विक्रम सम्बत २०४२ साल साउन महिनामा दार्चुलाको विकट गाउँ रिठाचौपातामा मेरो जन्म भयो। घरको जेठो सन्तान, बुवाको उत्तराधिकारी भएर मैले जन्म लिँदा मेरो घरको आर्थिक अवस्था अत्यन्तै दयनीय थियो।
खान लाउन समेत अरूमा आश्रित हुनुपर्ने परिवारमा मेरो जन्मले खुसी त ल्यायो तर तनाव पनि पक्कै सिर्जना भयो होला। घरको आर्थिक अवस्था, परिवार संख्या थप हुनु, अचल सम्पत्ति शून्यजस्तै हुनु मेरो घरको पीडा त पक्कै थियो होला।
बुवा भारतमा काम गर्नुहुन्थ्यो। मेरो बाल्यकाल आमासँगै बित्यो। म प्राथमिक शिक्षा सकेर केही टाढा माध्यमिक शिक्षा अध्ययनका लागि गएँ। माध्यमिक शिक्षा अध्ययनको समय कठिन र चुनौती थियो।
एक त घरबाट करिब २ घण्टाको पैदल यात्रा गर्नुपर्ने, त्यसमा सशस्त्र युद्धले देश रूमलिएको अवस्था। देशमा हिंसात्मक घटनाहरू दिनानुदिन भइरहने, म टाढाको बाटो विद्यालय पढ्न जानुपर्थ्यो।
केही साथीहरू स्कुल नै जाँदैन थिए भने केही साथीहरू अभिभावकका साथ स्कुल जान्थे। मलाई भने एक्लै जानुपर्ने बाध्यता थियो। बुवा रोजगारीको सिलसिलामा भारत र घरको काममै व्यस्त हुने आमा। मेरो बाध्यता मैले सामना गर्नुपर्ने अवस्था थियो।
आमाको ध्यान घर नफर्कुन्जेलसम्म ममाथि हुन्थ्यो। रातो सर्ट र कालो पाइन्ट लगाएर जानुपर्ने बाध्यता त छँदै थियो। संस्कृत, नैतिक शिक्षाका किताबहरू फालेर अन्य पुस्तक बोक्नुपर्थ्यो।
गरिबीले च्यापेको मेरो परिवारमा रातो सर्ट अनिवार्य गर्दा समेत किन्न धौधौ परिरहेको बेला जेनतेन बुवाले भारतबाट पैसा पठाएर किनियो र स्कुल पहिरनको रुपमा लगाइयो।
मेरो माध्यमिक शिक्षा पढाइका बेला न त समयमा स्कुल नै चल्थ्यो न त समयमा पढाइ नै हुन्थ्यो। बिहान स्कुल खुल्दा २ घण्टा त युद्धका गीतहरू सुनेर बस्नुपर्ने र स्थानीय नेता/आन्दोलनकारीका भाषण सुनेर जेठको घाममा बस्नुपर्ने पीडा म अझै पनि स्मरण गर्छु।
विद्यालय शिक्षकको हातमा भन्दा पनि बाह्य हातमा बढी हुन थालिसकेको थियो। पढाइको अवस्था खस्किँदै थियो। शैक्षिक गुणस्तरमा कमी नआउने त कुरै थिएन। पठनपाठन चौपट भइसकेको थियो। जेनतेन मैले माध्यमिक शिक्षा पार गर्न केही महिना मात्रै बाँकी थियो।
चैत महिनामा मैले एसएलसी दिनु थियो। म एसएलसीको तयारीमा जुटिसकेको थिएँ। सशस्त्र युद्धका बीच मलाई एसएलसी पास गर्नु त्यति सहज भने थिएन। परीक्षा पनि जिल्ला सदरमुकाम गएर दिनुपर्ने अवस्था थियो जुन मेरो घरबाट ६/७ घण्टा पैदल बाटो हिँडेर त्यसपश्चात भारतको सिमाना हुँदै सदरमुकाम जानुपर्ने चुनौती थियो।
परीक्षा नजिकिए पनि आन्दोलन पक्षले बुझ्ने कुरै थिएन। कहिले अभियान भनेर बलाँच लग्थे त कहिले मार्मातिर लग्थे। अभियानको अवज्ञा गरे पनि कडा कारबाही हुने धम्की दिन्थे। त्यसको प्रतिवाद गर्न सक्ने ममा हिम्मत थिएन र जेजे भन्यो त्यही गरेर खाली समयमा अध्ययन गरेँ।
