मनोपरामर्श (साइकोलोजी) विभाग अघि मनोपरामर्शको लागि म आफ्न्नो पालो कुर्दै थिएँ।
त्यही बखतमा मेरो सहपाठी मेरो अघिल्तिरबाट पार हुँदै थिइन्, मलाई अकस्मात देख्नासाथ उनको भावालयमा छुट्टै आकृति प्रस्ट देखिन्थ्यो र प्रकट वाक्यांश थियो ‘त त पागल भैस कि क्या हो’।
अनिन्द्राको समस्याले पिल्सिएको म भौंतारिँदै निवारणको खोजीमा मनोचिकित्सककोमा पुगेको थिएँ।
गत साउन महिनाको पहिलो साता हुँदो हो डेंगी संक्रमणले भयावह रूप लिइरहेको थियो। जसको सिकार म स्वयम् हुन पुगें। ज्वरोले थिल्थिलिएको शरीरमा थकान भए पनि निन्द्रा नलाग्ने समस्याले हठ जमाइसकेको थियो। डेंगीको विकराल स्थितिबाट आफूलाई पार गराउन सफल भए पनि म चिकित्सकीय भाषामा इन्सोम्निया स्लिपिङ डिसअर्डरको सिकार भैसकेको थिएँ।
अनिन्द्राको समस्याले दिनानुदिन मेरो शरीर आलस्य भएको थियो। मानौं कुनै रन्थनिएको माछो जसमा स्वास छ तर होश छैन।
दिन बित्दै थिए, निन्द्रा लाग्दैन भन्ने भयले मनको एउटा कुनामा डेरा जमाइसकेको थियो। मलाई आत्तिने, डराउने, क्षणभरमा सितांग हुने लक्षण देखिन थालिसकेका थिए।
आफ्नो अन्तस्करणको विलाप र मर्म मैले मेरा नजिकका सहोदर सहपाठी, आफन्तीलाई व्यक्त गरें।
धेरैबाट नकारात्मक खालकै टीकाटिप्पणी नै कानमा परे। कतिले त खिस्सी गर्दै उडाए पनि।
‘पल्टिने आँखा चिम्लिने निन्द्रा लागिहल्च नि, केको निन्द्रा नलाग्ने हो र! म त दिनभरी सुत् भने पनि सुतिदिन सक्छु।’
‘मायामा धोका खाइस् क्या हो! यो उमेरमा यस्तो समस्या!!’
सायद विरलै कोहीले मेरो समस्यालाई महत्वाकांक्षी विषय ठाने होलान्।
यसबाट पार पाउन मैले तरह तरहका प्रयास र उपायहरू अपनाएँ।
फोन, ग्याजेट त्याग्ने होस् या थकान प्रेरित गर्ने क्रियाकलाप। केही सीप लागेन। विपस्यना ध्यानको मार्ग पनि नरोजेको भने होइन। पाँचौं दिनको बसाइपश्चात शारीरिक अस्वस्थता अझ भनौं मानसिक अस्वस्थताका कारण म फिर्ती भएँ। तर यही प्रसंगलाई पनि कतिले हरूवाको संज्ञा दिए त्यो बेला।
म झन्झन् मानसिक तवरबाट शिथिल हुँदै गैरहेको थिएँ। अब मसँग कुनै विकल्प बाँकी रहेनन्। म मनोचिकित्सककहाँ जाने निर्णयमा पुगें।
मेरो गुनासोको उचित सम्बोधन त्यही नै हुनेवाला थियो।
डाक्टरले मलाई ‘एन्जाइटी डिसअर्डर’ भएको घोषित गरे। मलाई औषधि लेखिदिएर मनोपरामर्श लिन सुझाव दिए। जहाँ मेरो उही सहपाठीसँग जम्काभेट भएको थियो। विस्तारै म ठीक हुँदै गएँ।
कोरोना संक्रमणपछि ‘पोस्ट कोभिड’ डिप्रेसनको समस्या बढ्दो दरमा रहेको छ। हरेक चालिस सेकेन्डमा एक व्यक्तिले आफ्नो प्राणन्त गर्छन्। १५-२५ वर्ष उमेर समूहमा आत्महत्यालाई विश्वको दोस्रो ठूलो मृत्युको कारकको रूपमा लिइएको छ। विभिन्न सूचांकले विदेशमा काम गर्ने नेपालीहरूमध्ये झण्डै १२ प्रतिशतको मृत्यु आत्महत्याबाट भएको संकेत गर्छ।
नेपालबाट हरेक वर्ष करिब एक हजार आप्रवासी कामदारको विदेशमा मृत्यु हुने गरेको छ, जसमध्ये अधिकांश खाडी र मलेसियामा छन्।
नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने जनशक्तिको पनि अभाव प्रस्ट देखिन्छ। नेपालमा हालसम्म करिब दुई सय मनोचिकित्सक छन्। एक जना मनोचिकित्सक ३ करोड नेपालीमध्ये १५ लाख बराबर छन्।
सोचेअनुरूप परीक्षाफल प्राप्त नगरेको खण्डमा नाबालक/बालिकाहरूले आफ्नो देहत्याग गरेको समाचार सतहमै रहेका छन्।
चलचित्र जगतका सुप्रसिद्ध कलाकारदेखि दिगग्ज व्यक्तित्वहरू मनोरोगबाट ग्रसित छन्। बदलिँदो परिवेश र होडबाजीमा होमिएको समाजको यो तुच्छ रूपले तुलनात्मक हिसाबले मानिसको मानसिक अवस्थामा बिनाकुनै संकोच नकारात्मक प्रभाव पारेकै देखिन्छ। पैसाको लहडमा हामी आफ्नो स्वास्थ्य अवस्थाको रेखदेख र हेरचाह गर्न चुकेका छौं।
मैले अध्ययन गर्ने संस्थान अन्तर्गतका संस्था हुन् या मानसिक स्वास्थ्यलाई सिरोपर राखेर सिलसिलाबद्ध रूपमा काम गर्ने गैरसरकारी संघसंस्था, एकाधबाहेक सबैको ध्येय वार्षिक क्यालेन्डरमा पोर्टफोलियो राम्रो देखाउनेमै सीमित देखिन्छ। जसको प्रभावकारिताको कुनै मूल्यांकन नै छैन।
अझै पनि मानसिक चिन्तन र समस्यालाई स्वास्थ्य समस्याको रूपमा ग्रहण गर्न यो समाज तयार देखिँदैन। पागल, बौलाहाजस्ता तुच्छ शब्दले परिभाषित गरेको देखिन्छ।
नेपाल सरकार एवम् स्वास्थ्य मन्त्रालय यस विषयप्रति गम्भीर हुनु अत्यावश्यक देखिन्छ।
आफू नजिकमा भएका मानसिक रूपले कमजोर अवस्थामा रहेका जोकोहीलाई पनि एक्लो महसुस हुन नदिऊँ, हेरविचार गर्न अलिकति पनि नहिच्किचाऊँ।
तपाईं हाम्रो सान्त्वनाले एउटा व्यक्तिको जीवनले सार्थकता प्राप्त गर्न सक्छ, सुधारात्मकताको मार्ग अंगाल्न सक्छ।
म खुसी रहे समाज खुसी रहन्छ, समाज खुसी रहे राष्ट्र खुसी रहन्छ भन्ने अभिप्रायका साथ होमियौं,निकट भविष्यमा निश्चय नै खुसी राष्ट्रको परिकल्पना गर्न सकिन्छ।
(लेखक चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जमा जनस्वास्थ्य अध्ययनरत छन्।)