जेलको चौघेराभित्र पनि मानिस कसरी प्रफुल्ल मुद्रामा बस्नसक्छ? मेरो मस्तिष्कमा बारम्बार यही कुरा नाचिरहन्थ्यो। त्यहाँको सुरक्षा घेरा बाको लागि पक्कै कडा थियो। किनकि त्यतिबेला राज्यको विद्रोही पक्षमा थिए मेरा बा।
तत्कालीन विद्रोहको बिगुल फुक्न अगुवा भएका बा उच्च मनोबलका धनी थिए र हुन्। आन्दोलनलाई नै आफ्नो जीवनको मुख्य लक्ष्य बनाएका मेरा बा, पार्टी आन्दोलनको कार्य दिशाप्रति अत्यन्तै उत्साहित थिए।
त्यही कारण हुनपर्छ मेरा बा प्रफुल्ल मुद्रामा। उनले देश र जनतालाई पहिलो प्राथमिकतामा राखेका थिए। मलाई छोडेर देशको मुहारलाई उज्यालो बनाउन हराएका मेरा बाले मलाई सम्झिए कि सम्झिएनन् होला त्यो बेला?
बाको कुनै दिनको सानो यादको झल्को मात्र पाएकी म, फेरि हराएका बा आउने दिन गन्ने क्रममा पुगें। त्यो दिन कहिले र कहाँ होला भन्ने बारे दिनहुँ मनमा कुरा चलिरहन्थ्यो। कुनै दिन त बालाई देख्न पाइन्छ कि भन्ने झिनो आश हामी आमाछोरीमा थियो।
कठिनाइँका ती दिनहरूमा हाम्रो दैनिकी उस्तै पुरानो थियो। म स्कुल जान्थें। आमा मेलापात जान्थिन्। छरछिमेकीहरूले हामीलाई विचराको भावमा हेर्थे। हामी पुरुष सदस्य घरमा नभएको परिवारका मान्छे थियौं। घरव्यवहार महिलाबाट चल्थ्यो। चल्न जरुरी थियो।
फेरि समाज आजीवन पितृसत्तात्मक व्यवस्थामा आधारित थियो र छ। त्यस्तोमा परिवारको घरमूली महिला सदस्य हुनु झन् गाह्रो रहेछ। आमा परिवारको लागि डटेर लड्थिन्। रुँदैरुँदै हुन्छ कि, चर्को-चर्को बोलेर हुन्छ, आफ्नो नियमित दैनिकीलाई गति दिन्थिन्।
मेरा बाको जेल बसाइ आन्दोलनप्रति बफादर र अनुशासित थियो। त्यहाँका सुरक्षाकर्मीहरूले प्रायः यस्तै कुरा बताइरहन्थे रे। आफ्नो अस्तित्व र इमान्दारितामा अटल रहेछन् बा। किनकि उनले पार्टी आन्दोलनमा आँच आउने कुनै त्यस्तो काम गरेनन्। आफ्नो स्वाभिमानको बिक्री गर्न मानेनन्।
उनको त्यो नियतलाई राम्रोसँग बुझेको थियो राज्य पक्षले। त्यही कारण हामीलाई नियमित निगरानीमा राखेको थियो। हाम्रो निगरानीको मात्रा यति चुलीमा पुगेको थियो कि घरमा कोही छिमेकीसम्म आए भने उनीहरूको सोधखोजको दायरा बढिहाल्थ्यो। को हो? के कामका लागि आयो? के लिएर गयो? के दिएर गयो? हामी कहाँ गयौं? के सामान किन्यौं? के खायौं? सबै कुरामा उनीहरूको उपस्थिति अनिवार्य हुन्थ्यो।
यही भएर होला कोही कसैका आफन्त बन्न सक्ने अवस्था त्यो बेला थिएन। सबैजना एकअर्काबाट टाढा-टाढा थिए। सबैलाई आफ्नो ज्यानको पीर थियो। चाहे त्यो राज्य पक्ष होस्, चाहे विद्रोही पक्ष। कोही व्यक्ति कसैको घरमा पाहुना बनेर जानसम्म सक्दैनथ्यो। अत्यन्तै नजिकका आफन्तहरू पनि त्यो समयमा पर-पर हुन्थे।
हाम्रो दिनचर्यामा आफन्त टाढिने र छिमेकी पन्छिने घटना क्रमशः बढिरहे। यता सुरक्षा फौजको निरन्तर निगरानी थियो। उता इष्टमित्रहरू तरक-तरक गर्थे। उनीहरूलाई पीर थियो। माओवादीको परिवारलाई सहयोग गरेको निहुँमा परिन्छ कि भन्ने। के गर्ने, उनीहरूले पनि आफूलाई माया त गर्नै पर्यो। नत्र आफ्नो ज्यानलाई त्यसैको नाममा अर्पण गर्न पर्थ्यो।
