बालबालिकाहरूले गर्ने मोबाइल फोनको अत्यधिक र अनावश्यक प्रयोग आजको समयमा अभिभावकको सबभन्दा ठूलो र चुनौती समस्या भएको देखिन्छ। अभिभावकको टाउको दुखाइका रूपमा मौलाइरहेको मोबाइल फोन अहिलेका बालबालिकाका लागि अपरिहार्य भैसकेको तर्क धेरै अभिभावकको रहेको पाइन्छ।
यसको सन्तुलित र आवश्यकतानुसार प्रयोग गर्न बालबालिकालाई कसरी तयार गर्ने भन्ने अभिभावकको टड्कारो सरोकार रहेता पनि यसमा अभिभावक आवश्यक रूपमा जानकार, सुसूचित तथा प्रशिक्षित रहेको भने सामान्यतया पाइँदैन।
आजका हरेक अभिभावकको एउटै महत्वपूर्ण प्रश्न रहेको पाइन्छ, बालबालिकाको मोबाइल फोन प्रयोग गर्ने लत कसरी छुटाउने? यसका बारेमा कुरा गर्दा सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा के हो भने बालबालिकाले कहिले पनि आफैं मोबाइल फोन चलाउँदैनन् र चलाएका हैनन्, उनीहरू त आफ्ना अभिभावकले सानैमा देखाइदिएको मोबाइल फोनको झिलिमिलीमा हराएका मात्र हुन्, उनीहरूले त आफ्नै अभिभावकलाई अनुशरण गर्दै सिकेका मात्र हुन् जुन कालान्तरमा उनीहरूमा एउटा लतको रूपमा विकसित हुँदै गएको अभिभावक र स्वयं बालबालिकाले पनि पत्तो नै पाउँदैनन्।
भनिन्छ, आमाबाबु बालबालिकाका ऐना हुन्। आमाबाबुबाट नै बालबालिकाले जीवनको प्रारम्भिक सिकाइ सिक्ने गर्छन्। त्यसैले बालबालिकालाई केही भन्नु अगाडि अभिभावकले सबैभन्दा पहिले आफ्नो बानी व्यवहारलाई केलाउनुपर्ने हुन्छ।
छ महिनाका कलिला बालबालिकालाई मोबाइल के हो र कसरी हेर्ने भन्ने पटक्कै थाहा हुँदैन तर आजको युगमा पहिलेका बाबाआमा जसरी बालबालिका हुर्काउने फुर्सद नभएका र अहिलेको समय अनुसार बालबालिका हुर्काउने तालिमप्राप्त नभएका हामी अभिभावकले ती नवजात शिशु फकाउने माध्यम मोबाइल बनाएका हुन्छौं।
बाबाआमाको बोली सुन्ने, उनीहरूको भावभंगीलाई नियाल्ने अनि उनीहरूबाट हाँसो, खुसी, रुवाइ, जस्ता विभिन्न अभिव्यक्तिहरू सिक्ने, अनुहारका विभिन्न आकार, प्रकारहरू हेर्ने बेलामा आजका नवजात शिशुलाई हामी मोबाइलको झिलिमिली देखाउनतर्फ लाग्छौं।
कतिपय अभिभावकले त नवजात शिशु बोल्न जान्दैन त्यसैले ऊसँग कुनै सञ्चार हुने त कुरा नै भएन बरू मोबाइलमा भुल्छ वा त्यही हेरेर नै आफैं सिक्छ भन्ने अवधारणा समेत राखेको पाइन्छ।
यसरी आफ्नो सजिलो र व्यस्ततालाई व्यवस्थापन गर्ने उद्देश्यले हामी आफैंले उनीहरूलाई दिएको मोबाइलले हाम्रा बालबालिकालाई कहिले लत लाग्छ हामी पत्तो नै पाउँदैनौं अनि जब त्यो हाम्रो आफ्नो नियन्त्रणभन्दा बाहिर जान थाल्छ अनि फेरि हामी नै गुनासो गर्दै हिँड्छौं कि हाम्रा बालबालिका मोबाइल फोनका दुर्व्यवसनी भए। यसरी बालबालिकालाई मात्र दोष दिनु कतिको जायज हो? एक पटक आफैंलाई सोधी हेरौं त।
कतै हामी आफैं बिहान उठ्नासाथ, खाना खाँदा, राति सुत्ने बेलामा, बालबालिकासँग घुम्न जाँदा, गीत सुन्दा, मनोरञ्जनका लागि, पढाइका लागि, कामका लागि, आफन्तजनसँग कुराकानीका लागि, साथीभाइसँग हालखबर सोध्न, खाना मगाउन, यातायातका साधन लिन, अनि यस्तै–यस्तै कुरामा बिहान उठेदेखि राति निदाइ नसक्दासम्म मोबाइलमै व्यस्त त छैनौं?
