सन् १९९६ को कुरा हो, म काठमाडौंमा थिएँ। परदेशिने विचार मनमा आएसँगै काठमाडौंमै हुनुभएका मेरा एक जना गाउँले दाइसँग आफ्नो मनको इच्छा जाहेर गरेँ।
दाइले तुरून्तै उहाँले चिन्नुभएको एउटा म्यानपावरमा फोन गरेर सोधी दिनुभयो। संयोग नै भनौं, तत्कालै जान चाहेको हो भने एउटा अवसर छ, सम्बन्धित मान्छेलाई हाम्रो अफिसमा तुरून्तै पठाइदिनू भन्ने खबर उताबाट आएछ। मैले त्यस्तो मौका छ भने जान्छु भनेर दाइलाई भनेँ।
दाइले सम्बन्धित म्यानपावरको अफिस पुग्न मलाई सहज होस् भनेर हातले कोरेर एउटा रफ स्केच बनाएर दिनुभयो। प्राप्त स्केच फलो गर्दै म ३ बजेतिर त्यही दिन उक्त म्यानपावरको अफिसमा पुगेँ। थाहा लाग्यो, साउदी अरबका लागि पहिले नै भिसा लागेर टिकट पनि बुक गरिसकेको एउटा मान्छे सम्पर्कबिहीन भएको कारण उसैको ठाउँमा, उसैको पासपोर्ट प्रयोग गरेर म्यानपावरले अर्को व्यक्तिलाई पठाउन खोजेको रहेछ।
त्यतिखेर २०–२१ वर्षको म अल्लारे केटो, छिट्टै विदेश पुगेर पैसा कमाउनेभन्दा अर्को सोच मेरो मनमा थिएन।
त्यतिखेर, 'विदेश त पुगौं, पैसा त रूखमा टिप्न पाइन्छ' जस्तो लागेको थियो।
त्यसैले होला, मैले कुनै समस्या हुँदैन भने जान्छु भनेँ। त्यसो हो भने अबको आठ दिनपछिको फ्लाइट छ, तुरून्त ६० हजार रूपैयाँ जम्मा गर भनेर मलाई भनियो। त्यत्रो पैसा थिएन।
म भोलिपल्टै पैसा खोज्न झापा फर्किएँ। दुःखको कुरा सबै प्रयत्न गरे तर पैसा कतै भेटिएन। पैसा हराएको भए पो भेट्टियोस् पनि। अन्त्यमा आफ्नै दाजुले जुटाइदिनुभएको बीस हजार रूपैयाँ बोकेर म काठमाडौं फर्किएँ। भने जति पैसा नजुटेपछि, मेरो काम बन्ला जस्तो लागेको थिएन। तर खाडी पस्न जुरेको रहेछ।
उक्त २० हजार जम्मा गराएर बाँकी पैसा केही समयपछि दिने सर्तमा अलिक ठूलै मान्छेलाई जमानी राखेपछि भने मेरो साउदी उड्ने सपना साकार हुने भयो।
झापाबाट हामी जम्मा १३ जना थियौं। हामी काठमाडौं–सुनौली हुँदै दिल्ली पुग्यौं। अर्को मान्छेको पासपोर्ट लिएर विदेश उड्न लागेको म एउटा सानो केटोको मनमा अनेकौं तर्कनाहरू उठिराखेका थिए। पक्राउ पर्ने हुँ कि भनेर मन त्रास र भयले छट्पटाइ राखेको थियो। तर भाग्यवस त्यस्तो केही भएन।
दिल्ली एयरपोर्टमा अध्यागमनका कर्मचारीले सामान्य जाँच गरेपछि मेरो पासपोर्टमा ठप्पा लगाइदिए। अन्य साथीहरूको पासपोर्टमा पनि ठप्पा लाग्यो। त्यसपछिका औपचारिकता क्रमशः पूरा गर्दै हामी सबै साउदी उड्न साउदी एयरलाइन्सको एउटा ठूलो जहाजभित्र पस्यौं। केही समयपछि जहाज उड्यो।
