सडक सुरक्षामा सडक शब्दले पूर्वाधारलाई इंगित गर्छ भने सुरक्षा शब्दले मानवीय पक्षलाई जनाउँछ। सडक सुरक्षा भन्नाले सामान्यतया सडक संरचनालाई सडक प्रयोगकर्ताहरूका लागि सुरक्षित बनाउनु भनि बुझ्नुपर्छ।
नागरिक जनधनको क्षतीसँग सम्बन्ध राख्ने विषय भएकाले सडक सुरक्षाको महत्व विशिष्ट छ।
सडक सुरक्षा आजको २१ औं शताब्दीमा विश्वका हरेक व्यक्तिको दैनिक चासो र चुनौतीका रूपमा देखा पर्नुको मुख्य कारण तीव्र सहरीकरण, आम जनमानसको व्यस्त दैनिकी, अटोमोबाइल क्षेत्रको तीव्र विकास, विलासी साधन उपभोग गर्ने चाहना, जनघनत्व आदि हुन्।
आधारभुत मापदण्ड सहितको प्रविधियुक्त सडक पूर्वाधार एवं सचेत, जिम्मेवार र कुशल चालक तथा सचेत र जिम्मेवार पैदलयात्रुबाट मात्र सडक सुरक्षा बलियो बनाउन सकिन्छ।
यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकार, अनुदान तथा सम्झौता, एकीकृत सडक सुरक्षा योजना, बजेटको सुनिश्चितता, सम्बन्धित निकायहरूको गम्भीरता, सरोकारवाला निकायहरूबीच सुमधुर समन्वय र सहकार्य, सचेतना कार्यक्रम, लाइसेन्स प्रणालीमा सुधार, समयसापेक्ष सवारी सम्बन्धी नीति-नियमको व्यवस्था, सवारी सम्बन्धी नीति नियमको वैज्ञानिक प्रवर्तन कार्य आदिको समेत महत्वपूर्ण भूमिका हुन्छ।
यी आधारभूत विषयहरूलाई उपेक्षा गरी अन्य उपायबाट सडक सुरक्षा प्रत्याभूति हुनसक्छ भन्नु शात्विक भोजन, व्यायाम र मेडीकल उपचारलाई छोडी धामीझाक्रीबाट स्वस्थ हुन सकिन्छ भन्नु जस्तै हो। अर्थात्, सडकसँग सम्बन्धित इन्जिनियरिङ, टेक्नोलोजी र गैर-इन्जिनियरिङको एउटा सन्तुलित प्याकेजबाट मात्र सडक सुरक्षा प्रत्याभूति गर्न सकिन्छ।
काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण विषय चुनौती/समस्याका रूपमा देखा पर्नुका प्रमुख कारणहरूमा जनघनत्व, अनियन्त्रित सहरीकरण, एकीकृत सडक सुरक्षा योजना नहुनु, बढ्दो सवारी साधन, सडक प्रयोगकर्ताहरूको अत्याधिक चाप, कमजोर सडक पूर्वाधार, सडकमा ट्राफिक इन्जिनियरिङको अभाव, प्रविधिको न्यून प्रयोग, चालकहरूको कमजोर सवारी कौशल एवं सवारी सम्बन्धी अल्पज्ञान तथा लापरवाही, पैदलयात्रुहरूमा जिम्मेवारी र सडक सुरक्षा सम्बन्धी चेतनाको अभाव, सम्बन्धित निकायहरूमा गम्भीरताको अभाव, सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्यको अभाव, कमजोर लाइसेन्स प्रणाली, समय सापेक्ष नीति नियम तर्जुमा र लागु नहुनु, सवारी सम्बन्धी नीति नियमको प्रवर्तन कार्य अवैज्ञानिक हुनु आदि पर्दछन्।
काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन, सवारी सम्बन्धी नीति नियमको प्रवर्तन, सवारी दुर्घटना न्यूनीकरण आदि कार्यका लागि ट्राफिक प्रहरीको परिचालनमा बढी जोड दिएको पाइन्छ जबकी आधारभूत मापदण्ड सहितको सडक निर्माण गरी अधिकतम प्रविधिको उपयोग र सचेतना अभिवृद्धि गरी ट्राफिक प्रहरी बिना निर्वाध सवारी साधनको संचालनमा जोड दिनेतर्फ अग्रसर हुनुपर्ने देखिन्छ।
