बंगलादेशको ध्वजावाहक ‘विमान’ को उडानबाट ढाका जान म गत फेब्रुअरी २४ का दिन निर्धारित समयअगावै विमानस्थल पुगेको थिएँ।
हवाई यात्राले मागेका सुरक्षा जाँच लगायतका काम गरेर उब्रेको समयमा केही लेख्न पल्केको भए पनि यस पटकको कार्यसूचि अलि भिन्न थियो।
मोरङको उर्लाबारी नगरपालिकाका मेयर र उपमेयर लगायत अन्य केही सहयात्रीहरू पहिलो पटक अन्तर्राष्ट्रिय उडानको अनुभव लिँदै हुनुहुन्थ्यो। म उहाँहरूको सारथिको भूमिकामा पनि थिएँ।
मेरो बेचैनी धेरै बेर रहन पाएन। सबैसँग फोन सम्पर्क भयो। निर्धारित समयमा सबैजना विमानस्थल आइपुग्नुभयो। एकएक गर्दै सबैको चेक इन पनि भयो।
हामी बंगलादेशको दक्षिणपूर्वी भूगोलमा अवस्थित खुलना सहरमा हुने एक सम्मेलनमा सहभागी हुन जाँदै थियौँ। सम्मेलनमा सहभागी हुने नेपाली २९ जना भए पनि ‘विमान’ को त्यो उडानमा १५ जना थियौँ।
नेपालबाट पूर्व जाँदा देब्रेतिर झ्यालको सिट लिएर हिमाल हेर्दै जाने रहर यसपटक पनि यथावत् थियो।
मेरो सम्पर्कमा आएजति सबै आमन्त्रितलाई बंगलादेशको काठमाडौंस्थित राजदूतावासबाट प्रवेशआज्ञा लिन आग्रह गरेको थिएँ।
ढाका विमानस्थलमा ‘अन अराइभल’ प्रवेशाज्ञा लिँदा पनि हुन्थ्यो तर म ढाकामा धेरै अलमल नहोस् भन्ने चाहन्थेँ।
यात्रामा काठमाडौं विश्वविद्यालयमा अध्ययनरत स्नातकोत्तर छात्रा रजनी न्यौपाने पनि थिइन्। बंगाली भाषा बोल्न जान्ने भएकाले मैले उनलाई विशेष जिम्मेवारी दिएको थिएँ।
हामीले दुईवटा साना बसमा जाने गरी कुरा मिलायौँ।
ढाकामा हाम्रो पहिलो गन्तव्य थियो नेपाली राजदूतावास। रजनीले राजदूतावास पुग्न लाग्ने सालाखाला समय र राजदूतावास रहेको ठाउँका बारेमा जानकारी लिइन्।
मैले तीन हप्ता अगावै राजदूतावासको वेबसाइटमा राखिएको ठेगानामा इमेल पठाएर पूर्वमन्त्री गणेश शाहको नेतृत्वमा ढाका आउन लागेको शिष्टमण्डलबारे जानकारी गराएको थिएँ।
राजदूत र अन्य कर्मचारीसँग भेटका लागि समय पनि मागेको थिएँ। नियोग उपप्रमुख ललिता सिलवालले मेरो इ–मेलको जवाफमा अनुरोध स्वीकार भएको जानकारी दिनुभएको थियो।
उहाँले मलाई ह्वाट्सएपमा फोन गरेर हाम्रो भ्रमणका केही व्यवस्थापकीय पक्षमा थप जानकारी लिनुभएको थियो। यसबाट म निकै उत्साहित भएको थिएँ।
कसैले मलाई सुनाएको थियो– ढाकाको नेपाली राजदूतावास नेपालको एक शान हो। यति भव्य र शालीन परिसर अन्यत्र सायदै होला।
म टोकियो, बैंकक र नयाँ दिल्लीका नेपाली राजदूतावासमा पनि पुगेको छु।
मेरो मष्तिष्कमा यसै अनुरूपको विम्ब बनेको थियो। कसैले सुनाएको ढाका सहरको नेपाली कूटनीतिक नियोगको वृत्तान्तले मेरो मन हौसिएको थियो।
नभन्दै सोचेको भन्दा निकै भव्य परिवेश देखा पर्यो। ललिताजीले हाम्रो स्वागत गर्नुभयो। पूर्वमन्त्री, मेयर र उपमेयरसहितको १५ जना अध्येताहरूको टोली राजदूतावासको सभाकक्ष प्रवेश गर्यो।
केही बेरमा राजदूत घनश्याम भण्डारी आउनुभयो। अन्य कर्मचारी पनि आए। सबै नेपाली। सबैको समान उद्देश्य नेपाल र नेपालीको उत्थान गर्ने।
अतिथि र स्वागतार्थीका बीच कुनै पर्खाल थिएन। आपसमा आदरभाव थियो। अपरिचयको बरफ निमेषभरमै पग्लियो।
परिचयपछि पूर्वमन्त्री गणेश शाह र राजदूतले सहभागीहरूलाई सम्बोधन गर्नुभयो।
नेपालले आफ्नो अर्थतन्त्र अझै मजबुत पार्न बंगलादेशसँग कसरी सहकार्य गर्न सक्छ? के निर्यात गर्न सक्छ? के आयात गर्न सक्छ? यातायात र पर्यटनमा कसरी थप विकास गर्न सकिन्छ?
