एक्काइसौँ शताब्दीको विश्वसमाज ठूलो भिडमा समाहित भइसकेको छ जहाँ सत्य मलीन र मधुरो अवस्थामा अचेत छ, विलीन छ। सत्यको अस्तित्व करिब नामेट छ। सत्यले म सत्य हुँ भनेर प्रमाणित गर्न वर्षौं पर्खिनु परेको छ। भिड र झुटले हजारौं परिक्रमा गरिसक्दा पनि सत्य निरीह रहेको देखिने गरेको छ।
यस्तो अवस्थाबाट हाम्रो नेपाली समाज पनि अछुतो छैन। आज नेपाली समाज अराजक भिड, प्रियतावाद र भ्रममा फसेको छ। यसबाट निस्कन निकै मुश्किल पर्नेछ।
अराजक भिड, सामाजिक–राजनीतिक विशृंखलता, धराशायी अर्थतन्त्र, स्टन्टबाज र चरम उग्रराष्ट्रवादमा फसेको समाज र देशको उन्नयन कठिन हुन्छ। यस्तो अवस्था दिगो समृद्धिका बाधक हो। यस्तो परिवेशले प्रियतावादमा मलजल गरेको छ।
यो परिवेशलाई शान्तिपूर्ण यात्रामा डोहोर्याउन सबैले आआफ्ना ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्नु अपरिहार्य भएको छ। हामीले परिस्थिति सही ढंगले बुझ्न सकेनौं र युवाहरूमा भरोसा जगाउन सकेनौं भने परिणाम भयावह हुन सक्नेछ।
अब विगतमा लोकतन्त्रका लागि गरेको संघर्षको कथा सुनाएका भरमा युवा मतदाताले परम्परागत कांग्रेस र कम्युनिस्ट दललाई विश्वास गर्ने परिस्थिति छैन। राजनीतिक दलहरू युगको माग र नयाँ चेतनाअनुसार आचरण, कार्यशैली र कार्यसम्पादन सुधार गरेर अघि बढ्नु अहिलेको आवश्यकता हो।
बीपीले एक ठाउँमा भनेका छन्– प्रजातन्त्रको जग बलियो भयो र विधिको शासन चल्यो भने सरकार जसले चलाए पनि हुन्छ।
हाम्रो पद्धति र प्रवृत्तिमा आमूल परिवर्तन हुन सकेको छैन। हामी अझै पनि पुरातनवादमै अड्किएका छौँ। प्राप्त उपलब्धिहरूमा साझा स्वामित्व ग्रहण गर्दै संविधान, विधि–पद्धति संस्थागत गर्नु आजको राजनीतिक कार्यभार हो।
केही दिनअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा उभिएर भने– प्रहरीको सई (नायब निरीक्षक) सम्मको दर्जामा पदोन्नति र प्रोत्साहन राम्रो छैन। उच्च पदमा तीनचार महिनामै पदोन्नति हुने तर तल्लो तहमा वर्षौंसम्म एउटै पदमा रहनुपर्ने बाध्यता छ।
यस्तै अवस्था अन्य सार्वजनिक क्षेत्रमा पनि व्याप्त छ। नियामक र सुपरीवेक्षक निकायहरू बेखबर छन्।
यही असार ११ गते कान्तिपुर दैनिकमा एकसाथ दुई वटा लेख छापिए। एउटा लेख अर्थशास्त्री डा. अच्युत वाग्लेको ‘हुने खानेहरू नै छोड्दै छन् देश’ भन्ने शीर्षकमा थियो, अर्को लेख लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले ‘किन बनेन नयाँ नेपाल’ शीर्षकमा लेखेका थिए।
गृहमन्त्रीको भनाइ र उल्लिखित दुबै लेखको समान आशय थियो– इमानदार र कर्मशील वर्ग सामाजिक, आर्थिक र राजनीतिक रूपले चेपुवामा परेको छ। हुनेखानेदेखि न्यून आय भएका सबै युवाहरू यो देशमा बस्न चाहेका छैनन्।
यसो हुनुको कारण हो– नेताहरूले जनताको उत्सर्गबाट भएको राजनीतिक परिवर्तनको कुशल व्यवस्थापन गर्न सकेनन्, नेताहरू सुशासनले दिन दिन सकेनन्, जनतामा असन्तुष्टि बढ्दै गयो।
