आजभन्दा २५ वर्षअघि अर्थात् २०५५ सालमा कामको सिलसिलामा धादिङबाट काठमाडौं आउँदै थिए। बस यात्रामा सँगैको सिटमा एक जना अधबैंसे उमेरको दाइसँग चिनजानसँगै कुराकानी भयो। संयोगले उहाँ पनि श्रेष्ठ नेवार हुनुहुँदो रहेछ।
दुवै जना नेवार भेटिएपछि हाम्रो कुराकानी भाषा, संस्कृति र परम्पराबारे हुन थाल्यो। उहाँले मसँग नेपाल भाषामा कुराकानी गर्न खोज्नुभयो।
मैले नजान्ने थाहा पाएपछि जिस्क्याउँदै भन्नुभयो, ‘तपाईं त अजा–अजी नेवार पो हुनुहुँदो रहेछ।’
उहाँले त्यसो भन्नुको कारण खुलाउँदै भन्नुभयो, ‘त्यो भनेको नेपाल भाषा बोल्न नआउने तर अजा–अजी भनेर सम्बोधन गर्न आउने नेवार।’
मेरो परिवार काठमाडौं मख्खन टोलबाट भोजपुर गएको हो। त्यही भएकाले म माझ किरात समुदायमा जन्मिएँ–हुर्किएँ। मेरो मातृभाषा नेवारी हुनुपर्नेमा मलाई नेपाली सिकाइयो। स्थानीय सरकारी विद्यालयमा नेपाल भाषा सिक्ने वातावरण पनि थिएन।
हामीले नेवार समुदाय र अन्य विविध कुराकानी गरेर यात्रा रमाइलो बनायौं। कलंकी बसपार्क पुगेपछि हामी झर्यौं र आ–आफ्नो बाटो लाग्यौं। मलाई धेरै पछिसम्म एक अपरिचितसँग बसमा भएको कुराले भने सताइरह्यो। म को हुँ र मेरो पुर्खा को हुन् भन्ने कुराले झक्झकाइरह्यो। अनि त्यसबारे खोज्न प्रेरित गर्यो। झन् विराटनगरका चन्द्रकिशोर मल्लिकले नेवार चौधरीबारे किताब नै खोजेर पठाइदिनु भएपछि यो लेख लेख्न मलाई हौसला मिल्यो।
भनिन्छ, इतिहास नबुझी समाज बुझ्न सकिँदैन। यही भनाइको मर्मअनुसार पूर्वी नेपाल र भोजपुरका नेवार चौधरीबारे यो लेख तयार गर्ने प्रयास गरेको छु।
करिब २५० वर्ष पहिले पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण क्रममा तत्कालीन सिद्धिपुर भनिने पूर्व ४ नम्बर भोजपुरको सदरमुकाम खिकामाछा थुममा १८३० सालमा उनका सेनाले विजय प्राप्त गरेका थिए। माझ किरातको सत्र थुममध्ये खिकामाछा एक थुम हो। टुक्राटुक्रामा विभक्त स–साना राज्यलाई एकीकरण गर्दै जाँदा युद्धको कारण धेरै धनजनको क्षति भएको र राज्य विस्तारका लागि थप आर्थिक श्रोतको आवश्यकता थियो।
तत्कालीन काठमाडौंको मख्खन टोलमा मल्लकालका हिन्दु क्षेत्रीय भारदारी समूह, सरकारी प्रशासनिक कार्यलाई आफ्नो पेसा मान्दै आएका छथरे क्षेत्रीय श्रेष्ठ समुदायको बसोवास थियो। त्यस समय तात्कालिक शासकहरूले व्यापार-व्यवसाय फैलाउन र राज्य विस्तार गर्न राज्य कोष वृद्धि गर्न जरूरी ठाने। देशभरको व्यापारिक केन्द्रमा विभिन्न इजारा (ठेक्का) दिँदै जस्लाये नेवार, हनुमन्त सिंह, साहेब सिंह र जगत सिंह श्रेष्ठलाई पूर्वतिर फलाम, तामा र सिसा खानी खोजी गर्न पठाएको विभिन्न अभिलेख पाइन्छ।
