हतार हतार नयाँ सडकको भीड छिचोल्दै अघि बढ्दै थिएँ। पछाडिबाट आएको आवाजले रोकिएँ। कुनै बेला सँगै पढेकी सहपाठी म भएतिरै लम्किँदै थिइन्।
हुन त कलेजमा हुँदा ‘हाइ हेल्लो फ्रेन्ड ‘मात्र थिई।.म अलि हतारमै थिएँ तर लामो अन्तरालमा भेट भएकोले उसले कतै बसेर कुरा गर्न आग्रह गरी। उसको अनुरोधलाई मैले अस्वीकार गर्न सकिनँ।
कुरा गर्दै जाँदा उसले आफ्ना अतितका पाना पल्टाउन थाली। विगतका नमीठा अनुभवले उसको अतित भरिएको थियो।
उसको कुरा सुन्दै गर्दा उभित्रको पीडाको अनुभव गर्दै थिएँ। राम्रो पढिरहेकी उसलाई काठमाडौंकै राम्रो जागिरे केटा र प्रतिष्ठित परिवार भनेर पढाइ नै छुटाएर विवाह भएको रहेछ तर विवाह भएको दुई वर्ष नबित्दै उनले श्रीमान र परिवारबाट शारीरिक र मानसिक यातना भोग्नु परेको तीता अनुभव एकपछि अर्को गर्दै पोख्दै थिई।
एउटा सन्तान भएपछि सुरू भएको उसको पीडा सम्बन्ध बिच्छेदमा पुगेर अन्त्य भएछ।
कारण थियो दाइजो।
सुरूमा केही चाहिँदैन भने पनि पछि बिस्तारै डिमाण्ड बढ्दै गएको र माग पूरा नगरेपछि अन्त्यमा वैवाहिक सम्बन्धमा पूर्ण विराम लगाउनु परेको तितो सत्य सुनाउँदै गर्दा उसका आँखामा झल्किरहेका कहालीलाग्दो पीडा सजिलै पढ्न सकिथ्यो।
पछि छुटेको अध्ययन पूरा गरी आफ्नै सानो व्यवसाय सञ्चालन गरी आफ्नो र छोराको भरणपोषण गर्दै आएकी रहिछ।
उसँग छुट्टिएपछि हामी आ-आफ्नो गन्तव्यतर्फ लाग्यौं तर मेरो मनमा उसका अत्यासलाग्दा भोगाइले अनेकौ प्रश्नहरू उब्जिरहेका थिए।
काठमाडौंजस्तो आधुनिक शिक्षित भनिने सहरमा त अझै यो अवस्था छ भने चेतना नपुगेको दुर्गम ठाउँहरूको के अवस्था होला!
विशेषगरी पितृसत्तात्मक समाजमा महिला हिंसाका घटना घटेका पाइन्छन्। कुनै समय थियो महिला हिंसाका घटनालाई सामान्य रूपमा लिई दबाएरै राखिन्थ्यो।
अहिलेको समयमा विस्तारै जनचेतना फैलिँदै जाँदा महिला हिंसाविरूद्ध धेरै आवाज उठ्न थालिसकेका छन्।
महिलाका हकमा धेरै कानुन पनि बनेका छन्। सदियौंदेखि नै महिला दिदीबहिनीहरूले विभिन्न बहानामा शारीरिक, मानसिक, भावनात्मक आदि विभिन्न हिंसाको शिकार हुनुपरेको छ।
एकाध घटना पुरूषमाथिका हिंसाको पनि नभएका होइनन् तर समग्रमा महिला दिदीबहिनीहरू नै विभिन्न किसिमका हिंसाबाट पीडित देखिन्छन्।
कसैलाई दाइजो टन्न नल्याएको निहुँमा यातना दिइन्छ त कसैलाई छोरा नपाएको निहुँमा अनि कसैलाई यस्तै अरू बहानामा शारीरिक मानसिक यातना दिई आत्महत्याको बाटो रोज्न बाध्य पारिएका कैयौं घटना सुनिन्छन्।
बिडम्बना नै मान्नुपर्छ, अझै पनि यस किसिमका घटनालाई राज्यले गम्भीरतापूर्वक लिएको पाइँदैना। यससम्बन्धी कानुन भए पनि कार्यान्वयन पक्ष फितलो छ।