सजाय भुक्तान गरेपछि मैले बा भेट्न पाउँछु होला जस्तो लागेको थियो। तर त्यो क्षणिक कल्पना बाहेक अरु केही हुन सक्दैनथ्यो। आफ्नो वरपरको वातावरणलाई आफैं नियाल्न सक्ने अब म भइसकेकी थिएँ। समाजको सामन्ती सामाजिक संरचनामा परिवर्तन ल्याउनका खातिर मेरा बा लडेका थिए। मलाई थाङ्नामा छाडेर हिँड्नुको कारण बारे थोरै थाहा हुन थालेको थियो।
हामीले ती दिनहरू बिताउन बाध्य थियौं, जुन दिनहरू तहसनहस खालका हुन्थे। के गर्ने, दिनपछि फेरि रात आइ छाड्थ्यो। सधैं डर र त्रासको धरापभित्र बसी ती रातहरू बितेका हुन्थे। चारैतिर अन्धकारै अन्धकार छाएको हुन्थ्यो।
हामीलाई ती दिनहरू त रात नै भएका थिए। रातको त कुरा गर्दै नगरौं। त्यही समयमा एउटा खुसीको खबर दौडिँदै आइपुग्यो। आन्दोलनलाई मजबुत गराउने क्रममा जेल पुगेका मेरा बा, जेल सजाय भुक्तान गरी बाहिर आए अरे! अहिलेसम्म सुरक्षित छन् मेरा हराएका बा।
अब बा हराएका होइनन्, जस्तो लाग्यो। थोरै भए पनि मनोबल बढ्न थाल्यो। तर बाहिर निस्कने वित्तिकै समाएर वेपत्ता पारेका घटना पनि ताजा-ताजा आइरहन्थे। के होला अब? आशै मार्न मन लागेन। थोरै भए पनि आश गर्न मन लाग्यो। बालाई भेट्ने दिन गन्न फेरि सुरु गरें।
अब बालाई छिट्टै भेट्न पाइन्छ कि भन्ने लाग्यो। तर त्यो सास छन्जेल आश हुन्छ भनेजस्तै थियो। बा छन् भन्ने थियो तर साथमा थिएनन्। सधैं हराइरहेका थिए। हराएका मान्छेलाई सजिलै भेट्न कहाँ पाइन्छ र?
सार्वजनिक जीवनमा आउन मेरा बा सक्दैनथे। उनी माओवादी थिए। किनकि उनले आफूलाई जेलभित्र पनि माओवादी आन्दोलनको मुख्य हिस्सामा नै केन्द्रित गरेका थिए। आफूले जग हालेको पार्टी आन्दोलनको लागि आफूलाई समर्पित गरेका थिए।
त्यो समयमा आन्दोलनलाई धोका दिने। आफ्नै साथीहरूको नाम दिएर आफू सुरक्षित हुने पनि थुप्रै थिए। मेरा बाले त्यस्तो काम गर्न सकेनन्। उनको त्याग र समर्पण कुनै ऐयासीको जीवन बिताउन थिएन। उनी मर्न सक्थे। तर आफू हिँडेको बाटोमाथि नै गद्दारी काम भने गर्न सक्दैनथे। यसको प्रमाण बाले दिइरहन्थे होलान्। त्यही भएर तत्कालीन सुरक्षाकर्मीको घेराले हामीलाई छोड्दैनथ्यो।
समाजलाई रुपान्तरण गर्न अभिन्न भूमिका निर्वाह गरेका मेरा बा, मैले पत्तो नै नपाई पार्टी सम्पर्कमा पुगेछन्। तत्कालीन परिस्थिति नै त्यस्तो थियो। चाहेर पनि हाम्रो भेट हुन सहज थिएन। मेरो बासगँ भेट हुन्छ कि भन्ने सपना फेरि पर सर्यो।
तर त्यो समयमा धेरैले आफ्ना बा गुमाएका खबर उत्तिकै बढिरहेका थिए। कोही आमाबाबु दुवै गुमाएर टुहुरा बनिरहेका थिए। कोही जीवनसाथी विहीन बनेका थिए। को कहाँ कति बेला मर्छ भन्ने थाहा थिएन। कुनै व्यक्ति हराए पनि खोजी सम्भव थिएन।
युद्ध कालको त्यो समयमा मृत्यु वरण भएका कुरा सामान्य जस्ता थिए। कति व्यक्तिले मृत्युलाई सहजै स्वीकार गरेका थिए। कतिले जबरजस्ती स्वीकार्नु पर्थ्यो। व्यक्ति हराउनु र डराउनु त केही पनि होइन जस्तो थियो।