दरबार वरिपरिका धेरै भारदारमध्ये जगत सिंह छलकपट गर्न नजान्ने, पढे–लेखेको र सरकारी कामकाज जानेको सरल स्वभावको मान्छे थिए। उनी दरबारका विश्वास पात्र थिए। त्यही भएकाले उनलाई पूर्वको व्यापारिक केन्द्र खिकामाछा (हालको भोजपुर जिल्ला टक्सारको कोतडाँडा भन्ने ठाउँ) मा व्यापार विस्तार र खानी खोजी गर्न पठाइयो।
१२ टक्सार पूर्वतर्फ अखुवा खोला, पश्चिमतर्फ पिखुवा खोला र बीचका साथै दक्षिणतिर बेहेरे खोला रहेको पहाडी सुन्दर हरियाली समथर भू–भाग हो खिकामाछा। जगत सिंह त्यहाँ पुगेपछि उनले व्यापार विस्तार र खानी खोजी मात्र गरेनन्, उनले जेल प्रमुखको जिम्मेवारी समेत पाए। उनी ठिंगुरो ठोक्ने तथा स्थानीयको सानातिना मुद्दामामिला छिनोफानो पनि गर्थे। भोजपुरप्रति उनको माया यति बढ्यो कि उनले आफ्नो पुर्ख्यौली थातथलो काठमाडौ मख्खन टोललाई नै बिर्सिए र भोजपुरमा घरजम गरेर बस्न थाले।
जगत सिंहका चार भाइ छोरा भए। तीमध्ये जेठा छोरा श्रीकृष्ण श्रेष्ठ कुशल पराक्रमी र चतुर थिए। उनी कसैमाथि अन्याय गर्दैनथे। कसैलाई अन्याय भयो भने तत्काल प्रतिवाद गर्थे। उनी हुँदा खिकामाछा थुमका बासिन्दा आफूलाई सुरक्षित महसुस गर्थे।
नेपाल एकीकरणमा पनि श्रीकृष्णले बहादुरी देखाए। सरकारी कामकाज पनि जानेको हुनाले तत्कालीन सरकारले उनलाई लालमोहर लाएर खिकामाछाको नेवार समुदायमा चौधराई गर्ने चौधरी पद दिई सम्मान गर्यो। चौधरी पदवी पाएसँगै उनलाई श्रीकृष्ण चौधरी नै भनिन थालियो। यद्यपि उहाँ छथरे श्रेष्ठ नेवार हुनुहुन्थ्यो।
नेपालका पूर्व–पश्चिममा विभिन्न जातजातिलाई चौधरी पदवी दिएजस्तै श्रीकृष्णलाई चौधरी नियुक्त गरी खुँडा, ढाल, तरबार र बन्दुकसमेत प्रदान गरियो। उनलाई दिइएका हातहतियारहरू हालसम्म पनि उनका सन्ततिहरूको घरमा पाइन्छ। चौधरी श्रीकृष्णको घरनजिकै हातहतियार राख्ने कोतघर थियो जसलाई गढीडाँडा पनि भनिन्छ। उक्त गढीडाँडाबाट पृथ्वीनारायण शाहका फौजले भोजपुर खिकामाछामाथि धावा बोलेर विजय प्राप्त गरेका थिए। उनको वीरता यतिसम्म थियो कि उनको ठाउँमा कसैले आएर थिचोमिचो गर्ने आँट गर्दैन थिए।
श्रीकृष्णलाई चौधरी पदवी दिएर स्थानीय सानोतिनो मुद्दामामिला मिलाउने न्यायिक र कर उठाई राज्य कोषमा बुझाउने गरी आर्थिक अधिकार दिइएको विभिन्न अभिलेखमा पाइन्छ। मख्खन टोल लगायत काठमाडौं उपत्यकाबाट राजा राम शाहको पालादेखि नै खिकामाछामा नेवारहरूलाई लगेर बस्ती बसाइएको थियो। खिकामाछामा पुगेका नेवार जातिले आफ्नो धर्म, भाषा, संस्कार र संकृति पनि सँगै लगेका थिए। अन्य जातजातिभन्दा फरक रीतिथिति र परम्परागत कानुन बारेमा स्थानीय धर्माधिकारका प्रतिनिधिलाई थाहा थिएन। त्यही भएकाले नेवार समुदायकै चौधरी नियुक्त गरी निर्णय गर्न दिने व्यवस्था थियो।
