यदि विश्वविद्यालयमा प्रमुख विषय रोजेर अध्ययन गरेकालाई मात्रै विद्यार्थीको परिभाषामा समेट्ने हो भने म भाषाकी विद्यार्थी होइन। त्यसैले भाषाको बारेमा केही लेख्ने दुस्साहस गर्नु हुँदैन थियो मैले। तर, प्रयोग गरेको आधारमा भन्ने हो भने म हरेक दिन मेरो नेपाली भाषाका केही नयाँ शब्द सिकिरहेकी हुन्छु।
हाम्रो नेपाली भाषामा अझै कति धेरै विविधता होला, त्यो सबै सुन्न बुझ्न बाँकी नै छ। भाषा एकदमै संवेदनशील विषय भएको हुनाले कहीँकतै गलत लेख्न पुगेकी भएँ सुरुमै माफी माग्छु।
साझँको खाना बनाउने समय भएको थियो।
'म आज नरिवलको मिठाई बनाएर खुवाउँछु है हजुरलाई,’ अफिसबाट फर्किँदा ल्याएको नरिवल झोलाबाट निकाल्दै श्रीमानसँग भनेँ।
'त्यसो भए खाना म बनाउँछु,’ उहाँको जवाफ।
हस् भनेर म नरिवल कोर्न थालेँ।
केहीबेरमा उहाँले प्रश्न गर्नुभयो, 'तिमीलाई ऐनो चाहिन्छ?’
म अकमक्क परेँ।
'खाना बनाउने बेलामा ऐना किन चाहियो मलाई?’ मनमनै यस्तै केही सोच्दै थिएँ, केही नबोलेको देखेर फेरि सोध्नुभयो- 'तिमीलाई चुल्हो चाहिन्छ कि चाहिँदैन त्यो मिठाई बनाउनलाई?’
बल्ल कुरा बुझियो। मेरो जन्मगाउँ इलामको 'अँगेनो’ उहाँको जन्मगाउँ पर्वत पुग्दा छिटो बोलेर हो कि कसो 'अइनो’ बन्न पुग्दोरहेछ।
त्यस्तै अर्को एक दिन बिरामी हुनुहुन्छ रे भन्ने सुनेको आफन्तलाई फोन गर्नुभएपछि आफन्तको खबर श्रीमानसँग सोधेँ, 'ठूलोमम्मी अलि जाती हुनुभयो रे त?’
'जाती?’
यो शब्द उहाँका लागि नौलो थियो।
'अलि निको हुनुभयो रे?’ जवाफ पाउनुअघि फेरि प्रश्न बुझाउनुपर्यो।
अर्को कुनै दिन तरकारी किन्ने पालो श्रीमानज्यूको पर्यो।
किचनमा आउनुभएको थाहा पाएपछि कोठा भित्रबाटै अलि ठूलो स्वरमा सोधेँ, 'के ल्याउनुभयो तरकारी?’
जवाफ थियो- 'कबेली।’
सोचेँ, इलामको कोपी काठमाडौं आइपुग्दा बन्दागोभी भएको थियो, पर्वत पुग्दा त्यो पनि कबेली बन्दोरहेछ।
खाना बनाउनुपर्यो भनेर किचन छिर्दा मैले सोचेको 'कबेली’ त 'कोपी’ नभएर 'फर्सीको गट्टो’ पो निस्कियो।
अर्को छुटाउनै नहुने सम्झना। बिहे गरेर घर पुगेपछि भित्र्याउने बेलामा आमाहरू कसैले सोध्नुभएको थियो, 'अचँला खोइ?’
