आजभन्दा करिब नौ वर्ष अगाडि, मेरो कलेजको पहिलो दिन थियो।
स्नातक तह बि.बि.ए अध्ययनका लागि काठमाडौंको मध्यबानेश्वरमा रहेको एपेक्स कलेजमा म आफ्नो कक्षा कोठा सोध्दै पुगें।
म पोखरा विश्वविद्यालयको छात्रवृत्ति प्रक्रियाका कारण केही महिना ढिलो गरी भर्ना भएको थिएँ। कक्षा कोठामा छिरिसकेपछि माहोल नयाँ थियो, साथीहरू एक अर्कामा परिचित भैसकेका थिए।
म सबैका लागि अपरिचित थिएँ।
यत्तिकैमा एक जना साथी मेरो छेउमा आए र परिचय गर्ने भावमा हात मिलाउँदै सोधे,‘किन यति ढिलो कलेज ज्वाइन गरेको ब्रो?’
मैले स्कलरसिपको प्रक्रियाले गर्दा ढिलो भएको जवाफ दिएँ, अनि उनले भने, ‘ए.. ए..ओके ब्रो स्कलरसिप भनेपछि त तिमीले कभर गरिहाल्छौ। अनि ब्रो को घर चाहिँ कहाँ नि?’
मैले भनें 'अछाम'। उनलाई सायद अछाम नाम सुनेर अचम्म लाग्यो होला।
उनलाई अचम्म मात्रै लागेन अछाम सुन्ने बित्तिकै भारतीय नागरिक भएको उनको बुझाइ रहेछ।
उनले भारतीय नागरिकलाई नेपालको विश्वविद्यालयले पूर्ण छात्रवृत्ति दिएको कुराले अचम्म लागेको रहेछ र सोधे ,‘ए.. आसाम? इन्डिया? इन्डियनलाई पनि स्कलरसिप दिन्छ पियुले?’
उनले सासे नफेरी एकै साथ तीन वटा प्रश्न सोधे र मैले एकएक जवाफ दिनुपर्ने भयो।
मैले उनलाई भनें, ‘आसाम होइन अछाम हो, नेपालको सुदूरपश्चिममा पर्छ।’
सायद एउटै उत्तरले उनको तीनवटै प्रश्नको जवाफ पुगेछ।
उनले अलि पश्चाताप महसुस गरेजसरी भने, ‘सरी है ब्रो मलाई त आसाम जस्तो लाग्यो, अछाम त खासै सुनेकै थिइनँ, माइन्ड नगर है।’
मैले पनि भनें, ‘इट्स ओके केही छैन किन माइन्ड गर्नु।’
माइन्ड किन गर्नु भनेर सजिलै भने जस्तो कहाँ माइन्ड नगर्न सकिँदो रहेछ। एक पटक होइन, पटकपटक यही सामाना किन गर्नु परिरहेको छ भनेर मलाई अहिलेसम्म पनि पीडा हुन्छ।
वास्तवमा ती साथीले सोधेको कुरा मेरा लागि यो नौलो प्रश्न थिएन।
त्यतिबेलासम्म काठमाडौंमा बस्न थालेको करिब आठ नौ महिना भैसकेको थियो र मैले कैयौं पटक यस्ता प्रश्नहरूको सामना गरिसकेको थिएँ।
सम्भवतः जति नेपालको पूर्वी भागमा अछामी पुग्छन् त्यहाँ मैले जस्तै धेरैले आसाम होइन, आच्छाम होइन, भारत होइन, नेपालकै पश्चिममा पर्छ भनेर जवाफ दिन पर्छ होला।
म करिब नौ वर्षको अन्तरालमा विभिन्न कामको सिलसिलामा काठमाडौं वरपर, गण्डकी प्रदेशको गोरखा र हाल केही वर्षदेखि पोखरामा बसोबास गरिरहेको छु।
पेशाले एक वाणिज्य बैंकमा कर्जा अधिकृतको रूपमा कार्यरत छु।
अझै पनि कार्यालयमै वा कामको सिलसिलामा कतै कोही भेटिँदा मैले यो प्रश्नको सामना गरिरहेकै छु। अचेल त मलाई कसैले तपाईंको घर कहाँ हो? भनेर सोध्यो भने, एकै श्वासमा भन्ने गरेको छु, ‘टाढै छ, सुदूरपश्चिमको अछाम हो।’