छोरी, श्रीमती, बुहारी हुँदै महिलाहरूले अनेकौ परिवर्तित रूपसँगै प्रशस्त विभेद, विभिन्न यातना अन्याय सहँदै आएका छन् वा भनौं उनीहरूलाई सहन बाध्य बनाइन्छ।
अनेकौं नियम कानुनको परिधिभित्र महिलाहरूलाई बाँधेर राखिन्छा पुरूषको तुलनामा महिलाहरूलाई दिइने शिक्षा, स्वतन्त्रता, उनीहरूलाई हेर्ने दृष्टिकोण, गरिने व्यवहारमा समानता पाइँदैन। महिलाहरूप्रति सम्मानजनक व्यवहारको कमी छ।
समाजमा सकारात्मक परिवर्तन आइरहेको कुरालाई पनि नकार्न सकिँदैन।
विस्तारै समय फेरिँदा पनि महिलाहरूको अवस्थामा चाहिँ खासै परिवर्तन आउन सकेको छैन। यसो भनिरहँदा सबैलाई एउटै तराजुमा राख्नु पनि पक्कै न्याय संगत नहोला, तर समग्रमा चाहिँ महिलाहरूलाई गरिने व्यवहारमा परिवर्तन आउन नसक्दा हाम्रा महिला दिदीबहिनीहरूको अवस्थालाई जटिल नै मान्न सकिन्छ।
चलिआएका कतिपय रितिरिवाज, परम्परा उपयोगी राम्रा छन् त कति महिलामैत्री देखिँदैनन्। परम्पराकै नाममा कति महिलाहरूले अनेकौं सास्ती भोगिरहेका छन्। कठिन परिस्थितिमा पनि उनीहरूलाई सहेरै बस्नुपर्ने बाध्यता छ।
केही अपवादलाई छोडेर हेर्ने हो भने समाजको ठूलै जनसंख्या संकुचित मानसिकताबाट ग्रसित पाइन्छ। सहरी इलाका र शिक्षित, प्रतिष्ठित भनिएका परिवारमा पनि यस किसिमका घटना नघट्ने होइनन्।
पितृसत्तात्मक समाजको ठूलै हिस्साले छोराको जन्मलाई जसरी हृदयदेखि स्वागत गर्दछ, परिवारमा ठूलै हर्षोल्लासको सिर्जना गराउँछ, ठीक विपरीत छोरीको जन्मले कमै अभिभावकको अनुहारमा हाँसो ल्याउँछ। छोरी नचाहने जनसंख्या भ्रुण हत्या गर्नसम्म पछि पर्दैनन्। यो पनि छोरीमाथिको हिंसाकै एक रूप हो।
आमाको गर्भदेखि नै छोरीहरूले हिंसाको शिकार बनिरहनुपरेको तीतो सत्य हाम्रासामु विद्यमान छ। छोरीले वंश धान्दिन र मृत्युपछि पिण्ड दान गर्न छोरा नै चाहिन्छ भन्ने मान्यताले जरा गाडेको हुँदा छोरीप्रतिको सम्मान र महत्व घटाएको देखिन्छ।
महिलामाथिको हिंसा बढाउने अर्को मुख्य कारण भनेको दाइजो प्रथा हो।
यो प्रथाले विस्तारै परम्पराको रूप लिँदैछ। यसले घरेलु हिंसा बढाएको मात्रै छैन, धेरै अभिभावकहरूलाई ऋणको बोझले समेत थिचेको छ। अनि कैयौं छोरीहरूको घरपरिवार बर्बाद पारेको छ।
कति महिलाहरूलाई मृत्युको मुखसम्म पुर्याएको छ विभिन्न प्रयासका बाबजुद पनि यो प्रथाको नकारात्मक प्रभाब बढिरहेको पाइन्छ जसको कारण धेरै छोरीहरू र उनीहरूका अभिभावकले शान्तिको सास फेर्न पाएका छैनन्।
कानुनले बन्देज गरे पनि हाम्रो समाजमा दाइजोको परम्पराले विकराल रूप लिँदैछ।
जानेर वा नजानेर होस्, सानैदेखि परिवारबाट नै छोरीहरूलाई मानसिक रूपमा कमजोर बनाइएको हुन्छा। केही अपवाद छोडेर परिवारबाट नै छोरीहरूलाई भेदभावपूर्ण व्यवहार गरिन्छ।