अहिलेकै अवस्थामा सहरीकरण हुँदै जाने, सवारी साधनको चाप एवं जनघनत्व बढ्दै जाने र अहिलेकै जस्तो सडक संरचना निर्माणमा भर पर्ने हो भने अबको केही वर्षमै ट्राफिक प्रहरीको परिचालनबाट मात्र काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण गर्छु/हुन्छ भन्नु मुर्ख्याइँ ठहरिन्छ।
तसर्थ, काठमाडौं उपत्यकामा दीर्घकालीन सडक सुरक्षा हासिल गर्न वैज्ञानिक सहरीकरण, व्यवस्थित/नियन्त्रित सवारी साधन, आधारभूत मापदण्ड सहितको प्रविधियुक्त सडक पूर्वाधार निर्माण, ट्राफिक प्रहरीलाई दक्ष एवं प्रविधियुक्त बनाउने र परिणाममूखी सचेतनाका कार्यक्रमहरू संचालन आदिमा बढि जोड दिनुपर्ने हुन्छ।
काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाहरू सामाजिक, धार्मिक, पारिवारिक, व्यवसायिक र आर्थिक दृष्टिकोणले एकआपसमा अन्योन्यास्रित/अन्तरसम्बन्धित छन्। एउटा जिल्लाको जामले अर्को जिल्लामा वा अर्को जिल्लाका बासिन्दाहरूलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा असर गरीरहेको हुन्छ।
राज्यले आफ्नो दायित्व निर्वाह गरेको सन्दर्भमा नागरिकहरूबाट पनि जिम्मेवारीको अपेक्षा राख्न सहज हुने हुँदा काठमाडौं उपत्यकामा सहज एवं दीर्घकालीन यातायात व्यवस्थापन तथा सवारी दुर्घटना र सोबाट हुने जनधनको क्षती न्यूनीकरण गरी सडक सुरक्षा प्रत्याभूतिका लागि र देशको राजधानी समेत रहेको काठमाडौं उपत्यकाको ‘सडक सुरक्षा’ लाई समग्र देशका लागि नमूनाको रूपमा प्रस्तुत गर्न सम्बन्धित निकायका विज्ञहरूको सहभागिता हुने गरी ‘काठमाडौं उपत्यका सडक सुरक्षा कार्यदल’ गठन गरी ‘काठमाडौं उपत्यका एकीकृत सडक सुरक्षा सम्बन्धी रणनीतिक कार्ययोजना’ बनाई कम्तीमा पनि निम्न कार्यहरूको अविलम्ब र तीव्र गतिमा सुरूआत गर्नु जरूरी छ।
इन्जिनियरिङ (बलियो सडक पूर्वाधार तथा ट्राफिक इन्जिनियरिङ) तर्फ
- चक्रपथ विस्तारका बाँकी काम अविलम्ब सुचारू गर्न आवश्यक प्रकृया र पहल थाल्ने। आवश्यकताअनुसार फ्लाइओभर/अन्डरपास/ओभरहेड ब्रिजको निर्माण एकीकृत रूपमै गर्नेतर्फ अग्रसर हुने।
- विस्तार भैसकेको चक्रपथका आवश्यक स्थानहरूमा उपयुक्तताका आधारमा फ्लाइओभर/अन्डरपास/ ओभरहेड ब्रिजको निर्माण थाल्ने।
- आउटर रिङ्गरोडको तत्काल अध्ययन/योजना/निर्माणको कार्य थाल्ने।
- आवश्यक र संभावित ठाउँहरूमा व्यवस्थित सर्भिस लेन, कोरिडोर र पुलहरूको स्तरोन्नति/नयाँ निर्माणमा तीव्रता ल्याउने।
- सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गरी अव्यवस्थित ढल निकास व्यवस्थित गर्ने, बिजुलीका खम्बाहरूलाई व्यवस्थित र सुरक्षित ठाउँमा सार्ने, बिजुली, इन्टरनेट तथा केबलका तारहरूलाई व्यवस्थित गर्ने, खानेपानी पाइप लाइन मर्मत र नयाँ धारा जडानका कार्यहरू व्यवस्थित गर्ने। यी कार्यहरूबीच सामञ्जस्यता र तालमेल मिलाई कच्ची/पक्की सडकहरूमा सरोकारवाला निकायहरूले उचित ढलसहितको स्तरीय कालो पत्रेको काम थाल्ने।
- स्तरीय फुटपाथहरूको निर्माणलाई अगाडि बढाउने।
- हाल अवस्थित सम्पूर्ण पक्की सडकहरूमा रहेका खाल्डाखुल्डीहरू सडक विभागले अविलम्ब अभियानको रूपमा मर्मत गर्ने र सरोकारवाला निकायहरूले नापका आधारमा खर्च बेहोर्ने।
- सडकसँग सम्बन्धित जनगुनासो संकलन र तत्काल मर्मत गर्नका लागि प्राविधिक टोली सहितको संयन्त्र बनाउने।
- सडकका चोकहरूमा आवश्यकताअनुसार च्यानेलाइज कार्यहरूको उचित डिजाइन र निर्माण थाल्ने।
- सडकमा आवश्यकताअनुसार ट्राफिक साइनबोर्डहरूको व्यवस्था गर्ने।
- स्ट्यान्डर्ड मापदण्दअनुसार सडकमा लेन मार्किङ, जेब्रा क्रस, हाजार्ड मार्किङ गर्ने। (अति आवश्यकभन्दा बाहेकका ठूला ट्रक, टेंकर वा अन्य मालवाहक सवारी साधनहरूलाई काठमाडौं उपत्यकाको रिङरोड भित्र निषेध गरी सडक लेनको चौडाइलाई परिमार्जन गर्न सकिन्छ!)
- सडक/सडकको चोकमा पैदल यात्रु झर्न नमिल्ने गरी गार्ड रेलिङको व्यवस्था गरी चोकको नेक-नेकमा जेब्रा क्रस राखी बाटो काट्ने सुरक्षित व्यवस्था मिलाउने।
- आवश्यकताअनुसार सडक खण्ड र ट्राफिक आइल्याण्डहरूमा डिलाइनेटरको व्यवस्था गर्ने।
- प्रमुख सडकहरूमा आवश्यकताअनुसार क्र्याश ब्यारियरहरूको व्यवस्था गर्ने।
- पर्याप्त मात्रामा रोड फर्निचर र कन्भेक्स मिररहरूको व्यवस्था गर्ने।
- प्रमुख व्यस्त चोकहरूमा जेब्रा क्रसको सट्टा अशक्त र ह्विलचेयर प्रयोगकर्ताहरूका लागि उपयुक्त हुने क्रसिङको व्यवस्था गर्ने र बाँकी पैदल यात्रुहरूका लागि त्यसैको नजिक सिसिटिभी र बत्तीको उचित व्यवस्था सहितको सुरक्षित पोर्टेबल ओभरहेड ब्रिज निर्माण गरी बाटो काट्ने व्यवस्था मिलाउने। पोर्टेबल ओभरहेड ब्रिजको व्यस्तता र उपयोगिताका आधारमा पक्की ओभरहेड ब्रिजको निर्माण थाल्ने र पूरानोलाई अन्य आवश्यक ठाउँमा प्रयोग गर्ने। (चोकहरूमा पैदलयात्रु र सवारीसाधन बीचको द्वन्द्वमा न्यूनीकरण हुन गई जाममा सुधार आउने)
- सडकका प्रमुख चोकहरूमा प्रवेश भएको चालकलाई जानकारी दिन र सवारी साधनहरूको गति नियन्त्रित बनाउन आवश्यकताअनुसार रम्बल स्ट्रिप्सहरू राखि परीक्षण गर्ने।
- पिक एण्ड ड्रपको अवधारणा लागु गर्न उचित स्थानहरूमा सुरक्षित र मापदण्डसहितको बस स्टपहरूको निर्माण थाल्ने।
- चोकहरूमा यातायात व्यवस्थापन गर्ने ट्राफिक प्रहरीहरूका लागि सुरक्षित स्थानको व्यवस्था गर्ने।
- ठूला मालबाहक र सार्वजनिक सवारी साधनहरूका लागि आवश्यकताअनुसार रिङरोड बाहिर व्यवस्थित पार्किंङहरूको निर्माण गर्ने।
आधुनिक प्रविधितर्फ