यिनै प्रश्नहरूको सेरोफेरोमा छलफल केन्द्रित भयो।
हाम्रा झोलाझ्याम्टा साथमै थिए। खुलना जाने बस आरक्षण गरी राजदूतावासमै बोलायौँ र बेलुकी आठ बजे रवाना भयौँ।
एउटा गतिलो पूर्वाधारले कति फरक पार्छ भन्ने कुरा यसपटकको यात्रामा आफ्नै आँखाले देख्ने अवसर प्राप्त भएको थियो। प्रसंग हालसालै सञ्चालनमा आएको पद्मा पुलको हो।
म सन् २००९ देखि खुलनाको सम्मेलनमा सहभागी छु। हामी ढाकाबाट रात्रि बसमा खुलना जान्थ्यौँ। राति ९ बजे बस चढेपछि भोलिपल्ट बिहान ६ बजे पुगिन्थ्यो।
पद्मा नदीमा दुई घण्टाको पानीजहाज यात्रा पनि यसैमा जोडिन्थ्यो।
अहिले नयाँ पूर्वाधार बनेकोले यात्रा आधा घटेको थियो, चार घण्टामै खुलना पुगिन्थ्यो। हामी राति नै पुग्ने भयौँ। सार्वजनिक बसमा जाँदा अलपत्र पर्ने सम्भावनाले सिंगै बस आरक्षण गरेका थियौँ।
पद्मा पुलसम्मको सडक निकै उच्च गुणस्तरको रहेछ, बस सालाखाला सय किमि प्रतिघण्टा गुड्न सक्ने।
गणेशसरले भन्नुभयो– मलाई त अमेरिकाको सडकमा गुडेको भान भएको छ।
बंगलादेशमै अमेरिकी सडक अनुभव हुनु रमाइलो कुरा थियो।
बंगलादेशको इतिहासमा चुनौतीपूर्ण र बृहत् संरचनाको रूपमा चिनिएको ‘पद्मा बहुउद्देश्यीय परियोजना’ ले सतहमा गुड्ने सवारीसाधन र रेलका लागि दुई तले संरचना निर्माण गरेको रहेछ।
करिब साढे चार खर्ब नेपाली रुपैयाँ बराबरको लागतमा सम्पन्न भएको उक्त परियोजना पूरा हुन ६ वर्ष लागेको थियो।
परियोजनाबाट बंगलादेशको कुल ग्राहस्थ उत्पादनमा सवा एक प्रतिशतले वृद्धि हुने अनुमान रहेछ।
विगतमा मैले पद्मा नदी फेरी–जहाजमार्फत दुई घण्टामा तरेको थिएँ। यसपटक गाडीबाट चार मिनेटमा तर्न पाउँदा अलौकिक आनन्द अनुभूति भयो।
सिभिल इन्जिनियरिङ पृष्ठभूमिको भएर पनि होला म धेरै पुलकित भएँ।
पन्ध्र जनाको हाम्रो टोली दुई समूहमा बाँडिएर लगभग १२ किलोमिटर दूरीमा रहेका दुई अतिथि गृहमा जानुपर्ने थियो।
सवारी चालकसँग राम्ररी संवाद हुन सकेन। उनले हामीलाई सिधै खुलना विश्वविद्यालय पुर्याए।
त्यहाँ पुग्दा पूर्वाह्नको साढे एक बजेको थियो। हामी ६ जना पुरुष विश्वविद्यालयको अतिथि गृहमा बस्यौँ। गणेशसर र महिला वर्ग सम्मेलन स्थलको अतिथि गृह गयो।
त्यो टोली भने दुई घण्टा अलमलमा परेछ।
विश्वविद्यालयको अतिथि गृहमा आफू विद्यार्थी हुँदाको छात्रावासको स्मरण भयो। भिडभाड र फुक्काफाल परिवेश, व्यवस्थित चमेनागृह अनि व्यायाम र खेलकुदका उत्कृष्ट संरचना।
