कुकुर मान्छेको आत्मीय साथी हो- यो भनाइ संसारमा सबैतिर प्रचलित छ। मान्छेसँग खेल्ने, जिस्किने, वरिपरि बस्न रूचाउने भएर होला कुकुरलाई मिल्ने साथी भनिएको।
हाम्रो घरको साने नामको कुकुर हामीसँग १४ वर्षदेखि छ। परिवारकै सदस्यझैं मान्छौं उसलाई।
बिरालो भने कुकुरजस्तो पाल्न रूचाउँदैन थिए कसैले। संगत नै नगरेकाले बिरालोको आनीबानी थाहा थिएन। छुच्चो हुने, मान्छेसँग खेल्न नरूचाउने, फोहोरी हुन्छ भन्थे। अमेरिका आएपछि भने धेरैको घरमा बिरालो देखेँ।
यहाँ धेरैको घरमा कुकुर सँगै बिरालो पनि पालेको देख्छु। कुकुर र बिरालो त झगडा गर्छन् भन्ने हुन्थ्यो हाम्रोतिर। यहाँ एउटै घरमा मिलेर, जिस्केर बसेको देख्दा सुरूसुरूमा म अचम्म मान्थेँ।
साथीहरूकोमा जाँदा बिरालोको बानीबेहोरा देखेर त झनै छक्क परेँ। कुकुरझैं आएर खेल्ने, हातमा सुम्सुम्याउँदै टाउको चलाइदे भन्ने र दिसापिसाब पनि कुकुरलाई झैं तालिम दिएर बाथरूममा राखिएको बालुवाको टोकरीमा गर्ने। बिरालो यति सहज हुन्छ भन्ने कहिल्यै लागेकै थिएन।
अहिले बिरालो प्रतिको मेरो सोचाइ नै बदलिएको छ। तर हालसालै एउटा बिरालो देखेर म चकिते परेँ। मलाई नयाँ र रोचक कुरा थाहा भयो।
एक जना साथीले केही समयअघि घरमा बिरालो ल्याएको थियो। सेतो फुच्चे बिरालो देखेर म एकछिन जिस्केको थिएँ। अस्तितिर जाँदा अर्कै बिरालो रहेछ, अलिक ठूलो ज्यानको। खैरो रङको। कान, मुख र पुच्छर भने कालो।
मैले सोधेँ, 'फेरि नयाँ बिरालो ल्यायौ?'
उसले होइन भन्यो।
'इज दिस द सेम क्याट? (यो त्यही अस्तिकै बिरालो हो र?)' मैले नपत्याएर फेरि सोधेँ।
'यस इट इज!' उसले मुस्कुराउँदै भन्यो, 'इट्स अ साएमिज क्याट!'
मैले यो साएमिज क्याट भनेको कस्तो हो भनेर सोधेँ। सुरूमा एउटा रङ भएको बिरालो अर्कै रङको कसरी भयो? बेलाबेला रङ फेर्न कसरी सम्भव हुन्छ?
