पोहोर सालको कुरा हो, काम विशेषले एक जना आफन्तको घरमा गएकी थिएँ। ती आफन्तकी छोरीले भर्खर नौ कक्षा उत्तीर्ण गरेकी थिइन्। ती नानी पढाइमा एकदमै ट्यालेन्ट छिन् भन्ने कुरा उनकै आमाले पटकपटक सुनाउँथिन्। छोरीलाई बाहिरी दुनियासँग कुनै साइनो सम्बन्ध थिएन वा सम्बन्ध राख्न लायक परिवारले बनाएन भनौं न।
शनिबारको दिन थियो म झन्डै एक डेढ घण्टा त्यो घरमा बसेँ। आमासँग कुराकानी भयो तर छोरीलाई कतै पनि देखिनँ।
‘आज त बिदाको दिन छोरी घरमा छैनन् र आन्टी?’ आमालाई प्रश्न गरेँ।
मेरो प्रश्नमा आमा अवाक बनिन् एकैछिन।
‘छोरी भित्र आफ्नै कोठामा छ नानी, चुकुल लाएर बस्छे, जतिबेला पनि पढिरहन्छे। नानी तैंले केही काम गर्न पर्दैन पढिराख भन्छु, कोठामा चुकुल लाउँछे, पढ्छे।’
कति आधुनिक आमाहरू है आजकालका? शिक्षित आमाको कति दूरगामी सोच? पढाइप्रति कति सचेत! कति समझदार आमा। मनमनै धेरै प्रश्नहरू पनि खेले।
आफू गाउँको भएर होला स्मृतिमा एकाएक गाउँकी आफ्नी आमासँग पो यी आमालाई दाँज्न पुगेछु।
हुन त गाउँका आमा र सहरका आमाहरूको सोचाइमा आकाश जमिनको फरक छ नै।
परिस्थिति, चेतना र संस्कारका कारण पनि होला धेरै फरक छ। यदि यी आमाको ठाउँमा मेरी आमा भएको भए?
घरमा कोही आफन्त आउँदा चुकुल लाएर बस्ने अनुमति परीक्षाको दिनमा पनि हुँदैनथ्यो। अरू बेलाको त कुरै छाडौं।
कोही आफन्त आफ्नो घरमा आएको थाहा पाउनासाथ उनीहरूको अगाडि हाजिर हुनुपर्थ्यो।
साइनो लगाएर दुबै हात जोडेर नमस्कार गर्नुपर्थ्यो, पानी, चिया के खाने हो ? सोधीखोजी गर्नुपर्थ्यो।
अनि पिर्का, चकटी, गुन्द्री केको व्यवस्था छ। अवस्था अनुसारका स्थानमा बस्नको लागि आग्रह गर्नुपर्थ्यो।
अनि आफन्तले आफ्नो पढाइको, कामको बारेमा जे सोध्छन् जवाफ दिनुपथ्र्यो। जे होस घरमा आउने आफन्तको अगाडि फलानाकी छोरी संस्कारी छ भन्ने देखाउनुपर्थ्यो पहिले अनि मात्रै पढाइको कुरा हुन्थ्यो।
कहाँकी नपढेकी गाउँकी मेरी आमा, कहाँ राजधानी जस्तो शिक्षित सभ्य सहरकी शिक्षित आमा!