रणबहादुर शाहले कीर्ति सिं नेवारलाई मादी नदी पश्चिममा चौधरीको मान लालमोहर गरी दिएका थिए भनि रेवतीरमण खनालले ‘नेपालको कानुनी इतिहासको रूपरेखा’ किताबमा उल्लेख गरेका छन्। डोटी बोगटानमा बाला चन्द, झापा जिल्लामा पाण्डे बाहुन, कैलाली जिल्ला निगाली अन्तर्गतको अलाड गाउँमा ठकुरीहरू, मध्य पश्चिम र सुदूरपश्चिमका दगौरा थारू, सप्तरीका थारू, पाल्पा तानसेनका रूपनारायण र ज्योतीनारायण श्रेष्ठले चौधराई गरेकाले चौधरी मान पदवी दिइएको हो। उनीहरूले त्यसैलाई चौधरी थर भनेर पनि लेख्न थाले।
शाहकाल र राणाकालमा विभिन्न सरकारी पदजस्तै मुखिया, जिम्वाल, मोहिनाइके, थानी, थरी, सुब्बा, राई, ठेकदार, चौधरी र जिमिदार, आदि थिए।
महेशचन्द्र रेग्मीले ‘नेपालको आर्थिक इतिहास अध्ययन’ भन्ने किताबमा लेखेका छन्, ‘तराईको जमिन्दार, तराईका जिल्लामा कर उठाउने जिम्मेवार व्यक्ति, बजारको निरीक्षक र पहाडी क्षेत्रमा नेवार समुदायको प्रमुखलाई चौधरी भनिन्छ।’
१८७४ साल वैशाखमा श्रीकृष्ण चौधरीलाई खिकामाछा भोजपुरमा बाँझो जग्गामा सिँचाइ कुलो बनाउन र मर्मत गर्न भारा लगाउने लालमोहर आदेश भएको अभिलेख राष्ट्रिय अभिलेखालयमा भेटिन्छ। श्रीकृष्ण चौधरीले खिकामाछाको बाँझो खेतमा सिँचाइ कुलो बनाइ हराभरा कृषि उत्पादन बढाए।
श्रीकृष्ण चौधरीका चार छोरामध्ये कान्छा छोरा गर्जसिंह चौधरी भलादमी, निष्ठावान र न्यायप्रेमी थिए। चण्डी पाठ गर्ने अध्ययनशील गर्जसिंहको छविलाई हेरेर तत्कालीन सरकारले खिकामाछामा मौजा दिएर अमाली नियुक्त गरेको थियो। गर्जसिंह चौधरी १४ दिनसम्म पैदल हिँडेर काठमाडौ गई अमाली नियुक्त भएको आदेश लिएर हिँडेरै खिकामाछा फर्कनुभएको थियो।
कोतडाँडामा सीमित खेतबारी थियो तर जगतसिंहका सन्ततिहरू फैलिएको कारण गर्जसिंहले टक्सारको कोत विस्तार गरी शिक्तेलमा कोत सारेर दधिपुरमा घरवारी र केही खेत मौजा दिई अमाली नियुक्त भए। शिक्तेलकोत अमाल अड्डाको अमाली गर्जसिंहलाई नियुक्तिसँगै स्थानीय न्यायिक र कर उठाउने अधिकार दिइयो। अमाली गर्जसिंहलाई पञ्चखत सजाय गर्नेबाहेक दण्ड दिने, ठिगुरो ठोक्ने, सामुदायिक विकास निर्माण गर्ने, झैझगडा मिलाउने, कुलोपानी साध सधियारको मेलमिलाप गराउने अधिकार दिइएको थियो। नेपाली बृहत् शब्दकोषअनुसार अमाली भन्नाले पहिलेपहिले गाउँघरको मुद्दामामिला हेर्ने र सरकारी तिरो उठाउने अड्डाको मुख्य हाकिम, अमालका प्रमुख भन्ने उल्लेख पाइन्छ।