राज्यका अगुवाहरू भ्रष्ट आचरण, लोभलालच, आत्मकेन्द्रित मनोवृत्ति र आडम्बरबाट ग्रस्त छन्। देशमा आमूल परिवर्तन ल्याउन त्याग र समर्पण गर्न सक्ने ठानिएका नेताहरू नै यसरी ग्रस्त देखिए।
नेताहरूमा अनपेक्षित आचरण देखिन थाल्यो, नैतिकता रहेन, विलासी जीवनशैलीमा आसक्ति बढ्यो। यस्तो परिदृश्यले जनताको आशामा तुषारपात गरिदियो। फलस्वरूप जनतामा निराशा र असन्तुष्टि बढ्यो।
दक्ष, अर्धदक्ष, अदक्ष सबै प्रकारका युवाहरू देशमा जनशक्तिकै खाँचो हुने गरी सकेसम्म चाँडो विदेश जान लालायित छन्। युवाहरूमा देशमा योग्यताअनुसार कामको सुविधा छैन, गरिखाने वातावरण छैन, यो देशमा केही पनि गर्न सकिँदैन भन्ने धारणा झन्झन् गाढा हुँदै गएको छ।
नयाँ रोजगारी सिर्जना हुन सकको छैन, सामाजिक सुरक्षाको प्रत्याभूति छैन, शिक्षाको गुणस्तरमा विश्वास छैन, स्वास्थ्य सेवा पर्याप्त छैन, न्यायप्रति पनि अविश्वास छ। ढुक्कले उद्योग–व्यवसाय गर्ने वातावरण छ भन्ने विश्वास छैन।
यस्तो अवस्थामा कुलीन वर्ग विकसित देशतिर जाँदैछ। देशमा राम्रै मानिएको जागिर र व्यवसाय हुनेहरू पनि रोज्जा देशमा जाने प्रयासमा छन्। श्रमिक वर्ग त भारत र खाडी मुलुकतिर गएकै छ।
कोही किन यो देशमा बस्न चाहेको छैन? मुख्य कारण दलालीतन्त्र र मुठिभर पहुँचवालाहरूको चौतर्फी एकाधिकार नै हो।
किन कोही पनि राजनीतिप्रति खुसी छैन? किन हाम्रो राज्य संयन्त्र खराब नतिजातिर जाँदै छ? हाम्रा सार्वजनिक निकायहरू किन निकम्मा भए? सेवा किन गुणस्तरीय छैन? जिम्मेवारी लिएर बसेकाहरू किन उत्तरदायी छैनन्?
हामी किन कर्तव्यच्युत हुँदै छौँ? किन भ्रष्टहरूले राजनीतिक संरक्षण पाइरहेका छन्? किन हामी व्यक्तिगत स्वार्थमा रमायौँ?
यस्ता अनेक प्रश्नहरू छन्। यो आलेख किन मानिसहरू यो देश छोड्न लालायित छन् भन्नेमा केन्द्रित छ।
राजनीति सबै नीतिहरूको मूल नीति मानिन्छ। राजनीति जति सङ्लो हुन्छ राज्य त्यति पारदर्शी हुन्छ र त्यति नै प्रगतिको पथमा अघि बढ्छ।
आजको नेपालको राजनीति उग्रराष्ट्रवाद, प्रियतावाद, डिजिटल भिडवाद र दिशाहीनतामा फसेको छ। वैचारिक सिद्धान्त, नीति, नेतृत्व, विचार, विधिविधान, समयको गतिशीलता र मौलिकताबाट निकै पर पुगेको छ।
समग्रतामा हाम्रो राजनीति अनिश्चिततामा रुमलिएको छ। कानून कार्यान्वयन प्रभावकारी छैन। सानालाई ऐन, ठूलालाई चैन भन्ने कथन जनजनमा व्याप्त छ। राज्यको स्रोतसाधनमा सीमित वर्ग र व्यक्तिको हालिमुहाली छ। प्राकृतिक स्रोतको दोहन अनियन्त्रित छ।
यस्तै परिस्थितिहरूले राजनीतिप्रतिको वितृष्णा बढेको छ। जसरी पनि विदेश जाने चहनापछाडिका मुख्य कारणहरू यिनै हुन्। यी तमाम बेथितिका बीच पनि आशाका किरणहरू देखापरेका छन्। आममानिसको राजनीतिक चेतना बलियो छ। अब नागरिकहरू राजनीतिक दलसँग उधारो सम्झौता गर्न तयार छैनन्। आफ्नो मताधिकारमार्फत शान्तिपूर्ण विद्रोह गर्न थालेका छन्।
हालैका संसदीय चुनावमा युवाहरूको नेतृत्वका नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूको चयन शान्तिपूर्ण विद्रोहको थालनी हो। यथास्थितिवादमा परिवर्तनको आकांक्षा हो।