मलाई थाहा छ, मैले अछाम मात्रै भनेछु भने नौ वर्ष अगाडि काठमाडौंमा मेरो साथीलाई दिएजस्तो स्पष्टीकरण दिनु पर्छ।
यसरी भन्नुको अर्को कारण पनि हो, सोध्नेले फेरि ‘आसाम’ हो। इन्डिया? इन्डियनले पनि बैंकमा काम गर्न पाउँछ? भनी प्रतिप्रश्न नगरोस्।
वास्तवमा अछामले देश चिनाउने सामर्थ्य राख्छ, तर विडम्बना मलाई देशभित्र अछाम चिनाउन हम्मेहम्मे परिरहेको छ।
मैले फेरि पनि अछामलाई नेपालको एक दुर्गम जिल्ला हो समुद्र सतहबाट यति मिटरको उचाइमा अवस्थित छ, यति क्षेत्रफलमा फैलिएको छ भनेर भौगोलिक परिचय दिएर चिनाउन खोजे भने, विगतको प्रश्नले पुनः पनि सताइरहने छ र मैले फेरि पनि ‘अछाम’ हो ‘आसाम’ होइन भन्ने जवाफ फर्काइरहनु पर्ने छ।
तसर्थ अछाम चिनाउन अब भिन्न परिचय र पहिचान स्थापित गर्न जरूरी छ।
अछाम प्राकृतिक, सांस्कृतिक, भौगोलिक र प्राचिन महत्वका पुरातात्विक सम्पदाले भरिपूर्ण जिल्ला हो। यहाँको देउडा संस्कृति, भुवोनाच, हुड्के नाच, पुतला आदि महत्पूर्ण सांस्कृतिक चिनारी हुन्।
२०७८ सालको जनगणना अनुसार नेपालमा ०.४८ प्रतिशतले स्थानीय अछामी भाषा बोल्छन्।
यसको अर्थ हो, अछामको आफ्नै स्थानीय भाषा छ। प्राकृतिक रूपले सुन्दर हुँदाहुँदै पनि भौगोलिक विकटताका कारण अछामले पाउनुपर्ने महत्व र चिनारी अझै पाउन सकेको छैन।
अछाम चिनाउने केही मुख्य विशेषता यी हुन्:
अछाम रामारोशन
अछाम जिल्लाको रामारोशन क्षेत्र एक आकर्षक पर्यटकीय गन्तव्य हो। सेतो हिमालको काखमा रहेको, स्थानीय भाषामा ‘बाह्र वण्ड, अठार खण्ड’ का नामले परिचित यस क्षेत्रमा साना ठूला गरी बाह्र वटा ताल र अठार वटा मनमोहन घाँसे मैदान छन्। जसमध्ये जिङ्गाले ताल सबैभन्दा ठूलो ताल हो, जुन अंग्रेजी अक्षर 'सि'को आकारमा करिब १.५ कि.मि. क्षेत्रफलमा फैलिएको छ भने सबैभन्दा ठूलो घाँसे मैदान किनिमिनि हो। जुन करिब ७०० रोपनी क्षेत्रफलमा फैलिएको छ। समुन्द्री सतहबाट करिब २५०० मिटर उचाइमा अवस्थित उच्च पहाडी क्षेत्रमा करिब ५–७ कि.मि रेडियस एरियामा बाह्र वटा साना ठूला तालहरू र अठार वटा समथर घाँसे मैदानहरू हुनु आफैंमा प्राकृतिक आश्चर्य हो। सम्भवत: यस्तो प्रकृतिको अनुपम उपहार संसारमा अन्त कतै छैन। यस अर्थमा मैले यस क्षेत्रलाई संसारको आठौं आश्चर्य भन्ने गरेको छु।
यसको पर्यटकीय दृष्टिकोणले प्रचार प्रसार हुन नसक्नु र त्यही अनुसार आवश्यक भौतिक संरचना बन्न नसक्नु हाम्रो कमजोरी हो।
विनायक पञ्चदेवल
अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका स्थित मध्यपहाडी राजमार्गसँगै जोडिएर रहेको एक ऐतिहासिक एवं पुरातात्विक सम्पदा हो पञ्चदेवल। स्थानीय पत्थरहरूलाई निकै कलात्मक आकृति दिई पाँच वटा देवलहरूको निर्माण गरिएको छ। जसमध्ये हाल चार वटा देवलहरू मात्र देख्न सकिन्छ। एउटा देवल १९९० सालको भूकम्पका कारण जीर्ण भई भत्किएपछि त्यसको ठाउँमा स्थानीयहरूले कालिका देवीको मन्दिर स्थापना गरी पूजापाठ गर्न थालेका छन्।
पञ्चदेवलको निर्माण तत्कालीन राजकुमार अक्षय मल्लको पालामा साके सम्बत १२०२ मा आफ्नो परिवारको रक्षा तथा आफ्नो कृति चलाउने उद्देश्यले गरेको भनी शिलालेखमा उल्लेख गरेको पाइन्छ। यसैलाई चिनाउनका लागि अछामका दश वटा स्थानीय तहमध्ये एक पालिकाले नगरपालिकाको नाम नै पञ्चदेवल विनायक नगरपालिका नै राखेको छ।
यसरी यस सम्पदाको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन गर्न सके यस क्षेत्रको आर्थिक एवं सामाजिक विकासमा मदत पुग्ने देखिन्छ।
वैधनाथ धाम
वैद्यनाथ नेपालका चार धाममध्ये एक हो। कैलाश पर्वतमा कठोर आराधना गर्दा पनि शिवको दर्शन नपाउँदा रावणले हिमालयको दक्षिणमा रहेको वृद्धगंगा (बुढीगंगा) र सरस्वतीको संगम (जसलाई स्कन्दपुराणको मानस खण्डको पृष्ठ ६०३ मा देवता र सिद्धहरूले सेवा गरेको क्षेत्रका रूपमा व्याख्या गरिएको छ) वैद्यनाथमा तपस्या गरी शिवको दर्शन र वरदान पाएको तथा रावणका काटिएका नौ वटै टाउकालाई शिवले वैद्यले झैं पहिलेकै जस्तै जोडी दिएकोले यो क्षेत्रको नाम वैद्यनाथ रहन गएको धार्मिक किंवदन्ती छ। वैद्यनाथको दर्शन र पूजा गरेमा चिताएको पुग्ने र मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ।
शिवरात्रीमा यहाँ लाग्ने मेलामा भारतबाट समेत दर्शनार्थीहरू आउँछन्। वैद्यनाथ मन्दिरमा नेपाल एकीकरणताका हातहतियार समेत रहेकोले यसलाई ऐतिहासिकतासँग समेत जोड्ने गरिन्छ। यसलाई नेपालकै धार्मिक पर्यटनको केन्द्र बनाउन यसको संरक्षण, संवर्द्धन, प्रवर्द्धन एवं प्रचारप्रसार गर्न आवश्यक छ।
मैले माथि दिएका उदाहरण अछाम चिनाउने कही प्रतिनिधि क्षेत्र मात्रै हुन्।
अछामलाई वास्तविक रूपमा चिनाउनका लागि यहाँका सरोकारवाला पक्ष सबैले विशेष योगदान दिन आवश्यक छ। विशेष गरी स्थानीय तह जनप्रतिनिधि, सरकारलगायत स्थानीय बासिन्दा समेतले आफ्नो संस्कृतिको प्रचार प्रसार सम्वर्धन एवं जगेर्ना गर्ने विभिन्न कार्यक्रमहरू गर्न आवश्यक छ।
साथै रामारोशन क्षेत्रलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियकरण गर्न स्थानीय, प्रदेश तथा केन्द्र सरकारले विशेष योजना बनाई लागू गर्नुपर्ने देखिन्छ। अछामले उचित परिचय पाएको अवस्थामा मजस्ता तमाम अछामीहरूलाई आफ्नो ठेगाना चिनाउन सहज हुने थियो।