नेपालमा हात्ती सफारीको इतिहास पुरानो भए पनि पर्यटनसँग जोडिएको धेरै भएको छैन।
हात्ती सफारी वि.सं. २०२०/०२१ मा टाइगर टप्स होटल स्थापना भएसँगै पर्यटनसँग जोडिएको हो। निजी रूपमा पालिएका हात्तीहरूले सफारी मात्र नभई ठूला–ठूला दैविक प्रकोप, महामारीका साथै संरक्षण कार्यहरूमा पनि महत्वपूर्ण भूमिका खेल्दै आए।
वि.सं. २०४०/०४५ तिर निजी रूपमा पालिएका हात्ती कम थिए। सफारीको लागि सरकारी हात्तीमा भर पर्नुपर्ने अवस्था थियो। हात्ती सफारीको महत्व बढ्दै गए पनि सफारीका लागि हात्तीको संख्या कम थियो।
सफारीका लागि टिकट काट्न पर्यटकहरू रातको २ बजेदेखि टिकट काउन्टरमा लाइन बस्नुपर्ने र थोरैले मात्र टिकट पाउने अवस्था थियो। आफ्ना पाहुनाहरूलाई हात्ती सफारीबाट वन्यजन्तु देखाई खुसी बनाउने अवसर कमैले पाउँथे।
सरकारी हात्तीहरूको उपयोग राष्ट्रिय निकुञ्जको सुरक्षा गस्ती, वन्यजन्तु उद्धार र उपचारमा बढी आवश्यक भएपछि सफारीको लागि उनीहरूको संख्या झन् कम भयो भने हात्ती सफारीप्रति पर्यटकको आकर्षण बढ्दै गयो।
हात्तीको संख्या कम हुँदै गएपछि पर्यटन व्यवसायसँग जोडिएका व्यवसायीहरूले छिमेकी राष्ट्र भारत र नेपालका महाजनहरूले तराई क्षेत्रमा पालेका हात्तीहरू खरिद गरेर र भाडामा लिएर चितवन राष्ट्रिय निकुञ्जको आसपासका पर्यटकीय क्षेत्रमा राखी हात्ती सफारीको लागि प्रयोगमा ल्याउन थाले।
यसरी वि.सं.२०७० सालतिर आइपुग्दा नेपालमा निजी रूपमा पालिएका हात्तीको संख्या १३० वटा जति पुग्यो। त्यसताका हात्ती सफारी राम्रोसँग चलिरहेको थियो।
वि.संं. २०७१/०७२ मा पर्यटनमा हात्तीको उपयोग क्रुर व्यापार भएको आवाज उठ्यो। जर्मन संस्था प्रो वाइल्डलाइफले हात्ती सवार सम्बन्धी पर्यटकीय गतिविधिमा कटौती गर्न विश्वभरका टुर अपरेटरहरूलाई अपिल नै गर्यो।
विस्तारै वन्यजन्तुको अधिकारका लागि काम गर्ने संस्था, व्यक्तिहरूले पनि हात्तीको प्रयोग तथा उपयोग गर्न हात्ती सफारीलगायत हात्तीसँग जोडिएका मनोरञ्जनात्मक कार्यक्रम बन्द गर्नुपर्ने आवाज बढाए। त्यसताका भूकम्पका कारण पर्यटन व्यवसायमा थप नराम्रो असर पर्यो। यसबाट राम्रोसँग नउठ्दै विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीले हात्ती सफारीलगायत पर्यटनका सबै गतिविधि बन्द हुन पुग्यो।
राम्रो प्रावधान नभएका कारण बीमा कम्पनीले हात्तीको बीमा नगर्ने, गरिहाले पनि चर्को बीमा मूल्य तिर्नुपर्ने कारण बीमा हुन सकेन। राम्रो कमाइ गर्ने हात्तीबाट हाल आएर आम्दानी हुन छोडेपछि पालन पोषणको लागि धेरै खर्च थेग्न गाह्रो हुँदै गयो। वार्षिक खर्च लगभग १० लाख रुपैयाँ लाग्ने भएकोले निजी रूपमा हात्ती पाल्न गाह्रो भएपछि भारतका हात्ती व्यापारीहरूले राम्रो मूल्य तिरेर लगभग ४० प्रतिशत हात्तीहरू खरिद गरे। हात्तीहरू पुनः भारततर्फ नै फर्किए।
यसरी धेरै हात्तीहरू भारततर्फ फर्किन लागेपछि वन्यजन्तुको क्षेत्रमा काम गर्ने संस्थाले सर्वोच्च अदालतमा रिट दर्ता गर्यो। उक्त रिटमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भयो।
