोज्न सक्ने हुन्छन्।
एल्ट्रिसल प्रजातिहरूमा आमाबाउको रेखदेख धेरै महत्त्वपूर्ण हुन्छ। धेरैजसो चरामा भाले र पोथी दुवैले बच्चाहरूको रेखदेख गर्छन्। केही प्रजातिमा भने सम्भोगपछि भाले आफ्नो बाटो लाग्छन् र पोथीले नै चल्लाको हेरचाह गर्छन्।
नेपालको तराई भेगमा पाइने राज धनेसको पोथी अन्डा पारेपछि चल्लाहरू छोडेर नजाँदासम्म त्यही गुँडमै बस्छ। त्यति बेला भित्रबाट गुँड माटोले टाल्छ। गुँडमा भएको सानो प्वालबाट पोथी र चल्लाहरूलाई खुवाउने जिम्मा भालेको हुन्छ।
चराहरूको गुँडकै कुरा गर्ने हो भने धेरैथरी हुन्छन्। तिनीहरूको गुँड हेर्दा लाग्छ — तिनीहरू इन्जिनियर हुन्!
तोप चरा वा पात सिउने फिस्टेको गुँड नै हेर्नुस् न!
गुँड छोडेर निस्किएका चल्लाहरूको जीवन उस्तै रोचक र रमाइलो हुँदै जान्छ। धेरै जस्तो माइग्रेटरी (बसाइँ सर्नुपर्ने) चराहरू गुँडबाट निस्किएर आफ्नो विन्टरिङ ग्राउन्डतिर जानुपर्ने हुन्छ। हजारौं किलोमिटर लामो यात्रामा निस्किनुपर्ने त्यो प्रक्रिया सजिलो हुँदैन। बसाइँ सर्ने धेरै चराहरूको मृत्युदर एकदमै धेरै हुन्छ। धेरै जसोले आफ्नो पहिलो वर्ष पनि कटाउँदैनन् भनिन्छ।
यही कुराले धेरै वैज्ञानिकहरूलाई अचम्म पारेको छ। त्यति दुःख र कष्ट गरेर माइग्रेट किन गर्ने?
चराहरू हरेक वर्ष जाडो याममा पश्चिम लाग्छन् र गर्मीमा आफ्नो उत्तरको ब्रिडिङ ग्राउन्डतिर जान्छन्। यसो सोच्ने हो भने, पश्चिममा त सधैं राम्रो मौसम हुन्छ। जाडोमा पनि तातै हुन्छ। खाने कुरा प्रशस्तै हुन्छ। गर्मीमा त हुने नै भयो। सधैं त्यही बसे हुने नि? तर किन हजारौं किलोमिटरको यात्रामा उत्तरतिर निस्किन्छन्?
उनीहरू किन त्यही ठाउँ जान्छन् वा एउटै वासस्थान खोज्छन् भन्ने कुरा पनि रोचक छ। धेरै जसो चराहरू चिन्न उनीहरूको वासस्थानबारे जान्न जरूरी हुन्छ।
सामान्य उदाहरण कल्चौंडेको लिन सकिन्छ। सानो खोला-नाला, ढुंगाहरू भएको ठाउँ वरपर गीत गाउँदै बसेको कल्चौंडे हरेकचोटि चरा खोज्न जाँदा पाइन्छ। त्यस्तै बासस्थानमा थोप्ले खोले धोबिनी, सेतो टाउके जलखञ्जरीहरू पनि पाइन्छन्।
हरेक कारणले अनौठा लाग्ने चराहरू हाम्रो पृथ्वीमा हुनुको प्रयोजन छ, जस्तो मान्छे हुनुको छ, जस्तो अरू जनावर हुनुको छ। त्यसैले यी हाम्रा साथी हुन्। यिनीहरू छन् र त हामी छौं। हाम्रो पर्यावरण यति राम्रो छ। त्यसैले यिनीहरूलाई बचाऔं। यिनीहरूलाई जोगाउने जिम्मेवारी हाम्रै हो!
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
(लेखक घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)