मैले मोबाइल एपको मद्दतले भाडाको सवारी साधन खोजेँ। सम्पर्कमा आएका केहीले एपले निर्धारण गरेको भाडादर भन्दा बढाएर कबोल गरे। एक-दुईले निर्धारित मूल्यमै जान सक्ने संकेत गरे।
मैले मेरो कार्यालयबाट सबैभन्दा नजिक भेटिएको र न्यूनतम भाडा कबोल गरेको ट्याक्सी रोजेँ।
तुरून्तै फोन आयो।
'सर! हजुर लोकेसनमै हुनुहुन्छ हैन त?'
'ठ्याक्कै लोकेसनमा। तपाईं जावलाखेलतिर हो?'
एपको नक्सामा उनको ट्याक्सी भएको ठाउँ नियाल्दै मैले सोधेँ। उनले हो भनेपछि मैले मेरो कार्यालयमा आइपुग्ने बाटो बताइदिँए।
म कार्यालय बन्द गरेर सडकमा आएँ। उनी पनि आइपुगे। ट्याक्सीमा बस्नासाथ मैले उनको नाम लिँदै सोधेँ–
'तपाईंको थर चाहिँ के हो?'
उनले बताए। उनीसँग पनि अरू चालकहरूसँग जस्तै बाटो कटाउने गफ चलाउन मन लाग्यो। मन लागेपछि काम गरिहाल्ने मेरो बानी छ।
'ससुरालीको चाहिँ के थरी नि?'
उनले त्यो पनि बताए।
'मावली?'
त्यो पनि बताए।
मेरो जीवनमा यो एउटा अनुभव छ– हरेक विवाहित पुरूषले आफ्नो, ससुराली र मावलीको थर गर्वका साथ भन्छन्; विवाहित महिलाको हकमा आफ्नो घर, माइती र मावलीको थर।
मैले यस्तो प्रश्न धेरैलाई सोधेको छु। अहिलेसम्म सबैले रमाइलो मानेर उत्तर दिएका छन्।
'लौ! तीन वटै मेरा कुटुम्ब परे।'
'कसरी हो त सर?'
'म खतिवडा हुँ। खतिवडासँग नमिल्ने गोत्र भएपछि तपाईंले भनेका तीनवटै थरका परिवारसँग हाम्रो बिहावारी चल्छ। शास्त्र र हाम्रो परम्परागत मान्यताले यही भन्छ।'
उनले मतिर हेरे, मुद्रा हँसिलो भयो। हाम्रो गन्तव्य थियो मैतिदेवी, सेतोपुल नजिकको हाइल्यान्ड विन कफी। म एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीका पूर्वविद्यार्थीहरूको एक कार्यक्रममा जाँदै थिएँ।
मैले फेरि सोधेँ– तपाईंको घर चाहिँ कहाँ हो?'
'पाँचथर जिल्ला।'
'लौ! आज भाडा नतिरिने भो?'
उनी फेरि मतिर हेरेर मुस्कुराए अनि भने, 'किन र सर?'
'मेरो पनि जन्मस्थल पाँचथर जिल्लामै हो।'
मैले ट्याक्सीबाट काठमाडौं सहर सयर गरेको बीस–बाइस वर्षको अवधिमा भेटेका चालकमध्ये पाँचथर घर बताउने सम्भवतः यिनी पाँचौं हुन्।
यस्तो यात्रामा विभिन्न जिल्लाका दाजुभाइ भेटिन्छन्। तीसँग कुरो गर्दा आनन्द हुन्छ। झन् आफू जन्मेको जिल्ला वा मावली जिल्लाका भेट्दा त मलाई साइत नै परेको जस्तो हुन्छ।
शंखमूलको युएन पार्कलाई देब्रे पारेर अघि बढ्दै गर्दा ट्याक्सी रोकियो। अगाडि लस्करै सवारीसाधन रोकिएका थिए। यो कुइनेटोमा सवारी साधनको चाप निकै हुन्छ। मैले गफको कित्ता परिवर्तन गरेँ। सडक छिचोल्ने क्रममा म सवारीचालकसँग गफ गर्न मन पराउँछु।
'तपाईंहरूलाई काम लाग्ने एक रोचक विषय छ। तपाईंलाई पनि सोधौं है त एउटा प्रश्न!'