विगतको पर्दा हटाएँ र पहिलेकै अवस्थामा फेरि खडा भएँ। आँगनको धारोमा बाटाभरि छोरीका कपडा धोइरहेकी थिइन् आमाले।
दश कक्षामा पढ्ने छोरीका लुगा धोइरहेको देखेर अचम्म पनि लाग्यो।
फेरि प्रश्न गरेँ, ‘आन्टी नानी बिरामी त होइन नि? सबै लुगा आफैं धोइरहनु भएको छ त?’ मेरा प्रश्नमा आमा अचम्म परिन्।
‘ल नानी तिमी आज आयो र पो मैले लुगा धोएको देख्यौ हैन त? मैले आजको दिनसम्म छोरीलाई सिन्को भाँच्नधरी लाएकी छैन, खाएको थाल उठाउन देकी छैन। मेरो के काम छ र? दिनभरि घरमै बस्ने हो, छोरीका लुगा धुने, भाँडा माझ्ने सबै काम मै गर्छु बस् तैंले पढेर मेरो र परिवारको नाम राख यति जिम्मा दे की छु छोरीलाई। नछुने भ‘को आज चार दिन भयो, सबै चोख्याउनको लागि धोको नि नानी। राम्रोसँग पढे हुन्छ अर्थोक केही गर्न पर्दैन। बिहे गरेर अर्काको घरमा गएपछि आफूलाई पर्दा काम गरिहाल्छन नि नानी।’
सिन्को भाँच्न पनि नलगाएकी आमाले अर्काको घर गएर सबै काम गर्छे भन्ने ग्यारेन्टी चाहिँ गरिसकेकी छिन्।
‘जसरी पनि एसइईमा राम्रो नम्बर ल्याउन परो कुरा त्यति हो .....। भाइ, बहिनीका छोराछोरीले सबैले राम्रो नम्बर ल्याएर पास गरे, मेरी छोरीले उनीहरूको हाराहारीमा नम्बर ल्याउन सकिन भने त इज्जतै जान्छ नानी ..... केही गर्नुपर्दैन, के चाहिन्छ भन, तेरो काम पढ्ने मात्रै भनेकी छु। जतिबेला पनि पढिरहन्छे, ट्युसन पनि राख्देकी छु, उसलाई घरमा को आए, को गए केही मतलब हुँदैन।’
छोरीको पढाइमा कति धेरै चिन्तित यी आमा। एक मनले त पढाइप्रति आमाको लगावलाई वाह! भन्न मन लाग्यो।
अर्कोतिर यस्तो कोठे पढाइको के अर्थ होला र? भन्ने पनि लाग्यो।
हुन त म गाउँमा जन्में, गाउँमै हुर्कें, घरको काम सकाएर बिहान बेलुका दुईदुई घण्टा आऊ/जाऊ गरेर स्कुल पढेको मान्छेको तुलना सहरिया बच्चासँग एक प्रतिशत पनि हुँदैन। तर मनमनै सोचें, परीक्षामा नम्बर कम आयो होला तर कम्तीमा मेरी नपढेकी आमाले मलाई संस्कार त सिकाउनु भएको छ। अहिलेका बच्चाले जस्तो टिफिन बोक्न पाइएन होला तर भुटेका मकै खाएर भए पनि बुवाआमासँगै मेलापातको काम भ्याएर पनि पढियो। बुवाआमालाई सघाउनुपर्छ अनि मात्रै पढ्नुपर्छ भन्ने सिकियो।
घरमा कोही आफन्त आउँदा चिनजान गर्नुपर्छ, सोधीखोजी गर्नुपर्छ, भन्ने चेतना आमाले सिकाउनु भयो, त्यही संस्कारमा हुर्कियौं।
यी सहरिया नानीलाई म एक डेढ घण्टासम्म उसको घरमा बस्दा को आयो, को गयो पत्तै छैन।
पढाइ महत्वपूर्ण हो तर पढाइमात्रै सर्वोस्व पनि होइन भन्छु म। नानी मेरी छोरीले त कसैलाई चिन्दिनँ भन्दा पनि हुन्छ। उसका मावलीबाहेक अरू कोही पाहुना आए भने सबैसँग परिचय पो गराउनुपर्छ, छोरीको कुरा गर्दा दंग देखिन्थिन् आमा।
मनमनै भने, ‘ए बाबा आमाले आफन्त, इष्टमित्र कोही आउँदा चिनजान गराए पो यो आफ्नो भन्ने हुन्छ चिनजान हुन्छ। चुकुल लाएर कोठाबाट बाहिर निस्कन नदिने अनि मेरी छोरीले कसैलाई चिन्दिन भनेर हुन्छ र?’
