अस्ति भर्खर जस्तो लाग्छ सरकारी सेवामा प्रवेश गरेको।
ऊर्जावान युवा जोसका साथ सेवा प्रवेश गरेको म सुरूसुरूमा कार्यालयमा हुने बेथिति, विसंगति, भ्रष्टाचार र काममा हुने ढिलासुस्तीको बारेमा निकै आवाज उठाउँथें।
तर, ती आवाज उनीहरूकै आवाजमा मिल्न गएको पत्तै पाउन छोडेछु। यसो ब्युझँदा त कागको बीचमा बकुल्लोजस्तो भएर पो बसेको रहेछु। किनकी मित्रता समान वर्गमा हुँदो रहेछ। जड्याहाले कहिल्यै पुजारीसँग मित्रता गर्दैन। न त पुजारीले जड्याहासँग नै।
एकदिन बिहान कफी पिउँदै गर्दा एक जना सहकर्मी मित्र मन्थरजीले सोध्नुभयो- सर हजुरले जागिर खानुभएको पनि ८/९ वर्ष भयो। तपाईं पहिला पहिला अफिसमा भएका गलत आचरण, गलत प्रवृत्ति, अन्याय र भ्रष्टाचारविरुद्ध खरो रूपमा प्रस्तुत हुनुहुन्थ्यो तर पछिल्लो चरणमा हजुर मौन बस्नुहुन्छ। कुनै पनि विषयमा बोल्नुहुन्न। शान्त रहनुहुन्छ आफ्नो कामलाई मात्र ध्यान दिनुहुन्छ। अब तपाईं भ्रष्टाचारविरूद्ध बोल्न छोड्नु भएको हो?
होइन! भ्रष्टाचारीहरूविरूद्ध बोल्न उचित समय, स्थान, परिवेश र परिस्थिति नआउन्जेल भ्रष्टाचारविरूद्ध बोल्नु भनेको आफ्नो घाँटीमात्र दुखाउनु रहेछ। बोलेर यसको कुनै अर्थ पनि रहेनछ। हजुरले पनि मैले बारम्बार भ्रष्टाचारविरूद्ध निकालेका आवाज सुनिरहनु भएको थियो। ती आवाजबाट के सुधार देख्नुभयो त?
प्रत्येक व्यक्तिलाई भ्रष्टाचारविरूद्ध बोल्न कहीँ न कहीँ, केही न कसैले बन्धन बनाइरहेको हुँदो रहेछ। भ्रष्टाचारविरूद्ध बोल्ने ठाउँहरू हुन्छन्। सम्बन्धित निकायमा भनेर पनि कसैले सुनेन भने त्यसपछि बोल्नु भनेको आफ्नो मुखमात्र दुखाउनु हो। बोल्दैमा यदि भ्रष्टाचार रोकिने भए जनताहरू हेर्नु त कति बोलिरहेका छन्।
भ्रष्टाचारीहरूलाई कतिले सराप दिइराखेका छन्। खोइ त यसको प्रभाव? बारम्बार बोलेर कराएर मात्र फाइदा हुँदो रहेनछ। झगडा गर्नु मेरो उद्देश्य होइन। गलत प्रवृत्तिलाई मैले रोक्न सक्दिनँ भने बेकारमा संघर्ष किन गर्ने! मैले तिनीहरूविरूद्ध बोलूँ, जो उमेरमा पनि मेरा पितासरह छन्। पदमा पनि म भन्दा धेरै माथि छन्। अझ पढाइमा त मलाई पढेको मान्दै मान्दैनन् भने उनीहरूविरूद्ध के बोलूँ?
