आज अफिसको काम सकिनै लागेको थियो। एक जना साथीकाको फोन आयो– ‘बानेश्वर आउन सक्छस्?’
बिजुलीबजारस्थित मेरो अफिसबाट निस्किएर नयाँ बानेश्वरतर्फ लागेँ। संसद् भवन अगाडि रहेको क्याफेमै भेट हुने तय थियो। हिँड्दै गर्दा बाटो छेउमै मकै पोलेको गन्धले रोक्यो।
थपथप पानी परेको थियो, मौसम चिसिएको यस्तो मौसममा तात्तातो मकैको स्वाद त झन् मिठो लाग्छ। सानो मुढामा बसेर मकै खाँदै थिएँ।
त्यतिखेरै संसद् भवनतर्फ साइरनसहितको गाडी गुड्यो, सम्भवतः कुनै मन्त्रीको सवारी। मकै पोलिरहेकी महिलाको नजर त्यहीँ पुग्यो। उनको अनुहारमा एकाएक आक्रोश छल्कियो।
‘यिनीहरू कति भ्रष्ट छन् है! खालि खाइरहेका छन्! यिनकै कारण देश डुबेको हो!’
उनको स्वर यति तीव्र थियो कि मकैको स्वादै हरायो। म चुपचाप ४० रुपैयाँ तिरेर अगाडि बढेँ।
सोमबार म कुपण्डोलबाट बिजुलीबजारतर्फ ट्याम्पोमा चढेँ। अगाडि सिट पाएकोमा झन् रमाइलो लागेको थियो। काठमाडौँ जिल्ला अदालत अगाडिको ट्राफिक लाइटमा ट्याम्पो रोकियो। त्यहाँ केही भीड देखियो।
पछाडिबाट कसैले सोध्यो— ‘केको भिड हो यत्रो?’
प्रश्न सकिन नपाउँदै चालक बोले— ‘ए... कुन भ्रष्ट नेतालाई ल्याए होलान्! यी त मुख मात्र होइन, नाक–कानबाट पनि खाएका छन्। अदालतले के गर्छ र!’
त्यसपछि म चुपचाप ओर्लिएँ। छेउको चिया पसलमा गएर मोबाइल चलाएँ। फेसबुकमा त्यही बेला समाचार थियो— ‘चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका मुख्य कमान्डर दुर्गा प्रसाईंलाई छाड्ने कि नछाड्ने भन्नेमा अदालतको आदेश आउँदै छ।’
त्यसको केही दिनपछि अनामनगरबाट शिक्षण अस्पतालसम्म जानको लागि बाइक बुक गरेँ। बाइक चलाइरहेका थिए १९ वर्षीय एक युवक— बझाङका स्थायी बासिन्दा, काठमाडौँमा आइटी पढ्दै, बिहान कलेज र दिउँसो इन्ड्राइभ चलाउने।
बिच बाटोमा उनले सोधे— ‘दाइ, तपाईं के काम गर्नुहुन्छ?’
मैले सामान्य उत्तर दिएँ। उनी विस्तारमै बोल्दै गए— ‘दाइ, यो देश त सकियो जस्तो लाग्छ। नेता भनेका त सबै चोर हुन्। अब त डरै लाग्छ कतिखेर इन्ड्राइभ बन्द गरिदेलान् भन्ने।’
सायद ती भाइले केही दिनअघि सरकार र यातायात व्यवसायी बिचको सहमति सम्झिए।
‘दाइ, म बेकारमा नेपाल बसेजस्तो लाग्छ। +२ सकिएपछि नै जानु पर्ने रहेछ विदेश। मेरा साथीहरू त विदेश गइकन प्रगति गरिसके। म पनि ब्याचलर सकिने बित्तिकै हानिन्छु।’
उनका कुरा माग होइनन्। तर त्यसमा गहिरो पीडा छ; भविष्यप्रतिको अनिश्चितता, सपना हराउँदै गएको छाया र राज्यप्रतिको गुनासो।
यी तीन वटा प्रसङ्ग एउटै साताभित्रका हुन्।
फरक ठाउँ, फरक पात्र तर एउटै भावना; देशको राजनीतिको प्रतिकूलता र नेतृत्वप्रति गहिरिँदो वितृष्णा। चिया पसल, मकै स्टल, सार्वजनिक यातायात जसले जहाँ भेट्छ, त्यहीँ राजनीति र नेताप्रतिको रोष पोखिरहेका छन्।
अनि अचम्म के भने, ती मकै बेच्ने महिलालाई पनि थाहा थिएन गाडीभित्र को थियो, ट्याम्पो चालकलाई पनि थाहा थिएन अदालतमा कुन मुद्दाको सुनुवाइ भइरहेको थियो। तर विश्वास चाहिँ पक्का छ– गाडीभित्रको नेताले भ्रष्टाचार गरेको छ, अदालतमा पेस गरिएको मानिस भ्रष्ट छ।
किन?
किनभने भ्रष्टाचार अब व्यक्तिको नाम होइन, एक विचार बनिसक्यो र त्यो विचार नेतासँग जोडिएको छ। नेता भनिनेहरूले त जागिर गर्दैनन्, व्यापार गर्दैनन् तर उनीहरूको जीवनशैली विलासी छ। सहरको मुटुमा घर, महँगो गाडी, विदेशमा पढ्ने छोराछोरी, पाँच तारे होटेलमा बैठक अनि भाषण चाहिँ ‘सर्वसाधारणका लागि’!
उता मकै बेच्ने र ट्याम्पो चलाउने ती श्रमिकहरू बिहानदेखि बेलुकासम्म पसिना बगाउँछन् तर खान लाउन धौधौ छ। छोराछोरी पढाउन संघर्ष छ। तीन दिन बिराएर दूध किन्ने कि छैन। १९ वर्षको युवाले देशभित्र कुनै सम्भावना देख्दैन अनि भनिन्छ – ‘देश परिवर्तनको बाटोमा छ।’
सही नेताको अभावले होइन, गलत नेतृत्वको निरन्तरताले आज आम नागरिक राजनीतिप्रति वितृष्ण भएको हो। राजनीतिको नाम लिनासाथ नै मनमा झस्को उठ्छ कि यो स्वार्थीको खेल हो वा लुट्नेहरूको सहमतिमै चल्ने व्यवस्था!
अब प्रश्न उठ्छ— राजनीति सुधार्न सकिन्छ कि अब त्यसमा सुधारको सम्भावनै छैन?
जबसम्म मकै बेच्ने ती महिला वा ट्याम्पो चालकले नेताहरूलाई ‘भ्रष्टाचारको पर्याय’ मानेर मात्र बुझिरहन्छन् तबसम्म राजनीति जनताको होइन, केवल पहुँचवालाहरूको खेलमै सीमित रहनेछ।
अब बोल्नेहरू चाहिन्छन्— फेसबुकमा होइन, संस्थागत रूपमा, सार्वजनिक रूपमा ताकि त्यो साइरनले एक दिन गर्व जगाओस्, लक्का जवानले देश भित्रै अवसर देखोस्।