छोरी आरभी,
खै कहाँबाट सुरु गरूँ!
केही पनि भन्न आएन।
सायद मनमा भन्ने कुरा असंख्य हुँदा अक्षरहरू असरल्ल पोखिने भएर होला, कसरी लिपिबद्ध गरूँ! मेसो भएन।
साँच्चै, भावनाभन्दा ठूलो अक्षर के पो होला र!
तिमीले ठूलो भएर डाक्टर बन्छु भन्दा मलाई एकदम पीडा हुन्छ। मन भारी भएर आउँछ। बेलाबेलामा आउने समाचार अनि चिकित्सकमाथि गरिने व्यवहारले भक्कानो फुटेर आउँछ। सायद मैले नेपालको स्वास्थ्य क्षेत्रको अवस्था बुझ्ने थिइनँ होला यदि मेरा बाबा र अग्रजहरूले मलाई दुर्गम क्षेत्रमा गएर काम गर्न प्रेरित नगर्नुभएको भए।
उहाँहरूलाई धन्यवाद दिन चाहन्छु।
राजनीति भनूँ कि लाजनीति, यति तलसम्म जरो गाडेको रहेछ, अचम्म लाग्यो। प्राविधिक भएर होला, गुनासो नआउने गरी काम गर्न म एकदमै सजग थिएँ।
एक कार्यालय प्रमुखले आफ्नो टिम परिचालन गरेर जनअपेक्षाअनुसार काम गर्न सक्छ भन्नेमा म विश्वस्त थिएँ। मसँग हालसम्म काम गर्दा परिवार जसरी साथ र सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्छु।
तर आफू र आफ्नो टिमले मात्र काम गरेर केही नहुँदो रहेछ। प्रत्येकका आआफ्ना स्वार्थ हुँदारहेछ।
अस्पताल व्यवस्थापन समितिका पदाधिकारी आफ्नो पालामा सकेसम्म बढी कर्मचारी भर्ती गर्नमा र कहाँ के प्राप्त हुन्छ भन्ने खोजी गर्नमा ध्यान दिँदा रहेछन्। बिरामीलाई यथाशीघ्र सहज र न्यूनतम लागतमा गुणस्तरीय सेवा दिनु मेरो एक मात्र लक्ष्य थियो, अस्पताल व्यवस्थापन समितिको लक्ष्य अर्कै।
अस्पतालको जग्गा संरक्षण अर्को मुख्य काम थियो। कोरोनाको पहिलो लहरमा भरतपुर अस्थायी कोभिड अस्पतालमा प्रमुखका रूपमा काम गर्दा टिममा सबैको सल्लाह–सुझाव लिँदै सहकार्यले राम्रो काम गर्न सकिन्छ भन्ने बुझेको थिएँ। त्यसबाट प्राप्त आत्मसन्तुष्टि र खुसी म बयान गर्न सक्दिनँ। फर्केर हेर्दा गौरव अनुभूति हुन्छ।
त्यसपछि मेरो दुर्गम यात्रा सुरू भयो।
अस्पतालको जग्गा कति, के हालतमा छ भनेर खोज्न लागेँ। नक्सामा त झन्डै २१ रोपनी रहेछ तर अस्पतालमा पुगनपुग १२ रोपनी रहेछ। जिल्लामा सरकारी जग्गाको संरक्षणकर्ता प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हुने हुँदा मैले जग्गाको कुरा उहाँलाई जानकारी गराएँ।
बुझ्दै जाँदा थाहा भयो, अस्पताल वरिपरिको बाटो अस्पतालकै जग्गामा बनाइएको रहेछ। केही कर्मचारी र अन्य मानिसले पनि अस्पतालकै जग्गामा घर बनाएका रहेछन्। तिनलाई राजनीतिक संरक्षण पनि रहेछ।
जग्गा नापीका लागि मालपोत कार्यालयमा चिठी पठाएँ। अस्पतालका प्रायः कर्मचारी राजनीतिक आडमा करारमा राखिएका थिए। तिनको काम अस्पताल प्रशासनको कुरा र कदम व्यवस्थापन समितिका पदाधिकारी र राजनीतिक व्यक्तिमा पुर्याउनु थियो।
मेसु (मेडिकल सुपरिटेन्डेन्ट) कहाँ गयो, कुन निकायलाई के चिठी पठायो, केके गर्दैछ इत्यादि सूचना पुर्याउनु नै उनीहरूको काम थियो। सायद त्यतिकै लागि बनाएको होला अस्पताल व्यवस्थापन समिति!