मन थोरै ढुक्क भए पनि मनभित्रको त्रास अझै मेटिसकेको थिएन। झन्डै साढे चार घण्टाको यात्रापछि हामी चढेको जहाज साउदीको दमाम पुगेर अवतरण गर्यो।
दमाम ओर्लिएसँगै आवश्यक औपचारिकता पूरा गरेर, ब्यागेज क्यारोसेलबाट आ–आफ्नो ब्याग बोकेर हामी सबै बाहिरियौं। हामीलाई लिन कम्पनीबाट श्रीलंकाका एक जना तिशा नाम गरेका व्यक्ति अघि नै एयरपोर्टमा आएर बसेका रहेछन्। उनको हातमा हामी जाँदै गरेको कम्पनीको नाम लेखेको प्लाकार्ड थियो। उनलाई भेट्न हामीलाई धेरै गाह्रो भएन।
उनको साथ लागेर हामी एयरपोर्टबाट निस्कियौं। बाहिरको तातो हावा र गर्मीले हामी सबैलाई एकपटक नराम्रो गरी झस्कायो। हामीलाई लगेर एउटा कोस्टर बसमा राखियो। झन्डै आधा घण्टा यात्रा गरेपछि दमामको अलकोभर भन्ने ठाउँमा रहेको कम्पनीको अस्थायी क्याम्पमा पुगेर बस रोकियो।
एउटा पोर्टा क्याबिनमा हाम्रा लागि बस्ने व्यवस्था गरिएको रहेछ। तिशाले हामी सबैका लागि खानाको पार्सल बाटोमै किनेका थिए। उनले हामीलाई शौचालय तथा हातमुख धुने ठाउँ देखाइदिए। सुत्न खाटको व्यवस्था नभए पनि हामी सबैका लागि एक–एक वटा साना–साना गद्दा, कम्बल र तकिया थियो। हामी सबै थाकेका थियौं। खाना खाएर लहरै भने जस्तो भुइँमै ओछ्यान लगाएर सुत्यौं।
भोलिपल्ट ९ बजेतिर हामीलाई अफिसमा लगियो। हामीलाई नेपालमा उपलब्ध गराइएको रोजगार सम्झौता पत्रमा हाम्रो तलब ९ सय रियाल तथा खान, बस्न निःशुल्क भनेर उल्लेख गरिएको थियो। तर त्यहाँ हामीलाई ७ सय रियाल मात्र तलब उल्लेख गरिएको अर्को नयाँ सम्झौता पत्रमा अनेकौं डरत्रास देखाएर हस्ताक्षर गर्न लगाइयो। हामी सबै नयाँ अल्लारे केटाहरू थियौं। न अरबी भाषाको ज्ञान, न विगतको कुनै अनुभव। न त आफू काम गर्न आएको देशका बारेमा कुनै ज्ञान। हामी सबै पक्का कोरा थियौं।
खैर, त्यसपछि हामीलाई त्यही दिन दमामबाट जुबेल पुर्याइयो। जुबेल भन्ने ठाउँमा कम्पनीको ठूलो क्याम्प रहेछ। त्यहाँ लगभग डेढ सय जति श्रमिक साथीभाइहरू बस्ने गर्दा रहेछन्। तीमध्ये दुई-चार जना चाहिँ श्रीलंका र फिलिपिन्सका थिए, बाँकी सबै बंगलादेशी र भारतीय। नेपालीरूको भने हाम्रो पहिलो ब्याच रहेछ।
हाम्रो भिसा मेन्टेनेन्स् टेक्निसियनको भए पनि हामीलाई काम ग्यास अटेन्डेन्ट (साउदी आरामको प्लान्टभित्रका गाडीहरूमा तेल हाल्ने) गर्नुपर्छ भनिएको थियो। तर कम्पनीमा पुगेर कुरा बुझ्दा उक्त प्रोजेक्टको काम सुरू हुन अझै केही महिना बाँकी रहेछ। त्यसैले सुरूका दिनमा स्क्याफोल्डिङका पाइपहरू मिलाएर राख्नेदेखि साउदीको जुबेलमा रहेको पेट्रोकेमिया प्लान्टमा हेल्परका रूपमा काम पनि गर्नुपर्यो।