उनीहरू बरा लोभले यति पतन भइसकेका छन् कि, कसैले ५/१० रुपैयाँ भिख दियो भने पनि खिस्स हाँसेर गोजीतिर हाल्ने बानी परिसकेका छन्। कुनै काममा पैसा छ भने अरूको काम पनि आफैं गर्न तयार हुन्छन्, पैसा छैन भने आफ्नो काम पनि अरूलाई गर्न लगाउँछन्।
पैसाको लागि जे पनि गर्ने, जे पनि बोल्ने। देब्रे हातले कीर्ते गरेर खान समेत छोड्दैनन्। उनीहरू पैसाको लागि स्वयं आफैंलाई बेच्न पनि पछि पर्दैनन्।
पैसाको लागि जे पनि गर्ने व्यक्तिविरूद्ध बोल्दै हिँड्ने हो भने बाटोमा हिँड्दा पनि डराउन पर्ने अवस्था आउँदो रहेछ। त्यो त हजुरले देखिरहनु भएको छ।
जो व्यक्ति पैसा कमाउने उद्देश्य राखेर सेवा दिन थाल्छ। सरकारी सेवामा प्रवेश गर्छ या कुनै संघ संस्थामा छिर्छ भने उसको मन कदापि पवित्र हुन्न। उसको भाव पैसामा मात्र लिप्त रहेको हुन्छ। सेवाग्राहीले केही सोध्यो भने, उत्तर पनि पैसा मै दिन पाए हुन्थ्यो भन्ने चाहना राख्छ। जसले तलबलाई बोनस मानेर पैसा कमाउने महत्वकांक्षा राख्छ, उसले त पैसा खाने, भ्रष्टाचार गर्ने, बेइमान गर्ने अवसरहरू खोजिरहेको हुन्छ।
ऊबाट निरन्तर भ्रष्टाचार भइरहन्छ। पैसाले अन्धो भइसकेको व्यक्तिलाई भ्रष्टाचार गर्न हुन्न भन्दै हिँडू? पहिला नहिँडेको पनि होइन। तर अब हिँड्दिनँ।
एउटा उदाहरण त हजुरले देख्नु भएकै छ मन्थरजी।
'निर्वाचनले चुनावमा खटाउनको लागि कार्यालयमा कार्यरत कर्मचारीहरूको विवरण माग्दा अफिसमा हुँदै नभएका व्यक्तिलाई अफिसका कर्मचारी हुन् भनेर आफ्नो श्रीमतीको नाम राखेर कीर्ते कर्मचारी बनाएर पठाएको हजुरले बिर्सनुभयो? हस्ताक्षर चल्ने अधिकारीको योभन्दा निकृष्ट काम के हुन सक्छ। उसले आफूलाई त बेइमानमा बेच्यो बेच्यो, घरका सदस्यलाई समेत बेच्न छोडेन।
पैसाको लागि जे पनि गरेको मैले धेरै देखेको छु। बेइमानीहरूलाई गरूड पुराण बमोजिम सजाय नदिने हो भने, यो भ्रष्टाचार बढिरहन्छ।
जसले पैसालाई सबथोक होइन, यो आवश्यकता हो भन्ने ठान्छ उसले सेवा गर्छ। सेवा गरेपछि पैसा स्वतः आउँछ भन्ने उसलाई पूर्ण बोध हुन्छ। उसले कहिल्यै पनि पैसाको लागि काम गर्दैन। पैसा नभए पनि काम गर्छ। तर भ्रष्टाचारीले पैसालाई सबै चिज मानेको हुन्छ त्यही भएर ऊ कसैसँग पनि बेइमान गर्न पछि सर्दैन।
बेइमानलाई उसले कर्मचारीमा हुने गुण मान्छ। चोरलाई चोर भन्ने हो भने झगडा मात्र हुन्छ। बेइमानीलाई भिखारी भन्ने हो भने, कति स्पष्टीकरण दिन पर्छ कति। त्यो झन्झटमा पर्नु छैन। त्यही भएर बोल्दिनँ।'
मन्थरले मेरो कुरालाई ध्यान पूर्वक सुनिरहेका थिए। तर प्रश्न गर्न छोड्दैनन्।
‘तपाईंले तपाईंका वरिपरि भइरहेका भ्रष्टाचार, बेथिति र गलत कार्य प्रतिको विरूद्ध त संघर्ष गर्न छोड्नु भयो। तर, मैले त तपाईंमाथि पनि अन्याय भइरहेको देखिरहेको छु। आफूप्रति अन्याय हुँदा पनि तपाईं किन बोल्नुहुन्न? आफूमाथि भएको अन्यायविरूद्ध त बोल्नुपर्यो नि!’
‘तपाईंको प्रश्न पनि उचित छ। पहिला पहिला मलाई पनि त्यस्तै लाग्थ्यो। कसैमाथि अन्याय हुँदा चुप लागेर बसेको देख्दा कस्तो मान्छे होला। म भए त त्यहीको त्यही झापड लगाइदिन्थे जस्तो सोच आउथ्यो कतै कथा, फिल्महरूमा पनि त्यस्ता घटनाहरू देख्न र सुन्न पाइन्छ। तर सत्य त्यो होइन। शान्त रहनु नै जित रहेछ। अन्याय ममा मात्र भएको छैन। मजस्ता कैयौं छन् जसले अन्यायलाई सहेर बस्न सकेका पनि छैनन्, बोल्नुको पनि कुनै अर्थ छैन। उनीहरू बोल्छन् तर उनीहरूको आवाज दबाइन्छ। चाहे डर दिएर होस् कि धम्की दिएर होस्। खै तिनीहरूले के पाए?