छोरालाई जति स्वतन्त्रता, सम्मान, आत्मीयता, उचित वातावरण, आदि कमै मात्र अभिभावकले छोरीहरूलाई प्रदान गर्दछन्। महिला भन्नेबित्तिकै घरगृहस्थी र बालबच्चा भन्ने सोच अझै पनि समाजमा हाबी छ।
विवाहपश्चात महिला दिदीबहिनीहरूले जन्म घरलाई छोडी नयाँ घरको रितिरिवाज अनुसार आफूलाई ढाल्ने सक्दो कोसिस गरेका हुन्छन् तर उनीहरूको घरप्रतिको त्याग र बलिदानको खासै कदर भएको पाइँदैन।
गलत घर परेर कतिपय महिलाहरू घरेलु हिंसाको शिकार हुन बाध्य हुन्छन् तर परिवारको बदनामीको डरले अन्याय सहन्छन् र मौन रहन्छन् किनभने सानैदेखि छोरीहरूको काँधमाथि घरको इज्जत हालिएको हुन्छ। जस्तोसुकै कठिन परिस्थितिमा पनि सहनुपर्छ भन्ने शिक्षा दिइएको हुन्छ। अब भने छोरीहरूलाई दिइने शिक्षामा अभिभावकले परिवर्तन गर्नुपर्ने बेला आइसकेको छ।
कति छोरीहरूको शिक्षा अधुरै पारी राम्रो घरपरिवारको, आशमा डोली चढाइन्छ त कतिलाई खाइरहेको जागिर नै छोड्न लगाई घरगृहस्थीमै सीमित राखिन्छ।
कतिपय अवस्थामा हतारको गलत निर्णयले महिलाहरूले धेरै यातना भोग्नुपरेको कैयौं उदाहरण छन्।
शारीरिक, मानसिक हिंसाको शिकार हुन बाध्य हाम्रा दिदीबहिनीहरूले कसैको साथ र हौसला नपाएको खण्डमा अन्तिम विकल्पको रूपमा आत्महत्याको बाटो रोजेको प्रशस्त उदाहरण भेटिन्छन्।
सानैदेखि छोरीहरूलाई मानसिक रूपमा बलियो बनाउने जिम्मा अबका दिनमा अभिभावकको हो जुन आजको अपरिहार्यता भैसकेको छ ताकि भविष्यमा जस्तोसुकै परिस्थितिको सामना गर्न र परिआएमा आत्मसम्मानको रक्षा गर्न सकोस्।
महिलाहरूलाई शिक्षाको साथसाथै प्रशस्तै अवसर दिने र आत्मनिर्भर बन्न सहयोग गर्ने हो भने दिनहुँ जस्तो घट्ने महिला हिंसाका घटनामा धेरै हदसम्म कमी आउने देखिन्छ।
शिक्षित हुनुको अर्थ मात्र रोजगारीका बाटा सिर्जना गर्नु र धनसम्पत्ति आर्जन गर्नु कदापी होइन।
हरेक व्यक्तिको मानसिकतामा मात्र होइन व्यवहारमा पनि सकारात्मक परिवर्तन आउनु जरूरी छ अनि मात्र व्यक्ति सही अर्थमा शिक्षित बन्दछ।
परिवार, कार्यालय आदि जहाँ पनि प्रत्येक व्यक्तिमा एक अर्कोप्रति सम्मानको भावना हुनु जरूरी छ न कि महिला पुरूषको आधारमा।
मुख्य कुरा हाम्रो सोच र व्यवहारमा आधुनिकता आउन जरूरी छ। नत्र जति आधुनिकताको खोल ओढे पनि र आधुनिक जीवनशैली अपनाए पनि जबसम्म मानिसको मानसिकता आधुनिक हुँदैन, खुला सोचको विकास हुँदैन, तबसम्म महिला हिंसामा कमी आउँदैन।
जबसम्म समाजको रूढीवादी प्रथा, गलत सोच र गलत प्रवृत्तिको अन्त्य हुँदैन। हाम्रो जीवनशैली मात्र आधुनिक हुँदै जानेछ अनि सोच पुरानै।