- सम्पूर्ण प्रमुख सडकहरूमा पर्याप्त सडक बत्तीहरूको जडान गर्ने।
- काठमाडौंको चक्रपथ जोड्ने, चक्रपथ र चक्रपथ भित्रका सडकहरूको प्रमुख चोकहरूमा सेन्टर्ली कन्ट्रोल्ड वा ट्राफिक चापका आधारमा स्वचालित हुने टाइमरसहितको ट्राफिक बत्ती र सडक बत्ती जडान गर्ने। टाइमरसहितको ट्राफिक बत्तीको कारण गाडी रोकिएको अवस्थामा गाडी बन्द गर्ने बानी बस्ने, तेलको बचत हुने, वातावरण प्रदुषणमा समेत कमी आउनुका साथै चालक र पैदल यात्रुमा नआत्तिकन धैर्य गर्ने बानी बस्छ।
- चक्रपथ र चक्रपथभित्र हाल संचालनमा रहेका ट्राफिक बत्तीहरूलाई सोही स्थानमा प्रयोगमा ल्याउन नमिलेमा अन्यत्र आवश्यक ठाउँमा प्रयोगमा ल्याउने।
- सडक खण्ड र चोकहरूमा पर्याप्त संख्यामा सिसिटिभीको जडान गरी ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरूको चेकजाँच र नियन्त्रण कन्ट्रोल रूमबाट गर्ने व्यवस्था गर्ने। (प्रमाणिक आधारमा कारबाही गर्ने वैज्ञानिक प्रणाली लागु गर्न सहज हुने)
- तीव्र गतीमा सवारी साधन चलाउन सक्ने सडक खण्डमै गती मापन प्रविधिहरूसहितको संरचना निर्माण गर्ने र कन्ट्रोल रूमबाटै अनुगमन गर्ने व्यवस्था मिलाउने।
- काठमाडौं उपत्यका प्रवेश मार्गका उपयुक्त स्थानहरूमा सिसिटिभी आधारित इन्टेलिजेन्ट ट्राफिक प्रहरी चेक प्वाइन्टहरूको निर्माण थाल्ने।
- उपत्यका भित्रका प्रविधिसँग सम्बन्धित सम्पूर्ण मर्मत सम्भार कार्य र जनगुनासो संकलनका लागि प्राविधिक टोली सहितको संयन्त्र गठन गर्ने।
- उचित सफ्टवेयर निर्माण गरी ट्राफिक प्रहरीहरूलाई परिचालन गरी नेपाल प्रहरीले काठमाडौं उपत्यकाभित्र हुने दुर्धटना सम्बन्धी डेटा संकलन गर्ने।
- गैर-इन्जिनियरिङतर्फ
- सवारी चालक तथा पैदल यात्रु
- नयाँ सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने व्यक्तिहरुलाई (ट्रायलअघि वा सचाअप वितरण अगाडि) स.चा.अ.प. प्राप्त गर्नु भनेको राज्यले गरेको विश्वास वा थप जिम्मेवारी प्राप्त भएको हो भनि सवारी साधन चलाउँदा अपनाउनु पर्ने ड्राइभिङ जिम्मेवारी, ड्राइभिङ भाषा, ड्राइभिङ सीप र ड्राइभिङ सेन्स समेट्ने गरी व्यवहारिक एवं सैद्धान्तिक ज्ञान, दुर्घटनाबाट हुने क्षती सम्बन्धी ज्ञान, ट्राफिक नियम र सडक सुरक्षा सम्बन्धी ज्ञान दिने प्रशिक्षण कक्षाको सरकारी/निजी स्तरमा व्यवस्था गर्ने वा ट्रायल सेन्टरहरूलाई जिम्मा दिने।
- चालक तथा परिचालकहरुलाई चेतनामूलक प्रशिक्षण कार्यक्रम संचालन गर्ने।
- सार्वजनिक सवारी चालक तथा परिचालकहरूलाई समयमा अस्पताल पुर्याउँदा बाँच्न सकिने गम्भीर घाइतेहरूलाई आवश्यक पोस्ट-क्र्याश उपचार सम्बन्धी तालिम दिनुपर्ने।
- पैदल यात्रुहरु (शिक्षक/शिक्षिका/विद्यार्थी/सर्वसाधारण) का लागि सचेतना र जिम्मेवारीसहितको जनचेतनामूलक प्रशिक्षण कार्यक्रम संचालन गर्नुपर्ने।
- ट्राफिक प्रहरी
