सबैलाई थाहा भएकै कुरा हो सुर्खेतमा देउती बज्यै मन्दिर छ। काँकेबिहार मन्दिर छ। बुलबुले ताल छ। शहिद पार्क छ। थाहा नहुनेलाई थाहा हुनेले भन्ने कुरा पनि सुर्खेतको बारेमा यहीँ नै छ।
आज म तपाईंहरूलाई यिनि कुराबाहेक सुर्खेतमा अरू के के कुरा छ त्यो बताउँदैछु। त्यसको लागि म लेख्दै जान्छु, तपाईंले पढ्दै जानुपर्ने छ।
कदमकदाचित कतै हामीहरूबाटै नै सृजित समस्या हुन् भन्ने कुरा मनमा लाग्यो भने मनन गरी समाधान गर्दै सुधार गर्दै जानुपर्नेछ। अझ तपाईं जिम्मेवार निकायको सम्बन्धित व्यक्ति हो भने गम्भीर रूपमा लिनु पर्नेछ। यद्यपि तपाईं कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको बारेमा कुरा सुनेको व्यक्ति हो तर प्रत्यक्ष भोगेको, यहाँ बसेको व्यक्ति होइन तर पनि थप जान्न इच्छुक हुनुहुन्छ भने पढ्दै जानुपर्नेछ। यहाँको अवस्था र स्थितिबारे सत्यतथ्य जानकारी गराउन प्रयास गर्दैछु। त्यसैले लेख्दैछु।
अँ साँच्चि सुर्खेतमा के छ भनेर लेख सुरू गरौं भनि सोच्नुपर्ने अवस्था नै छैन। यो लेख लेख्दै गर्दा सुर्खेतमा सर्वप्रथम बत्ती छैन। अरे उता मान्छेहरूले हल्ला गरिसके बत्ती आयो भनेर। त्यसैले अहिलेलाई खुसीको कुरा सुर्खेतमा बत्ती छ। हुन पनि कति खुसी हुन सकेका सुर्खेतका मान्छेहरू डाहा नै लाग्छ यार। बत्ती क्षणिकलाई आएता पनि कस्तो खुसी भैदिन्छन् भनेर लेख्दैछु।
आएको बत्ती मिनेट नपुग्दै फेरि गैसक्यो। हुन त आउने जाने सुर्खेतमा बत्तीको नियम नै हो। यही कुरा सुर्खेत उपत्यका बाहिरका मान्छेहरूलाई नौलो लाग्न सक्छ। वास्तविकता यही छ यसमा नौलो मान्नु पर्दैन।
तपाईं सबैलाई थाहा हुनुपर्ने कुरा के हो भने सुर्खेत उपत्यकामा मान्छेहरूको काम भनेकै बत्ती आएको बेला खुसीले चिच्याउने अनि गएको बेला कतिबेला आउँछ भनेर कुर्ने हो!
सुर्खेतमा बत्ती आयो गयो नभनेको कुनै दिन छैन। यस्तै छट्पटीमा प्रदेश राजधानी सुर्खेतमा मान्छेहरूले गर्मी तथा उकुसमुकुसका दिनहरू काटिरहेका छन्।
सुर्खेतमा बस्ने मान्छेलाई आज बत्ती छ है भन्दियो भने ऊ जति खुसी कोही हुँदैन। हुन त हाम्रो कर्णाली प्रदेशकै अधिकांश ग्रामीण भेगमा विद्युतको पोल नै पुगेको छैन।
पोल गएको ठाउँमा कयौं वर्षसम्म पनि तार जोडिएको छैन। तार जोडिएको ठाउँमा लाइन प्रसारण सुचारू छैन। त्यसैले गाउँतिरका मान्छेहरू त बत्तीको पोल छ भन्ने कुराले भए पनि खुसी छन्। तर विडम्बना के भने कर्णाली प्रदेशको राजधानी सुर्खेतका सडकहरूमा विद्युतको पोल छ, तार छ, प्रसारण लाइन आएकै छ तर त्यो छिनभरमै जान र आउनलाई मात्र छ।
गायक तिलक सिंह पेलाको के लत बस्यो गजल गीतको एक शेर " सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ।" भनेझैं सुर्खेतमा बत्ती आउँदा छाएको खुसी जानलाई यस्तो हतार हुन्छ कि मानौं बत्ती पाहुना हो। जो फर्केर जानलाई हतार परेझैं क्षणभरमा जाने गर्दछ। बत्ती आउने-जाने कति गर्छ कति साँच्चिकै अति नै गर्छ। गणना गर्न पनि सकिँदैन।
बत्तीको यो किसिमको हालत देख्दा मलाई सोध्न मन लाग्यो। यदि तपाईंको घर सुर्खेतमा छ अथवा तपाईं सुर्खेतमा बस्नुहुन्छ र तपाईं बस्ने घरमा बत्तीको बल्ब छ, पंखा छ, मोटर छ, एसी छ भने त्यो घरमा सजाउनलाई मात्र हो झैं लाग्दैन र?