राजनीतिको यो नयाँ भँगालोले कस्तो आकार लिन्छ, आजै भन्न कठिन छ। वर्तमानमा चाहिँ अशोभनीय ढंगले प्रियतावाद हुर्किंदैछ। मानिसहरू यसकै पछि लागेका छन्।
स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका मेयरहरूलाई युवा समुदायको दृढ समर्थन देखिन्छ। यसले पुराना राजनीतिक दलहरूमाथि समयसापेक्ष सुधारको दबाब परेको देखिएको छ।
हाम्रो अर्थतन्त्र सबै कोणबाट परनिर्भर बन्दै गएको छ। राज्यसंयन्त्र विकास–निर्माणको पैसा खर्च गर्न नसक्ने गरी कमजोर भएको छ। बेरोजगारी बढ्दो छ। कृषि पेसा संकटमा छ। शहरीकरण कुरूप छ। वर्गीय रूपमा आर्थिक–सामाजिक असमानता बढ्दो छ।
यस्ता विसंगतिहरू अन्त्य गर्दै सुधारको बाटोमा अघि बढ्न राजनीतिक सहकार्य जरुरी छ। यहाँ भने ठिक उल्टो हुँदै छ।
विश्व बैंकका अनुसार न्यून आय र मध्यम आय भएका देशहरूको ऋणको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको छ। बढ्दो व्याजदर, बैंकिङ तथा वित्तीय संकट र आर्थिक गतिविधिमा शिथिलताका कारण ऋण भुक्तानीमा चाप परेको छ ।
यही मेसोमा नेपाल पनि असफलताको बाटोमा देखिन्छ।
अहिले विश्वमा करिब ५७४ मिलियन जनसंख्या अति गरिबीको सूचीमा छ जो विश्वको कुल जनसंख्याको ७ प्रतिशत हुन्छ। यो जनसंख्यामा नेपालको हिस्सा पनि छ।
भान्साका लागि किनमेल गर्नुहुन्छ भने तपाईंलाई थाहा छ, हामीकहाँ मान्छेको श्रमको मूल्यबाहेक सबै थोक महँगो छ। उपभोक्तको क्रय क्षमता कमजोर भएको छ। सीमित आयमा बढ्दो खर्च र महँगीले सताएको छ।
यो पृष्ठभूमिमा युवाहरूमा विदेश पलायनको प्रवृत्ति बढेको हो भन्न सकिन्छ।
नेपाल इकोनोमिक फोरमले यही जुलाई ६ मा सार्वजनिक गरेको प्रतिवेदनमा चालु आर्थिक वर्षको ११ महिनामा ७ लाख ४० हजार व्यक्तिले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिए। प्रत्येक दिन २०४४ जना नेपाली वैदेशिक रोजगारीका लागि जाने गरेका छन्।
गत जेठमा मात्रै नयाँ पासपोर्ट लिने र नवीकरण गराउनेको संख्या १ लाख ४७ हजार रहेको वैदेशिक रोजगार विभागले जनाएको छ। यसबाटै पनि थाहा पाउन सकिन्छ हाम्रो जनशक्तिको ठूलो हिस्सा विदेश जाने चाहनामा छ।
एक समय बैंकको जागिरमा राम्रो आकर्षण थियो, उच्च मर्यादाको मानिन्थ्यो। अहिले आएर बैंक नै तनावको क्षेत्र मानिएको छ। विभिन्न अध्ययन प्रतिवेदनहरूले बैंक कर्मचारीहरू निकै तनावको वातावरणमा रहेको निष्कर्ष दिएका छन्।
व्यवस्थापनका सन्दर्भमा अमेरिकी एथ्लेट ग्रेगरी ननको एउटा चर्चित भनाइ छ– सही समयमा सही मान्छेको छनोट र सही पदस्थापनबाट संस्था, समाज र देशमा अपेक्षित परिणाम हासिल गर्न सकिन्छ।
आज राज्यका सबै अंग र निकायहरूले आआफ्नो ठाउँबाट पारदर्शी ढंगले आआफ्नो कार्यसम्पादन गरून् भन्ने भन्ने सबैको चाहना छ।
यहाँ त कसैको कृपाविना आफ्नो सामथ्र्यले मात्रै अगाडि बढ्न नसक्ने (कु)संस्कार विकास हुँदैछ।