दुई रातको लागि हामी छात्रावासमा बसेका छात्रजस्तै भयौँ।
आयोजकले हाम्रो टोली लिन बिहान आठ बजे बस पठाइदिए। बसमा पनि हामी सबै विश्वविद्यालयका विद्यार्थीजस्ता भयौँ। मैले भारतमा स्नातक पढ्दा कलेजको बस चढेर आउजाउ गरेका केही रोचक प्रसंगहरू सुनाएँ।
सम्मेलनमा नौ वटा देशका प्रतिनिधिहरूको सहभागिता थियो। उद्घाटन सत्रमा हाम्रा पूर्वमन्त्री गणेश शाहलाई आयोजकले मञ्चमा आसन गराए।
वहाँले आफ्नो मन्तव्यमा सामान्य लाग्ने रोचक कुरा भन्नुभयो– ‘नो वेस्ट’ को दुई वटा अर्थ लाग्छ, एउटा ‘थाहा छ’ भन्ने र अर्को ‘फोहोर चाहिँदैन’ भन्ने।
ठोस फोहोरमैला व्यवस्थापन सबैको सरोकारको विषय हो। फोहोरमैला वर्गीकरण र विसर्जनका सवालहरू सम्बोधन गर्ने प्रक्रियाको प्रस्थानबिन्दु हो फोहोरमैलाका विशेषताहरूको पहिचान।
यस अर्थमा गणेशसरको उक्त कुरा सम्मेलनभरि चर्चामा रह्यो। इटलीका प्राध्यापक राफेलो कोसुले पनि यसबारे चर्चा गरे।
सम्मेलनमा विभिन्न विषयमा कार्यपत्रहरू प्रस्तुत गरिए। मैले मूलसत्रमा एक कार्यपत्र प्रस्तुत गरेँ।
म फोहोरमैला व्यवस्थापन र शौचालय प्रयोगसँग जोडिएका चलनचल्तीका आचरण कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित थिएँ।
मेरो प्रस्तुति हास्यप्रधान ठहरियो। सभाकक्षमा धेरै पटक सहभागीको हाँसो गुन्जियो।
हाम्रो समूहका अन्य केही सहभागीको पनि आआफ्नो प्रस्तुति थियो।
मैले एउटा प्राविधिक सत्रको अध्यक्षता पनि गरेँ। कार्यक्रमको समापनसत्रमा उर्लाबारीका मेयर गंगाप्रसाद खरेलले सभालाई सम्बोधन गर्नुभयो।
दोस्रो तथा अन्तिम दिनको कार्यक्रम सकेर हामी उही मार्गबाट ढाका फर्कियौँ। भोलिपल्ट बंगालको खाडी वरिपरका मुलुकहरूको संगठन ‘विमस्टेक’ को मुख्यालयमा भेटघाटको कार्यक्रम थियो।
सवारीसाधनको अत्यधिक चापले ढाकामा सडक छिचोल्ने समय अनुमान गर्नै सकिन्न। यसकारण हामीले हाम्रो गन्तव्य नजिकैको होटेलमा बस्ने योजना बनाएका थियौँ।
विमस्टेकका नेपाल प्रतिनिधि किरण शाक्यले सदस्य सचिवसँगको बैठक सहजीकरण गर्नुभयो। हामीले द्विपक्षीय हितका विभिन्न विषयमा छलफल गर्यौँ।
विमस्टेकमा आबद्ध सात वटा मुलुकमध्ये हाल नेपालको जिम्मामा ‘जनतादेखि जनतासम्म’ भन्ने सोचसँग सम्बन्धित विषयको पैरवी गर्ने कार्य परेको छ।
यसमा ‘नेपाल विकास अनुसन्धान प्रतिष्ठान’ को पनि भूमिका हुने निचोड निकाल्यौँ।