मलाई यसरी सबै कुरा बाहिर जान्छ भन्ने थाहा थिएन। गए पनि मतलब थिएन। बिरामी र अस्पतालको हित हुने काम गर्दा डराउने कुरा थिएन। त्यसमाथि कोरोनाको दोस्रो लहर चलेको थियो।
अस्पतालका पदाधिकारीहरू एक दिनमै तीनपटकसम्म बैठक बसेजस्तो गरेर भत्ता खाने रहेछन्। मैले बिहान १० देखि बेलुका ५ बजेसम्ममा भएको बैठकको भत्ता निकासा गरिनँ। आर्थिक मितव्ययिता अपनाउँदै काम गर्दै थिएँ। आर्थिक र प्रशासनिक जिम्मेवारी मेरो थियो। म प्रजिअ र कोलेनिका (कोष तथा लेखा नियन्त्रण कार्यालय) का प्रमुखसँग सल्लाह लिएर काम गर्थेँ। आर्थिक र प्रशासनिक नियमावलीका कति कुरा बुझ्दिनँ थिएँ। युट्युबमा भेटे जति कक्षा लिन्थेँ। मौलिक हकअधिकारका बारेमा पढ्दै सकेसम्म ती हक सुनिश्चित गर्न पहल गर्थेँ।
मैले मेसु भत्ता वा अरू केही सुविधा माग गरिनँ। सरल जीवन सहज हुन्छ भन्ने मेरो विश्वास थियो। बिरामीहरू मेरो पहिलो प्राथमिकतामा थिए, त्यसपछि अस्पताल र कर्मचारी। म यसैअनुसार निर्णय लिन्थेँ। आवश्यकताअनुसार सल्लाह–सुझाव लिन्थेँ।
म पुसमा गएको भए पनि बितेको साउनदेखिको काम गर्नुपरेको थियो। सेना र प्रहरीमा जस्तो आफ्नो पालाको सबै काम सकेर आन्तरिक लेखा परीक्षण गराए बिदा हुने चलन अस्पतालमा पनि भए कति राम्रो हुन्थ्यो होला!
एक महिना त अनेक भत्ता र अन्य निकासा गर्दै ठिक्क भयो। अपवादमा एक जना चिकित्सकबाहेक म र चिकित्सक टिम एकातिर भयौं, एक चिकित्सकसहित अरू अर्कातिर भए। अर्कातिरबाट ममाथि प्रहार भइरह्यो।
एक करोड रूपैयाँभन्दा बढी बेरूजु र त्यति जति नै नेगेटिभ ब्यालेन्स थियो।
मलाई चिकित्सक साथीहरू, केही नर्स र कार्यालय सहयोगीको साथ थियो। आफूखुसी आउने र बाहिर गएर अर्को व्यवसाय गर्नेको आँखी भएकी थिएँ। इलेक्ट्रिक हाजिरी र कार्यालयमा उपस्थित समयको विवरण राख्दै जाँदा मलाई घेराबन्दी नै गरेका थिए।
म पुगेको ६ महिनामै अस्पतालले गति लिँदै थियो। कर्मचारी भर्नामा लिखित परीक्षा र अन्तर्वार्ता सुरू गरेँ। भर्नामा मन्त्री, सांसद र अरूका सिफारिसका सूची आउँदा रहेछन्। किन परीक्षा गराएको भनेर प्रजिअलाई पनि दाबाबमा राख्दा रहेछन्।
सबैका सूची पन्छाएर लोक सेवा जसरी कर्मचारी भर्ना गर्ने काम भयो। यसो गर्दा योग्य कर्मचारी आउँथे। नतिजा प्रकाशन गरेर सूची हेर्दा दबाबको एक जना पनि परेको रहेनछ।
त्यसपछि त ज्यान लिनेसम्मको धम्की आयो।
हाम्री टिममा मिलेर मिहिनेत गर्दै थियौं। नयाँ भवन हस्तान्तरण हुँदै गर्दा त्यसलाई चाहिने औजार–उपकरण सब मिलाउने तयारीमा थियौं।
सचिव सरलाई भनेकी थिएँ– मेरा कारणले हजुरलाई केही गाह्रो भएको छ भने भन्नुहोला, म गाह्रो गराउँदिनँ।