'भइहाल्छ नि सर।'
'लौ! भन्नुहोस् अहिले हामी कुन दिशामा जाँदैछौं?'
'उत्तर होला सर!'
'तपाईंले भनेको मिलेन।'
भूगोलको विषयसँग जोडिएको चार दिशा छुट्ट्याउने ज्ञान धेरैलाई छैन। त्यसमा पनि काठमाडौं उपत्यका बाटुलो आकारको भएकाले यो काम सबैको चियाको कप होइन।
मैलै मेरा जिल्लावासी चालकलाई चक्रपथका चार बिन्दु कोटेश्वर, नारायणगोपाल चौक, कलंकी र एकान्तकुना क्रमशः पूर्व, उत्तर, पश्चिम र दक्षिण दिशामा पर्छन् भनेर अर्थ्याएँ। काठमाडौंबाट दक्षिण दिशामा रहेको हुनाले कालीको प्रख्यात मन्दिर रहेको स्थान दक्षिणकालीका रूपमा स्थापित भएको हो। यसकारण दक्षिणकालीबाट बल्खुतिर आउँदा तपाईं उत्तर दिशामा यात्रा गर्नुहुन्छ। सिधै अघि बढ्नुभयो भने कालिमाटी, स्वयम्भू, गोंगबु हुँदै टोखा पुग्नुहुन्छ।
'हो, सर मलाई छर्लंग भयो। अहिले हामी पूर्वतिर जाँदै छौं।'
हामी ललितपुरलाई काठमाडौं जोड्ने शंखमूलको पुल तरेर धोबीखोलाको किनारै किनार सेतोपुलतिर लाग्यौं।
'तपाईंले कतिसम्म पढ्नुभएको छ।'
'मैले एसएलसीसम्म मात्र पढ्न पाएँ सर।'
बिजुलीबजार पुगेपछि हाम्रो गाडी फेरि जाममा पर्यो तर त्यसले हाम्रो वार्ता सघन बनाउन इन्धनको काम गर्यो।
उनी दस कक्षामा पढ्दा उनको गाउँमा त्यो समयको विद्रोही माओवादीको प्रभाव चरम सीमामा पुगेको रहेछ। एक दिन एउटा हुल आएर उनलाई जबर्जस्ती गरेर लगेछ। करिब एक महिनामा उनी भाग्न सफल भएछन् र घर आएछन्।
त्यसको केही दिनपछि माओवादीको समूह फेरि घरमा आएछ। उनका दाइ र दिदी घरमा थिएनन्, पढाइका लागि गाउँबाट बाहिर थिए। माओवादीले उनी र उनका बुबामध्ये एक जनालाई लिएरमात्रै जाने अडान राखेछन्। यसरी फेरि उनी माओवादीको कब्जामा परेछन्।
केही महिनापछि फेरि भाग्न सफल भएछन्। त्यसपछि चाहिँ उनी सिधै भारत पसेछन्। मुम्बई पुगेर दुई वर्ष काम गरेछन्।
उनले आफ्नो मनको कुरा भने– माओवादीको कालो कर्तुतले नजलेको भए मेरा दाइदिदी जस्तै मैले पनि कम्तीमा डिग्री (स्नातकोत्तर) त पढेको हुन्थेँ होला सर!