कतिपय कामका लागि त मोबाइल फोनको प्रयोग अपरिहार्य नै छ तर कतै हामी वास्तविक आवश्यकताभन्दा बढी यसको प्रयोग गरिरहेका त छैनौं? यदि हामी अभिभावक आफैं मोबाइल फोनको अत्यधिक र अनावश्यक प्रयोगलाई व्यवस्थापन गर्न सकिरहेका छैनौं भने सर्वप्रथम त्यतातिर ध्यान दिनु अत्यावश्यक हुन्छ।
हाम्रा बालबालिकाले मोबाइल फोनको अत्यधिक र अनावश्यक प्रयोग नगरून् भन्नाका लागि हामी अभिभावकले उनीहरूलाई आज उनीहरूको लत, साथी, शिक्षक, चिकित्सक, सबभन्दा नजिकको आफन्त, सबभन्दा नजिकको विश्वासपात्र सबै बनिसकेको मोबाइल फोनको विकल्प दिन सक्नुपर्छ।
यदि हामीलाई लाग्छ कि बालबालिकाले मोबाइल फोन नचलाऊन्, त्यो बेला उनीहरूले के गर्ने त भन्ने विकल्प हामीले उनीहरूलाई दिनसक्नुपर्छ। बिना विकल्प जति तीव्र र दबाबपूर्ण ढंगले हामी उनीहरूबाट मोबाइल फोनलाई टाढा लैजाने कोसिस गर्छौं, त्यति नै तीव्र र जिद्दीपूर्ण रूपमा उनीहरू मोबाइल फोनसँग नजिकिन जान्छन्, न्यूटनको तेस्रो नियम यहाँ पनि लागु हुन्छ। त्यसैले हामीले विकल्प सहितको समाधान खोज्नु नै बुद्धिमानी हुन आउँछ।
भर्खर जन्मिएका बालबालिकालाई पनि आमाबाबुको माया, स्याहार सँगसँगै प्रभावकारी सञ्चार चाहिएको हुन्छ।
नवजात शिशुदेखि स–साना बालबालिकाहरूलाई उनीहरू बोल्न जान्दैनन् वा रोएको अवस्थामा भुल्छन् भनेर अभिभावकले मोबाइल फोनको रमझममा भुलाउने कोसिस गर्नु हुँदैन।
उनीहरूलाई उनीहरूकै उमेर अनुसारको क्रियाकलापहरू, बोली, भावभंगीमा आदिले व्यवहार गर्नुपर्छ। जीवनको पूर्वार्द्धमा हामीले जति ढिलो बालबालिकालाई मोबाइल फोनसँग परिचित गराउँछौं, त्यति नै उनीहरूसँग अभिभावकको सम्बन्ध दह्रिलो, समझदारीपूर्ण र मायालु हुन्छ भने बालबालिकाले पनि प्रकृति, परिवार र प्रमोदमा हुर्कने मौका पाउँछन् जसले उनीहरूको सर्वाङ्गिण विकासमा टेवा पुर्याउँछ।
हामीमध्ये धेरै अभिभावकले राति सुत्ने बेलामा मोबाइल फोनमा दिनभरीका गतिविधि हेर्ने, समाचार पढ्ने, आफन्त वा साथीभाइका बारेमा जानकारी लिने आदि गर्छौं, तर यी काम हाम्रा बालबालिका निदाइसकेपछि पनि गर्न सकिने काम हुन्। तसर्थ, बालबालिकासँग रातिको समयमा सँगै किताब पढ्ने, उनीहरूलाई कथा सुनाउने, दिनभरीका गतिविधिका बारेमा छलफल गरी भोलिका लागि कार्ययोजना बनाउने आदि जस्ता क्रियाकलाप गर्न सकिन्छ।
यसले बालबालिकालाई फोनमा व्यतित गर्ने समय सदुपयोग गर्न सिकाउँछ भने अभिभावकसँगको सम्बन्ध पनि सुदृढ बनाउँछ।
यसैगरी, हामी धेरैजसो अभिभावकले हाम्रा साना बालबालिकालाई खाना खुवाउँदा पनि मोबाइलमा भुलाउने, फोन देखाएर खुवाउने आदि क्रियाकलाप गर्दछौं।