एसएलसी दिन म काकासँग सदरमुकाम जान बाटो लागेँ। काका पेसाले शिक्षक हुनुहुन्थ्यो। १० ठाउँमा इन्ट्री गरेर अनुमति पत्रसहित गेट पास लिनुपर्थ्यो। ठाउँ-ठाउँमा सेन्टी-पोस्ट भनेर स्थापना गरिएका थिए। प्रक्रिया पुर्याएर गए पनि सहज थिएन। ठाउँ-ठाउँमा तेरो बाउ के गर्छ, तेरो आमा के गर्छे, कति भाइ हो, दाइ के गर्छ, काकाकाकी के गर्छन् बता भनेर धम्कीपूर्ण शब्दहरू सुन्नुपर्थ्यो।
जेनतेन मैले सदरमुकाम खलंगा गएर २०५८ सालमा एसएलसी परीक्षा दिएँ। त्यसपछि केवल पर्खाइ नतिजाको थियो। त्रासपूर्ण वातावरणमा दिएको परीक्षाको कुनै भर थिएन। कक्षामा म अब्बल विद्यार्थीको रुपमा चिनिन्थेँ। कहिले कक्षा प्रथम त कहिले द्वितिय, तृतीय हुन्थेँ। त्यसमा एसएलसी परीक्षामा फेल भए रेकर्ड राम्रो रहने त कुरै थिएन।
असार/साउनमा नतिजा सार्वजनिक हुन्थ्यो। लामो पर्खाइपछि नतिजा सार्वजनिक पनि भयो। नतिजा जिल्लाभरि थोरै मात्रामा आयो भन्ने खबर सुनियो। नतिजा हेर्न अहिले जस्तो इन्टरनेट, टेलिफोन, मेसेज प्रणाली भएको भए त सहजै हुन्थ्यो।
नतिजा सार्वजनिक भएदेखि विद्यालय धाउँथेँ। विद्यालयबाट जवाफ आउँथ्यो- प्राप्त भएको छैन दुई/तीन दिनपछि मात्रै थाहा हुन्छ भन्ने।
म फेरि तीन दिनपछि विद्यालय गएँ। नतिजा राम्रै आएको रहेछ। ७/८ जना मात्रै पास भएकोमा दुई जनाको मात्रै प्रथम श्रेणीमा उत्तीर्ण भएको। त्यसमा म पनि प्रथम श्रेणीमा उत्तीर्ण विद्यार्थीमा पर्न सफल भएँ। त्यसपछि त ममा खुसीको सीमा नै रहेन।
खुसी हुँदै घर आउँदा मेरो भेट माओवादीका कार्यकर्तासँग भयो। कहाँबाट किन आएको भनी प्रश्न सोध्दा मैले मेरो बारेमा सबै बताएँ। त्यसपछि 'तँ अब ठूलो भइसकिस्, अब हाम्रो अभियानमा हिँड्नुपर्छ' भनेर मलाई अपहरण शैलीमा लगेँ र गोकुलेश्वर पुर्याए। घरमा रिजल्टको खुसीको खबर सुनाउने मेरो सपना त्यो दिनलाई अधुरै भयो।
घरमा आमालाई तनाव, कहाँ गयो भन्ने खबर पाउने त कुरै भएन। गोकुलेश्वर जाँदा मेरो भेट गाउँले काकासँग भएको थियो र उहाँले घरमा खबर सुनाउनुभएछ। केही मात्रामा जिउँदो छ भन्ने खबर त प्राप्त भयो तर अब के हुन्छ भन्ने मनमा पीरै पीर।
आमाले छोराप्रति गर्ने स्नेह त त्यतिखेर थाहा भयो मलाई। जताततै मृत्युको खबर मात्रै सुनिने त्यो समय सेना पक्ष र माओवादी पक्ष भिडन्त नै हुन्थ्यो। दर्जनौं माओवादी कार्यकर्ता मरे भने दर्जनौं सेना पक्षका शाही सेना मरे भन्ने खबरबाहेक अरु केही सुनिँदैनथ्यो। शाही सेना र लाल सेनाबीचको भिडन्तले घरपरिवारको मनमा पनि युद्ध नै हुन्थ्यो।
रिजल्ट सुनिएको दुई दिनपछि म घर आएँ र आमालाई सकुशल रहेको बताउँदै एसएलसीमा प्रथम श्रेणीमा पास भएको खबर सुनाएँ। घरमा खुसी छायो र दिपावली नै भयो। मिठामिठा खानेकुरा पकाउनुभयो आमाले। नजिकका छिमेकीहरूलाई समेत खुवाउनुभयो।
फलामे ढोका भनेर चिनिने एसएलसी त पास भइयो, अब पढाइको लागि कहाँ जाने भनेर परिवारमा बैठक नै बस्यो। प्लस-टु भर्ना हुनु अगावै बुवा पनि भारतबाट घर फर्किनुभयो। घरमा आमा, बुवा र काकाकाकीबीच सल्लाह भयो। शंकरपुर पस्तीमा रहेको क्याम्पसमा विज्ञान संकायमा भर्ना गराउने सहमति भयो।
म सोही क्याम्पसमा विज्ञान विषय लिएर पढाइ सुरु गरेँ। कोठा भाडामा बसेर पढ्नुपर्ने बाध्यता त छँदै थियो, रातदिन त्रासपूर्ण वातावरणमा पढ्नुपर्ने। कक्षा ११ जेनतेन पार गरियो।