त्यस बेला विकास निर्माणमा संलग्न मेरा केही दौंतरीहरूले पनि उनले भनेको जस्तो ज्यानै जानेसम्मको संकट बेहोर्नुपरेको थियो। मुलुकमा फैलिएको त्यो कालरात्रिले ती चालकलाई बन्धक बनाएको प्रसंगले म आफैंसँग पाँचथरमै भएको एउटा घटना स्मृतिपटलमा ताजा गरायो।
त्यस बेला म नेपाल विकास अनुसन्धान प्रतिष्ठान र जापानको ओरिएन्टल कम्पनीले संयुक्त रूपमा अध्ययन गर्दै गरेको फिदिम–ताप्लेजुङ सडकको स्तरोन्नतिका लागि परामर्श सेवामा संलग्न थिएँ।
म र प्रतिष्ठानका अर्का एक सदस्य डा. कृष्ण पहारी परियोजनाको स्थलगत अध्ययन गर्न फिदिमबाट एउटा जिपमा जोरपोखरी गएका थियौं। सशस्त्र द्वन्द्व चरमोत्कर्षमा थियो। जोरपोखरी पुगेपछि त्यहाँका बासिन्दाले माओवादीका कार्यकर्ताहरू गाउँ पसेको सूचना दिए। हामी कार्यक्रम छोट्याएर फिदिमतिर फर्किँदै थियौं। कच्ची सडकमा गाडीको गति १० किमि प्रतिघण्टा जति थियो। कसैले दौडेरै पनि हामीलाई भेट्न सक्थ्यो।
एकाएक दुई युवा सडकमा देखिए। उनीहरूले हाम्रो गाडी रोक्ने संकेत दिए। चालकले अटेरी गरेर गाडी अघि बढाए तर दुईमध्ये एक जना आक्रोशले कराए– रोक भनेपछि रोक्नु पर्दैन?
गाडी रोकियो। उनीहरू जबरजस्ती गाडीमा चढे। हामीलाई केरकार गर्न थाले। अन्तर्राष्ट्रिय निकायका परियोजनामा काम गर्ने कर्मचारी वा परामर्शदाताबाट रकम असुल्ने वा तिनलाई अपहरण गरेर दाउमा राखी कुनै अभीष्ट पूरा गर्ने उनीहरूको रबैया हुन्थ्यो।
हामीले थोरै चलाखी गर्यौं। हामी विश्वविद्यालयमा पढाउँछौं, विश्वविद्यालयकै अनुसन्धान हो भन्यौं। मेरो कविता संग्रह 'स्यापी–साइतामा यात्रा' साथमै थियो। मैले दुबै जनालाई एकएक प्रति दिएँ। न्वारानदेखिको बुद्धि लगाएर हामी उनीहरूले खोजेका मान्छे होइनौं भन्ने तर्क स्थापित गर्ने कोशिस गर्यौं।
भाग्यले साथ दियो। उनीहरू आधा घण्टा जति हाम्रो गाडीमा बसे अनि ओर्लेर गाउँतिर पसे।
अहिले मेरो जीवन उत्तरार्द्धतिर लम्किँदै छ। विचार गर्छु, त्यो त्रास र आतंकले घनिभूत कालखण्ड मेरो जीवनकालकै सबैभन्दा लामो आधा घण्टा भएर रहेको छ। म एक निरीह र निर्बल पात्र भएको घटनाका रूपमा ढुंगाको अक्षर भएर स्मृतिपटलमा कुँदिएर बसेको छ।
मैले त्यो त्रासदी सम्झिँदै चालकसँगको वार्तालाप जारी राखेँ।
'के काम गर्नुभयो त मुम्बईमा?'
'के गर्नु र सर! चौकीदारको काम गरेँ।'
मुम्बईबाट घर फर्किँदा माओवादीको आतंक केही मत्थर भएछ। उनको नाम पूर्वलडाकुमा दर्ता गरी कसैले किर्ते गरेर भत्ता खाँदो रहेछ। उनले थाहा पाए तर त्यसका पछि लागेनन् बरू काठमाडौंतिर हानिए। यता आएर गाडी चलाउने लाइसेन्स निकाले अनि सउदी अरेबिया पुगे।
त्यहाँ उनले ढुवानीको ठूलो गाडी चलाउने काम पाए। सामान लिएर एउटा सहरबाट अर्को सहर जानुपर्थ्यो।
'एक पटकमा अठार सय किलोमिटरसम्म गाडी चलाएँ सर।'
'त्यो त लगभग मेची–महाकाली ओहोरदोहोर गरे बराबर भयो।'
'साउदी (अरेबिया) का राजमार्गमा गाडी चलाउन धेरै सजिलो छ सर।'
'कति पांग्रे ट्रक चलाउनुभयो त?'