विगतमा पनि आवश्यक पर्दा भारतबाट ल्याउने र बुढो भएपछि काममा उपयोग नभएर भारततर्फ जानेक्रम चलिरहेकै थियो। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि काजलकली नामको हात्तीलाई सौराहाबाट भारततर्फ लैजाँदै गर्दा मकवानपुरको मनहरीबाट फर्काइयो। सौराहामा फर्केपछि उक्त हात्तीलाई पुरानो ठाउँमा राख्न नसक्ने अवस्था भएर होटल पार्कसाइडको हात्तीसारमा राख्न थालिएको थियो।
यो हात्ती निकै बुढी भई दाँतसमेत नभएकोले आफूले खाने आहारा राम्रोसँग चपाएर खान नसक्दा पाचन प्रकृयामा समस्या भएको थियो। खाएको कुरा नपचेर लिडा(दिसा) आउने भएको थियो। यस अवस्थाको हात्तीलाई हामीले नियमित रूपमा उपचार गर्दै थियौं।
सुरूमा यसप्रति धेरै मानिसको चासो नभए पनि उक्त काजलकली हात्ती ढलेपछि धेरै मानिसहरूको चासो पर्यो। हामीले उक्त हात्तीलाई नियमित औषधि उपचारबाट उठाउन सफल भएका थियौं तर चौंथो पटकको ढलाइपछि उसलाई उठाउन सकिएन। यसरी फिर्ता भएकी काजलकली हात्ती एक वर्ष पछि स्वर्गवास भइन्।
हाल आएर नेपालमा निजी रूपमा पालिएका हात्तीहरू करिब ७० वटा मात्र छन्। त्यसमध्ये टाइगर टप्स होटलमा रहेका १२ वटा हात्तीहरूलाई पर्यटकीय गतिविधिमा सफारी बन्दगरी हात्तीसँग जंगल वाक कार्यक्रम सञ्चालन गरिएको छ।
सौराहाको सपना भिलेजमा सफारी बन्द रहेको ६ वटा मध्ये ३ वटा सफारीका लागि उपयुक्त नरहेका हात्ती छन्। ३ वटा स्वस्थ हात्तीहरुको पनि सफारी बन्द गरिएको छ। अहिले सफारीमा प्रयोग भएका करिब ४५ पटा हात्तीहरुमा पनि आधा दर्जन बुढो भइसकेका छन्। अब ती हात्तीलाई सफारीमा लगाउनु हुँदैन।
हामीले विगत २० वर्षदेखि हात्तीको स्वास्थ्य उपचार र हात्तीको दिनचर्या नजिकबाट हेरिरहेका छौं। हात्ती ठूलो जनावर भएका कारण पालन पोषण खर्चिलो छ। हात्तीबाट आम्दानी नभएपछि यसको स्याहार सुसारमा कमी भएको र कोभिड–१९ देखि धेरैजसो हात्तीहरूमा २ जना माहुतबाट कटौती गरी महिनामा १५/१५ दिनको आलोपालोमा कामकाज गराउने र महिनामा १५ दिनको मात्र तलब दिने गरिएको थियो।
हात्ती मालिकले माहुतलाई गर्ने व्यवहारअनुसार हात्ती स्याहार सुसारमा फरक पर्दछ। हात्तीको पहिलो मालिक भनेको नै माहुत हो। माहुतलाई खुसी पारेर राख्न सकिएन भने हात्तीमा विभिन्न समस्याहरू जस्तैः दानापानीमा कमी हुने, समयमा दानापानी नदिने, राम्रो हेरचाह नहुने जस्ता कारणहरूले हात्तीको खानपिन नियमित नभई पोषणको कमी भएर चाँडो बुढोजस्तो देखिने, दुब्लाउँदै जाने, घाउ खटिरा आउने, बिरामी हुने आदि समस्या देखिन थाल्छन्।
माहुतको संरक्षण गर्न सकियो भने मात्र हात्तीको उचित संरक्षण हुने देखिन्छ।
हाम्रो अनुभवमा हात्तीलाई स्वस्थ र निरोगी राख्नका लागि दैनिक रूपमा ७ देखि ८ किलोमिटर हिँडाउने, नियमित रूपमा हात्तीको खुट्टा र पैतलाको निरीक्षण गर्ने, आवश्यकताअनुसार नङ काट्ने, नियमित आहारको व्यवस्थापन गर्ने, समय समयमा नाम्ले जुका विरूद्धको औषधि खुवाउने, ढुंगा भएको ठाउँमा असहज तवरले हात्तीलाई नबसाउने आदि गर्नुपर्छ।
कोभिड–१९ को महामारीको समयमा हिँडडुल नगराई थानमा नै बाँधेर राख्दा हिँडडुलमा कमी भएका कारण धेरै हात्तीमा खुट्टा सुन्निने, पेटकोे तलतिरको भागमा पानी जम्मा हुने, अनावश्यक रूपमा खुट्टाको नङ बढ्ने जस्ता समस्या देखिन थाले।
हात्तीहरूलाई हिँडडुल गराएपछि ती समस्या विस्तारै कम हुँदै गएकोले हाम्रो ज्ञान र अनुभवको आधारमा पनि हात्तीलाई नियमित हिँडडुल गराउनु आवश्यक देखिन्छ।
