खाना अब केवल स्वादको कुरा मात्र नभई चेतनाको कुरा हो। दिनहुँ हाम्रो थालमा आउने खाना शरीरको इन्धन मात्र नभई समाज निर्माण गर्ने मौन माध्यम हो। हरेक दिन थरीथरी व्यञ्जनले थाल सजिन्छ तर थालभित्र के छ भन्ने कुरा व्यक्तिगत स्वादको मात्र नभई सामाजिक जिम्मेवारीको विषय पनि हो।
मैले दुई दशकको सेफ जीवनमा सिकेको सबैभन्दा ठूलो पाठ भनेको खाना पकाउनु भनेको खाना बनाउनु मात्र होइन, चेतना निर्माण गर्नु हो। आजको युगमा जहाँ बजार, मिडिया र नाफामुखी उद्योगहरूले खानेकुरालाई केवल व्यापारको वस्तु बनाएका छन्, त्यहाँ हाम्रो घरबाटै सानो तर सशक्त सचेत अभ्यास सुरू गर्न आवश्यक छ।
‘साँचो खाना’ भन्नाले त्यो खाना बुझिन्छ जुन प्रकृतिमा जस्तो छ, लगभग त्यस्तै रूपमै हाम्रो थालमा आइपुग्छ। उदाहरणका लागि धानबाट बनेको भात, घरमै पिसिएको मकैको पिठो, मौसमी तरकारीहरू, गहुँको ढिँडो, गुन्द्रुक, तामा र जडीबुटीहरू। यी खानेकुरा शरीरले सजिलै पचाउन सक्छ। ऊर्जा स्थिर राख्छन्। पाचन प्रणाली अनुरूप काम गर्छन्। एउटा बालक जो दिनभर स्कुलमा हुन्छ, उसले बिहान दूधसहितको चिउरा खाएको खण्डमा ऊ दिउँसोसम्मै ऊर्जावान् रहन्छ। तर यदि त्यो बालकले बारम्बार चकलेट ब्रेड र गुलियो चिया खायो भने, ऊ दिनभर सुस्त मात्र होइन, कहिलेकाहीँ चिच्याउने र चित्त नबुझ्ने जस्तो व्यवहार पनि देखाउँछ। यसैले, ‘साँचो खाना’ हामीलाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि जागृत बनाउँछ।
तर अहिले हामी बजारमा सजिलै पाइने चिप्स, कुकिज, नुडल्स, चकलेटजस्ता खानेकुरालाई ‘सस्तो’ र ‘झन्झटमुक्त’ विकल्प ठान्छौँ। यस्ता खानेकुरामा उच्च मात्रामा फ्रुक्टोज कर्न सिरप, प्रिजरभेटिभ, कृत्रिम रङ्ग र स्वादवर्धक रसायनहरू हुन्छन्। जसले पेटमा ग्यास, एसिड, ध्यान केन्द्रित गर्ने क्षमतामा कमी र दीर्घकालीन रोगहरू निम्त्याउन सक्छ। बजारले ‘नेचुरल टेस्ट’, ‘मल्टिग्रेन’, ‘फ्याट फ्री’ जस्ता आकर्षक नामहरू लगाएको भए पनि ती वास्तविकताको धेरै फरक हुन्छन्।
विद्यालयमा शिक्षा केवल गणित र विज्ञानको पाठ मात्र होइन, पोषण र खानाको शिक्षा पनि अनिवार्य हुनुपर्छ। बच्चाले कहिले पहिलोपल्ट चाउचाउ खायो? चकलेट लुकाएर ल्याउँदा उसको खुसी के हो ? यस्ता कुरामा विद्यालयले सचेत हुन जरूरी छ। कल्पना गरौँ, कक्षा ३ का बालबालिकालाई ‘स्थानीय खाना दिवस’ अन्तर्गत सोमबार फापरको रोटी र मकैको भुटेको खाजा ल्याउन प्रोत्साहन गरियो। शिक्षकले त्यही दिन थोरै व्याख्या गर्दै भने — 'फाइबर के हो? किन पेट सफा राख्नु पर्छ?' यसले बच्चाहरूमा पोषण र स्वास्थ्य चेतना विकास गर्न सहयोग पुर्याउँछ, जसले भविष्यमा मोटोपना, डायबिटिज र मानसिक सुस्ततालाई टाढा राख्न सक्छ।
हाम्रो पूर्वजहरूले पकाएको खाना विज्ञानमै आधारित थियो, तर उनीहरूले पोषण चार्ट कहिल्यै हेरेका थिएनन्। जस्तै, कोदो सजिलै पच्ने अन्न हो र यसले पाचन प्रणाली बलियो बनाउँछ। फापर ग्लुटेन फ्री र पेट मैत्री हुन्छ। सिस्नु आयरन र क्याल्सियमले भरिपूर्ण छ भने ढिँडो मधुमेह विरोधी जटिल कार्बोहाइड्रेट हो। आज हामी पिज्जा, बर्गर र फ्राइड चिकेनलाई आधुनिकता ठान्छौँ, तर साँचो आधुनिकता त्यो हो जसले हाम्रो शरीरलाई स्वास्थ्य राख्छ।