मलाई त हाम्रा घरबेटीले सजाउनलाई कोठामा राखेका हुन कि झैं लाग्छ।
सुर्खेतमा बत्ती बलिरहेको छ। पंखा घुमिरहेको छ। मोटर चलेर पानी तानिरहेको छ। एसीले चिसो हावा दिइरहेको छ भने बत्ती छ भनेर के भन्नू! त्यो त्यति न्यायपूर्ण नि नहोला। त्यसैले म त नेपाल विद्युत प्राधिकरण सुर्खेतको शब्द सापटी लिएर भन्ने गर्छु १३२ के.भि विद्युत सिस्टम र ३३ के.भि कोहलपुर-सुर्खेत खण्डको लाइन सकुशल छ भनेर।
जबसम्म १३२ के.भि सिस्टम र ३३ के.भि विद्युत लाइन छ, तबसम्म सुर्खेतमा बत्ती छ। त्यसैले गर्दा सुर्खेत उपत्यका उज्यालो छ। नत्र त सुर्खेत उपत्यका बत्तीको पोल र तारको लाइन भएर पनि अन्धकार खाल्डो हो झैं लाग्छ वीरेन्द्रनगरको सिद्धपाइलाबाट बत्ती नभएको बेला उपत्यकालाई हेर्ने हो भने सोही दृश्य देखिन्छ।
कतिपय अवस्थामा यो पनि हुन्छ कि यिनी सबै सिस्टम र लाइन भएर पनि आवश्यक भोल्टेज नै हुँदैन। लो भोल्टेज हुन्छ। लो भोल्टेज बत्ती हुन्छ पनि के भन्नु काजु र बदाम नै नखाएको मान्छे झैं हुन्छ भन्दा फरक पर्दैन कि!
हो यस्तो लो भोल्टेज अवस्थामा सुर्खेतमा पंखा घुम्दैन, पंखा हलिन्छ। मानौ पंखाले गर्मीको बिगबिगीमा हाम्रो लाचारपनलाई देखेर हाम्रो अगाडि नाचेर जिस्काइरहेको छ। कार्बनमोनो-अक्साइड, क्लोरोफ्लोरो कार्बनको मात्रा वायुमण्डलमा बढाउने केही हिस्सेदार तिमी मान्छेहरू नै होइनौ र! अब गर्मी नखाएर के खान्छौं? भनि मौन प्रश्न हामीमाथि गरिरहेको झैं भान पनि हुन्छ।
सुर्खेतमा आफ्नै घर भएका बासिन्दा त छँदैछन् कि तिनै घरमा अधिकांश मान्छे घर भाँडामा बस्छन्। विद्यार्थी, मजदूर, व्यवसाय, पेसागत कर्मचारी आदि यस्तै बस्छन् जो उपत्यका भन्दा बाहिरबाट आएका हुन्छन्। स्कुल, क्याम्पस र विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूलाई अघिपछि पढ्ने मौका नमिले पनि परीक्षाको समयमा पढ्न लाग्छन् तर परीक्षाको समयमा बत्ती जाँदा सबैभन्दा पीडामा तिनीहरू नै पर्छन्। एसइई, कक्षा ११ र १२ त्यसैगरी ब्याचलर, मार्स्टसको फाइनल परीक्षा आदि यस्तै परीक्षा दिँदा उक्त समस्या झेल्दै आएको कुरा जगजाहेर नै छ।
घरिघरि बत्ती जाने र आउने समस्याको कारण स्कुल तहका विद्यार्थीहरूलाई शिक्षकले दिएको गृहकार्य गर्नै कठिन हुन्छ। आज बत्ती थिएन सर भनेर गृहकार्य नगर्नुको कारण बताएर बालबालिकालाई अल्छि पनि बनाउन मद्दत गरेको छ। त्यसैगरी लोक सेवा तयारी गरी बसेका र बाहिरी देशको लागि भाषा कोर्स तयारी गर्ने विद्यार्थीहरूलाई बेलुकापख बत्ती गयो भने दिनभर बनाएको सबै आन्तरिक योजना विफल हुँदा औधी तनाव नै हुन्छ।
अनलाइन बसेर गफिने प्रेम जोडीलाई त पूरा छट्पटी नै चल्छ। सामाजिक संजाल चलाएर दिनभरको थकान मेट्ने कर्मचारी, मजदुरलाई उत्तिकै तनाव हुन्छ।
गर्मीको समयमा गर्मीको कारण न आनन्दले पल्टेर सुत्न सक्छन् न बाहिर निस्किएर बसिरहन सक्छन्।
बाहिर बस्यो कि लामखुट्टेले आक्रमण गरिहाल्छन्। यसरी बत्तीको कारण सास्तीमा बाँचिरहेका छन् सुर्खेत उपत्यकामा मान्छेहरू। यो कुनै काल्पनिक कहानी होइन यथार्थ हविगत नै हो। सरकारवालाको घैँटोमा घाम लाग्ने पो कहिले हो?