हामी जुबेल पुगेर काम गर्न थालेको दुई महिना जति भएको थियो होला। हामीलाई हाम्रो पहिलो महिनाको तलब लिन अफिसमा बोलाए। हामी सबैले नेपालमा उपलब्ध गराएको सम्झौता पत्र अनुसार महिनाको ९ सय रियाल दिने हो भने लिन्छौं नभए लिँदैनौं भनेर त्यति बेला तलब लिन अस्वीकार गर्यौं।
त्यतिखेर कम्पनीको व्यवस्थापन पक्षका प्रतिनिधिहरूले हामीलाई तलब बुझ्न निक्कै नै दबाब दिए। अनेकौं डर देखाए। तर हामी सबै साथीहरू हामीलाई नेपालमा उपलब्ध गराइएको सम्झौता पत्रअनुसार तलब बुझ्छौं, अन्यथा बुझ्दैनौं भन्ने अडानबाट कोही पछि हटेनौं।
त्यसपछि हामी सबैलाई नेपाल फर्काउने, पुलिसले लैजाने लगायत अनेक डरत्रास लगातार देखाइरहे। तर हामी अडानबाट कसै गरे पछि हटेनौं। बरू हामी १३ जनाले नै अलगअलग १३ वटा पत्र बनाएर हाम्रा कुरा लिखित रूपमै कम्पनीसमक्ष बुझायौं। सबै जनाको पत्र भने मैले नै लेखेको थिएँ। यो काममा हामीलाई कम्पनी व्यवस्थापन पक्षकै एक जना प्रतिनिधिले निक्कै सहयोग गरे। उनी फिलिपिन्सका थिए।
जब हाम्रो पत्र कम्पनीको हेडअफिस पुग्यो, त्यहाँ १३ वटै पत्र एउटै व्यक्तिले लेखेको कुरा उनीहरूले थाहा पाए। त्यसपछि पत्र लेख्ने व्यक्तिका बारेमा सोधपुछ भएछ।
त्यसको केही दिनपछिको कुरा हो, म बिहान ड्युटी जान तयार हुँदै थिएँ। क्याम्प बोस आएर आज तिमी ड्युटी नजानू, तिमीलाई हेडअफिसमा बोलाएको छ भनेर खबर गरे।
मलाई त्यस्तो खबर आएपछि अन्य साथीहरू हामी पनि ड्युटी नजाने भन्दै थिए। तर मैले तपाईंहरू जानुस्, हेडअफिसमा के कुरा हुने रहेछ, त्यसपछि के गर्ने हो सल्लाह गरौंला भनेपछि उहाँहरू ड्युटी जानुभयो। दस बजेतिर मलाई आफ्नो सबै सरसामान (झोला) बोकेर हेडअफिस जान तयार हुनू भन्ने खबर आयो। झोला पनि बोकेर हिँड्नु भनेपछि यहाँ केही गडबडी छ भन्ने मलाई लाग्यो। तर सबै साथीहरू ड्युटी गइसकेकाले मैले कसैसँग कुनै प्रकारको सरसल्लाह गर्न पाइनँ।
केही समयपछि म आफ्नो झोला बोकेर निस्किएँ। त्यहाँको हाम्रो जुबेल शाखाका सुपरिटेन्डेन्ट आएका रहेछन्। मलाई उनैले आफ्नो गाडीमा राखेर दमाममा रहेको हेडअफिस लिएर गए। उनी फिलिपिन्सका थिए। करिब दुई घण्टाको यात्रामा उनले मलाई मेरो शिक्षा, पारिवारिक पृष्ठभूमि लगायत हाम्रो देशको बारेमा निकै कुराहरू सोधे। मैले पनि मेरो टुटेफुटेको अंग्रेजीमा जाने बुझेसम्मका सबै जवाफ फर्काएँ। कुरैकुरामा आफूलाई अंग्रेजी टाइपिङ गर्ने आउने कुरा पनि मैले उनलाई सुनाएँ।