अस्ति भर्खर प्रकाशित एसइईको नतिजामा तिनै आन्टीकी छोरीले ३.९ जिपिए ल्याएर उत्तीर्ण गरिछन्।
नतिजा प्रकाशित भएको खबर सार्वजनिक भएलगत्तै धेरै जना आफन्तहरू जसका छोराछोरीले यो फलामे ढोका भर्खरमात्रै पार गरेका थिए उनीहरूले जिपिए सहितको बधाई अनि शुभकामनाका रंगीन पोष्टहरूले सामाजिक सञ्जाल भरिभराऊ भए।
झनै यी आन्टीकी छोरीको चर्चा त कति हो कति! परिवारको इज्जत राखेको, राम्रो नम्बर ल्याएर पास गरेको भनेर उनै आमाले आधा पानाको स्टाटस लेखेर पोष्ट गरेकी थिइन्।
एक जना आफन्तको कमेन्ट पढेँ, ‘नानी कालो चिया पकाउन नजान्नेले नि झन्डै चार जिपिए ल्याइछस् त बधाई छ’ .....एकैछिनपछि अर्को समाचार देखेँ, धादिङकी एक जना छात्राले सोचेजस्तो नम्बर एसइईमा आएन भनेर आत्महत्या गरिछन्। किन यति हर्ष बढाइ र मृत्युको बहार बोकेर आउँछ यो फलामे ढोका?
एसएलसी, एसइई अनेकन नाम फेरिए तर हर्ष बढाइ र शोकको श्रृंखला फेरिएन। नौ कक्षा पास गरेजस्तै हो भनेर न त बाउआमाले सन्तानलाई भन्न सके, न त सन्तानले पनि यो हर्ष बढाइ र शोक मनाउने अवस्था होइन भन्ने कुरा महसुस गर्न सिके।
दु:खले आर्जेको थोरै नम्बरको महत्व बढी हुन्छ। सहरमा बसेर, सबै सुविधा उपभोग गरेर, पढ्नेभन्दा अर्थोक केही काम नगरेर त्यति नम्बर ल्याउँदा पनि बाउआमाको सन्तानप्रतिको जयजयकार थेगिनसक्नु छ। चार जिपिए नै ल्याउने लगभग नौ हजार थिए, त्यस मुनिका जिपिए ल्याउने अझ धेरै।
यत्रो मासमा कोही यस्ता पात्र देखिए, जो सामुदायिक विद्यालयमा पढे, दु:खले पढे, साँच्चिकै संस्कार सिकेर हुर्किए उनीहरूले प्राप्त गरेको अंक गर्व गर्न लायक अंक हो।
यस्तो प्रगतिमा साँच्चिकै छाती चौडा हुनुपर्ने हो र चौडा बनाउनु पनि पर्छ। तर हामीकहाँँ त यस्तो संस्कार विकसित भयो कि सन्तानले भुइँमा झरेको सिन्को उठाउने काम नगरोस् तर पढोस्।
एक गिलास पानी पनि आफैं सारेर पिउने काम नगरोस् तर पढोस्। भात पकाउँदा पानी कति राख्नुपर्छ भन्ने अड्कल नहोस् तर उसले पढोस्। बाउआमा बिरामी हुँदा बरू बाहिरी मान्छे आएर तातो पानी तताएर खुवाओस् तर आफ्ना सन्तानले पढून्, पानी तताउने बहानामा पढाइमा हानी नहोस्। यस्तो शिक्षाले हामीलाई कहाँ पुराउला?
फगत कोरा कागजको नम्बर मात्रै हो र जिन्दगी? त्यही नम्बरको लागि मात्रै लायक हुन् हाम्रा सन्तान? पढाइको मार्कसिट भन्दा अर्थोक जिन्दगी छैन र? परीक्षामा ३.९ जिपिए ल्याएकी आन्टीकी छोरीले अहिलेसम्म महिनावारी हुँदाका लुगा समेत आफूले धोएकी छैन भने अरू कामको कुरै नगरौं।
यो नम्बरको कत्रो गर्व? यतिसम्म सुविधा भोगेर हुर्किएकी छोरी भोलि यी आन्टी बिरामी पर्दा मेरी आमाले मेरा लुगा धोएकी थिइन् भन्ने हेक्का राख्लिन् कि के गर्लिन्? जहाँ अभाव हुन्छ त्यहाँ स्वाभाविक रूपमा दबाब पनि हुन्छ। हामीले कहीँ केही कुराको अभाव हुनै दिएनौं भने दबाब कसरी सृजना होला र? सामान्य गर्न सक्ने काम त हामी आफ्ना सन्तानलाई गराउन सक्छौं नि!