कोहलपुरदेखि वीरेन्द्रनगर सुर्खेत उपत्यकासम्मको ठाउँतिर आकाशबाट अलिअलि थोपा पानी पर्यो भने। हावा, बतासले रूखको पात हल्लाइदियो भने सुर्खेतमा बत्ती बसिरहन सक्दैन।
पानीका थोपा र हावाको हलचल भयो भने तपाईं ढुक्क हुनुहोस कि बत्तीको लाइन पक्कै जान्छ। त्यो टिक्न नै सक्दैन। अनि बत्तीको लाइन गएपछि सुर्खेत विद्युत प्राधिकरणले आफ्नो आधिकारिक पेजमार्फत् पोस्ट अपलोड गर्छ।
‘१३३ के.भि सिस्टम गएको हुनाले केही समय लाइन अवरूद्ध भएको छ।’
यही कुराको जानकारी भने बत्ती आएर नेट चल्यो र मोबाइल चार्ज भएपछि धेरैलाई थाहा हुन्छ।
प्राविधिक र प्राकृतिक समस्याले कहिलेकाहीँ खराबी हुनु, बिग्रनु स्वाभाविक हो तर सधैं एउटै समस्या भइरहनु र समाधान गर्न नसक्नु बेवास्ता नै हो।
सुर्खेतका मान्छेहरूको लागि खुसीको कुरा बत्ती हुनु हो भने दुखको कुरा बत्ती नहुनु हो। बत्ती छ भने त्यो क्षणिक नै हो भन्ने कुरा थाहा पाएर पनि खुसी हुन्छन्।
सुर्खेतका मान्छेहरू सडकमा विद्युतको पोल, घरमा विद्युतको तार, घरभित्र विद्युतीय साधनको जडानले मात्रै सम्पन्न छन्। तर खबरदारी र सरोकारवाला निकायलाई प्रश्न गर्ने पाटोमा किन विपन्न छन्? उफ् किन पछि परेका छन् बुझ्नै कठिन छ। सम्बन्धित सरोकारवालालाई किन घच्घच्याउन नसकेका हुन्। यस्तो विकराल समस्यामा पनि किन जनप्रतिनिधिको ध्यानाकर्षण हुन नसकेको होला?
जेनेरेटरले, सोलार, इन्भर्टरले कार्यालय चलाएकाहरूले साधारण मान्छेको जीवन पद्धतिमा के बितिरहेको छ भन्ने कुरामा किन चासो नराखेका होलान्?
नेपाल सरकारले भारतलाई बेच्न मिल्ने विद्युत हुने तर कर्णालीमा विद्युत दिनलाई किन कन्जुस्याइँ गरेको हो?
कर्णालीका नागरिकको जनजीविकामा किन बेमतलब छ सरकार ? कर्णालीमा रहेको विद्युतको समस्या समाधान कहिले हुन्छ? म यिनै प्रश्नले चिन्तित छु।
त्यस्तै अर्को कुरा सुर्खेत उपत्यकामा पानी छ भन्यो भने अरूले के सम्झन्छन् थाहा छैन तर सुर्खेत उपत्यकावासीले आकाशबाट पानी पर्ने सम्भावना छ भन्ने कुरा बुझ्छन्।
धारा छ र धारामा पानी आउँछ भन्ने कुरा सायद भुल्नै थालिसकेका छन्।
एक हप्तामा एकपटक आउने त्यही पनि बढीमा २ घण्टा आउने त्यो खानेपानीको याद गर्न पनि कसले गर्न सक्छ र! जसले खानपिन, लत्ताकपडा धुनदेखि हर दैनिक काम क्रियाकलाप गर्न मिनरल पानी, जारको पानी किन्ने, इनारको पानी प्रयोग गर्ने गरिरहेका हुन्छन् भने घरघरमा जोडेका धारामा पानी आउँछ भन्ने कुरा याद गर्न पनि कसरी सकून्!
