सेतोपाटीमा ब्लग पढ्दै थिएँ। सेतोपाटीका ब्लगहरू समसामयिक विषयमा निकै मन छुने हुन्छन्। विश्व कहाँबाट कहाँ पुग्यो। हाम्रो समाजमा भने स्वर्गको ढोका उघार्न, पित्तृको उद्धार गर्न छोरा नै चाहिन्छ भनेर भ्रूण पहिचान गरी भ्रूण हत्या गर्ने जस्तो निकृष्ट अपराध भैरहेको छ।
गाउँमा मात्र हैन सहर बजारमा समेत लिंग विभेदका कथा व्यथा छ्याप्छाप्ती पाइन्छन्। छोरा नजन्माउँदासम्म छोरी पाइरहने पुरातन चलनमा परिवर्तन देखिए पनि महिलाको ज्यान जोखिममा पारेर गर्भपतन गर्ने, छोरा नपाएकै निहुँमा महिलालाई उत्पीडनमा पार्ने गरिएका समाचार दिनहुँ अखबारमा छापिन्छन्।
सन्तान जन्माउने कुरा नितान्त व्यक्तिगत कुरा हो। यद्पी यो विषयलाई हाम्रो समाजले त्यति व्यक्तिगत मान्दैन। म सानी हुँदा चीनले जनसंख्या नियन्त्रण गर्न एक दम्पती एक सन्तान नीति लिएको छ भन्ने सुन्थें। तर हाम्रो घर गाउँमा सन्तानले डाँडाकाँडा ढाकून् भन्ने आशीर्वाद अझै पनि दिइन्छ।
सन्तान धेरै हुनुका, सन्तान दुई वटा हुनुका, सन्तान एउटा हुनुका, सन्तान नै नहुनुका आ-आफ्नै राम्रा नराम्रा विविध पाटा छन्।
विज्ञानले गरेको विविध उन्नतिले सन्तान सुख भोग गर्न विविध व्यवधान भएका दम्पतीहरू पनि आइ.भि.एफ जस्ता प्रविधिले लाभान्वित भएका छन्।
सन्तान छोरा हुनु, छोरी हुनुमा महिलाले खेल्ने जैविक भूमिका शुन्य हुन्छ। सन्तान छोरा हुनु या छोरी हुनुमा पुरूषको मात्र भूमिका रहन्छ भनेर विज्ञानले भन्छ। तर छोरा नपाएको भनेर पुनः विवाह गर्ने पुरूष हाम्रो समाजमा थुप्रै छन्।
छोरा नजन्माएकै कारण जति उत्पीडन महिलाले भोग्छन् त्यति उत्पीडन र अवहेलना पुरूषले सायदै सहनु पर्छ हाम्रो समाजमा।
हाम्रो समाजको स्कुलिङ पनि गजबको छ आफ्नो भूमिका शून्य भएको विषयमा समेत महिलानै दोषी करार हुनुपर्ने!
एउटा बच्चा हुँदा जति सजिलो हुन्छ, त्यति गाह्रो पनि हुन्छ। कुनै पनि कुरा आफैंमा पूर्ण हुँदैन। राम्रा र नराम्रा पक्ष सबै कुरामा हुन्छन्।
हाम्रो नेपाली समाजमा मात्र होइन पुरूषवादी सोच भएका जुन सुकै समाजमा पनि महिलालाई हेर्ने दृष्टिकोण सम्मानजनक छैन। लिंगका आधारमा गरिने भेदभावको फेहरिस्त फुकाउन समाजमा पुग्नै पर्दैन।
घरबाट नै भेदभावको क्रम सुरू हुन्छ। ११ वर्ष पहिला मेरो गर्भमा छोरी हुर्कंदै गर्दा सबै आफन्तले सोध्ने पहिलो प्रश्न छोरा छ कि छोरी सोध्यौ? भिडिओ एक्सरे (अल्ट्रासाउण्ड) बाट थाहा भैहाल्छ नि?