हाम्रो समाजमा ‘स्वस्थ खाना’ भनेको महँगो अर्ग्यानिक स्टोर जानुपर्छ भन्ने गलत धारणा बनिसकेको छ। यस्तो सोचले वर्गीय असमानता झल्किन्छ, जहाँ विपन्न स्वास्थ्यको हकबाट वञ्चित हुन्छ। तर वास्तवमा सस्तो तर पौष्टिक खानेकुरा पनि धेरै छन्। गुन्द्रुकको झोल, मकैको रोटी, सुन्तला, कागती, अमला र कोदोको ढिँडो यस्ता विकल्पहरू हुन्। स्वास्थ्यको मूल्य महँगो खानामा होइन, बुद्धिमानी निर्णय र सही ज्ञानमा निर्भर गर्छ।
पछिल्लो दशकमा विश्वव्यापी रूपमा ‘गट हेल्थ’ अर्थात् पाचन प्रणालीको सन्तुलनको महत्त्व बढेको छ। गट खराब भए शरीरमा थकान, चिडचिडाहट र निद्रा नलाग्ने समस्या देखिन्छ । गट राम्रो भए ऊर्जा, मानसिक सन्तुलन र रोग प्रतिरोध क्षमता बढ्छ। यसका लागि हप्तामा दुई तीन दिन गुन्द्रुक, तामा र दहीजस्ता प्राकृतिक प्रोबायोटिक्सयुक्त खाना खाने र प्रोसेस्ड फुडबाट टाढा रहनु आवश्यक छ।
हामीले जे खान्छौँ, त्यसले अरूलाई कस्तो असर गर्छ भन्ने सामाजिक जिम्मेवारी बुझ्न जरूरी छ। हामीले खाने मासु कुन फार्मबाट आयो? त्यो कुखुराको जीवन कस्तो थियो? तरकारी र फलफूल रासायनिक मल र विषादीविहीन उत्पादन गरियो कि गरिएन? यी सबै कुरामा सचेत भएर हामीले कृषकलाई सम्मान दिनुपर्छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ। वातावरणमैत्री खेतीलाई सहयोग गर्नुपर्छ। हाम्रो थालमा आउने खाना अरूको जीवनमा प्रभाव पार्ने भएकोले, हामीले आफ्नो रोजाइमा जिम्मेवार हुनैपर्छ।
खाना पकाउनु केवल पेशा नभई प्रेम र जीवन सुधार्ने कला हो। खाना पकाउँदा मन शान्त राख्नुपर्छ, जसले खाने मान्छेको स्वास्थ्य र मनोबल दुवै सुधार्छ। आमाहरूले बिहानै उठेर बनाएको साधारण तरकारी र ढिँडो स्वार्थरहित सेवा हो। खाना बनाउँदा ‘कसको लागि बनाउँदै छु ?’ भन्ने सोच राख्नुपर्छ। खाना बनाउँदा सफाइ, पोषण संरक्षण र जिरो वेस्टको भावना पालना गर्नुपर्छ। साथै बच्चाहरूलाई सँगै राखेर खाना पकाउने क्रममा पोषण र स्वस्थ खानेकुरा बारे शिक्षा दिनुपर्छ।
हामी सजिलै सामाजिक खाद्य जिम्मेवारीमा सहभागी हुन सक्छौँ। बच्चालाई ‘एक दिनको सेफ’ बनाउने दिन राख्न सकिन्छ। घरमा हप्तामा वा महिनामा एकपल्ट ‘परम्परागत खाना’ खाने दिन मनाउन सकिन्छ। विद्यालयमा ‘स्थानीय खाना सप्ताह’ आयोजना गरेर विद्यार्थीहरूलाई स्वस्थ खानेकुरा चिनाउन सकिन्छ। छिमेकीसँग तरकारी साटासाट गर्न सकिन्छ। मिडिया र सामाजिक सञ्जालमार्फत “नेपाली रियल फुड” को प्रचार गर्न सकिन्छ। ‘प्लेट सफा अभियान’ सञ्चालन गरेर खाना नफाल्ने र पूरा खाने संस्कारलाई प्रवर्द्धन गर्न सकिन्छ। यी साना–सानो अभ्यासहरूले हाम्रो जीवनशैलीमा ठुला सकारात्मक परिवर्तन ल्याउन सक्छन्।
थाललाई हामीले केवल पेट भर्ने माध्यम मात्र नभई चेतनाको चिह्न मान्नुपर्छ। थोरै तर साँचो खाना खाँदा हाम्रो शरीर बलियो, समाज सफा र पृथ्वी स्वस्थ रहन्छ। हामी सबैले बुझ्नुपर्छ कि सस्तोमा पनि समृद्धि छ। पेट मात्र होइन परम्पराको समेत सम्मान गर्न सकिन्छ । अनि साँचो खाना सामाजिक परिवर्तनको शक्तिशाली माध्यम हो।
(झन्डै दुई दशकदेखि कुलिनरी उद्योगमा सक्रिय लेखक अस्ट्रेलियास्थित ओ हारा एण्ड को होटल्स्मा सेफको रूपमा कार्यरत छन्।)