पृथ्वीनारायण शाहका पालादेखि पल्लो र माझ किरातमा स्थानीय प्रशासनिक प्रतिनिधि बनाई राख्ने अमाली प्रथा १९६८ सालमा चन्द्र शमसेरको पालामा खारेजी भएको हो। उनीहरूलाई बडा दसैंमा आ–आफ्ना रैतिका घरमा काटिने बोका, खसीका सिसार (टाउको वा फिलो) लिन पाउने र दुर्गा पूजावापत जिन्सी वा नगद असुल गरी खान पाउने व्यावस्था थियो। १८७७ सालमा राजा राजेन्द्रले माँझ किरातका जिमिनदारलाई बेठी; बेगर रकम वा खेतालाबापत ज्याला नलिई लगाइने काम सिसार, आदि सित्तैमा पाउने गरी लालमोहर गरिदिएका थिए। कुनै कुनै जमिनबाट अन्न पाउने गरी पनि लागू भएको पाइन्छ। १९६८ सालमा चन्द्र शमसेरको पालामा यो प्रथा खारेज भएको हो। १८७६ सालमा पशुपतिमा अमालकोट अड्डा स्थापना भएको थियो जुन हालसम्म पनि छ।
गर्जसिंहका सन्ततिहरूमध्ये स्व. अमरबहादुर श्रेष्ठ तत्कालीन कोट गाउँ पञ्चायतका जननिर्वाचित उपप्रधानपञ्च थिए। केही समय कार्यवाहक प्रधानपञ्चसमेत भएका थिए। उनले अमरबहादुर श्रेष्ठको अगुवाईमा २०२७ सालमा ३५० रूपैयाँमा दधिपुरको रातडाँडा दोबाटोमा एउटा पाटी निर्माण गरेका थिए। २०३६ सालको नयाँ नापी लगायत स्थानीय कुलो पानी निर्माणमा समेत उनको योगदान थियो। अमरबहादुर श्रेष्ठका सन्तानले दधिपुरको पाटी–पौवा रहेको स्थानमा सार्वजनिक खानेपानीको व्यवस्था, विद्यालय स्थापना, पुस्तकालय स्थापना र चौतारा निर्माण गरेको पाइन्छ।
नेपाल सहर भनिने काठमाडौं मख्खन टोलका रैथाने जगत सिंहका वंशजहरू आजका दिनसम्म आइपुग्दा दसौं पुस्ताको रूपमा भोजपुर कोटडाँडाबाट छरिएर शिक्तेलकोट, दधिपुर, गुरासे, भैसिपंखा, दिङला, धनकुटा, सुनसरी, मोरङ, झापा, काठमाडौंदेखि विदेशमा समेत फैलिएका छन्।
जगतसिंह वंशजले बाघभैरवलाई कुल देवता र दोलखा भिमसेनलाई इष्टदेवता मान्दै आएका छन्। भोजपुर शिक्तेलकोट दधिपुरमा श्रेष्ठ दाजुभाइको आर्थिक सहभागितामा कुल देवता बाघभैरव मन्दिर निर्माण गरिएको छ। वैशाख पूर्णिमा पछिको पञ्चमी तिथिमा हरेक दुई वर्षको फरकमा धुमधामसँग यहाँ देवाली पूजा हुन्छ। जगतसिंहको पालादेखि पूजा गरेको टक्सार कोटडाँडा सिमल रूखको फेद र दधिपुरको देवाली थान साथै मोरङ गोठ गाउँ र लेटाङमा समेत देवाली थानमा पूजा गरिन्छ। देवाली पूजामा टाढा–टाढा छरिएका दाजुभाइ र परिवारका सदस्य अनिवार्य उपस्थित हुने परम्पराले एकआपसमा भाइचारा बढेको देखिन्छ। यो परिवारमा परम्परागत नेवारी चाडपर्वहरू हर्षो–उल्लासका साथ मनाउने गरिन्छ।