कुनै कुराको कमी महसुस नगरिकन हुर्केको बच्चाले भोलि बाउआमालाई अभाव पर्दा त्यसको सामना कसरी गर्ला? उसले किन गर्छ? जब उसलाई कुनै कुराको कमी छैन भने उसका बाउआमालाई कमी हुने त कुरै भएन उनीहरूको मनोविज्ञान त्यस्तै हुन्छ।
बाउआमाहरू आफ्ना सन्तानको प्रगतिमा खुसी हुनु स्वाभाविक हो। नर्सरीमा पढ्ने बच्चा प्रथम हुँदा त संसारै जितेजस्तो हर्ष बढाइ गर्ने हाम्रो सोच, एसइई त ठूलै महोत्सव हो।
पढाइमा सफल हुनु अलग कुरा हो, व्यवहारमा सफल हुनुपर्छ, संस्कारमा सफल हुनुपर्छ र जिन्दगीमा सफल हुनुपर्छ समग्रमा।
हामी हाम्रा बच्चालाई जित्नमात्रै सिकायौं हार पनि स्वीकार गर्न सक्नुपर्छ भनेर सिकाएनौं।
प्रथम नभए घरै नआउनू भनेर हैकम दियौं तर प्रथम हुनुमात्रै जिन्दगी होइन तिमी हरेक कुरामा औसत हुनुपर्छ भनेर कहिल्यै सिकाएनौं।
नम्बरको पछि लाग्दा हाम्रै समाजमा धेरै दुर्घटना पनि भएका छन् त्यतातिर हामीले फिटिक्कै ध्यान दिएनौं।
सन्तानले जस्तोसुकै हर्कत किन नगरोस बस् उसले कागजमा नम्बर बढी ल्याउन पर्यो यति कुरा मात्रै सिकायौं।
पढ्नको लागि विदेश हानिएका सन्तान फर्किएर आएनन् भनेर कोकोहोलो मच्चायौं तर नैतिक शिक्षा, पारिवारिक शिक्षा कहिल्यै पनि दिएनौं।
बच्चाले पढाइको नम्बरभन्दा अरू देखेकै छैन भने बाउआमा बुढा भए, बिरामी भए, उनीहरूलाई हेरचाह गर्नुपर्छ भनेर पढ्न विदेशिएका सन्तान किन फर्किन्छन्? ‘मातृ देवो भव, पितृ देवो भव’ भन्ने हामीले सिकाएको भए पो उनीहरूले बोध गर्छन्, खाली मार्कसिटको अंकमा औकात दाज्छौं अनि सन्तान हाम्रा लायक बन्छन त? पक्कै बन्दैनन्।
मार्कसिटमा चार जिपिए ल्याउने सन्तानले कालो चिया भनेको कस्तो हो नभनोस्।
एक गिलास पानी ल्याऊ भन्दा म सक्दिनँ नभनोस्।
बिरामी पर्दा तातो पानी तताऊ भन्दा त्यति काम पनि मैले गर्नुपर्ने? नभनोस्। घरमा कोही आफन्त आउँदा चुकुल लाएर भूमिगत नबनोस्।
कोही आफन्तको घरमा जाऊँ भन्दा नाक नखुम्चाओस्।
कम्तीमा आफूले लगाएका लुगा आफैं धुन सिकोस्, आफ्ना लुगा आफैं पटाएर राख्न सिकोस्।
एक छाक खाना पकाएर खुवाऊ भन्दा बाहिरबाटै अर्डर गरौं नभनोस्। बस् यति कुरा त सिकाउन सकिन्छ नि!
मार्कसिटका अंकभन्दा बढी मूल्यवान जिन्दगीका बारबारका अंकहरू हुन्छन् कम्तीमा यति कुरा हेक्का रहोस् सबै अभिभावक र ऊर्जाशील सन्तानहरूलाई। बरू पढाइमा चार जिपिए आयो, व्यवहारमा कालो चियाधरी पकाउन आएन भन्ने कसैको सुन्न नपरोस्।
फलामको ढोका होइन ढोकाको एउटा खुड्किला मात्रै पार गरेको हो, संस्कार बिनाको शिक्षाले केही सिकाउँदैन। सबै भाइबहिनीहरूलाई एकमुष्ट शुभकामना!
(यमुना अर्यालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)