- ट्राफिक प्रहरीहरूबाट सवारी तथा यातायात व्यवस्था ऐन तथा अन्य प्रचलित कानुन बमोजिमका कसुरहरुको प्रभावकारी नियमन, नियन्त्रण र दुर्घटना अनुसन्धान गर्ने।
- सम्बन्धित एरियाको ट्राफिक इन्चार्जले आफू मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई खटिने स्थानको जानकारी, सडक प्रयोग कर्ताहरूसँग गर्नुपर्ने व्यवहार र दैनिक काम कारबाहीका सम्बन्धमा आवश्यक ब्रिफिङ गर्ने तथा सम्बन्धित एरियामा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण विषयमा आएका समस्या र सुझावहरूको संकलन गरी सम्बन्धित निकायमा समन्वय तथा पहल गर्ने।
- ट्राफिक प्रहरी कर्मचारीहरुलाई प्रविधियुक्त बनाउने।
- ट्राफिक प्रहरी कर्मचारीहरुलाई ट्राफिक तालिमका अतिरिक्त दुर्घटनाको वैज्ञानिक अनुसन्धान, प्रविधि, प्राथमिक उपचार, मानव अधिकार, हलुका सवारी साधन चलाउने, पोस्ट-क्र्याश उपचार आदिसँग सम्बन्धित समयानुकूल तालिमको आवश्यक व्यवस्था गरी दक्ष बनाउने।
नीति नियम
- लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन, ट्रक, टेंकर, टिपर आदि सवारी साधन चालकको लाइसेन्सका लागि उचित उमेरको व्यवस्था, साना वा मझौला सवारी साधन चलाएको अनुभवको उचित अवधि, विशेष ट्रायल परिक्षाको व्यवस्था गर्ने।
- मोटरसाइकल र स्कूटरको लाइसेन्स लिनका लागि हालको उमेर संशोधन गरी १७/१८ वर्ष पूरा वा ११/१२ कक्षा उतीर्ण बनाउनु उपयुक्त हुने। यसले दुर्घटनामा बढी जोखिम भएको र बढ्दो संख्यामा रहेको मोटरसाइकल र स्कुटरको आयात तथा चाप घट्नुका साथै स्कुलका विद्यार्थीहरूलाई सार्वजनिक सवारी साधनमा आकर्षित गर्न सकिन्छ।
- सवारी दुर्घटना गरी फरार हुने चालकहरूलाई तत्कालै पीडितको उपचार गराउनेतर्फ जवाफदेही हुने गरी कडा कारबाहीको व्यवस्था गर्ने।
- बढी भाडा लिने र भनेको ठाउँमा जान नचाहने सवारी चालकलाई जिम्मेवार हुने व्यवस्था गर्नुपर्ने।
- ध्वनि सम्बन्धी निश्चित मापदण्ड बनाई मापदण्डअनुसारको ध्वनि यन्त्र अनिवार्य जडान गर्नुपर्ने र सो मापदण्ड विपरीत ध्वनि यन्त्र जडान गरेका सवारी साधनलाई नियन्त्रण एवं उपयुक्त कारबाही गर्नुपर्ने।
- वर्षमा कम्तीमा दुई पटक आवधिक मर्मत गर्नुपर्ने नियम बनाउने। दसैंलाई लक्षित गरी एउटा आवधिक मर्मत गराउन सकेमा चाडपर्वमा हुने ठूला सवारी दुर्घटनामा कमी आउने।
- सवारी दुर्घटना नगर्ने चालकहरूलाई प्रोत्साहन स्वरूप सवारी करमा उचित छुटको व्यवस्था गर्ने।
विशेष व्यवस्था
उपत्यका भित्रका यात्रु ओसार्ने सार्वजनिक सवारी साधनहरूलाई एउटै छानामा ल्याई अनुभवी र प्रशिक्षित चालक तथा परिचालकहरूलाई निश्चित समय र पारिश्रमिक तोक्ने, यात्रुहरूलाई निश्चित दूरी र समयका लागि अग्रिम टिकट किन्न सहज बनाउने र टिकट चेकजाँचका लागि सहज प्रविधि प्रयोग गरी नियमित रूपमा सुरक्षित एवं आरामदायी सार्वजनिक सवारी साधन संचालन गर्न सकिएमा,