हाम्रो दोस्रो बैठक बंगलादेशको विश्वविद्यालय अनुदान आयोगमा थियो। त्यहाँ हामीले नेपाल र बंगलादेशले गर्न सक्ने सहकार्यका विषयमा छलफल गर्यौँ।
कपडा र छालाका उत्पादन, पद्मा बहुउदेश्यीय परियोजना जस्ता बृहत् पूर्वाधार संरचना निर्माण आदि विषयमा बंगलादेशको ज्ञान र अनुभव नेपाल भित्र्याउन सकिने सम्भावनाका बारेमा छलफल गर्यौँ।
नेपालबाट निर्यात गर्न सकिने दूग्धउत्पादन, पर्यटन, अतिथिसत्कार र ढुंगागिट्टी जस्ता निर्माण सामाग्री उत्पादनसँग जोडिएका शैक्षिक कार्यक्रममा बंगलादेशका विश्वविद्यालयसँग सहकार्य हुन सक्ने कुरा पनि उठ्यो।
ढाकामा हाम्रो अन्तिम औपचारिक बैठक ‘नेपाल विकास अनुसन्धान प्रतिष्ठान’ को समकक्षी ‘सेन्टर फर पोलिसी डायलग’ सँग थियो। त्यस संस्थाका अध्यक्ष लगायत विशिष्ट पदाधिकारीले हाम्रो स्वागत गरे।
विविध विषयमा छलफल गरेर साँझ पाँच बजे बजारतिर निस्कियौँ।
ढाकाका लागि उडेको पाँचौँ दिन काठमाडौं फर्कने टिकट थियो।
विमानस्थलमा केही उपहार किनेर बचेको टाकाले डलर साट्दा भने एक अनौठो प्रसंग सिर्जना भयो।
मैले २६५ अमेरिकी डलर किन्ने विचार गरेँ। सटही केन्द्रका कर्मचारीले डलर नभएको बताए। अर्का सेवा प्रदायकले पनि त्यसै भने।
केही नलागेर मैले १० अमेरिकी डलर र १५० सिंगापुर डलरले चित्त बुझाएँ। बाँकी टाका नै फिर्ता ल्याएँ। मेरो लगभग तीन दशकको विदेश यात्रामा यो अनौठो घटना थियो। घरमा आएर सुनाएँ।
अर्थशास्त्री पुत्र महोदयले भन्यो– दक्षिण एसियामा स्थिर अर्थतन्त्र भएका मुलुकमा नेपाल र भारतमात्र पर्छन्। बंगलादेश लगायत अन्यमा अस्थिरताको संकेत देखिएको छ।
नेपाल फर्केपछि उर्लाबारी नगरका उपमेयर मिनाकुमारी खतिवडाले बंगलादेशको सम्मेलनको सिकाइ उपलव्धिको चर्चा गर्नुभयो।
उहाँले भन्नुभयो– नेपालका अध्येताहरू पनि विदेशका वैज्ञानिक र विज्ञकै तहमा विश्वमानचित्रमा आफूलाई उभ्याउन सक्ने रहेछन् भन्ने कुरा मैले आफ्नै आँखाले देखेँ।
लेखक तथा पूर्वप्रशासक खगराज नेपालले चाहिँ बंगलादेश भ्रमणको वृत्तान्त सुनेर सोध्नुभयो– तपाईंको शिष्टमण्डलका सबै सदस्य नेपाल फर्किए त?
‘सबैजना फर्किए हजुर!’
मेरो सहज र सपाट उत्तर सुनेर वहाँले निचोड दिनुभयो– छोटो भ्रमणमा विदेश गएका सबै सदस्य स्वदेश फर्कनु भनेको सम्मेलन सहभागिताको सबैभन्दा ठूलो उपलव्धि हो।
स्वीकृति सूचक टाउको हल्लाउँदै मैले मनमनै आफैँलाई भनेँ– यो सफलताले सम्भवतः मुलुकलाई केही मिलिमिटर भए पनि उकालोतिर हिँडाएको छ।’