सचिव सरले 'तपाईंजस्तो आर्थिक र प्रशासनिक रूपमा सफा मान्छे पाइँदैन, म छु, ढुक्कले काम गर्नू, नयाँ भवनको तयारी गर्नू' भन्नुभयो। हामी म यसै अनुसार अघि बढ्दै थियौं। मलाई मिडियाबाजीमा रूचि थिएन। काममै व्यस्त थियौं। केही दिनमै मेरो काज फिर्ताको पत्र आयो।
अहिले नेताहरूले कर्मचारीतन्त्रलाई दोष दिँदा अनौठो लाग्छ। अन्यत्र थाहा भएन तर स्वास्थ्य क्षेत्र राजनीतिक हस्तक्षेपले बिग्रेको हो। हामी प्रविधिकहरू काममा रमाउँछौं, चाकडी गर्न जान्दैनौं।
छोरी, तिमीले डाक्टर बन्छु भन्दा आजसम्म मैले यात्रा गरेको बाटोका अवरोधहरू सम्झन्छु र बडो पीडा महसुस गर्छु।
आफूले जति दुःख पाए पनि आफ्ना सन्तानले कुनै दुःख नपाऊन् भन्ने अभिभावकको इच्छा हुँदो रहेछ। तिम्रो दादालाई पनि डाक्टर बन्ने भए बन तर नेपाल नबस्ने भए मात्र, नेपालमै बस्ने भए अर्को कुनै विषय पढ्दा हुन्छ भनेको छु।
नेपालको स्वास्थ्य क्षेत्र छात्रवृत्ति करार र करारका कर्मचारीले धानेको छ। सरकार छात्रवृत्ति करारले नै चलाउने सोचमा मस्त देखिन्छ। तालिम र गोष्ठीमा ठूलो खर्च हुने गरेको छ। खर्च गर्न मात्रै पनि नाम मात्रको तालिम र गोष्ठी गराउने गरेका छन्। भौगोलिक आवश्यकता अनुसारको तालिम हुन्छ तर गृहकार्य भएको हुँदैन।
कुनै अस्पतालमा एउटै पनि तालिम नपाएका कर्मचारी छन् त कतै हप्तैपिच्छे तालिम चल्छ। यसरी मनपरी राज्यको सम्पत्ति खर्च हुने गरेको छ।
असारे खेतीजस्तो वैशाखदेखि असारभरि तालिम, गोष्ठी र समीक्षा मात्र हुन्छ। प्रविधिको युग छ तर प्रयोग छैन। कोरोना फैलिएको समयमा जुमबाट तालिम भयो, गोष्ठी भयो तर अहिले हुँदैन। यसो गर्दा खर्च घट्छ भन्ने सोचिँदैन, खर्च गर्ने उपाय खोजिन्छ।
एउटा तालिममा एक जना म्याडमले खुसीसाथ भन्नुभयो– एक व्यक्ति एउटै तालिममा सातपटक आयो।
मलाई अचम्म लाग्यो अनि आक्रोश पोखेँ– तपाईं के हेरेर बस्नुभयो? दोस्रोपटक आउँदा किन फर्काउनु भएन? यस्तो कुरा सुनाउन तपाईंलाई संकोच लाग्नुपर्ने हो। तपाईंले नैतिकताका आधारमा राजीनामा दिनू।
अर्को एक तालिमका क्रममा एक जना भाइले भने– मेरो करार दुई महिना बाँकी छ। म अमेरिका जाने जाँचको तयारीमा छु। दुई महिनामा चारवटा तालिम लिइसकेँ। यसपटक आउन मन थिएन। यो तालिम मलाई काम छैन। मेसुलाई पनि भने तर उहाँले अर्को मान्छे भएन, तिमी नै जाऊ, घुमेर आऊ भन्नुभयो।
यी प्रतिनिधि घटना हुन्। खास अवस्था यस्तै छ।
जनअपेक्षा अनुसारको सहज, सरल र न्यूनतम लागतमा छिटोछरितो गुणस्तरीय सेवा दिन हामीलाई तीनवटा कुरा चाहिन्छ– भौतिक पूर्वाधार, औजार–उपकरण र जनशक्ति।
पहाडी जिल्लाको अस्पतालमा काम गरेपछि मलाई हिमाली जिल्लाको अनुभव लिन मन लाग्यो। म गएँ।
हिमाली जिल्लाको अस्पतालमा एक्स–रे छैन, फार्मेसी छैन, स्थायी भवन छैन, अस्पतालको खाता कोलेनिका अन्तर्गत छैन, स्थायी लेखा नम्बर (पान) छैन। सुत्केरीले यातायात खर्च पाएका छैनन्।