पूर्वी भोजपुरमा कीर्ति फैलाएका पूर्वजहरू जगत सिंह, श्रीकृष्ण चौधरी, अमाली गर्ज सिंह लगायत अन्य वंशजको गर्विलो इतिहासको खोजी गरी भावी पुस्तालाई यथार्थ अभिलेख हस्तान्तरण गर्न वंशावली प्रकाशन भएको छ। जगत सिंहको नामबाट सामाजिक क्रियाकलाप गर्दै ऐतिहासिक सामग्रीको संरक्षण र सम्वर्द्धन गर्न गैरनाफामूलक वंश संस्था दर्ता भएको छ। उक्त संस्थाको आयोजनामा हरेक वर्ष दाजुभाइ भेला र परिवारका जेष्ठ सदस्यलाई सम्मान गरिन्छ।
खिकामाछामा पैसा बनाउने टकमरी कार्यका लागि टक्सारको सुरूआत नेपालको ठूलो इजारादार हनुमन्त सिंहलाई १८७२ सालमा इजारा सवालबाट भएको थियो। अभिलेखअनुसार टक्सार अड्डाको प्रमुख साहेव सिंह थिए। मिनिपाटन भनिने टक्सारमा उपत्यकाका पाटनबाट कालिगढहरू लगेर धातुजन्य सामान बनाउने पूर्वको प्रसिद्ध ठाउँ थियो। टक्सार अड्डामा तामाको एक र दुई पैसे ढक डोली पैसा बनाइन्थ्यो। त्यो पैसा भारतमा समेत निकासी हुन्थ्यो। टक्सारका कालिगढ शाक्यहरूले कलात्मक धातुका सामान बनाउने र टक्सार रैकर कोटडाँडाको नेवारहरूले सिक्किम दार्जिलिङसम्म सो सामान बेच्ने गर्थे।
यसै सन्दर्भमा शिक्तेल कोट दधिपुरका स्थानीय समाजसेवी चित्रकुमार श्रेष्ठ दधिपुरमा घरवारी मौजा र चार जना कमाराकमारीसमेत दधिपुरको अमाली गर्जसिंहलाई दिएको बताउनुहुन्छ। दधिपुरका नेवार चौधरी परिवारमा पहिला सती जानुपर्ने चलन थियो र पछि मात्र सो चलन हटेको हो।
टक्सार पैयापनीका रामबहादुर श्रेष्ठको भनाइअनुसार श्रीकृष्णलाई खुँडा तरबार बन्दुक दिएर चौधरी पदवी दिएको साथै गर्जसिंलाई माल अड्डामा सरकारी तिरो आम्दानी बुझाउने गरी अमाली नियुक्त गरेको कागजात सुरक्षित छन्।
यशोधरा माध्यमिक विद्यालय टक्सारका पूर्व प्रधानाध्यापक गणेश बज्राचार्यले जगत सिंहका सन्तति कोटडाँडाका चौधरी नेवारहरू इजारादार हनुमन्त सिंह, साहेव सिंह, जस्लाये नेवारसँग सम्बन्धित हुन सक्ने बताउनुहुन्छ। यस विषयमा थप अनुसन्धान हुन आवश्यक छ।
विराटनगर निवासी पूर्व कर्मचारी चन्द्र किशोर मल्लिकले ‘अनुस्मरण’ किताबको ‘नेवार चौधरी’ शीर्षकमा किटानसाथ भोजपुरमा योग्य र सक्षमलाई चौधरी नियुक्त गरिएको हो भनेर लेख्नुभएको छ।
टक्सारकै पूर्व शिक्षक रोहित श्रेष्ठका अनुसार कोटडाँडामा सिमलको रूखको फेदमा जगत सिंहकै पालादेखि देवाली गर्ने थान छ। उहाँका अनुसार त्यहाँदेखि तल श्रीकृष्णको घर र हातहतियार राख्ने ठाउँ थियो। टक्सारको टकमरी गर्ने स्थानमा मिनबहादुर श्रेष्ठको घरछेउ जेल रहेको र सो जेलको प्रमुख जगत सिंह थिए।
