मैले १०-५ को कर्मबाट बिदा लिएको करिब १५ महिना भयो। यो १५ महिनामा मेरो दैनिकी फेरियो, उठबस हुने साथीभाइहरू फेरिए, मैले भाग लिने कार्यक्रमहरू फेरिए, अनि फेरियो समग्र जिन्दगीको गन्तव्य।
जागिरमा छँदा त्यससँग सम्बन्धित व्यक्तिहरूसँग भेटघाट हुन्छ, त्यस्तै किसिमका छलफल र बैठकहरूमा सहभागी भइन्छ। जागिरबाट बाहिरिएपछि धार्मिक, सामाजिक, प्राज्ञिक किसिमका भेटघाट, छलफल अनि अन्तर्क्रियाहरूमा भाग लिइने हुँदा यी सबै कुरा फेरिनु स्वाभाविक हो र भयो पनि त्यस्तै।
तर मेरो यो १५ महिनाको अनुभवमा अर्काे एउटा पक्ष पनि फेरियो। त्यो हो फोन गर्ने व्यक्तिहरू।
गएको एक हप्तामा एकदिनमा बढीमा ३५ जना र सबभन्दा कम फोन आएकोे दिन १० जनाले मलाई फोन गर्नु भएको रहेछ। त्यो हप्ताभन्दा अगाडिको हप्ता हेर्दा साला खाला दैनिक १५/१६ वटा फोन आउँदा रहेछन्।
म जागिरमा छँदा पनि दैनिक १९/२० वटा फोनहरू आउँथे। त्यस बेला आउने फोनहरू खास गरी चार किसिमका व्यक्तिहरूबाट आउँथ्यो।
पहिलो हाम्रो यस्तो संस्था छ, समाजमा यो काम गर्छौं, केही सहयोग गरिदिनु पर्यो भनेर आउने अनुरोधात्मक फोनहरू।
दोस्रो उपल्लो तहका कर्मचारी र राजनीतिक नेताहरूबाट यो कार्यक्रममा सहयोग गर्नुहोस् वा मेरो एक जना मान्छे आउनुहुन्छ उसको समस्या के हो हल गरिदिनु होला भन्ने आदेशात्मक किसिमका फोनहरू।
अनि तेस्रो किसिमका फोनहरू हुन्थे मेरा बालसखा, गाउँघरका दाजुभाइ, इष्टमित्र र आफन्तका भावनात्मक र प्रेमिल फोनहरू।
उनीहरू न केही पाउनको लागि अनुरोध गर्थे, न कसैलाई सहयोग गर्न आदेश दिन्थे। मात्र सन्चो विसन्चो र हाल खबर सोध्थे र तिमी ब्यस्त हौला, सबै राम्रै रहेछ, खुसी लाग्यो, कहिलेकाहीँ हाम्रोतिर पनि आउनु है भन्दै फोन राख्थे।
अर्काे एक थरी फोन आउँथ्यो गाउँघरका पढेलेखेका तर सोझा, सिधा र कमजोर वर्गका युवायुवतीको।
उनीहरू लोक सेवा, शिक्षक सेवा, प्रहरी सेवा आदिमा आवेदन दिएपछि नाम निकाल्न सहयोग माग्दै फोन गर्थे।
उनीहरूको फोनको जवाफमा यी सेवाहरूमा निष्पक्ष र स्वच्छ परीक्षा हुन्छ । जस्ले राम्रो गर्छ उसैको मात्र नाम निक्लिन्छ, परिश्रम गर तिमी सफल हुन्छौ भनेर भन्थें म।
तर उनीहरूमा शङ्का थियो, निष्पक्ष हुन्छ र भन्ने। कतिपयले उदाहरण दिँदै नेपाल सरकारका सचिव, सहसचिवहरू आफ्ना छोरी र श्रीमतीहरू पास गराउन लोकसेवाको प्रश्न पत्र बनाउनदेखि उत्तरपुस्तिका जाँच्न समेत सेटिङ मिलाएको तथ्य सुनाउँथे मलाई।