तीन दिनदेखि अस्पतालमा एक जना पनि बिरामी आएको छैन। चिकित्सक दुई जना छन्। मन खिन्न भयो। गर्नुपर्छ, गर्न सकिन्छ, हामीले नगरे कसले गर्ने भन्ने लाग्यो। माथिल्लो निकायमा समन्वय गर्ने प्रयास गरेँ।
चिकित्सक खोज्न आफैं अघि सरेँ। दुई महिनामा दुई जना मेडिकल अफिसर थपिएर चार जना र फार्मेसी अफिसर एक जनासहितको टिम भयो।
अस्पतालको चौरभरि म्याद गुज्रिएका औषधि छरिएका छन्, न फाल्न मिल्ने न गाड्न। अस्पतालको स्थायी भवन थिएन। करिब तीन करोड रूपैयाँ मूल्यका बाल आइसियू स्टोरमा थन्किएका थिए।
हामीले जनचेतना अभिवृद्धिमा काम गर्ने सल्लाह गर्यौं। विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न सबै सहमत भयौं। विद्यार्थीहरूमा स्वास्थ्य चेतना जगाउन सके उनीहरूले आआफ्ना घर–छिमेकमा पुर्याउँछन् र समाजमा क्रमशः परिवर्तन ल्याउन सकिन्छ भन्ने हाम्रो सोचाइ थियो।
हामीले विद्यालय स्वास्थ्य कार्यक्रम चलायौं। यसबाट हामीलाई जनस्तरमा घुलमिल हुन सजिलो भयो। साना विद्यार्थीहरूलाई कथा भने जसरी व्यक्तिगत स्वास्थ्य र रोगबारे जानकारी गरायौं। ठूलालाई पावर प्वाइन्ट र भिडिओबाट पढायौं। कुनकुन अवस्थामा अस्पताल आउने भनेर सिकायौं।
यसो गरेपछि अस्पताल आउने बिरामीको संख्या बढ्दै गयो। पहिलोपटक जिल्लामा डिजिटल एक्सरे मेसिन पुग्यो। सशुल्क फार्मेसी खुल्यो। सुत्केरीले यातायात खर्च पाए। पहिला नपाएकालाई पनि सम्पर्क भएसम्म बोलाएर दिइयो। ल्याब व्यवस्थापन भयो। पान नम्बर लिइयो, समितिमा रहेको खाता कोलेनिकाअन्तर्गत ल्याइयो। शल्यक्रिया कक्ष व्यवस्था र औजार–उपकरण व्यवस्था गरियो।
आवश्यक अरू कर्मचारीको व्यवस्था पनि हुँदै गयो। टिम राम्रो थियो, हामी खुसी थियौं। जनस्तरबाट र स्थानीय सरकारबाट सहयोग मिलेको थियो। पक्की भवन थिएन, प्रि–फ्याब भवनबाट जे जति गर्न सकिन्छ त्यति गर्न हाम्रो टिम एक थियो।
प्रदेश आपूर्तिबाट सामान आउँथ्यो। अस्पतालको आवश्यकताभन्दा पनि त्यहाँ खरिद गरिएका सामान पठाउँथे। म्याद गुज्रिन तीन–चार महिना मात्र बाँकी रहेका औषधि पठाउँथे।
यस्तो कतिपय औषधि फर्कायौं, छिटो खपत हुने खालका चाहिँ स्वास्थ्य चौकीहरूमा पठायौं। म मागअनुसारको मात्र औषधि र सामान पठाउन अनुरोध गर्थेँ तर पठाउनेले आफूसँग जे छ त्यही पठाउँथे।
गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सञ्चालन गरेको थियो। अस्पतालको एम्बुलेन्स कहिलेकाहीँ मात्र आवश्यक पर्थ्यो।
अस्पतालसँग शवबाहन थिएन, स्थायी भवन थिएन तर डेढ करोड रूपैयाँको अक्सिजन प्लान्ट बनाउन दबाब आउँथ्यो। अस्पतालमा ६ महिनामा १५ हजार रूपैयाँको अक्सिजन पर्याप्त हुन्थ्यो। मेरो ब्रह्मले डेढ करोड खर्च गर्न दिएन, मैले गरिनँ।
फेरि ६ महिनामै मेरो काज फिर्ताको चिठी आयो।
कति लड्नु! कहिलेसम्म लड्नु!