- चालकले जहाँ पायो त्यहीं यात्रु चढाउने र झार्ने समस्या समाधान हुने।
- यात्रुहरूले दोहोरो/महंगो शुल्क तिर्नुपर्ने समस्या समाधान हुने।
- यात्रुहरूले आवश्यकताअनुसार जुनै सवारी साधन चढ्दा एउटै टिकटले चढ्न पाउने।
- पिक एण्ड ड्रपका कारण यात्रुहरूले हतार गरी ओभरलोड हुने गरी झुण्डिएर यात्रा गर्नेमा नियन्त्रण हुने।
- यात्रुहरू सार्वजनिक सवारी साधनप्रति आकर्षित भई निजी सवारी साधनमा कमी आउने।
- मास ट्रान्पोर्टेसनको अवधारणा प्रभावकारी बनाउन सहज हुने।
निश्चित ठाउँहरूमा व्यवस्थित र सुरक्षित बस स्टपहरू बनाई यात्रुहरूलाई लाइनमा बस्ने र सवारी साधनहरूलाई पिक एण्ड ड्रपको अवधारणा कडाइका साथ लागु गर्ने।
नपा/मनपाहरूले भवनको नक्सा पास गर्न निश्चित सडक खण्डहरूमा एकनासको प्लिन्थ लेभल तोक्नुपर्ने (फुटपाथ निर्माणमा सहजता आउने)।
जग्गाको कित्ताकाट गर्दा दुइटा सडकको कुनामा पर्ने जग्गालाई सवारी साधन मोड्न सहज हुने गरी कित्ताकाट गर्नुपर्ने व्यवस्था र कित्ताकाट भैसकेका त्यस्ता जग्गाहरूमा नपा/मनपाहरूले भवनको नक्सा पास गर्दा सवारी साधन मोड्न सहज हुने व्यवस्थाका लागि मापदण्ड बनाई सुनिश्चित गर्नुपर्ने।
वान-वे गर्दा लामो दूरी यात्रा गर्न नपर्ने स्थानहरूको अध्ययन गरी दाहिनेतर्फ निषेध गर्न सकिने। (लामो दूरी यात्रा गर्न परेमा चालकहरू वान-वेमा छिर्ने, गम्भीर दुर्घटना बढ्ने, आयातित पेट्रोलियम पदार्थको खपट बढ्ने र वातावरण प्रदुषण बढ्ने हुन्छ)
ट्याक्सी चालकहरूका लागि निश्चित स्थानहरूमा मात्र पार्किङ तोक्ने। ट्याक्सीमा अनलाइन बुक र अनलाइन-पे व्यवस्था गरी भनेको स्थानमा नजाने र यात्रुहरूसँग मिटरमा उठेको भन्दा बढी भाडा लिने चालकहरूलाई कारबाही गर्न सजिलो हुने।
पार्किङको सुनिश्चितता नभएका भवनहरूमा बैंक वा अन्य सरकारी तथा व्यवसायिक संस्थाहरू संचालन गर्न नदिने।
स्कुल बस, पानी टेंकर, फोहोर संकलन गर्ने, निर्माण सामाग्री ओसार्ने जस्ता ढुवानीका सवारी साधनहरूलाई उचित समय अवधि तोक्ने।
सडकको लेनअनुसार ओभर गतिका साथै मिनिमम/अन्डर गति समिति समेत तोकी पालना नगर्ने सवारी चालकहरूलाई कारबाही गर्ने।
उचित कारण बेगर सडकको चोकमा (जेब्रा क्रसिङभित्र) सवारी साधन रोकेमा कारबाही गर्नुपर्ने।
ट्राफिक सुरक्षामा असर पार्ने मापदण्ड विपरीतका होर्डिङ बोर्ड, डिजिटल बोर्ड आदि हटाउने।
सडकको छेउमा भएका विद्युतीय पोल वा रूखहरूमा रातिको समयमा लाइट सोस्ने/प्रतिकूल हुने रंगहरूको सट्टा निश्चित उचाइसम्म प्रष्ट देखिने उज्यालो पेन्ट/हाजार्ड मार्किङ गर्नुपर्ने।
फुटपाथमा पसल र निर्माण सामग्रीहरू राख्न निषेध गरी कारबाहीको दायरामा ल्याउनु पर्ने।
सडक वा फुटपाथ अतिक्रमण गरी बनाएका संरचनाहरू हटाउनु पर्ने।