सन्तान स्वस्थ रहोस् भन्ने बाहेक हाम्रो अरू कामना केही थिएन। गर्भमा नै सन्तान गुमाउँदाको पीडा कस्तो हुन्छ हामीले भोगिसकेका थियौं।
छिमेकी दाजु दिदीले दोस्रो सन्तानका रूपमा छोरी पाउनु भएको थियो।
हाम्रो कोठामा सरकारी सेवामा अधिकृतको जागिर खाइरहेका आफन्त आउनु भएको थियो।
मेरो श्रीमानले दाजुले छोरी पाउनु भएछ भेट्न त पछि जाउला आज फोन गरेर बधाई दिनुपर्यो भन्दा मेरा पाहुना आगन्तुकको प्रतिक्रिया अनपेक्षित थियो ‘छोरी जन्मेकी छे केलाई बधाई दिने हो र? उनीहरूको घाउमा केलाई नुन खुर्सानी छर्छौ दाइ फोन गरी गरी?’ छोरी जन्माउने दाइ दिदीलाई साँच्चै दुई छोरी भए भनेर पछुतो भयो या भएन हामीलाई थाहा भएन तर देशको उच्च ओहोदामा पुगेका ती विकृत मानसिकतालाई देखेर म अति दुखी भएँ।
आफन्त दिदीकी एउटी छोरी थिइन्। ११\१२ वर्षकी। दोस्रो सन्तान भएको थिएन। घर परिवार र स्वयम् भिनाजूको पनि छोरा त पाउनै पर्छ भन्ने दबाब रहेको कुरा दिदीले सुनाइरहनु हुन्थ्यो।
पछि उहाँहरूको छोरा नै भयो। यता उति हिँड्दा छोराको स्याहारसुसार दिदीले भन्दा भिनाजूले धेरै गरेको देख्थें।
एक दिन दिदीले भन्नुभयो, ‘उनैलाई हो छोरा चाहिएको गर्छन् उनैले सुसार।’
सानो तिनो दबाब भएको भए दिदीको अभिव्यक्ति त्यति तिक्ततापूर्ण नहुनु पर्ने। मैले केबल अनुमान लगाएँ।
एक जना चिने/जानेकी दिदीका तीन छोरीहरू थिए। मेरो भर्खंरै बिहे भएको थियो। दिदीले आमासँग गुनासो गर्दै आँसु झारिरहनु भएको थियो। कुरा के परेछ भनेर उहाँहरूको संवाद चियो गरेर नै सुनें मैले। माइत जाँदा कसैले उहाँलाई छोरा नभएकी आइमाइले पूजाआजामा अगाडि बढेर काम गर्न नहुने। स्वर्गको ढोका खोल्न त छोरा नै चाहिने भनेर वचन छेडेछन। उहाँ मानसिक रूपमा आघात नै परेकोजस्तो व्यवहार गरिरहनु भएको थियो।
त्यसैले उहाँ छोरा पाएर मात्र माइत जाने नभए नजाने भन्ने दृढ निश्चयमा हुनुहुन्थो। त्यो घटना भएको ३\४ वर्षमा आमाले ती दिदीले छोरा पाइन् भन्ने खबर सुनाउनु भयो।
नपढेका मात्र होइन समाजमा प्रतिष्ठा पाएका, उच्च शिक्षित परिवार पनि परलोक सुधार्न छोरा नै चाहिन्छ भन्ने मानसिकताले ग्रस्त छ। छोरी त सन्तान नै होइन कि जस्तो व्यवहार देखाउँछन्।
महिलाको शारीरिक र मानसिक स्वास्थ्यको ख्याल नगरी अवैधानिक गर्भ पतन गराउँछन्। दीर्घकालीन स्वास्थ्य समस्या ल्याउने त्यस्तो कार्यले कति महिलाले अकालमा ज्यान पनि गुमाएका छन्।
स्कुलकी मेरी साथी कहिले कसो भेट्दा गुनासो गर्छिन्। हाम्रो परिवारमा छोरीलाई कति पनि महत्व दिइँदैन। जेनतेन बिहे गरेर पठाइ दिन पाए भो। कहिले कसो माइत जाँदा भाउजू बुहारीले मात्र होइन एउटै कोखबाट जन्मेका दाइ-भाइले पनि किन आएको हो भने जस्तो गर्छन्।
सबैका दाइभाइ उस्तै त नहोलान् तर मलाई चाहिँ आमा-बाको मृत्यु भएपछि माइतको बाटो बन्द भयो। बा जिउँदा हुँदा पनि कता बाले जग्गा, पैसा दिन्छन् कि भनेर बालाई नै दुर्व्यवहार गर्थे।
बालाई मैले फोन गर्दा पनि बोल्न दिँदैन्थे। आखिर म पनि तिनै बा-आमाको सन्तान हो। मलाई जन्माउँदा पनि आमालाई फरक पीडा भएन। १५\१६ वर्षकै उमेरमा विवाह गरिदिए। भर्खरै १० कक्षा सकेकी थिएँ बिहे हुँदा। आत्मनिर्भर हुन पनि पाइनँ। छोराछोरी भए। आजभोलि विभिन्न बहानामा श्रीमानले दु:ख दिन्छन्। दु:ख बिसाउन दाइ भाइसँग जाँदा तरक तरक गर्छन्। मेरै गल्ती देखाउँछन्। भाग्यले ठगेकी भनेर दुर्वचन बोल्छन्। त्यही बा-आमाले खाइनखाइ जोडेको पैत्तृक सम्पत्तिमा उनीहरू रमाइरहेका छन्। उसले सम्पत्तिको आश गरेकी पनि छैन तर एक वचन मीठो बोली र साहस दिने हिम्मत न बा आमाको थियो न त दाजुभाइको नै।
छोरीलाई बिहे गरिदिएपछि सबै दायित्वबाट मुक्त हुने समाज छोराका लागि भने मृत्यु पर्यन्त जिम्मेवारी लिन तयार हुन्छ।
छोरीलाई बिहे गरिदिएर दायित्व मुक्त हुन हतारिने आमा-बा छोराका लागि सम्पत्ति जोड्न र जोगाउन लागि पर्छन्। दु:ख सबैका हुन्छन्। महिलाबाट पुरूष पीडित भएका उदाहरण पनि यदाकदा देखिन्छन्। महिला भएकै कारणले समाजको अनावश्यक सद्भावना पाएर पुरूष माथि अत्याचार गर्ने पनि छन् तर समग्रतामा पीडित महिला नै बढी छन्।
समाज र परिवारको संरचनामा महिलाको स्थान सम्मानजनक छैन। पछिल्ला केही वर्षहरूमा आशा लाग्दा परिवर्तन देखिएका छन्।
समग्रमा महिलाको अवस्था सुधारोन्मुख नै भइरहेको छ। यद्पी छोराबिना स्वर्गको ढोका खुल्दैन भन्ने र छोरीलाई वंशकी अंश मानेर सोही अनुसार गर्ने मानिसहरू निकै कम छन्।
बाँच्ने बेलामा केही नगरे पनि मरे पछि स्वर्गको ढोका खोल्नकै लागि छोरा चाहिन्छ?