त्यसकारण मेरो पीर मैले मेरा बालाई राम्रोसँग बा भन्न पाउँदिनँ भन्ने थियो। किनकि मैले मेरा साथीहरूको अवस्था देखेकी थिएँ। सुनेकी थिएँ। उनीहरूको हातबाट आफ्नाहरूको साथबाट छुटेको थियो। त्यो दर्दनाक अवस्थाको साक्षी बन्नुपरेको थियो। ती चित्कारका आवाजहरू कान वरिपरि घुमिरहेका थिए। मृत्यु र भिडन्तको सिकार हुनु मानिसको दैनिकी जस्तै अगाडि बढेको थियो।
मानिस युद्धबाट यति धेरै आत्तिएका थिए कि जे जसरी हुन्छ, यो अवस्थाबाट मुक्त हुन चाहन्थे। आफ्नै भाइ-छोराका अलपत्र परेका लासले आफैं जिउँदो लास बन्नु परेको थियो। यो क्रम यसरी बढेको थियो। घटना सुन्ने मान्छे पनि सुनेपछि ढल्न सक्थ्यो।
अति भएपछि एकदिन शान्ति त आउन जरुरी नै थियो। त्यो एकदिन आखिर आइछाड्यो। सरकार र विद्रोही पक्षबीच शान्ति सम्झौता भयो। दुवै पक्षले आफ्ना आफ्ना हतियार बिसाए।
त्यसपछि उमेरको झन्डै बीस वर्षको नजिक पुगेर मैले मेरा बालाई भेटें। तर मेरा बाले मलाई चिन्दैन थिए। मैले मेरा बालाई चिन्दिन थिएँ। हामी दुईबीचको विशेष परिचय त्यो पनि बाउ-छोरीको रुपमा बल्ल भयो। आमाले रुँदै-रुँदै चिनाएकी थिइन्।
मैले मेरा बालाई प्रत्यक्ष भेट्न आफूलाई २० वर्षको उमेरमा पुर्याउनु पर्यो। मेरो प्रतीक्षाको घडी यहाँ आएर समाप्त भयो। मैले मेरा हराएका बालाई जिउँदै पाएँ। कतिले बा-आमा दुवै पाएनन्। कतिले अपांग बाबु-आमा पाए। कतिका त अहिलेसम्म पनि बेपत्ताको सूचीमा लामबद्ध भएर बसेका छन्।
मैले त बीस वर्षपछि भए पनि आफ्ना बालाई पाएँ तर तिनीहरू जसले न बा भेटे, न आमालाई भेट्न सके। न आफन्तको साथ नै पाउन सके, कस्ता अवस्थामा होलान् अहिले उनीहरू? आफ्नाहरूले रणमैदानमा ज्यान गुमाएर प्राप्त गरेको उपलब्धिमा के उनीहरू सुखी र खुसी होलान्?
आजभोलि यी वास्तविक घटनाहरू झिसमिस बन्न पुगेका छन्। एकादेशका कथा जस्ता बनेका छन्। आफ्नो उमेरको उर्वर समय राज्यको नाममा अर्पिनेहरू आज कता हराएका छन्। आफ्नै देशको गलत प्रवृतिको अन्त्य गर्न आन्दोलनमा होमिएकाहरू, परिवारको आर्थिक भरण पोषण गर्न विदेशिनु परेको छ।
खाडी मुलकुका उपलब्धिहरूमा उनीहरूको उपस्थिति बढेको छ। कमसेकम सकुशल फर्कनेहरू त परिवारको आर्थिक सुरक्षाको लागि विदेश पुगे। टुहुराहरूको हाल के होला? अपाङ्ता भएकाहरूको अवस्था कस्तो होला? बेपत्ताहरूको टुङ्गो कहिले लाग्ला?
उनीहरूको त्याग, समर्पण र बलिदानीको उपहास यदाकदा राज्यमा घट्ने घटनाले गरिरहेको छ। पछिल्लो घटनाक्रम भुटानी शरणार्थी काण्ड हो। जनताको शान्ति, सुरक्षा र अमन चयनको लागि जनयुद्ध लडेको व्यक्ति समेतबाट यस्तो घटना घट्दा। मिटर ब्याज पीडितहरूले सडकमा आएर न्यायको माग गर्दा। दिनानुदिन महिला हिंसा र बलात्कारका घटना बढ्दा। ती सभ्य शब्दहरू समेटेर बनाएको संविधानको निर्जीव किताबले पनि लाज मान्छ कि जस्तो लाग्न थालेको छ।
व्यवस्थालाई बदलेर सत्तामा पुगेकाहरूले आफ्नो अवस्थालाई बदलेको देख्दा कठै! मेरा बा र उनका सहकर्मीहरूको जीवन गाथा लेख्ने मसी यो बजारले के उत्पादन गर्ला? उनीहरूलाई लेख्ने मसी र उनीहरूलाई हेर्ने कसी दुवैमा सम्मानित भाव वर्तमान समयमा हराइरहेको छ।
यो पनि
मेरा हराएका बा!