यस्तो अवस्था अनधिकृत र विकृत राजनीतिक हस्तक्षेपले सिर्जना गरेको हो। जताततै दलीय आस्थाका आधारमा हुने राजनीतिक हस्तक्षेपले समाजलाई कुरूप बनाउँदै छ।
विद्यालय र विश्वविद्यालय शिक्षा, स्वास्थ्यसेवा, न्यायसेवा, तथा सामाजिक र सांस्कृतिक सबै क्षेत्रहरू अधिक राजनीतिक हस्तक्षेपले जर्जर भएका छन्।
यिनै कारणले बौद्धिक पलायन र पुँजी पलायन बढ्दो छ।
संसारमा सबैभन्दा मूल्यवान अरू केही छ भने त्यो समय नै हो भनिन्छ। विश्वविद्यालयमा दुई वर्षको शैक्षिक कार्यक्रम सकिन चार वर्ष र चार वर्षको कार्यक्रम सकिन छ वर्ष लाग्ने भएपछि विश्वविद्यालय शिक्षा ध्वस्त हुने नै भयो।
यहाँका कुलीन र उच्च राजनीतिक नेताका छोराछोरीहरू विकसित देशमा छन्, जाने तयारीमा छन्। नीति निर्माण र निर्णयको उच्च तहमा रहेका यस वर्गका उच्च पदस्थहरूलाई आमनागरिकप्रति कर्तव्यबोधको अभाव छ।
स्वास्थ्य सेवाको दुर्गती छ। सामान्य प्राथमिक उपचार नपाएर पनि जीवन गुम्ने अवस्था छ। एउटा राम्रो र सुविधासम्पन्न अस्पताल नहुँदा नेताहरू ससानो उपचारका लागि पनि राज्यको खर्चमा विदेश जान्छन्। आममानिसले अलिक जटिल रोगमा घरखेत सबै बेच्नुपर्ने अवस्था छ। हुनेले त बेच्ने, नहुनेले ज्यान गुमाउनुको विकल्प छैन।
यस्ता अनेक कारणले हाम्रो समाज मानसिक तनाव, भय र चिन्ताको सिकार हुन थालेको छ। आत्महत्या हुनुको एउटा मुख्य कारण यही हो। यसको न्यूनीकरणका लागि हरेक स्वास्थ्य केन्द्र र प्रत्येक स्कुल–कलेजमा मनोचिकित्सकको नियमित सेवा उपलव्ध गराउन जरुरी भएको छ।
देशभित्र गरिखाने वातावरण नपाएर निरुपाय नागरिकलाई ती नेताले झन् निराश तुल्याएका छन् जसले आफ्नो युगीन दायित्व बेवास्ता गरेर, नैतिकता त्यागेर, लोकलाज पचाएर आफू सत्तामा टिक्ने जुक्ति लगाइरहेका छन्। यी नेताले आफूलाई सत्ताभोगमै सीमित राखेका छन्।
नागरिक निराशाको मूलस्रोत लक्ष्यहीन राजनीति नै हो। डरलाग्दो कुरा नै नागरिकमा व्याप्त चरम निराशा हो।
समय नघर्किंदै नागरिकको सेवाका लागि संघीय सरकारदेखि वडा कार्यालयसम्मले जिम्मेवारी बोध गरेर काम गर्नु जरूरी छ। दलका नेता, जनप्रतिनिधि, निर्णयकर्ता र उच्च पदाधिकारीहरूले आफूलाई जनआकांक्षा बमोजिम सुधार गर्नु अत्यावश्यक छ। यी सबैमा निष्पक्षता, पारदर्शिता र इमानदारी चाहिएको छ।
यसो नभई हाम्रो राजनीतिक प्रणाली र सेवा सशक्त र विश्वासनीय हुँदैन। युवा जनशक्ति पलायन देशको लागि ठूलो क्षति हो।
नेताहरूले बदलिँदो जनआकांक्षा आत्मसात गर्नु तथा नवीन विचार र उत्कृष्ट कार्यसम्पादनका साथ नागरिकहरूमा ऊर्जा भर्नु अपरिहार्य भएको छ।
आजको विश्वपरिवेश, आर्थिक–मानवीय संकट, भूराजनीतिक जटिलता सबै मनन गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा राष्ट्रहितका पक्षमा बोल्न सक्ने नवीन नेतृत्व आजको आवश्यकता हो।
देशमा व्याप्त गरिबी, भोक, अभाव र असमानता कसैका लागि भोट बैंक नबनोस्। देशको विविधतामा भावनात्मक एकता बनोस्। यसो भयो भनेमात्र देश बस्नलायक हुनेछ। देशको सेवामा समर्पित हुने वातावरण बन्नेछ।