घर आउने तरखर हुँदै थियो। घर छोडेको ३ महिना भएको थियो। एक दिन विद्यालयमा घर जाने विषयमा हेडसरसँग कुरा भो। बिदा एक हप्ता छ। बर्खे बिदामा बन्द भएका स्कुल ७ साउनमा खुलिहाल्छन्। टाढाको यात्रा आउन जान समस्या। नियमानुसार पाउने २/३ दिन बिदा थप गरी जाने निधो भयो।
ठट्टामै हेडसरसँग भनेँ, ‘सर साउन १२ मा भैंसी ब्याउने दिन हो, घर गएपछि बिगौती नखाई त कसरी आउने?’ हेडसर हाँस्नुभयो।
‘हाम्रो के छ भने, पहिले अलि लापरबाही थियो, अहिले सबै अभिभावक र विद्यार्थी चनाखा छन्, कोही सर बाहिर भए किन, केका लागि? भनी प्रश्न गर्छन्।’
म हेडसरको आशयबारे अनविज्ञ थिइनँ। त्यति ढिला गर्न मेरो मनले पनि मान्नेवाला थिएन। असार ९ मै काम विशेषले सुर्खेत आउँदा ‘२/४ दिन घर पुगेर आउने भए जानू’ भन्ने हेडसरको कुरालाई मैले म पछि बिदामै जान्छु भनेर सुर्खेतबाटै कार्यक्षेत्र निजगढ फर्किएको थिएँ।
मैले साउन १२ गते ब्याउने दिन भएको भैंसीको बिगौती खाने आश गरेको थिइनँ। असार २९ गते ब्याउने भाइको भैंसीको बिगौती पक्का खान पाइने विश्वास थियो।
असार २५ गते घरबाट फोन आउँदा पनि, ‘हाम्रो भैंसी त ढिला ब्याउँछ होला, तपाईंको बिदाअनुसार कान्छाको भैंसीको बिगौती खान पाउनुहुन्छ।’ भन्ने रञ्जनासँग स्वाभाविक आशयको कुरा भएको थियो।
हेडसरसँग चाहिँ भाइको भैंसीको बिगाैती खाएर फर्किन्छु भनेको थिइनँ। खाने आश त्यही थियो।
असार २७ गते बिहानै भाइको फोन आयो। हालखबर सोधेँ।
‘ठिकै छ छ न त, क्या हुने हो, आमा अलि बिरामी छन्, भैंसी क्या प भयो, बसेको छ उठ्नै सक्दैन।’ मनमा चिसो पस्यो।
२९ गते ब्याउने भैंसी किन यस्तो भयो होला, अनि आमालाई के भाको? भैंसीका लागि पशु प्राविधिक तथा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरालाई फोन गरी अवस्थाबारे जानकारी गराएँ। पशु प्राविधिक दुर्गाप्रसाद जैसी घरमै पुगेर सकेको उपचार तथा सल्लाह दिनुभयो।
शंका र संशयका बीच २७ गते निजगढबाट गाडी चढेको म २९ गते घर पुगेँ।
आमाको कम्मर सर्किएको केही मत्थर हुँदै गएको थियो। घर पुग्नेबित्तिकै भैंसी हेरेँ बसिरहेको थियो। मुखभरि राखिएको घाँस खाइरहेको थियो। चेहेरा हेर्दा राम्रै थियो। अनुहार उज्यालै थियो।
दिन बित्दै गए भैंसी उठ्न सकेको थिएन। छोटो समयको लागि घर फर्केको म केही नगरी नहुने कामहरू थिए।
साउन १ गते राति २ बजे भाइको फोन आयो।
‘भैंसी बसेरै गाब (पाडा/पाडी) फाल्ने जस्तो छ। एकछिन दाजु र तपाईं आउनू।’
भाइको र मेरो बस्ने घर करिब १० मिनेटको दूरीमा छ। अलि माथि। दुवैको ठेगाना चाहिँ मंगलसेन-६, अछाम नै हो।
भैंसी हेर्न दाजु र म भाइको घर गयौं। भैंसी झनझन् कमजोर र बिरामी हुँदै गइरहेको थियो। बसेकै अवस्थामा केही बल गरेर पाडो जन्मियो। कालो, स्वस्थ, ठूलो पाडो (राँगो) साढे २ बजे भैंसीले फाल्यो।