१३ दिनसम्म किरिया गर्न छोरा चाहिन्छ? नभएकाले खोजेर कताबाट छोरा ल्याएर काजकिरिया गराउने हो? काजकिरिया छोरीले गरेर तरिँदैन? बाँच्ने बेलासम्म दुर्वचन र दुर्व्यवहार गर्ने छोराले मरेपछि पिण्ड पल्टाएर पित्तृ तर्छन्? कस्तो निम्छरो सोचले हो? कस्तो विभेदकारी मानसिकता हो? त्यस्तो कुनै काम छैन जुन छोराले गर्न सक्छ छोरीले सक्दिनन्। सन्तान सुखको अनुभूति छोरा र छोरीले उत्तिकै दिन्छन्। छोरा न छोरी दुवै दुई आँखाका नानी हुन्। विविध कारणले कतिपय दम्पती सन्तान सुखको आनन्दबाट विमुख हुन परेको छ। एकमात्र भए पनि सन्तानको माया अनुभूति गर्न नसकेका त्यस्ता दम्पतीलाई पनि अनेक दुर्वचन बोलेको मैले स्वयम देखेकी छु, सुनेकी छु।
समयको गतिसँगै सबै कुरा परिवर्तन हुँदैछ। छोरा र छोरी भनेर गरिने भेदभाव पनि विस्तारै न्यून हुने नै छ। भइदेको पनि छ।
न छोरा नभएर संसार चल्छ, न छोरी नभइ संसार चल्छ। म सानी छँदा टिभीमा एउटा विज्ञापन आउँथ्यो। त्यो विज्ञापन खुबै गडेको छ मेरो मनमा ‘एउटा आँखा छोरा भए अर्को आँखा छोरी, आँखा नानीभित्र देख्छु जुन ताराझैं जोडी, कपुरी क खरायो ख स्कुल जानु हाम्रो लागि रमाइलो छ।’
स्कुल भर्ना अभियानलाई प्रोत्साहन गर्न बनाइएको विज्ञापन हो कि त्यो!
पढे लेखेका मानिसहरू पनि छोरा छोरीमा भेदभाव गर्छन्। अवस्था पहिले जस्तो छैन। तर छोरा र छोरीलाई गरिने व्यवहारमा समानता, समता अझै देख्न पाइँदैन। छोरी अर्काको घर जाने त हो, यसको बिहेका लागि गरगहना र पैसाको जोहो गर्न पर्छ भन्ने आम मानसिकता धेरै अभिभावकमा भएको पाउँछु।
छोरीको बिहेका लागि जोहो गर्ने आमा बाहरूले छोरीको शिक्षाका लागि भने लगानी गर्न हिचकिचाएको देख्छु। छोरीलाई दाइजो र तिलकका मालवस्तुसँग जोड्न भन्दा आत्मनिर्भरताका उपायहरू र बाटाहरू देखाइदिन सके छोरीको जीवन सम्मानजनक हुन्छ। आर्थिक आत्मनिर्भरता महत्वपूर्ण कुरा हो।
आर्थिक आत्मनिर्भरताले छोरीको जीवन सम्मानजनक हुन्छ। आर्थिक परनिर्भरताले निर्णायक तहमा छोरीको उपस्थितिलाई कमजोर बनाउँछ।
छोरीको भविष्य राम्रो बनाउन छोरीलाई विवाहमा दिने दाइजो जोड्न आवश्यक छैन। छ त केबल छोरीलाई शिक्षित, सबल र आत्मनिर्भर बनाउन।