मेरो कुराबाट उनी थोरै प्रभावित भएको जस्तो महसुस हुन्थ्यो। यसको अलावा उनलाई क्याम्प बोसले पनि मेरो बारेमा राम्रै प्रतिक्रिया दिएका रहेछन्।
झन्डै मध्याह्नको बाह्र–एक बजेतिर हामी हेडअफिस पुग्यौं। वास्तवमा मलाई एक–दुई दिनभित्रैमै नेपाल फर्काउने योजना रहेछ। तर पछि हेडअफिसमा के कुरा भयो कुन्नि, त्यहाँका सेक्रेटरीले मेरो टाइपिङ सीपको परीक्षा लिए। मेरो परीक्षा लिने ती सेक्रेटरी दक्षिण भारत केरलाका मान्छे थिए। उनले मसित निक्कै रूखो व्यवहार गरे। जे होस्, भरे ५ बजेतिर मलाई कम्पनीको त्यही अस्थायी क्याम्पमा पठाए जहाँ हामीलाई पहिलोपटक राखिएको थियो। खासमा त्यो कम्पनीको वर्कसप तथा वेयरहाउस रहेछ।
कम्पनीको उक्त वर्कसपमा काम गर्ने केही व्यक्तिहरूलाई पहिलोचोटि त्यहाँ आउँदा नै चिनेको हुनाले मलाई त्यहाँ खानेबस्ने कुरामा खास समस्या भएन। भोलिपल्ट बिहान मलाई, त्यहाँका वर्कसप इन्चार्जले बोलाए। उनी साउदीका स्थानीय मान्छे थिए। उनी अंग्रेजी खासै बोल्दा रहेनछन्। तर पनि त्यहाँका पुराना मान्छेको सहयोगमा अलि–अलि कुरा भयो। मलाई उनले गएर कोठामै बस्न भने।
२०–२१ वर्षको केटो म, त्यो कोठामा एक्लै त्यत्तिकै बस्न कहाँ सक्थे र!
केही समयपछि बाहिर निस्किएँ। वर्कसपमा काम गर्ने अन्य मान्छेसँग चिनजान गरे। उनीहरू कोही हैदरावादका र कोही उत्तर प्रदेशका थिए। उमेरले सबै मभन्दा निक्कै पाका थिए। श्रीलंकाका तिशा, हामीलाई लिन एयरपोर्ट आएका मान्छे पनि त्यहीँ थिए। उनी त्यहाँको सुपरभाइजर रहेछन्।
त्यहाँ लामा–लामा बडेमानका गाडी आउने जाने गरिरहेका थिए। साँझ ४ बजेतिर दुइटा लामा लामा ट्रेलरले पेट्रोलियम प्लान्टका पाइपमा तातो र चिसो नियन्त्रण गर्न इन्सुलेसन गर्दा प्रयोग हुने मटिरियल लिएर आएका रहेछन्। सबै सामान ठूला–ठूला रोल र बन्डलमा आएका थिए। मलाई सुपरभाइजर तिशाले प्याकिङ सूची दिँदै, सूचीमा लेखिएअनुसार सबै मात्रामा सामान भए नभएको गनेर जाँच गर्न लगाए। सामान अनलोड हुन थाल्यो, मैले पनि तिशाले सिकाए बमोजिम गन्दै प्याकिङ सूचीमा टिक मार्क गर्न थालेँ।
यस्तै के के गरेर त्यहाँ मेरो झन्डै दुई हप्ता जति बित्न लागेको थियो।
एक दिनको कुरा हो, दिउँसो २ बजेतिर एउटा कोस्टर मिनी बस आएर वर्कसप परिसरमा रोकियो। आश्चर्य लाग्दो कुरा, उक्त बसबाट भटाभट मसँगै आएका बाँकी सबै साथीहरू पो ओर्लिए। उनीहरू मलाई त्यहाँ देखेर अत्यन्तै खुसी भए, किनकी उनीहरूलाई मलाई नेपाल फिर्ता पठाइसकिएको भनेर सुनाएका रहेछन्।