दुर्गम क्षेत्रमा गएर अतिरिक्त आर्थिक लाभ केही नभए पनि मैले मान्छे कमाएछु। धेरै अभिभावक, अग्रज, सहकर्मी, साथी र भाइबहिनी भए। म कानुनी लडाइँमा गएँ। मेरो थमौतीको चिठी आयो।
अब प्रशासनिक क्षेत्रबाट मलाई कसले सहयोग गर्ने! दुःख दिने नियत सुरू भयो। दसौं तहको चिकित्सक दुर्गममा गयो भनेर हाँसोको पात्र बनाए तैपनि म मेरो टिमको साथ र जनस्तरबाट प्राप्त सद्भावले खुसी थिएँ।
म त्यो हिमाली जिल्लामा शल्यक्रिया सेवा सुरू गरेर मात्र हिँड्न चाहन्थेँ। असहयोग गर्ने धेरै थिए। केही सामान र उपकरण आउन बाँकी थियो। म एक वर्षका लागि गएको भए पनि शल्यक्रिया सुरू गराउने उद्देश्यले १४ महिना बसेँ। यसका लागि सहयोग पाउँदिनँ भन्ने पक्का भएपछि काज फिर्ता गराएर पदस्थापना भएको ठाउँ आएँ।
स्वास्थ्य सेवाको जिम्मेवार पदमा बसेका मान्छेका आफ्नै सर्जिकल/मेडिकल सप्लायर छन्। डाडुपुन्यु उनीहरूकै हातमा छ।
संघीयतापछि अस्पतालमा बजेट आउँदैन। स्वास्थ्य कार्यालय र स्थानीय सरकारमा जान्छ। त्यहाँ पाँचौं र छैटौं तहको कर्मचारी हुन्छ, हामी आठौं तहमाथिका हुन्छौं। स्वास्थ्य कार्यालयका कार्यकारी जहिले पनि काजमा हुन्छन्, झन्डै महिनाभरि, एक दिन काम गरेर हप्ता–दस दिनको देखाउने।
अस्पताल र स्वास्थ्य कार्यालयबीच समन्वय–सहकार्य हुँदैन। व्यक्तिगत स्वार्थअनुसार काम नगरे सबैतिरबाट प्रहार हुन्छ।
छोरी, तिम्री मामु अस्पताल प्रमुख भएर के गर्नु! एक जना कार्यालय सहयोगी वा भान्से पनि आफ्नो इच्छाले राख्न सकिँदैन। कामको कुनै मूल्यांकन हुँदैन।
स्वास्थ्य क्षेत्रमा अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्वेद केन्द्र छन्। कसले कति काम गरे! कति सेवासुविधा लिए! चाकडी गर्ने सधैं राम्रो! आफ्नो ब्रह्म मारेर त कसरी काम गर्नु!
आफ्नो ब्रह्म मारेर काम गर्न म डाक्टर भएको होइन। डाक्टर कुटिएको र अस्पताल तोडफोड भएको भनेर मिडियामा आउने समाचारले विक्षिप्त हुन्छु।
हामी राजनीतिक रूपमा बाँडिएका छौं। कुन डाक्टरले बिरामीलाई नराम्रो गर्छु भनेको हुन्छ र! त्यस्तो गर्न को चाहन्छ र! डाक्टरलाई पनि पीडा हुन्छ। निधारमा हेरेर भवितव्य थाहा हुने भए संसारका कुनै पनि डाक्टरले बिरामी छुने थिएनन् होला।
जनमानसलाई यति नकारात्मक कसले बनाउँदै छ? हामी कस्तो समाज बनाउँदै छौं? हाम्रा सन्ततिका लागि हामीले बनाउन चाहेको समाज अहिलेकै जस्तो हो?
त्यसैले छोरी! तिमीले र तिम्रो दादाले डाक्टर हुने कुरा गर्दा मलाई पीडा हुन्छ।
मलाई माफ गर छोरी, नेपालमा बस्ने हो भने डाक्टर नबन्नू।
(डा. शान्ति भुर्तेल भरतपुर अस्पतालमा दसौं तहमा कार्यरत विशेषज्ञ चिकित्सक हुन्।)