मन्थरजीले सोध्नुहुन्छ- 'सर तपाईंसँग मैले यति वर्ष सँगै काम गरें, एउटा शंका मेरो मनमा खेलिरहन्छ। हजुरले जोसँग पनि, जहाँ पनि, भन्ने गर्नुहुन्छ, 'भ्रष्टाचारीलाई गरूड पुराणबमोजिम कारबाही हुनुपर्छ' भनेर। यो गरूड पुराण बमोजिमको कारबाही कस्तो किसिमको कारबाही हो र?'
गल्ती एउटा अन्जानमा हुन्छ। अर्को जानाजान हुन्छ। अन्जानमा भएको गल्तीमा पनि उसले सजाय भोग्यो भने अर्को गल्ती नदोहोरिनको लागि ऊ सतर्क रहन्छ। तर, अन्जानमा भनेर क्षम्य हुनुहुँदैन। गल्तीको सजाय भोग्नै पर्छ। यहाँ त अन्जानमा त के? जानाजान गरेको गल्तीलाई पनि सामान्य भन्दै हिँड्दै गर्ने चलन रहेछ। अनि मैले जे गरे पनि कसैले केही गर्दैन भन्ने दृढ भावको कारणले नै देशमा व्यापक भ्रष्टाचार मौलाइरहेको छ।
माथिल्लो पदका कर्मचारीहरूको जस्तो भ्रष्ट बुद्धि तल्लो तहको कर्मचारीहरूमा हुँदैन। तिनै माथिल्लो तहका कर्मचारीहरूको संगतले नै तल्लो तहको कर्मचारीहरूले भ्रष्टाचार गर्न सिक्दा रहेछन्।
तल्लो तहको कर्मचारीहरूले माथिल्लो तहको कर्मचारीहरूले जे गरे, जस्तो गरे त्यसैको सिको गर्ने हुन्। आचरण कसैले सिकाउन पर्दैन। त्यो त स्वत: ट्रान्सफर हुने हो।
मैले जस्तो व्यवहार गर्छु, मेरो बाबुले त्यस्तै व्यवहार सिकिरहेको हुन्छ। मैले उसलाई सिकाउन पर्दैन। माथिल्लो तहका कर्मचारीहरू नै भ्रष्टाचारका आधार, आश्रय र कारण हुन्। माथिल्लो तहको एक जना मात्र पनि शुद्ध आचरण र पवित्र विचार भएको हुने हो भने पूरै सिस्टम परिवर्तन हुन्छ। यसलाई हेर्न हामी कहीँ टाढा जान पर्दैन। कुलमान घिसिङको आगमन पछिको उज्यालो नेपाललाई हेर्न सकिन्छ।
नेपालको कर्मचारी सिष्टममा चाकडी गर्ने, काम ठग्ने, बेइमान गर्ने कर्मचारीहरूलाई हाकिमहरूले रूचाउनुको कारण यही हो।
यदि, यी गुणहरू छैनन् भने कर्मचारीलाई कुनै न कुनै बहानामा सरूवा गरेर होस् या डर, धम्की दिएर होस् या अन्य कुनै ज्यादती गरेर होस्। कर्मचारीहरूलाई तर्साइ रहन्छन्। सरूवामा दु:ख भोगेका कर्मचारीहरू यहाँ अनगिन्ती भेटिन्छन्। कर्मचारी हाकिमको गुलाम भएर बस्नै पर्छ।