कुरा के भएछ भने, अघिल्लो दिन बेलुका साथीहरू ड्युटीबाट फर्किएपछि, फेरि उनीहरूलाई तलब बुझ्न भनेछन्। तर साथीहरूले भने नेपालबाट आउँदा दिएको सम्झौता अनुसारको तलब नदिएसम्म नबुझ्ने अडान दोहोर्याएछन्। त्यसो भएपछि उनीहरूलाई पनि यहाँ पठाएका रहेछन्। केही साथीहरू भने अब के हुने हो, कतै कम्पनीले नेपाल नै त फर्काउने होइन भनेर डराएका पनि थिए।
चार बजेतिर एउटा कालो रङको ल्यान्डक्रुजर गाडी वर्कसपमा आएर रोकियो। गाडीबाट एक जना तलदेखि माथिसम्मको एउटै लामो सेतो वस्त्र (साउदीका पुरूषहरूले लगाउने परम्परागत पोशाक – कन्दौरा/थोबे) लगाएका अग्ला कदका मान्छे ओर्लिए। उनीसँगै अर्का एक जना सामान्य पोशाक लगाएका मान्छे पनि गाडीबाट ओर्लिए र उनको पछि लागेर वर्कसपको अफिसतिर लागे।
त्यसको केहीबेरमा तिमीहरूलाई हाम्रो कम्पनीको मुदिर (मालिक) अब्दुल रहमान अल ओतेशनले भेट्ने रे, भनेर हामीलाई पनि वर्कसपको अफिसमा बोलाए। थोरै अघि हामीले देखेका लामो सेतो पोशाक लगाएका मान्छे नै हाम्रो कम्पनीको मुख्य मुदिर रहेछन्। उनले अंग्रेजी तथा साउदी मिसिएको लवजमा निक्कै कुरा भने।
समग्रमा उनको भनाइको सार थियो- नेपालीहरू इमानदार र मेहनती हुन्छन् भनेर मैले तिमीहरूलाई ल्याएको हुँ। अहिले तिमीहरूले काम गर्ने प्रोजेक्ट सुरू भएको छैन। जब त्यो प्रोजेक्ट सुरू हुन्छ तिमीहरू सबैले आफ्नो सम्झौता अनुसारको पूरा तलब पाउने छौ।
मुख्य मुदिरले नै यसरी आश्वस्त पारेपछि हामी सबै सहमत पनि भयौं।
यसपछि सबै साथीहरूलाई जुबेल नै लिएर गए। मलाई भने वर्कसपमै बस्न भने। त्यसको केही दिनपछि मलाई पनि दमामदेखि लगभग १४०० किलोमिटर टाढा रहेको कम्पनीको अर्को जेद्दा शाखामा, अफिस असिस्टेन्टको रूपमा काम गर्ने गरेर पठाए। यही नै मेरा लागि एक प्रकारले खाडी मुलुकमा जमेर काम गर्ने एउटा टर्निङ प्वाइन्ट बन्यो।
अहिले सन् २०२३ को सेप्टेम्बर महिना सुरू भएको छ। यस बीचमा ती–चारपटक मेरो पासपोर्ट फेरियो, कम्पनी फेरियो, पेसा फेरियो। साउदी छोडेर सन् २००५ मा कतार आएपछि देश पनि फेरियो। कपाल झरेर तालु देखिने भएपछि मेरो रूप पनि फेरियो। तर फेरिएको छैन त मेरो सधैंका लागि छिट्टै नेपाल फर्किने चाहना जुन म जस्ता हरेक प्रवासीको एउटा सपना हुन्छ!
(झापा, भद्रपुर–७ का रमेश ढकाल हाल कतारको दोहामा छन्)