'सुरूमा १८ पांग्रे चलाएँ, त्यसपछि १४ पांग्रे मात्रै।'
मैले अहिलेसम्म भेटेका र कुरा गरेकामध्ये यी चालक विशेष किसिमका लागे। विदेशमा केही वर्ष काम गरेर फर्केका धेरैलाई गाडी चालकका रूपमा भेटेको छु। कतिपयलाई जलविद्युत आयोजनाको सुरुङभित्र काम गर्दै गरेको भेटेको छु। कतिले स्वदेश फर्केर उद्यम गरेका छन्।
'जिन्दगीमा केही गर्न सकिएन सर! साउदीमा कमाएको पैसा पनि यताउता गर्दै सकियो। काठमाडौंमा एउटा घर बनाउने धोको छ।'
उनको कुरा गराइ र भनाइले मलाई संवेदनशील बनायो। म आफूलाई एक भाग्यमानी नेपाली सम्झन्छु। उत्तर विद्यावारिधिसम्मको पढाइ गर्न पाएँ। संसारका धेरै मुलुक घुमेको छु। आफूले जानेको कुरा अरूलाई सिकाउन पाएको छु। मेरो जीवन सफल छ भन्न सक्छु।
केही मिनेट मेरो चालक बनेर सेवा दिइरहेको व्यक्ति मेरै जिल्लावासी थियो, मेरै भाइको उमेरको थियो तर उसको र मेरो व्यक्तिगत अवस्थामा ठूलो भिन्नता थियो। हाम्रो मनोविज्ञान फरक थियो।
एकै छिनको मौनतापछि मैले भनेँ, 'तपाईं निराश हुनुपर्ने केही कारणहरू होलान् तर भारत र खाडी मुलुकमा गरेको साधनाले तपाईंलाई एक बहुमूल्य रत्न दिएको छ।'
उनले मतिर पुलुक्क हेरे, आँखामा इमान र आत्मसम्मानको जाज्वल्यमान आभा देखेँ।
आश्चर्य मानेजसरी सोधे– त्यो के होला सर?
'पसिनाको विवेक र विश्वास। तपाईं अब चाहेर पनि बेइमानी गर्न सक्नु हुन्न। इमान र जमानमा विश्वास गर्नुहुन्छ।'
'त्यो त हो सर। कसैले पनि एक थप्पड हान्यो भने पनि मेरो मस्तिष्कमा यसले जानीजानी गरेको होइन भन्ने भावना आउँछ।'
आँखा धपक्कै बल्ने पालो अब मेरो थियो। उनले मलाई पनि एउटा नयाँ विषयमा ध्यान केन्द्रित गर्ने सन्देश दिए। मलाई लाग्यो– आजउप्रान्त मेरो गतिविधिमा नयाँ केही नभए पनि हुन्छ। हरेक दिन यस्तै भए जीवन सार्थक ठहरिने छ।
ट्याक्सी सेतोपुल नाघेर कालोपुलतिर सोझियो। त्यहाँबाट नजिकै मेरो गन्तव्य थियो।
ट्याक्सी रोकियो। मैले ५० थपेर भाडा दिएँ।
'सर, ५० रूपैयाँ बढी आयो!'
'मैले थपेर दिएको हो।'
'किन र सर?'
'तपाईंलाई यति इमानी साधक बनाउन अवश्य पनि तपाईंकी अर्धांगिनीको योगदान छ। तपाईंले अरूबाट पनि यस्तो थप रकम पाउनुभएको होला। त्यो सबै रकम अनुमान गरेर एकमुस्ट श्रीमतीलाई दिनुहोला।'
'हो सर, हजुरले भनेको सही हो। मेरो शक्ति भनेकै श्रीमती हो।'
हामी छुट्टिने बेला भयो। म सडक पार गरेर कफी पसलतिर लम्के। उनी सडकमै थिए। पसलको गेट खोल्नुअघि मैले ट्याक्सीतिर हेरेँ। चालक आफ्नो सिटमा थिए। मैले हात हल्लाएँ। उनले हात ट्याक्सीको झ्यालबाहिर निकालेर शिष्टाचार पूरा गरे।
(नवराज खतिवडाका लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)