एकदिन माथिल्लो तहका कर्मचारीहरूको मिटिङ बसेछ। र, निर्णय भयो। 'अनैतिक कार्य गर्ने कर्मचारी या भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने धेरै कर्मचारीहरूलाई सरूवा गर्नुपर्ने हुन्छ। बरू भ्रष्टाचारविरूद्ध आवाज उठाउने कर्मचारीलाई नै सरूवा गर्ने हो भने टेन्सन साफ।'
अझ मलाई सबभन्दा रमाइलो के लाग्छ भने। हाकिमहरूको कुर्चीको अगाडि 'म भ्रष्टाचार गर्दिनँ, र भ्रष्टाचार गर्न दिन्नँ' भनेर ब्यानर समेत टाँसेर बस्छन्। तिनै हाकिमहरू भ्रष्टाचारमा लिप्त हुन्छन्। अहिलेको सुन काण्ड, ललिता निवास काण्ड या राजस्व चुहावटमा होस्। कति घटना छन्। जो माथिल्लो तहका कर्मचारीहरू नै भ्रष्टाचारका प्रमुख कारक बनेका छन्। तल्लो तहका कर्मचारीहरू त हातमा लागेको मह चाट्दै बस्दै गर्ने हुन्।
कतिलाई हातमा लागेको मह चाट्न मन लाग्दैन। कतिलाई त्यो मह चाख्नाले हाकिमकै आश्रयमा जनतासँग पाँच सय, हजार रुपैयाँ मागेर निजामती संस्थाको बेइज्जत गरिरहेका छन्। यस्ता घटनाहरू तपाईं हामी सबैले देख्न र सुन्न पाएका छैनौं भने भन्नुस्।
'लोकसेवा' निजामती कर्मचारीहरूको द्वार हो। त्यही द्वारमा उभिने कर्मचारी कति भ्रष्ट हुन्छन् भन्ने कुरा मैले लगभग ५ वर्ष लोकसेवा बसेर अनुभव गरेको छु। हुन पनि सत्य हो। जहाँ फूलहरू हुन्छन् त्यहाँ मधुमख्खीहरू घुमिरहन्छन्। तिनलाई जति धपाउनुस् फेरि आउँछन्। उनीहरूको स्वभावै हो फूलको सुगन्ध र रसमा रमाउने।
त्यस्तै, जहाँ फोहोर छ त्यहाँ झिंगाहरू बस्छन्। उनीहरूलाई त्यही फोहोर, त्यही दुर्गन्ध रमाइलो लागिरहेको हुन्छ। निजामती कर्मचारीहरू पनि त्यस्तै रहेछन्, जहाँ पैसा हुन्छ त्यहाँ लोभमा लिप्त भएका कर्मचारीहरू भुनभुनाइरहेका हुन्छन्। मौरीले सुगन्ध, झिंगाले दुर्गन्ध खोजेजस्तै, कर्मचारीहरूले पैसालाई मात्र देख्दा रहेछन्। त्यो पनि जति धेरै संख्या त्यति धेरै बेइमान। वाह! निजामती कर्मचारी।
लोक सेवाको परीक्षा भनेपछि मर्यादित र अनुशासित हुनुपर्छ भन्ने लाग्छ। यो कुनै स्कुल, क्याम्पसको परीक्षा जस्तो होइन। अवसर मिल्यो कि फाइदा उठाइहाल्ने। यो हामी सबैको आस्था, विश्वास र भरोसा हो। आयोगकै कर्मचारी भ्रष्ट हुने हो भने, भित्र छिर्ने कर्मचारी कस्ता प्रवृत्तिका छिर्न सक्छन्। कल्पना गर्नुस् त!
