'सगरमाथा टोस्टमास्टर्स' बैठकमा नेतृत्व कौशल तिखार्ने अति मूल्यवान सन्देश फेला पर्छन्। समूहको मूलमन्त्र नै जौडे छ– डिस्कभर दि इग्नोरेन्स।
अर्थात आफूभित्र रहेको 'अज्ञानता र अक्षमता खोजी गर'।
म आफू पनि यो समूहको सदस्य हुन पाएकोमा गौरवान्वित छु। केही दिनअघिको एक बैठकमा समूहका वरिष्ठ सदस्य केपी उपाध्यायले एक नौलो अभिव्यक्ति दिए– जुनसुकै अवसर तपाईंबाट एक हात मात्र टाढा हुन्छ।
अरूले रोजेको शीर्षकमा प्रत्युत्पन्न मन्तव्य दिने अवसर थियो। सभाकक्षमा उपस्थित जोकोही पनि यो मौका छोप्न सक्थे।
हात केपीले उठाए, अवसर उनैले पाए।
मन्चमा गएर उनले भने, 'कुनै पनि अवसर तपाईंबाट एक हात मात्र टाढा हुन्छ। हात उठाउन जसले पनि सक्छ। अवसर छोप्न जसले पनि सक्छ। मैले हात उठाएँ। मैले बोल्ने अवसर पाएँ।'
कक्षा कोठा होओस् वा खेल मैदान, व्यावसायिक घरानाको बजारीकरण गर्ने छलफल होओस् वा साहित्यिक रचना वाचन गर्ने कार्यक्रम या राजनीतिक नेतृत्व लिने काम; सफलतातिर लम्कने पहिलो कदम नै हात उठाउनु हो।
हात उठाउनु सजिलो छ जसले पनि सक्छ। तै पनि यस्ता अवसरहरूमा सबैका हात उठ्दैनन्। कतिपय अवस्थामा त कसैका पनि हात उठ्दैनन्।
हात नउठ्नु भनेको अवसर गुम्नु हो।
यसको सर्वमान्य सिद्धान्त के हो भने पहिलो पाइला नटेकी गन्तव्यमा पुग्ने चाहना पूरा हुँदैन।
सन् २०१६ को एउटा प्रसंग हो। मेरा अनन्य मित्र सूर्यमान शाक्यसहित १७० जना रोटरी सदस्यहरू भारतको उडिसा राज्यको भुवनेश्वर सहरमा भेला भएका थियौं। भारतका रोटरी डिस्ट्रिक्टबाट नेपालबाटभन्दा दुई गुणा बढी सदस्यहरू उपस्थित थिए।
सम्मेलनका कतिपय सत्रहरू नेपालीका लागि मात्रै थिए। नेपालीहरूमध्ये हामी केही 'सूर्यास्ना' नामको होटलमा बसेका थियौं।
टोस्टमास्टर्स वा रोटरी क्लब जस्ता संस्थाको सदस्य हुनेमा कि त व्यावसायिक घरानाका कि उल्लेख्य अनुभव हासिल गरेका पेसाकर्मीहरू हुन्छन्। पुगेको पर्सिपल्ट बिहान बिर्सन नसकिने एउटा प्रसंग सिर्जना भयो।
भैरहवा रोटरी क्लबका मेरा एक समकक्षी पनि सूर्यास्नामै बसेका रहेछन्। उनी र म एउटै टेबलमा परेछौं। बिहानको चियानास्ता लिँदै थियौं। उनकी श्रीमती पनि साथमा थिइन्।
ती मित्रले कुरा सुरू गरे, 'हिजो बेलुकीको सत्रमा सरहरू उपस्थित हुनु भएन। हामीलाई हजुरहरूको अभाव खड्कियो।'
'किन त्यस्तो भयो त हजुर?'
'सभामा अस्तिको जस्तै प्रश्न सोधिएको थियो।'
'यहाँहरूमध्ये कसैले जवाफ दिएको भए त भैहाल्थ्यो नि।'
म सहज रूपमा प्रस्तुत भएँ। रोटरी क्लब वा टोस्टमास्टर्स जस्ता संस्थाको सदस्यतामा ठाडो धरातल हुँदैन, सबै बराबर। जो पनि अध्यक्ष बन्ने हैसियत राख्छ।
मेरो अनुमान थियो– कुनै प्रश्नको उत्तर दिने अवसर जसले पनि आफ्नो कित्तामा पार्न सक्छ।
ती मित्रको कुराले मेरो यो सिद्धान्तको पहाडमा अजंगको पहिरो गयो।
उनले भने, 'कहाँ त्यस्तो हुन्छ र हजुर? हामी व्यापार–व्यवसाय गर्ने मान्छे, आफूलाई प्रत्यक्ष फाइदा हुने विषयबाहेक बोली फुट्दैन। जोखिम देख्ने प्रवृत्ति हुन्छ। सयौं मान्छेका अघि हात उठाएर अघि सर्नु हाम्रा लागि कठिन काम हो।'
म मौन बसेँ।
फेरि भने, 'हजुरहरू प्राज्ञिक क्षेत्रका मान्छे पर्नुभयो। ज्ञान, बुद्धि बाँड्ने काम गर्न केको जोखिम?'