साथै शिक्षक सेवा आयोगबाट आफन्तलाई पास गराउन आफ्नो विषय नभए पनि शक्तिमा हुनेले आफैं उत्तरपुस्तिका जाँचेको समाचारहरू आएको होइन र भन्थे। अनि निराश हुँदै भन्थे ‘दाइ यस्तो सुन्दा सुन्दै कसरी स्वच्छ र निष्पक्ष हुन्छ भनेर विश्वास गर्नु खै।’
म उनीहरूलाई आश्वस्त पार्दै भन्थें, ‘सधैं र सबैमा त्यस्तो हुँदैन बाबु। योभन्दा अरू उत्तर पनि थिएन मसँग किनकी म बबुरोको लोक सेवा आयोगमा त्यसरी सेटिङ मिलाउने न हैसियत र पहुँच थियो न शिक्षक सेवा आयोगमा आफ्नाको उत्तरपुस्तिका आफैं जाँच्न पाउने सुविधा नै।
आफूले केही सहयोग गर्न नसक्ने भएपछि यी सबै सेवाहरूको परीक्षा निष्पक्ष र स्वच्छ हुन्छ भनेर उनीहरूको फोन आउनबाट रोक्नु थियो मलाई।
यी र यस्तै किसिमका फोनहरूमा अभ्यस्त भएको म जागिरबाट बिदा लिएपछि दुई किसिमका फोनहरू भने आउनै छोडे। हाम्रो संस्थालाई सहयोग गर्नुपर्यो भन्नेहरूको फोन र उच्च पदस्थ कर्मचारी तथा राजनीतिक व्यक्तिहरूको फोन।
त्यसबेला फोन गर्ने यी दुबैथरी चुरो कुरा गर्नुभन्दा पहिले सन्चो बिसन्चो, दैनिक हालखबर सोध्थे। त्यसैले मलाई लाग्थ्यो यो वर्गसँग पनि जीवनपर्यन्त सम्वन्ध रहन्छ। तर त्यो मेरो भ्रम मात्र रहेछ। अहिले त मैले गरेको फोन पनि उठाउँदैन यो वर्गले, उनीहरूले गर्नु त परै जाओस्।
तर तेस्रो किसिमका व्यक्तिहरूको फोन भने यो बीचमा ह्वात्तै बढ्यो। अहिले मलाई आउने फोनहरू गाउँघरका दाजुभाइ, आफन्त, इष्टमित्र र साथीहरूको बढी छन्।
बुवाले भन्ने गर्नुहुन्थ्यो, ‘बाबु जागिर क्षणिक हो। तिमी एक दिन जागिरबाट अलगिन्छौ नै। त्यसैले जतिसुकै ब्यस्त भए पनि जिउँदाका जन्ती मर्दाका मलामी अनि तिम्रो दुःखमा दुःखी हुने र सुखमा हर्षित हुने वर्गलाई नबिर्स है।’
बुबा अझ थप्नुहुन्थ्यो ‘तिम्रो अन्तिम बेलासम्म तिमीसँगै हुने वर्ग यो मात्रै हो। अरू त तिमी शक्ति र सत्तामा होउन्जेल नजिकिन्छन्। जुन दिन तिमी स्रोत, शक्ति र सत्ताबाट टाढा हुन्छौ त्यो वर्ग पनि त्यही दिनबाट टाढा मात्र होइन, तिमीले भेट्दा बोलाउँदा पनि नबोल्ने हुन्छन्।’
बुबाका यी भनाइहरू यो १५ महिनाको बीचमा मैले गरेको अनुभवबाट शाश्वत सत्य रहेछन् भन्ने लागि रहेको छ मलाई।
जागिरको दौरानमा मेरा बाल्यकाल देखिका साथीहरू जत्तिकै नजिक र अतरङ्ग सम्बन्ध भएका साथीहरू भए।
तर मैले जागिर छोडेपछि ती साथीहरू न कहिल्यै फोन गर्छन् न मैले गरेको फोन उठाउँछन्। कलव्याक गर्न त म मन्त्री होइन, पैसा बुझाउने बिचौलिया र ठेकेदार पनि होइन अनि के गर्थे!