कतिलाई लाग्दो हो, कति विरोध मात्र गरेको होला भनेर। किनकि परिणामसँग जानकारी छैन। आज एउटा सबैलाई सत्यको जानकारी गराउन चाहन्छु। सानो लापरबाहीले क-कसलाई असर गर्छ भनेर।
घटना हो नेपाल बैंक लिमिटेडको विज्ञापन नं। ३१/०७६-७७, गोल्ड टेस्टर, तह ३ को परीक्षामा सहभागी उम्मेदवार बेनी नगरपालिका-६, म्याग्दीकी विनिता ढुंगानालाई लोक सेवा आयोगले वस्तुगत उत्तरपुस्तिका नबुझाई आफैंसँग लिएर गएको भनेर उनको त्यो आर्थिक वर्षको परीक्षा रद्द गरी उनलाई आयोगबाट संचालन हुने कुनै पनि परीक्षामा २ वर्षसम्म सामेल हुन नपाउने गरी कारबाही गर्यो। यो घटनाको प्रत्यक्ष जानकारी मलगायत त्यस समय आयोगमा काम गर्ने सबै कर्मचारीहरूलाई सत्यतथ्य थाहा छ। नियम अनुसार कपी उम्मेदवारले आफैं लिएर गएकी थिइनन्।
यदि कुनै परीक्षार्थीले आफूले लेखेको कपी आफैं लग्यो वा अरू कसैले लगिदियो भने त्यो कपी हराएको जानकारी पहिला कक्षा कोठामा खटिएको सहायक केन्द्राध्यक्षले थाहा पाउनु पर्छ।
सहायक केन्द्राध्यक्षको मुख्य काम नै प्रश्नपत्र बाँड्ने र परीक्षा सम्पन्न भएपछि हाजिरी बमोजिमको उत्तर पुस्तिका रूजु गरेर केन्द्राध्यक्षलाई बुझाउनु हो।
केन्द्राध्यक्षले उपस्थित हाजिरी बमोजिम उत्तरपुस्तिकाहरू छन् कि छैनन् पुन: रूजु गरेर सिलबन्दी गरी मुचुल्का उठाएर उपस्थित जनशक्ति सबैले दस्तखत गरेर आयोगमा बुझाउनु पर्ने हुन्छ। यदि हाजिरी बमोजिम उत्तरपुस्तिकाहरू छैनन् भने त्यो कपीको खोजी त्यही गर्नुपर्छ।
कपी कहाँ गयो? त्यो अनुसन्धानको विषय हो। आयोगको कर्मचारीहरूको लापरबाहीले हरायो वा केन्द्राध्यक्षको लापरबाहीले हरायो। त्यो छानबिनको कुरा हो। जसको लापरबाहीले कपी हरायो, उसलाई कारबाहीको दायरामा ल्याउनु पर्थ्यो। यहाँ त उल्टै परीक्षार्थीलाई नै कारबाही गरियो।
भोलि फेरि चेक गर्ने बेलामा कपी हराउला मुचुल्का उठाएर परीक्षार्थीले कपी लगेको भनेर जबरजस्ती कारबाही नहोला भनेर भन्न सकिन्न। सचिवज्यू र अध्यक्षज्यूलाई यस्ता विषय पनि सामान्य लाग्दा रहेछन् भने जटिल विषय के रहेछन्? मलाई चाहिँ जान्न उत्सुकता छ।
यति घटनामात्र होइन।
लोक सेवा आयोगमा परीक्षार्थीहरूको भविष्यसँग, उनीहरूको भावनासँग हेलचक्रयाइँ गरिएका कैयौं घटनाहरूको साक्षी हुँ म।
अब गरूड पुराणतिरको प्रसंगतिर लागौं।
निजामती कर्मचारीका माथिल्लो तहका कर्मचारीहरूले कस्तो व्यक्तिलाई कारबाही गर्दा रहेछन्। त्यो त हजुरले देखि हाल्नु भयो। तर मेरो कारबाहीको परिकल्पना भ्रष्ट कर्मचारीलाई गरूड पुराण बमोजिम कारबाही हुनुपर्छ भन्ने छ।
नेपाल सरकार अन्तर्गतका कुनै पनि कर्मचारीले गल्ती गर्यो भने उसलाई उसले गरेको गल्ती अनुसार कारबाही हुनैपर्छ। उसले गरेको गल्ती अनुसार सजायको भागीदार बन्नैपर्छ। कहिले जानाजान गल्ती हुन्छ भने, कहिले अन्जानमा।