म र सूर्यमान शाक्य सँगै हुन्थ्यौं। साँच्चै, उनी मेरा अघोषित मित थिए। दुई दशकको सहयात्रामा हामीबीच मनोमालिन्यको स्थिति कहिले पनि आएन। उनको साथ पाए प्रचण्ड घाममा पनि मुसलधारे पानी पर्थ्यो।
पहिलो दिनको सत्रमा सूर्यमानले बेजोडको अभिनय गरेर सयौंको संख्यामा उपस्थित सहभागीलाई मन्त्रमुग्ध पारेका थिए।
उनको एउटै पहलमा अपरिचितहरूले उनलाई एकै सासमा चिनेका थिए। सभामा उपस्थित जो कोहीले पनि त्यो अवसर लिन सक्थ्यो। मैले पनि सक्थेँ तर मलाई आँट आएन, उनलाई आयो।
भारतका सिनेकलाकार शत्रुघ्न सिन्हाकी छोरी सोनाक्षी सिन्हाको तस्वीर स्क्रिनमा थियो। स्रोत व्यक्तिले हामीलाई 'उनी को हुन्' भनेर चिन्न लगाएका थिए। भन्न कसैले आँट गरेन।
सूर्यमानको सौर्य धपक्कै बल्यो।
उनले उठेर भने, 'तपाईं चिन्ने कुरा गर्नुहुन्छ! मैले त यिनलाई प्रस्ताव नै राखेको हुँ।'
अन्धकारमा हजारौं वाटको बत्ती बलेजस्तो भयो। सारा श्रोता सभाकक्ष थर्किने गरी हाँसे। तिनको नाम के थियो, भन्नै परेन।
यसरी सूर्यमानले हात उठाएर अवसर मात्र लिएनन्, त्यो अवसरको भरपूर फाइदा लिए। त्यो सभाकक्षको प्रत्युत्पन्नमतिको सर्वोत्कृष्ट व्यक्ति उनै हुन् भन्ने तथ्य स्थापित गरे।
तिनै स्रोतव्यक्तिले केही बेरमा श्रोतामाझ अर्को प्रश्न राखे। केही उत्तरहरू सुनिए। सूर्यमान मेरै छेउमा बसेका थिए। उनले उत्तर दिएको वा नदिएको मैले हेक्का राखिनँ। सामूहिक आवाज आएको थियो।
श्रोतव्यक्तिले भने, 'सही उत्तर हो। कसले उत्तर दिएको हो, कृपया पुरस्कार लिन आउनुहोला।'
सूर्यमान शाक्य जुरुक्क उठे। फटाफट मन्चतिर गए। म हेरेको हेर्यै भएँ। उनले पुरस्कार थापे।
पुरस्कारमा भारतकै प्रसिद्ध गायक किशोर कुमारका गीतका केही सिडी रहेछन्।
उनी आफ्नो सिटमा फर्किए।
सिडी मलाई दिँदै भने, 'खतिवडाजी, यस्तो अवसरमा जुरुक्क उठिहाल्नु पर्छ। पुरस्कार जसले पनि थाप्न सक्छ तर उठ्ने आँट सबैसँग हुँदैन।'
सूर्यमानको सिद्धान्त र प्रसंग अरू लेखहरूमा पनि उल्लेख गरेको छु।
'किन उठ्दैन हात?'
यस प्रश्नमा उनको सटिक जवाफ थियो, 'हात नउठ्नुको मूल कारण आँट नहुनु हो।'
यो अभिव्यक्तिले अर्को प्रश्न पनि सिर्जना गर्छ।
'किन सबैको मनमा उम्रिन सक्दैन त आँट?'
यसका मनोवैज्ञानिक कारणहरूबारे धेरै चर्चा भएको छ। यीमध्ये आँटको बिउ उम्रन नदिने दुई प्रमुख कारक तत्त्व छन्– अज्ञानताको बादल र लाजको घुम्टो।
पूर्वतयारी नहुँदा, आफू त्यो विषयमा अन्जान हुँदा वा प्रत्युत्पन्न शैलीमा विचार उत्पन्न नहुँदा अज्ञानताको बादलले मस्तिष्कको आकाश ढाक्छ। दर्शक–श्रोताका अघि उभिने आँट हुँदैन। त्यो बादल जड प्रकृतिको हुन्छ।
सबैभन्दा विस्मयकारी क्षण त्यस वेला सिर्जना हुन्छ जब व्यक्तिले आफू विद्यार्थी हुँदा समय खेर फालेको स्मरण गर्छ।
म इन्जिनियर वा कुनै विज्ञान विषयका अध्येतालाई सोध्ने गर्छु, 'कसैले मसँग एक हजार सिसीको बाइक छ भन्यो भने त्यो सिसी भन्ने शब्दको अर्थ के लाग्छ?'