पूर्व सहसचिव तथा सांस्कृतिक अध्येता भोगिराज ईङ्नामले अमालीलाई रैतिको संख्या तोकी रैतिसँग कति रकम उठाउने र सरकारलाई कति बुझाउनुपर्छ भन्ने उल्लेख गर्नुभएको छ। अमालीले बस्ती बसाउने र खेती गर्ने समेत अधिकार पाएको हुन्छ। संस्कृतिविद डा. गोविन्द टन्डनले अमाली सांस्कृतिक अध्यक्ष र अमालकोट अड्डाको प्रमुख हुन् भन्नुभएको छ।
टक्सार निवासी संस्कृतिविद पूर्व प्राध्यापक काशीनाथ तमोटले टक्सारका नेवारहरूलाई चौधरी पदवी दिएको अभिलेख पाइएको बताउनुभएको छ। चौधराई गर्न दिएको पदलाई नै चौधरी थर लेखेको अभिलेखमा भेटिने उहाँले बताउनुभयो।
इतिहासकार ज्ञानमणि नेपालका अनुसार दधिपुरमा अमाली गर्ज सिंह इमानदार समाजसेवी हुन्। भोजपुर टक्सारमा जन्मे-हुर्केका हाल काठमाडौं निवासी पूर्व न्यायाधीश बुद्धरत्न शाक्यका अनुसार टक्सारमा चौधरी गाउँ नै थियो। चौधराईका लागि श्रीकृष्णलाई चौधरी पदवी दिएको र गर्ज सिंहलाई अमाली समेत नियुक्त गरेको भन्दै अमर सिंह चौधरी लगायतका अन्य चौधरी नेवारहरूको बारेमा गुणगान गाउनुभएको छ।
बाघभैरव मन्दिर गुठी समिति कीर्तिपुरका अध्यक्ष शुद्धरत्त महर्जनका अनुसार बाघभैरव मन्दिर ९ सय वर्ष पुरानो हो। तत्कालीन राज्यसत्तासँग नजिक भएका भारदारहरू मुन्सीखल, मख्खन श्रेष्ठहरू, पाटन, ठमेलका शक्तिशाली प्रधानहरूको कुल देवता बाघभैरव नै हुन्।
मख्खन टोल निवासी स्थानीय प्रधानाध्यापक सुरज राजभण्डारीले भोजपुरे चौधरी नेवारहरूको खुँडा तरबार देखेर मल्लकालीन छथरे भारदारका सन्ततिहरू भएको बताउनुभयो। नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिवराज श्रेष्ठ चौधरी पदवीसहित खुँडा, तरबार दिएको साथै बाघभैरव कुल देवता हुने काठमाडौं उपत्यकाको पुरानो बासिन्दा हुन् जो किरातकालभन्दा अगाडिदेखि बसोबास गर्ने भूमिपूत्र भएको बताउनुहुन्छ।
डोटी सिलगढिमा पनि चौधरी श्रेष्ठहरू छन्। त्यहाँ हालसम्म पनि चौधरी टोल चौधरी चौतारो छ। पाल्पाका संस्कृतिविद् तथा लेखक निर्मल श्रेष्ठका अनुसार नेवारहरू सांस्कृतिक यात्री हुन्।
'नेवारहरू काठमाडौं उपत्यकाबाट विभिन्न कारणले घरबार छाडेर गएका छन्। आफ्नै खुसी, बाध्यताले वा करकापले साथै राज्यको जिम्मेवारी लिएर देशभर छरिएका भए पनि मौलिक भाषा, संस्कृति, संस्कार, रीतिरिवाज र समृद्ध कलाकृति पनि सँगै लिएर गएका थिए,' श्रेष्ठ भन्नुहुन्छ।
शाह तथा राणाकालमा विभिन्न पदमध्ये चौधरी पद वीरता र बफादारिताको प्रतीक थियो। उनीहरूलाई हातहतियारसँगै सैनिकको फौजसमेत नेतृत्व गर्न दिइन्थ्यो। राज्यसत्तासँग निकट चौधरी परिवारले नेपाल एकीकरणपछि भोजपुरमा स्मरणीय सामाजिक योगदान दिएका छन्।
(भोजपुरका युवराज श्रेष्ठ हाल काठमाडौंमा बस्छन्।)