मैले सुरुमा त सारीको आँचल छामेँ, नबुझेर प्रश्नवाचक आँखाले नन्दको मुहारमा हेरेपछि उहाँले बुझाउनुभयो, 'लगनगाँठो के भाउजू।’
पहिलो पाइला नै नयाँ शब्द सिक्दै राखेको घरमा पछिल्लो पुस्ताका दाजुभाइ, दिदीबहिनीहरूसँग कुरा गर्न त सजिलै लाग्ने तर अघिल्लो पुस्ताका सासूससुरा साइनो लाग्ने अग्रजहरूका कुरा बुझ्न भने साह्रै कठिन।
बिहेको भोलिपल्ट थियो, आमाले अरु कोही नभएको कोठामा भन्नुभयो- 'मलाई काँसो लागेर नानी, आज कान्छाले डाक्टरकहाँ जाने भनेको छ।’
मैले बुझिनँ, त्यो काँसो कहाँ लाग्छ। बुझाइदिनलाई कोठामा त्यसबेला अरु कोही थिएनन्। भर्खर भित्रिएकी नयाँ दुलही, अग्रजलाई प्रतिप्रश्न गर्न पनि धक लाग्नेरहेछ।
मंसिरको मौसम, चिसै थियो। अन्दाज गरेर भनेँ, 'त्यही त नि आमा, चिसो छ त्यसैले होला।’
पछि भाइबहिनीहरूलाई सोधेपछि थाहा भयो, घाँटीमा कफ जमेर खोकी लागेको भन्नुभएको रहेछ आमाले।
अन्धाधुन्ध दिएको जवाफ मिलेकै रहेछ भनेर खुसी भएँ।
भाषाकै कारण यस्ता रमाइला घटना हरेक दिन भोगिरहेका हुन्छौं हामी।
कुनै दिन श्रीमानले माया गरेर एक कप चिया बनाएर दिन खोज्नुभएको हुन्छ। ए साँच्चै, उहाँको भाषामा माया गरिँदैन। मँया मानिन्छ।
म चियाको कुरा गर्दै थिएँ। श्रीमानले 'मयाँ मानेर’ चिया बनाइदिन खोज्नुहुन्छ। ठ्याक्कै त्यहीबेला भान्सामा चिनी सकिएको हुन्छ।
मलाई रमाइलो महसुस गराउँदै, उहाँ सोध्नुहुन्छ- ' चिनी भ्याइएको हो?’
म मुस्कुराउँदै जवाफ दिन्छु, 'ए चिनी सक्किएछ, म ल्याइहाल्छु है।’
कतै निस्कने बेलामा पानी पर्न लाग्यो भने म भन्छु, 'पानी अलि रहेपछि जाने है।’
त्यही कुरा मेरो श्रीमानको भाषामा भन्नुपरे, 'पानी बिदो भएपछि जाउँला है।’
एकदिन मन्दिर गएका थियौँ। श्रीमानको हातमा पूजाको थाली थियो। फोटो खिच्नलाई मोबाइल निकाल्न लाग्दा थाली मलाई दिँदै भन्नुभयो, 'यो छोप त एकछिन।’
यो शब्द भने एकपटकमै बुझेँ र पूजाको थाली समातेँ।
एकपटक यसै विषयमा एउटा भिडिओ बनाएर टिकटकमा अप्लोड गर्न मन लाग्यो। त्यस भिडिओमा आएका कमेन्टमध्ये एउटा कमेन्ट रमाइलो थियो, 'कुरा बुझ्न सानोतिनो आएल्ट्स नै गर्नुपर्ने रहेछ।’
हुन पनि मेरो जन्मगाउँको कोक्रो उहाँको जन्मथलो पुग्दा झोलुंगो/डाँडी बन्छ। गाईबस्तु डिँयाडायर हुन्छन्। स्कुस ईश्वरा हुन्छ। ओछ्यान बिस्तरा बन्छ। खाजा अर्नी हुन्छ। 'विचरा' शब्दको भाव 'बरा' मा खोज्नुपर्छ। यहाँबाट भन्नुपरे, 'ह्या..टी’ हुन्छ। थेगोमा 'हे..री’ प्रयोग गरिन्छ।
हुन त मानिसहरू विदेशी नागरिकसँग पनि विवाह गर्छन्। भाषा, संस्कृति, चालचलन सबै फरक पर्दा पनि एकाअर्कालाई बाँधेर राख्ने प्रेमको शक्तिले उनीहरू एकअर्कासँग घुलमिल हुन पुग्छन्।
तर आफ्नै अनुभूतिले यस्तो लाग्छ कि नेपाल भौगोलिक रुपले सानै देखिए पनि भाषा, लवज, चालचलनहरूले साँच्चिकै भरिपूर्ण रहेछ।
त्यसैले त विवाह गरेर आफ्नो जन्मथलोभन्दा थोरै टाढा पाइला राख्दा मात्रै पनि जिन्दगीले हरेक दिन नयाँ-नयाँ शब्द, लवज र चालचलन सिकाइरहेछ।
बुझाइमा केही मुस्किल भए पनि भाषा मायाको भएपछि त्यसै मिठो लाग्ने। प्रेमिल जीवनको रोमाञ्चक अनुभूतिलाई भाषाको फरकपनले हरेक दिन अझै रोमाञ्चक बनाइरहेको छ।
नत्र कहाँ सकिन्थ्यो होला र बच्चैदेखि सुनेको सम्झना, याद आदिजस्ता शब्दलाई चटक्कै बिर्सेर 'मलाई आज तिम्रो कस्तो असेट लाइछ’ शब्दमा गमक्क परेर मायापिरतीका अनेक सपना सजाउनलाई। त्यही सपनाभित्र आफ्नो जिन्दगीको औचित्य खोज्नलाई।