त्यस बेलाका विद्यालयहरू राताम्य देखिन्थे। सबै रातो ड्रेसमा आउनुपर्ने बाध्यता जो थियो। राष्ट्रिय गीत लोप भइसकेको थियो। युद्धका गीतहरूमा प्रार्थना गरिन्थ्यो।
शंकरपुर पस्ती केवल माओवादीबाट प्रभावित मात्रै थिएन, त्यता नेपाली सेना (तत्कालीन शाही सेना) बाट पनि त्यतिकै प्रभावित क्षेत्र थियो। कहिलेकाहीँ त दोहोरो भिडन्त हुन्थ्यो।
सञ्चारको माध्यम केही थिएन। घरमा खबर दिनुपरे पनि चिठीको माध्यमबाट खबर आदानप्रदान गरिन्थ्यो। त्यतिखेर मेरो घरमा अन्य सदस्यहरू विस्तार भइसकेका थिए। स-साना भाइबहिनीहरू पनि त्रासपूर्ण वातावरणमा विद्यालय जान्थे।
घरको र पढाइको चिन्ताबीच मैले पढाइलाई निरन्तरता दिन चाहेको थिएँ। मेरो पढाइ पनि राम्रै चल्दै थियो भने मेरा भाइबहिनीहरूको भविष्यको लागि भए पनि मैले पढ्नुपर्ने नै थियो। घरमा भएको चरम गरिबी, भाइबहिनीको हेरचाह, लालनपोषण, रेखदेख नै ठूलो जिम्मेवारी थियो।
कक्षा ११ को परीक्षा दिएर १२ को पढाइ पनि सुरु गयो। कक्षा ११ मा राम्रै नतिजा आउने आशा थियो। १२ कक्षा सकेर म डाक्टर वा इन्जिनियर बन्ने सपना बोकिरहन्थेँ। मेरो त्यतिखेरको पढाइले पनि त्यही बन्ने सोच आउथ्यो तर घरको आर्थिक अवस्था देखेर पढ्न सकिँदैन होला भन्ने पनि लाग्थ्यो।
जेनतेन म छात्रवृत्तिमा भए पनि पढ्ने आँट गरिरहन्थेँ। तर मेरो कलेजमा एक यस्तो घटना घट्न पुग्यो जसले मेरो करिअर नै ध्वस्त बनायो।
माओवादीको समूह र शाही सेनाबीचको भिडन्त!
म त्यति परिपक्व पनि नभएको हुँ जस्तो लाग्छ। जब कलेज नजिकै मेरै आँखाले त्यो घटना देख्यो मलाई पढाइबाट बञ्चित गराइदियो। माओवादीको समूह र सेनाबीच गोली चल्यो, ५ जना सहिद भए।
गोली हानेर हत्या गरेको देखेर मैले आफूलाई सम्हाल्न सकिनँ। समय-समयमा आफूहरूलाई नि अभियान भनेर टाढा-टाढा लग्ने भएर आफूमाथि पनि यही घटना दोहोरिने पो हो कि भनेर म विद्यालय छोड्न बाध्य भएँ।
घरमा कुरा सुनायो भने चिन्ता लिन्छन् भनेर घरमा सुनाइएन। तर रेडियोबाट उक्त घटना सुनिसक्नुभएछ र आत्तिँदै मलाई लिन आउनुभयो। मैले पूर्ण रूपमा कलेज छोड्ने योजना बनाइसकेको थिएँ। मलाई पढाइबाट छुटाएर घरमा बसाउने योजना मेरा अभिभावकले पनि बनाइसक्नुभएको रहेछ।
म कोठा गरेर बसेका भाँडाकुँडा, लत्ताकपडा तथा कापीकलम समेत छोडेर घर आउन बाध्य भएँ। मेरो पढाइमा जब पूर्णविराम लाग्यो, मेरो करियर नै ध्वस्त हुन पुग्यो। मैले भारतमा गएर रोजगारी गर्ने योजना बनाएँ र उतै लागेँ। यसैबाट जेनतेन घर गुजारा चलाइरहेको छु।
जब शान्ति सम्झौता भयो, त्यसको केही वर्षपछि पढाइलाई निरन्तरता दिनुपर्छ भनेर योजना बनाएँ। त्यसपछि पढाइलाई निरन्तरता दिने प्रयास गरेँ। एक्लो जीवन वैवाहिक जीवनमा गाँसिएपछि र दुई सन्तान समेत भइसकेपछि सोचेजस्तो पढाइले निरन्तरता पाउन सकेको छैन।
अहिले भारतमा रोजगारीसँगै नेपालमा पढाइलाई निरन्तरता दिँदै हाल स्नातक तहमा पढिरहेको छु।
त्यसैले सम्झिन्छु विगतका दिन। अबको मेरो गन्तव्य के होला?