यसको साटो बालबालिकालाई कुराकानी गर्दै, विभिन्न किसिमका हाउभाउ गर्दै, डुलाउँदै, कथा भन्दै, गीत गाउँदै, भिन्न भिन्न रंग, आकारका खानालाई विभिन्न ढाँचामा सजाएर आकर्षक बनाउँदै, खाइरहेका कुराहरू र त्यसबाट पाउने पोषण आदिका बारेमा कुरा गर्दै खुवाउँदा बालबालिका मोबाइलबाट टाढा र अभिभावकसँग नजिक हुन्छन्।
बालबालिकालाई सानैदेखि समयको महत्व बुझाउँदै उनीहरूलाई समय तालिकामा चल्न प्रेरित गर्नुपर्छ।
उनीहरूले दैनिक, साप्ताहिक, मासिक र वार्षिक रूपमा के-कस्ता कामहरू गर्ने र ती काम तथा क्रियाकलापबाट उनीहरूले के सिक्ने, के सिकाउने, कसलाई सिकाउने जस्ता उमेरअनुसारका समय तालिका, कार्ययोजना र उद्देश्यहरू निर्धारण गर्न सकेको खण्डमा बालबालिका मोबाइल हेर्न तर्फभन्दा पनि आफ्नो समय तालिका र कार्ययोजना अनुसारका उद्देश्य हासिल गर्नतर्फ बढी केन्द्रित हुने गर्छन्।
यस्ता समय तालिका, कार्ययोजना, क्रियाकलाप र उद्देश्यको निर्धारण भने बालबालिकाकै सहभागिता र सहमतिमा हुनुपर्दछ अनि मात्र यो प्रभावकारी रूपमा कार्यान्वयनमा आउँछ।
हाम्रा बालबालिकाहरूका लागि हामी अभिभावकले दिने गुणात्मक समय निकै महत्वपूर्ण हुन्छ। हामीले उनीहरूसँग कति समय बितायौं भन्ने भन्दा पनि कस्तो समय बितायौं भन्ने कुरा अत्यन्त महत्वपूर्ण हुन्छ।
हामीले हाम्रा बालबालिकासँग उमेर अनुसारको प्रभावकारी सञ्चार गर्ने, उनीहरूसँग विभिन्न विषयमा दैनिक छलफल गर्ने, उनीहरूका भावना, चाहना र आवश्यकतालाई बुझेर त्यही अनुसारको व्यवहार गरिदिने, उनीहरूलाई सम्मान र उत्प्रेरणा प्रदान गर्ने, उनीहरूसँग घुम्न जाने र घुम्दै उनीहरूसँग कुराकानी गर्ने आदि जस्ता क्रियाकलापहरू गर्ने गरेमा हाम्रा बालबालिका मोबाइल फोनभन्दा अभिभावकसँग समय बिताउन उत्साहित हुने गर्छन्।
अहिलेको समयमा विभिन्न संस्थाहरूले बालबालिकालाई नै लक्षित गरेर विभिन्न कार्यक्रम, क्रियाकलाप, खेल, सिकाइ, प्रतियोगिताहरू आदि ल्याइरहेका हुन्छन्।
सम्भव र पहुँच भएसम्म हामी अभिभावकहरूले आफ्ना बालबालिकालाई त्यस्ता क्रियाकलापहरूमा सहभागी बनाई उनीहरूलाई व्यस्त राख्न तथा सीप सिकाउन पनि सकिन्छ।
हाम्रा बालबालिकालाई प्रविधिको उच्चतम तर सही उपयोग गर्न सिकाउनु हामी अभिभावकको कर्तव्य हो।
मोबाइल फोनको प्रयोगबाट आजको युगमा हामी हाम्रा बालबालिकालाई पूर्णतया बञ्चित गरेर राख्न भने सक्दैनौं र यो प्रविधिको युगमा त्यो सान्दर्भिक पनि हुँदैन।
आजको पुस्ताले जानकारीको लागि गुगल, व्यापारका लागि इन्स्टाग्राम, प्रेरणादायी व्याख्याका लागि युट्युब, लगायत समाचार, शैक्षिक क्रियाकलाप, सोधखोज, अनुसन्धान, ब्लग, भ्लग, विचार आदानप्रदान आदि विभिन्न प्रायोजनका लागि पनि इन्टरनेटलाई प्रयोग गरिरहेका हुन्छन् जसले गर्दा उनीहरूको मोबाइल प्रयोगको समय अवधि बढ्न जान्छ।