साउन १ गते बिहानै श्रीमतीको उपचारका लागि म कोहलपुर प्रस्थान गरेँ। वर्षातको समय थियो। यद्यपि मैले बाइकमा जाने निधाे गरेँ।
घाम, पानी, कुहिरो, हिलो, धुलोसँग पौंठेवजोरी गर्दै साँझ ६ बजे ठूलासेन-बेलखेत करिब ४० किमी मध्यपहाडी लोकमार्ग तथा साइखोला-सुर्खेत -कोहलपुर खण्डको यात्राबाट कोहलपुर पुगियो। फोन गरेर हालखबर सोधेँ।
‘भैंसी उठाउन प्रयास गर्यौं, तर उठेन,’ भाइले जवाफ फर्कायो।
साउन २ गते फोन गरेँ।
‘के छ खबर।’
‘भैंसी मरिहाल्यो।’
म पनि छाँगाबाट खसेझैँ भएँ। नौ नाडी गलेर आए। मन रोयो, आँखा रसाए। भाइका छोराछोरी भैंसी ब्याउने दिन औंला भाँचीभाँची गनिरहेका थिए। बुढी आमा र मेरूदण्ड भाँचिएकी भाइबुहारीले सकीनसकी गरेको मेहनत, दुःख, कष्ट थप पीडादायी बनेर आयो। मेरो बिगाैती खाने रहर रहरमै सीमित भयो। केटाकेटीका आशा निराशामा परिणत भए। एउटा किसानको खुसी खोसियो, ओठको हाँसो खाेसियो।
भैंसीलाई खाडल खनेर गाडियो। त्यो बखत आमाले छोरा (धिरेन्द्र) लाई काखमा राखेर निकैबेर अलापी रहिन्, बिलौना गरिरहिन्। हातका औंला देखाउँदै, ‘अब भैंसी ब्याउने दिन ५ दिन बाँकी, ४ दिन बाँकी, ... ’ भन्दै पर्खिरहेको थियो।
०००
मैले पशुलाई पनि आफूभन्दा बढी माया गरेका सन्दर्भ र प्रसंग देखे-भोगेको छु। मलाई पनि त्यस्तो परेको छ।
२०७७ माघमा घरका एक कुकुरको छाउरो पालिएको थियो। छाउरोलाई छोरा प्रितमले असाध्यै माया गर्थ्यो। आइतबार मंगलसेन गएको दिन छाउरो खुरखुर हिँडेर माथिसम्म गएको थियो। छोरा शुक्रबार घर फर्किंदा छाउरो मरिसकेको थियो। उसले कुकुरलाई भनेर आफूले नखाई ल्याएको बिस्कुट छाउरोले खान पाएन। छोरो यति पीडाबोध गरी रोयो कि, मेरो पनि मन खिन्न भयो। उसले ल्याएको बिस्कुट छाउरो गाडिएको ठाउँमा लगेर राखिदियो।
२०७९ भदौ २९ गते खेतमा धानको कुन्यूँ लगाउँदै थियौं। भतिजीले गाउँ नजिकैको वनमा लगेका बाख्रा बाघ (चितुवा) मारेको खबर सुनाइन्। धान थुपार्ने काम अरूको जिम्मा लगाउँदै म र भाइ त्यसतर्फ गयौं। गाउँका अरू भाइ भतिजा पनि सघाउन गए।
वनमा बाख्रा हराएपछि गोठाला गएका छोरी झरना र कुशुम घरमा आई फेरि वनमा गएर बाख्रा खाेजेर पनि नभेटेपछि पुनः घरमा आएपछि बाख्रा हराएको खबर बल्ल घरमा भनेकाले रात परिसकेको थियो।
भाउजू र छोरी बसन्ती त्यहाँ गैसकेका थिए। हामी त्यहाँ पुग्दा उनीहरूले एक मारेर फालेको बोका भेटाइसकेका थिए।
ऋण कर्जा गरेर दाजु भाउजूले बाख्रा पालन सुरू गर्नुभएको थियो। तर ...। त्यो बोका बोकेर ल्याउँदै गर्दा भाउजूको क्रन्दनले सबैका आँखा रसाए। सलको गुण्टोमा बोका बेरेर भतिजीले पिठ्युँमा हालेकी थिई। भाउजू निरन्तर आँखाबाट साउने झरी झार्दै थिइन्। मलाई बालकृष्ण समको कविताको याद आयो -