नेपालमा पालिएका ८–१० वटा निजी हात्तीबाहेक अन्य हात्ती १०–१५ वर्षपछि आफैं सकिने अवस्थामा छन्। ती सबै हात्तीहरू पुराना, उमेर ढल्केका छन्। यदि हात्तीहरूलाई १०/१५ वर्ष अरू थप बचाउन कोसिस गर्ने हो भने हामीसँग भएका हात्तीहरूलाई नियमित खानपिनका साथै थप पोसिलो आहारा खुवाई नियमित रूपमा उपचारमा गर्नुपर्छ।
खानपिनका साथै अरू व्यवस्थापन आम्दानीसँग जोडिन्छ। सबै हात्तीहरूलाई टाइगर टप्सले जस्तो सफारीमा नलगाई जंगलवाक कार्यक्रममा सहभागी गराउन पनि सजिलो छैन। हाम्रो जंगल अग्ला कासघारी, घना जंगल, खोला नाला, भास, वन्यजन्तुबाट असुरक्षित हुने भएका कारण जंगलवाक त्यति सहज छैन। वन्यजन्तु प्रेमी दुई चार जनाले मात्र गर्न सक्छन् सबैले त्यसो गर्न सक्दैनन्, आफ्नो सुरक्षा पनि हुँदैन।
त्यस्तै, विदेशमा जस्तो हात्तीलाई नुहाउने, हात्तीको दाना (कुची) बनाउने, हात्तीलाई नुहाउने, हात्तीमा कलात्मक पेन्टिन गर्ने जस्ता गतिविधिबाट हालको अवस्थामा आम्दानी हुने देखिँदैन।
नेपालमा सबै हात्तीहरूलाई एक ठाउँमा राखेर हात्ती स्याङ्चुरी बनाउन, हात्तीबाट आम्दानी नगरी पालन पोषण गर्नको लागि ठूलो रकमको आवश्यकता पर्दछ। त्यो कार्य व्यक्तिगत रूपमा गर्न सम्भव देखिँदैन।
यस्तो अवस्थामा हात्तीको कल्याणलाई मध्यनजर गरी वैज्ञानिक व्यवस्थापन गर्न जरूरी छ। हात्ती सफारीलाई सम्पूर्ण रूपमा आय आर्जनको दृष्टिकोणले मात्रै नहेरी हात्तीले कल्याणकारी अवस्थामा जिउन पाउने हकको सुनिश्चितता गर्न नितान्त जरूरी छ।
अहिले पर्यटक आएसम्म र हात्तीले भ्याएसम्म सफारी गराउने प्रचलन छ। हात्तीको कल्याण र वैज्ञानिक व्यवस्थापनका लागि हात्तीले बिना हिचकिचावट गर्न सक्ने काम लगाउन अहिले भएको प्रचलनमा परिवर्तन गरी बिहान २ पटक, बेलुका २ पटक र एक सफारीमा २ जना मात्र पर्यटक राखी सफारी गराउन सकिएको खण्डमा हात्तीलाई पनि सहज हुने र हात्ती धनीलाई पनि आयआर्जनको सुनिश्चितता हुने देखिन्छ।
सफारी बन्द गराएर भन्दा स्वस्थ हात्तीहरूलाई असर नपर्ने गरी हात्तीको स्वास्थ्य र खानपानमा ध्यान दिई सफारी गराउने, सफारी गराउँदा माहुतलाई विशेष ध्यान दिने र खुसी राख्ने, बुढो र बिरामी हात्तीहरूलाई छुट्टै राखेर हेरचाह गर्न सकिएको खण्डमा मात्रै हात्तीको कल्याण हुने देखिन्छ। अन्यथा आम्दानी नभएपछि सबै हात्तीहरू काजलकलीको अवस्थामा पुग्न सक्ने कुरा नकार्न सकिँदैन।
साथै, बुढो र बिरामी हात्तीहरूको संख्या बढ्दै गइरहेको अवस्थामा तिनीहरूको व्यस्थापन पनि निकै चुनौतीपूर्ण छ। स्वस्थ हात्तीको सफारीबाट भएको आम्दानीको बीस प्रतिशत रकम सञ्चय कोषमा जम्मा गर्ने र सो रकमलाई बुढो र बिरामी हात्तीहरूको व्यवस्थापनका लागि पेन्सनको रूपमा प्रयोग गर्न सकिन्छ। यसले सबै निजी हात्तीहरूको कल्याण हुन सक्छ।
हात्तीलाई आदर्शसँग जोडेर मात्र हुँदैन। माया गर्ने व्यक्ति, हात्तीमा काम गर्ने संस्था, सरकारी निकाय सबैले बेलैमा सोच्नु पर्दछ। अहिलेको अवस्थामा निजी रूपमा पालिएका हात्तीहरू जोगाउनका लागि राम्रो व्यवस्थापनको खाँचो छ। पेन्सनको कार्यक्रम बुढा र बिरामी हात्ती व्यवस्थापनको गतिलो उपाय बन्नसक्छ।
(रिजाल राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरीनरी प्राविधिक हुन्।)