तर जतिसुकै उच्च पदमा भए पनि बाल्यकालदेखिका साथीले भने अहिलेसम्म बिर्सेका छैनन्।
राजनीतिक नेताहरूले स्थानीय निर्वाचन र संसदीय निर्वाचनको समयमा भने धेरै पटक फोन गरे।
कसैले हजुर जस्तो बौद्धिक, प्राज्ञिक र समाजसेवी व्यक्ति गाउँमा देखिए मात्र पनि हाम्रो माहोल बढ्छ भनेर मलाई फुक्र्याए भने कसैले चुनाव साह्रै खर्चिलो भयो सर एकपटक हामी भेट्न पाए हुन्थ्यो भनेर फोन गरे।
कसैले गाउँमा फलानो साह्रै बटारिएर हिँडेको छ रे सम्झाउनु पर्यो भनेर फोन गरे भने कसैले फलानो पालिकामा तपाईंका नातेदारहरू रहेछन् एक पटक हजुरले भेटेर भन्नु पर्यो सर भनेर फोन गरे।
स्थानीय निर्वाचन सकिएको एक वर्ष वित्यो भने संसदीय निर्वाचन सकिएको करिब ६ महिना। राजनीतिक नेताहरूमा एकाध बाहेक अहिलेसम्म कसैले फोन गरेका छैनन्। मलाई विश्वास छ अब यस्ता फोनहरु २०८४ सालमा मात्र आउनेछन्।
सत्ता, शक्ति, स्रोत र सम्पत्तिको कारणले गाँसिएका सम्बन्धहरू र त्यही सम्बन्धले गरिने फोनहरू कति स्वार्थी हुन्छन् भन्ने कुरा त कुनै जमानाका शीर्ष राजनीतिज्ञ मध्येका एक राधाकृष्ण मैनालीको भनाइबाट प्रष्टिन्छ।
उहाँ एउटा अन्तर्वार्तामा भन्दै हुनुहुन्थ्यो ‘सक्रिय राजनीति पछिको जिन्दगी त निरस पो हुँदोरहेछ। न कोही भेट्न आउँछन्, न कसैले फोन गर्छन्।’
एक जना पूर्व सहसचिवको अनुभव पनि यस्तै थियो। उहाँ सुनाउँदै हुनुहुन्थ्यो ‘हिजो फोन गर्नेहरू आज आफूले गर्दा पनि उठाउँदैनन् यार। अरूले त उठाएनन् उठाएनन् मेरै अन्तर्गत काम गरेको एक जना बहालवाल सहसचिवले समेत उठाएनन् र कलव्याक पनि गरेनन्। गजब रहेछ जिन्दगीको यात्रा भनेर आफ्ना अनुभव बाँड्दै हुनुहुन्थ्यो कुनै बेलाका शक्तिशाली सहसचिव।
फोनकै सन्दर्भमा अर्को एक जना सेवा निवृत सचिवको अनुभूति पनि यहाँ उल्लेख गर्न सान्दर्भिक लाग्यो।
उहाँ भन्नुहुन्छ, ‘जुन दिन सेवाबाट अवकाश लिइयो त्यसको भोलिपल्ट त आकाशबाट धर्तीमा खसेजस्तो भयो यार। न निःशुल्क आउने पत्रिकाको चाङ थियो, न एसीवाला गाडी। न आफ्नो फोन उठाउने पिए थिए, न चाकडी गर्न आउने कर्मचारीहरूको भीड। थिएँ त नितान्त एक्लो, घरको बार्दलीमा उभिएको म, श्रीमतीले समेत पो पुछ्दिनन् कि भन्ने डरले काँपी रहेको थिएँ।
उहाँले थप्नुभयो, पदमा रहँदा गाउँबाट थुप्रैले फोन गर्थे। उनीहरूका फोन उठाउने त परै जाओस् कार्यालयमै भेट्न आएको बेलामा समेत उहाँहरूलाई भेट्ने फुर्सद भएन मलाई।
त्यसबेला उनीहरूको कति चित्त दुख्यो होला। आज आफैंले कार्यसम्पादनको नम्बर दिएर बढुवा भएको सहसचिवले फोन नउठाउँदा त्यही गाउँको आफन्तको पीडा महसुस गर्दैछु म।
माथि नै भनेँ आजभोलि पनि मलाई फोनहरू आइरहन्छन्। तर ती फोनहरूमा न कुनै स्वार्थ छ, न कुनै आग्रह, न कुनै आदेश छ, न कुनै निर्देशन। यी फोनहरूमा न शक्ति र सत्ताको दम्भ छ, न सम्पत्तिको घमण्ड नै।
छ त केवल माया, प्रेम, सहयोग, सद्भाव र सहृदयता। अनि छ आफन्तपनको मीठो सुवास।
सबैले ख्याल गर्नु पर्ने कुरा के हो भने जुन दिनसम्म हामीसँग रस छ, चुस्नको लागि भमराहरू झुम्मिरहन्छन्। जहाँ गुलियो हुन्छ, त्यहाँ कमिलाहरू भेला हुन्छन्। शाश्वत सत्य के हो भने मान्छेले कागतीबाट रसको थोपा चुहिन्जेल निचोरी रहन्छ।
तर मानव जीवन सधैं रसयुक्त र गुलियो हुँदैन। जुनबेला जीवनको हरियाली ओइलिन थाल्छ, जीवनको प्रकाश धुमिल हुँदै जान्छ र शरीर कमजोर हुन थाल्छ अनि त्यसबेला थाहा हुन्छ आफन्त को हो, सहयोग के हो र साथी को हो भनेर।
यदि हामीले आफू जन्मे हुर्केको धरातललाई सम्झेर आफ्नो बानी, ब्यहोरा, विचार र दृष्टिकोणलाई समयमै परिवार, समाज र आफन्त अनुकूल परिवर्तन गरेनौं भने कुनै दिन आफ्नो मोबाइलको स्वर सुन्न घरमै रहेको ल्याण्ड लाइनको फोनबाट आफैंले फोन गर्नु पर्ने क्षण पनि आउन सक्छ।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)