त्यही इनारको पानी प्रयोग गर्न मोटर चलाउनुपर्छ, मोटर चल्नलाई बत्तीको लाइन हुनुपर्छ त्यही पनि हाइ भोल्टेज चाहिन्छ। तर कहिलेकाहीँ बत्ती छ भने पनि लो भोल्टेज हुने अनि मोटर नै नचल्ने यसकारण खाना, चुलो र हर दैनिक कार्यसम्म प्रभाव पर्दा तनावले मान्छे ग्रसित छन्।
मान्छेलाई सेवा सुविधा देखाएर हुँदैन सेवा सुविधाको निरन्तर प्रयोग गर्न पाए पो खुसी र सन्तुष्टि हुन्छ। नत्र त ती सेवा सुविधाले न घर न घाटको नै बनाउँछन्। उही हालत सुर्खेतको बत्ती र पानीले सुर्खेतमा बस्नेलाई बनाइरहेको छ।
अर्को छुटाउनु नहुने कुरा मैले हजुरहरूलाई भनिहाल्छु सुर्खेतमा सडक छ। सडक छ भन्ने कुरा गर्दा अचम्म लाग्न सक्छ। वास्तवमा अचम्म मेरो कुरा होइन अचम्म सुर्खेतको सडकको अवस्था छ। सडकमा सवारी साधन मात्र होइन छाडा पशु चौपाया छन। गाडीहरू यात्रु बोकेर, मालवस्तु बोकेर मात्र गुड्दैनन् महिनौं पिच्छे एक न एक पशु चौपाया कुल्चदै, घाइते बनाउँदै गुड्छन्।
सडकमा मान्छे पैदल पनि हिँड्छन्, त्यसैले सुर्खेतमा गाडीले मान्छे बोक्ने मात्र होइन मान्छेलाई ठोक्ने गरेका दु:खद खबर सुनिन्छन् र देखिन्छन।
सवारी दुर्घटना हप्ता पिच्छे हुन्छ। घाइते र मृत्यु हुनेको संख्या उकालो लाग्दो छ। योभन्दा ठूलो दु:खको कुरा के नै हुन सक्छ र!
सुर्खेतका सडकमा बनाइएको जेब्रा क्रसिङ भनेको पार्किङ स्थलको रूपमा प्रयोग हुन्छ।
जुम्ला राजमार्ग अन्तर्गत धुलाबिटदेखि बाँगेसिमल चोक सम्म नगर गाडी चल्छन्।
गाडी चढ्ने र झर्ने गर्यो भने प्रतिव्यक्ति रु.२० भाडादर छ। तर गाडी कुर्ने र झर्ने कुनै स्टेशन नै तोकिएको छैन।
सुरक्षित प्रतीक्षालय नै छैनन्। त्यसैले सडक अझै व्यस्थित हुनसकिरहेको छैन। अस्तव्यस्त नै छ।
यसरी सुर्खेतमा बसिरहँदा यी तीन वटा कुरा विद्युत, खानेपानी र सडक मुख्य समस्या हुन् भन्ने कुरा सबैले झेलेर थाहा पाउँछन्। जबसम्म यी समस्या ज्यूँका त्यूँ रहन्छन्, तबसम्म सुर्खेत उपत्यकाले परिवर्तनको मुहार फेर्न सक्दैन।
वर्तमान स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले प्रदेश राजधानीको रूपमा रहेको सुर्खेत उपत्यकामा रहेका यी जटिल समस्या समधान गर्न सकेको दिन नागरिकको तर्फबाट स्याबासी पाउने अवस्था छ।
नत्र भने २०८४ सालमा यी तीन वटा कुरालाई मुख्य एजेन्डा बनाएर निर्वाचन लड्नेहरूले छलाङ मार्न पनि सक्छन्। तसर्थ वर्तमान सरकारले कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकाको समस्या समाधान गर्न सक्यो भने परिवर्तनले मुहार फेरिनेछ। जसले गर्दा स्वाभाविक रूपमा नागरिकको मुहारमा खुसी छाउने छ। त्यसको लागि सुर्खेतमा बत्ती, पानी छ भन्ने खुसीको कुरा क्षणिक नभएर दीगो रूपमा रहिरहने खालको हुनुपर्छ।