बाइक चढ्ने सर्वसाधारणसँग 'सिसी' ज्ञान नहुनु अनौठो हुँदैन। एक इन्जिनियरले सिसी भनेको क्युबिक सेन्टिमिटर हो भन्ने नजान्नु र परेको बेला त्यो ज्ञानको उपयोग गर्न नसक्नु अनौठो मात्र होइन, दुःखद आश्चर्य पनि हो।
महाकवि लक्ष्मिप्रसाद देवकोटाले आफ्नो एक कालजयी कवितामा लेखेका छन्–
फुल्दो गुलाव बीच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्त्व खुल्छन्।
अर्थात ज्ञान कहाँ प्राप्त हुन्छ भन्ने कुराको जानकारी अध्येतालाई हुन जरुरी छ। त्यो ज्ञान बालबालिकाका माझमा पाउन सकिन्छ। विद्यार्थीका कक्षामा, साथीसंगतमा, प्राज्ञिक सभामा, बहस चौतारी आदि स्थानमा पाउन सकिन्छ।
अर्थात सम्प्रेषणको पहिलो शर्त हो जानकारी हुनु।
जडता चिर्न या ज्ञान आर्जनका लागि नियमित रूपले विविध विषयको अध्ययन आवश्यक हुन्छ। नेतृत्व लिन वा प्रभावकारी भाषण गर्न विषयवस्तुको ज्ञान हुन जरुरी छ।
यसकारण पनि टोस्टमास्टर्सको मूलमन्त्र 'अज्ञानताको खोजी' राखिएको हो भन्ने मलाई लाग्छ।
मौका छोप्न वा हात उठाउन 'आँट' वा 'साहस' नहुनुको अर्को कारण हो लाजको घुम्टो नखोलिनु वा धक लाग्नु। यो मूल्यहीन घुम्टो गलगाँड वा ढाडको कुम्लोसँग पनि तुलना गर्ने गरिन्छ। गलगाँड आफू जहाँ गए पनि सँगै जान्छ।
लाज वा धकको अदृश्य गलगाँड पनि आफू जहाँ गयो त्यहीँ जान्छ। आफू बस्न पाएको छैन, ऊ आसन जमाएर बसिसक्छ।
घाँटीको गलगाँडको दुई तरिकाको उपचार हुन सक्छ। कि शल्यक्रिया गरेर मिल्काउनु पर्छ कि सुई हानेर बिस्तारै सुकाउनु पर्छ।
चिरफार छोटो समयमा पूरा हुन्छ तर सुई हान्ने वा औषधि सेवन गर्ने उपचारमा लामो समय लाग्छ।
हात उठाउन नदिने वा अघि सर्न नदिने लाज वा भयको अदृष्य गलागाँडमा एक झट्काको शल्यक्रिया गर्न असम्भव छ तर यसको उपचार सम्भव छ।
यसर्थ यसलाई टोस्टमास्टर्स जस्ता वक्तृत्वकलाका गुरुकुलमा गएर हरेक हप्ता एउटा 'सुई' लगाएर ठीक गर्न सकिन्छ।
यसकारण टोस्टमास्टर्सको मूलमन्त्र यहाँ जोडिन्छ– आफूभित्र रहेको अक्षमताका पाटाहरू खोजी गर।
हात उठाउन नदिने मानसिक गलगाँड या बाधाअवरोध नियमित प्रयास र सजिला अभ्यासमार्फत किनारा लगाउन सकिन्छ।
उदाहरणका लागि अपरिचितहरूको बाहुल्य भएको सभा परिचयबाट आरम्भ हुन्छ। त्यस बेला आउने अवसरको अभिव्यक्ति यस्तो हुन्छ– 'कार्यक्रमको आरम्भ परिचय आदानप्रदानबाट गर्छौं। ल कोही एक सहभागी महानुभावले उद्घाटन गर्नु होला।'
यो अवसरमा पहिला हुन अग्रसर हुन सकिन्छ। आखिर परिचय त अन्तिममा पनि दिनै पर्छ। यसको अर्को पाटो के हो भने आफ्नो परिचय दिने भनेको उसका लागि सभालाई वा अपरिचत सहभागीलाई सम्बोधन गर्ने सबैभन्दा सजिलो उपाय हो।
धक मान्ने व्यक्तिले यसो भनेर आफ्नै आत्मविश्वास बढाउन सक्छ– मैले आफ्नो नाम भन्न पनि हात उठाउन सकिनँ भने अरू सबै अवसरमा मलाई हात उठाउन झन् कठिन हुनेछ।
अबको कुनै सगरमाथा टोस्टमास्टर्स क्लबमा केपी उपाध्याय भेट हुँदा म उनलाई भन्नेछु, 'टोस्टमास्टर्स क्लबमा तपाईंले बोल्ने अवसर छोप्न हात उठाउनु भयो। मैले यस विषयमा लेख्न हात उठाएँ।'