यसका लागि अभिभावकले उनीहरूलाई उमेरअनुसारको अभिभावकत्व र मार्गनिर्देशन दिनु जरूरी हुन्छ।
हामीले हाम्रा बालबालिकालाई मोबाइल फोनको समय सुहाउँदो प्रयोग, यसका सकारात्मक र नकारात्मक दुवै असरहरू, यसको प्रयोगले शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासमा पार्ने प्रभाव आदिका बारेमा सचेत गराउनु पर्छ।
उनीहरूसँग बसेर उनीहरूका गतिविधि नियाल्दै संसारमा भएका कुराहरूका बारेमा ज्ञान लिने, उनीहरूको शैक्षिक सिकाइमा सहयोग गर्ने, उनीहरूसँगै उनीहरूको उमेर अनुसारको मनोरञ्जनमा रमाउने गर्न सकिन्छ तर यसो गरिरहँदा उनीहरूसँग मिलेर समयसीमा भने पहिले नै निर्धारण गर्नु उत्तम हुन्छ।
घरमा मोबाइल फोन प्रयोगका बारेमा अभिभावक र बालबालिकाको आपसी सहभागितामा र समझदारीमा नियमहरू बनाउनुपर्छ।
कति र कुन समय तथा कुन अवस्थामा मात्र मोबाइल फोनको प्रयोग गर्ने अन्यथा परिवारमा एक अर्कालाई महत्व र प्राथमिकता दिने भन्ने नियम बनाई अभिभावक र बालबालिका दुबैले पालना गरेमा बालबालिका विस्तारै फोनमा भन्दा परिवारमा रमाउन थाल्छन्।
बालबालिकाको पहिलो रोजाइ भनेका सदैव अभिभावक नै हुने गर्छन् तसर्थ अभिभावकले समय दिएको खण्डमा बालबालिकाले अभिभावकको विकल्प खोज्दैनन्। त्यसैले घरमा अभिभावक र बालबालिका दुवैले मोबाइल फोनलाई भन्दा आपसमा सञ्चार, समय र सामिप्यतालाई जोड दिने खालको नियम बनाइ पालना गर्नु अति उत्तम हुन्छ।
आजको युगमा पनि बालबालिका आफैं हुर्किन्छन् भन्ने सोच राख्ने हामी अभिभावकहरूले बुझ्नुपर्ने कुरा के हो भने बगैंचामा बोटबिरूवा यत्तिकै छोडिदिए पनि, हुर्किने बोटबिरूवा त यत्तिकै पनि हुर्किन्छन् तर मलजल, गोडमेल गरेर, तामक्रम मिलाएर, सही वातावरण दिएर हुर्काएको बोटबिरूवाको छाँटै बेग्लै हुन्छ।
हाम्रा बालबालिका पनि त्यस्तै हुन्, हामीले दिन नसकेको गुणात्मक समयकै कारण मोबाइल फोनले हाम्रा बालबालिकाको जीवनबाट हामीलाई विस्थापित गर्न सफल भएको तथ्यलाई हामीले कदापि बिर्सिनु हुँदैन त्यसैले जति सम्भव हुन्छ हाम्रा बालबालिकासँग हामीले मीठा यादहरू बनाउनु पर्छ, गुणात्मक समय व्यतित गर्नुपर्छ र मोबाइलले हामीलाई हैन, हामीले मोबाइल फोनलाई हाम्रा बालबालिकाको जीवनबाट विस्थापित गर्ने वातावरण तयार पार्नु पर्छ।
तसर्थ, उनीहरूलाई मात्र दोषको भारी बोकाइरहनुभन्दा वा उनीहरूका बारेमा मात्र गुनासो गरिरहनुभन्दा अभिभावक आफूले पनि आजको वैज्ञानिक युग सुहाउँदो अभिभावकीय कला र सीप सिक्नु अत्यावश्यक हुन आउँछ।
(लेखक स्मार्ट प्यारेन्टिङ नेपालका अभिभावक शिक्षा प्रशिक्षक हुन्।)