व्यस्त चोकहरूमा सडक पेटीबाट नहिँड्ने पैदल यात्रुहरूलाई चेतनाको विकास गर्न र बानी पार्न प्रहरी र स्वयमसेवकहरूलाई संयुक्त अभियानको रूपमा निश्चित अवधिभर व्यापक प्रयोग गर्नुपर्ने।
स्वच्छ वातावरण
१. तोकिएको मापडण्द पूरा नगरिएका सवारी साधनहरूलाई निषेधित गर्ने।
२. आवधिक मर्मत सुधार नगरिएका तथा प्रदुषण चेकजाँच नगरेका/प्रदुषण फेल भएका सवारी साधनहरू चलाउने चालकहरूलाई कारबाही गर्ने कार्यमा तीव्रता ल्याउने।
३. उचित स्थान (सहरका प्रमुख नाकाहरू) मा सवारी साधनहरुका लागि वाशिङ सेन्टरको व्यवस्था गर्ने।
४. व्यवस्थित भेइकल फिटनेस सेन्टरहरूको दायरा बढाउने।
५. सडक खण्ड तथा चोकहरूको सरसफाईमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने।
६. हरित सहरका लागि आवश्यक वृक्षारोपन, रेखदेख र सडकका बोट विरूवाहरूको निश्चित समयमा छाँटकाट गर्ने।
७. अस्तव्यस्त समस्याको रुपमा रहेका टेलिफोन, इन्टरनेट र केवल सेवाका अनावश्यक तारहरुलाई हटाई आवश्यक तारहरुलाई व्यवस्थित बनाउनु पर्ने।
८. स्कुल, कलेज, अस्पतालजस्ता तोकिएका क्षेत्रहरू बाहेकका स्थानहरूमा हर्न निषेध गर्नुभन्दा अनावश्यक हर्न नबजाउन प्रेरित गरी अनावश्यक हर्न बजाउने चालकहरूलाई कारबाही गर्नुपर्ने।
पार्किङ
१. राति पार्किङको व्यवस्था सुनिश्चित गर्न नसक्ने व्यक्तिहरूलाई सवारी साधन खरिद गर्न अनुमती नदिने।
२. नपा/मनपाहरूले पूराना वस्तीहरू बाहेकको स्थानहरूमा भवनको नक्सा पासका लागि पार्किङ सम्बन्धी उचित मापदण्द तय गर्ने।
३. पार्किङको लागि उचित सार्वजनिक जग्गा/घरलाई अन्डरग्राउन्ड र मल्टिस्टोरी पार्किङ निर्माणका लागि प्रयोगमा ल्याउने। (खुला चौर, आकाशे पानीबाट जमिनमा पानी सिंचित गर्न छोड्नु पर्ने वा अन्य उचित प्रयोजनका लागि छोड्न पर्ने जग्गाहरू बाहेक)
४. निजी क्षेत्रबाट निजी जग्गामा व्यवसायिक रूपमा अन्डरग्राउन्ड र मल्टिस्टोरी पार्किङ बनाउन प्रोत्साहन गर्ने।
५. नक्सा पास गर्दा पार्किङको व्यवस्था गरेकोमा अन्यथा गरेको पाइएमा तत्काल कारबाही गर्नुपर्ने।
६. हाललाई पार्किङको राम्रो व्यवस्था नभएका पूराना वस्ती र व्यस्त सडकहरूमा व्यवस्थित रूपमा पार्किङ गर्ने प्रणाली लागु गर्ने।
निष्कर्ष
काठमाडौं उपत्यकामा सहज एवं दीर्घकालीन यातायात व्यवस्थापन तथा सवारी दुर्घटना र सोबाट हुने जनधनको क्षती न्यूनीकरण गरी सडक सुरक्षा प्रत्याभूतिका लागि सम्बन्धित निकायका विज्ञहरूको सहभागिता हुने गरी ‘काठमाडौं उपत्यका सडक सुरक्षा कार्यदल’ गठन र ‘काठमाडौं उपत्यका एकिकृत सडक सुरक्षा सम्बन्धी रणनीतिक कार्ययोजना’ अविलम्ब तयार पारी तत्काल कार्यान्वयनमा लग्नु अपरिहार्य छ।
(लेखक प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका ट्राफिक ईन्जिनियर हुन्।)