यसको मतलब यो होइन कि अन्जानमा गल्ती भएको छ भने ऊ सजायको भागीदार नै हुँदैन। सजाय सबैलाई हुनुपर्छ। तर, कस्तो प्रकारको सजाय भन्ने कुरा घटना, परिस्थिति, व्यक्ति, पद र समय अनुसार हुनुपर्छ।
एउटा सानो उदाहरण।
यदि, नेपाल सरकारको कुनै पनि कर्मचारीले सेवाग्राहीसँग घुस लिएको, मागेको प्रत्यक्ष प्रमाण छ र भ्रष्टाचार गरेको ठहर भयो भने उसलाई गरूड पुराणबमोजिम उसको आँखाको ज्योति निकालेर उसलाई देख्ने शक्तिबाट बञ्चित गरिदिनु पर्छ। भ्रष्टाचारीलाई अन्धो बनाउने कानून बनाउनु पर्छ। उसलाई महसुस होस्, मलाई भ्रष्टाचारी बनाउने यिनै आँखा हुन् भन्ने।
मैले कता-कता भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने पनि सुन्छु। मृत्युदण्ड दिएपछि त ऊ मरिहाल्यो। उसले आफूलाई पुन: सही मार्गमा हिँडाउने अवसर नै पाउँदैन। तर, देख्ने शक्ति नष्ट गरिदिने हो भने बाथरूम जाँदा पनि लठ्ठीको सहारा लिँदा उसलाई महसुस होस् कि मलाई यो अवस्था बनाउने वास्तवमा लोभ हो भन्ने।
चाहे जति सुकै ठूलो गल्ती किन नगरेको होस्, कसैलाई पनि सजाय दिँदा उसलाई एकचोटि सुध्रने मौका अवश्य दिन पर्छ। तर, क्षमा दिएर होइन। यदि भ्रष्टाचारीलाई अन्धो बनाउने कानुन बनाउने हो भने उसले भौतिक रूपमा केही क्षति त व्यहोर्नु नै पर्यो। तर, यहीँ, यही शरीर रहँदा नै आफ्नो परलोकको उन्नति गर्ने अवसर पनि प्राप्त हुन्छ। यदि, सुध्रन चाहन्न भने धृतराष्ट्रको जस्तो जीवन व्यतित गर्छ।
अहिले पनि कानून नभएको होइन। गरूड पुराण जस्तो कठोर र निर्दयी न होला। कानून छ। तर, कानूनको कार्यान्वयन कत्तिको छ त्यो जनतालाई थाहा नै छ।
अहिले भ्रष्टाचारीहरूलाई संरक्षण गर्न सबै हात धोएर लागिरहेका छन्। किनकि त्यहाँ एउटा भ्रष्टाचारी समातियो भने पूरै लहरो तानिने डरले तैँ चुप! मै चुप!
मलाई, कोही अपरिचित व्यक्तिसँग परिचय गर्दा निजामती कर्मचारी हुँ भन्न पनि लाज लाग्छ। संस्था दोषी होइन। निजामतीमा रहेका भ्रष्ट कर्मचारीहरूको बाहुल्यताले गर्दा मैले ती भ्रष्टहरूको समूहमा आफूलाई समावेश गराउन चाहन्नँ।
नेपालको चाकडीबाज सिस्टममा गल्ती गरेकोले सजाय पाउनु भनेको शून्य बराबरजस्तो छ। सजाय गरिहाले पनि 'तँ रोएजस्तो गर, म पिटे जस्तो गर्छु' को नै अभ्यास छ। जबसम्म सबैलाई एक समान न्यायको अनुभूति हुँदैन। तबसम्म देशमा भ्रष्टाचारका जराहरू गाडिरहन्छन्। जराहरू यति फैलिइसकेका छन् कि समयमै त्यसलाई जनताले काटेर फालेनन् भने भोलि ती जराहरू घरलाई नै भत्काउन कोसिस गर्ने छन्। त्यो घर हाम्रो देश हो।
जसले सत्यलाई नष्ट गर्ने अवसर कुरिरहेका छन्। उनीहरूलाई जानकारी होस्। प्रत्येक कर्मयोगी साधकले मानेको हुन्छ। जुन शरीर प्रत्येक क्षण मृत्युमा गइरहेको छ त्यो शरीर नष्ट हुनुको कुनै डर हुँदैन। जो व्यक्ति कहिल्यै मर्दै मर्दैन, उसलाई बाँच्नुको कुनै इच्छा हुँदैन। त्यस्तो व्यक्तिलाई अहित सोच्नुको कल्पनै नगरे हुन्छ। ऊ कर्तव्य कर्म निर्वाह गर्नको लागि योद्धा बनिसकेको हुन्छ।