उनीहरूलाई नि:शुल्कमा तनावबाहेक केही मिलेको छैन। आफूमाथि भएको अन्यायलाई दिन रात सम्झी सम्झी आँसु बगाउनु बाहेक केही रहेको छैन। मनमा अशान्त, पीडाबाहेक उनीहरूले के पाए! उनीहरूले आफ्नो शरीरलाई मानसिक तनावको पीडाबाहेक के दिइरहेका छन्? बिर्सन पनि सकिन्न, न्याय पनि मिल्दैन। के तिनीहरूले न्याय पाए? पाएनन् नि!
वास्तवमा बुझ्दै जाने हो भने उनीहरूले हामीमाथि अन्याय गरेका रहेनछन्। प्रतिशोध, अहंता र दुर्बुद्धिका कारणले आफूलाई नै पतन गराइरहेका रहेछन्।
उनीहरूको पतनको मार्गमा म किन सहभागी हुने! उनीहरूले गरेको कुकर्ममा म किन भागीदार बन्ने?
प्रत्येक व्यक्तिलाई अनुकूल र प्रतिकूल परिस्थिति आइरहन्छन्। ती अनुकूल र प्रतिकूल परिस्थितिलाई लाभ(हानी, सुख/दुख, जय पराजय मान्दै हिँड्ने हो भने, जीवनको वास्तविक सुख कहिल्यै पाउन सकिँदैन। अनुकूल परिस्थिति आए खुसी मनाउँदै हिँड्ने। प्रतिकूल परिस्थिति आए क्रोध, अशान्त र चिन्तित भएर दु:ख मनाउँदै हिँड्ने। परिस्थितिलाई कहिल्यै परिवर्तन गर्न सकिँदैन। ती परिस्थिति पछि झन भयानक बनेर आउँछन्। तर मनस्थितिलाई त परिवर्तन गर्न सकिन्छ। यी परिस्थितिहरूलाई किन सुख र दु:ख मान्ने।
सुख दु:ख त हामीले बाहिरी वस्तु वा व्यक्तिको माध्यमबाट प्राप्त गर्न खोजेका भ्रम मात्र रहेछन्। जसमा न सुख दिने शक्ति छ, न दुख दिने शक्ति नै।
अब भन्नुस् त मन्थरजी म केको लागि प्रतिरोध गरूँ? जसबाट मलाई लाभ होइन हानी नै हानी छ। म त्यो खोलाको बाढीमा अड्किएर बाढीलाई रोक्न खोज्ने रूख होइन, जसले बाढीलाई जति रोक्न खोजे पनि बाढीलाई रोक्न सक्दैन। तर उसको जीवन संघर्षमै बित्छ। बरू बाढी सँगसँगै बगेर जहाँ लान्छ त्यही जाने हो भने, जीवन जिउनुको मज्जा नै बेग्लै रहेछ।
त्यसकारण ममाथि अन्याय भए पनि मैले त्यसलाई अवसरको रूपमा या साधन सामग्रीको रूपमा प्रयोग गर्न खोजिरहेको छु। ममाथि कसैले कुनै अन्याय गर्यो के भयो त उसको बुद्धि र विवेकले जे देख्यो त्यही गर्यो। त्यसमा मैले बेकारमा प्रतिरोध किन गर्ने।
तपाईंमाथि पनि कसैले अन्याय गरेको छ र त्यहाँ प्रतिरोध गर्नुको कुनै अर्थ छैन भने धन्यवाद दिँदै जानुहोस्। उसलाई होइन। मन भित्रभित्रै कि आज उसले मलाई यति नीच दुर्व्यवहार गर्दा पनि म भित्र कुनै विकार पैदा भएन। ममा केही विकार आएनन् भन्ने भाव पनि केही समयसम्म रहन्छ, अनि त्यो पनि हराउँछ। यसको मतलब सधैंभरि ऊ स्वतन्त्र छ भन्ने पनि होइन।
समय आउँदा उसले आफूले गरेको कुकर्मको फल अवश्य पाउने छ। तर, उसँग झगडा गर्दै बस्दै गरेर कुनै अर्थ छैन। त्यसकारण अब म न कसैसँग बोल्नुको औचित्य देख्छु। न त सुदृढ मार्ग नै। बोल्छु त केवल स्वयं आफैं सँगमात्र बोल्छु। बाहिरी संसारलाई बोलेर म सुधार गर्न सक्दिनँ। जो इच्छुक र जिज्ञासु छ ऊसँग भने भावना साट्न कहिल्यै छाड्दिनँ।
(लेखक हाल लोक सेवा आयोग पोखरा कार्यालयमा कार्यरत छन्।)