‘दुःखीको घरमा मात्रै तेरो बास हुने भए
हे! ईश्वर दया राखी मलाई अझै दुःख दे’
त्यो दिन ३ जनाका ७/८ बाख्रा चितुवाले मार्यो। कतिपयको लास नै भेटाउन सकिएन।
त्यही दिन बाख्रो मारेको थियो भतिजा झुपाराम भण्डारीको। मरेको अवस्थामा भेटिएको बाख्रो हामीले केही माथि डाँडोमा पुर्याएका थियौं।
केही दिनमा ब्याउने, ठूलो जिउडालको, सेतो बाख्रो निष्प्राण देखेपछि बुहारीले घाँटीमा अँगालो हालेर बर्बर आँसु झारिन्। डाँको छोडेर बिलौना पोखिन्।
‘मेरा बाख्रा, छकाल त जिउँदै छि, एक खेरी आवाज गाडिहेल, तँलाई कति दुख्यो होला, कसरी फाल्यो छियो, तुँ दौडिन छि क्या…’ उहाँको यो बिलौनाले हाम्रा आँखा रसाए।
श्रृंखला यत्तिकैमा रोकिएन। दाजु मंगलसेन हुनुहुन्थ्यो। खबर सुनेपछि अबेर गरी दाजु र भतिज मदन घर आए। ठूलो बोका लम्पसार परेको देखेर दाजु पनि निकै भक्कानिए।
‘चाैंठु! बिहान त दाना खाएको थिइस्। अहिले तँलाई के भयो, उठ्। घाँटीमै दाडेको/चिथाेरेको रहेछ। कठै! मैले जे गर्दा नि नहुने भयो।’ बोका र मेरो घाँटीमा अंगालो हालेर दाजुले अरूलाई पनि रूवाउनु भयो।
०००
त्यो बाख्रो चितुवाले मारेपछि भतिज झुपारामले फेरि एउटा बाख्रो पाल्नुभएको थियो।
यही असार २४ गते पल्ला घरकाले बारीमा छरेर बाँकी रहेको युरिया मल खुला भाँडोमा आँगनमा छोडेका रहेछन्।
भर्खरै ब्याएको बाख्राले मल खाइदिएछ। त्यसको केही समयमै बाख्रो मरेछ। बुहारीको पीडा खपिनसक्नु भयो।
एउटा पीडा बिर्सन नपाई सकीनसकी पालेको बाख्रो मर्दा उनले आफूलाई सम्हाल्नै सकिनछिन्। पछि घरकाले सुनाउथे, ‘माइली कसरी रोइन्।’
०००
गाउँ समाजमा यस्ता कयौं समस्या किसानले भाोगिरहेका छन् जिल्लाका खप्तड, बाब्ला लगायतका क्षेत्रमा गोठमा बाँधका गाेरूलाई हुँडार/हुण्डुरो जनावरले राति झ्याल ढोका फोरेरै मारेको दर्जनौं घटना छन्।
पशुधनको उचित संरक्षण गर्न सकिएको छैन। पछिल्लो समयमा लम्पी स्कीनको महामारीले पशुचौपायमा ठूलो समस्या देखिएको छ।
पशु प्राविधिकको संगठन नेल्टा अछामले हालै जिल्ला प्रशासनमार्फत् प्रधानमन्त्री कार्यालयमा पठाएको ज्ञापनपत्र अनुसार पशुहरूमा महामारीको रूपमा देशका ७७ वटै जिल्लामा लम्पी स्किन रोग फैलिसकेको र हालसम्म यस रोगबाट करिब ११ लाख पशुहरू संक्रमित भएका छन् भने ५० हजारभन्दा बढी पशुहरूको मृत्यु समेत भइसकेको छ।
यस रोगको कारणबाट दूध उत्पादन ८० प्रतिशतसम्म कमी आउने, गर्भ तुहिने, प्रजननमा समस्या आउने, मृत्यु हुने जस्ता कारणले कृषकहरूले ठूलो आर्थिक क्षति व्यहोर्नु परिरहेको उल्लेख छ। देशभर ३० हजार पशु स्वास्थ्यकर्मी उपचारमा खटिरहेको जिल्ला अध्यक्ष दुर्गा प्रसाद जैसीले बताउनुभएको छ।