उसले जे भन्यो त्यो मेरा लागि निकै रोचक र अनौठो थियो।
उसले मलाई भनेका कुरा गर्नुअघि म जीवहरूको क्रोमोजोमबारे कुरा गर्न चाहन्छु। कुनै पनि जीवहरूको विशेषताहरू (ट्रेट्स) निर्धारण गर्नमा ती जीवहरूको जिनको महत्त्वपूर्ण भूमिका हुन्छ। हरेक 'ट्रेट्' कसरी व्यक्त हुन्छ भनेर त्यो जीवको क्रोमोजोममा कोडझैं मिलेको हुन्छ।
सरल भाषामा भन्नु पर्दा क्रोमोजोम भनेको एउटा धागो जस्तो संरचना हो जुन डिएनएको लामो त्यान्द्रोले बनेको हुन्छ। त्यो त्यान्द्रालाई संरचनात्मक समर्थन दिएको हुन्छ हिस्टोन्स नामको प्रोटिनले। क्रोमोजोमको संख्या विभिन्न जीवहरूमा फरक हुन्छ। जस्तै हामी मान्छेहरूमा २३ जोडी हुन्छ भने गाईहरूमा २० जोडी। त्यस्तै बिरालोहरूमा १९ जोडी।
हरेक क्रोमोजोममा जिन हुन्छ। जस्तै मान्छेमा भएको क्रोमोजोमको नम्बर १५ मा भएको जिनले आँखाको रङ निर्धारण गर्ने भूमिका खेल्छ। त्यसैगरी कपाल वा छालाको रङ निर्धारण गर्ने जिन क्रोमोजोम नम्बर १६ मा हुन्छ। सहजताका लागि यहाँ एउटा जिनले आँखा वा कपालको रङ निर्धारण गर्छ भनिए पनि, कुनै पनि 'ट्रेट्' निर्धारण हुनमा धेरै खाले जिनको भूमिका हुन्छ।
क्रोमोजोमलाई अझै सरल भाषा मा व्याख्या गर्ने हो भने यो एउटा घरको 'ब्लुप्रिन्ट' जस्तो हो। ब्लुप्रिन्टको डिजाइनअनुसार जसरी घर बन्छ, त्यसरी नै क्रोमोजोमको डिजाइनअनुसार जनावरको आकृति बन्छ।
क्रोमोजोमको एउटा स्थानमा भएको जिनको वैकल्पिक रूपहरूलाई 'अलील' भनिन्छ। जीवहरूको हरेक विशेषतालाई त्यही 'अलील' हरूले निर्धारण गर्छन्। जस्तै उचाइ, कपालको रङ, आँखाको रङ, रगतको प्रकार।
आनुवांशिकीका पिता भनेर चिनिने ग्रेगर मेन्डलले केराउमा पाइने विभिन्न विशेषताहरूबारे अध्ययन गरेका थिए। अलीलहरू डोमिनेन्ट (व्यक्त हुन सक्ने) र रिसेसिभ (अव्यक्त) गरी दुई प्रकारका हुन्छन्। डोमिनेन्ट अलीलहरूले रिसेसिभहरूलाई दबाउन सक्ने क्षमता राख्छन्।
उदाहरणका लागि आँखाको रङलाई लिऔं। आँखाको खैरो रङलाई डोमिनेन्ट मानिन्छ भने नीलोलाई रिसेसिभ। प्राचीनकालदेखि नै मानिसहरूको आँखाको रङ खैरो धेरै देखिएको छ। आमा र बुवाको आँखाको रङ एक जनाको खैरो र अर्कोको नीलो छ भने सन्तानको आँखा खैरो हुने सम्भावना धेरै हुन्छ। त्यसकारण खैरोलाई डोमिनेन्ट मानिन्छ।
यसैगरी बिरालोमा पनि रङ विभिन्न खालका हुनु वा टाटेपाटे हुनुमा त्यस्तै अलील र तिनीहरूको डोमिनेन्ट र रिसेसिभ अवस्थाहरूले निर्धारण गर्छ।
अब जाऊँ मेरो साथीको त्यही साएमिज बिरालोको प्रसंगमा। उसको फेरिएको रङका बारेमा।
साएमिज बिरालोले एक प्रकारको उत्परिवर्तन पाइने रहेछ जसलाई हिमालयन जिन भनिँदो रहेछ। हिमालयन जिन रङका लागि रिसेसिभ हुने रहेछ। 'सी लोकस' (क्रोमोजोमको जिन रहेको एउटा भाग) मा हुने यो उत्परिवर्तन (म्युटेसन) ले शरीरको तातो भागहरूमा आंशिक अल्बनिजम गराउँदो रहेछ।
कुनै पनि जीवको रङ निर्धारण गर्ने मेलानिनले हो। सोझो गरी सोच्दा, सेतो हुनु भनेको मेलानिनको अभाव हुनु भन्ने बुझिन्छ। मेलानिनको अभाव हुने त्यस्तो अवस्थालाई नै अल्बनिजम भनिन्छ।
(यसबारे थप जान्न कागको रङबारे मेरो पहिलेको लेख पढ्न सक्नुहुन्छ- केही काग किन सेता हुन्छन्?)
साएमिज बिरालोहरूमा रङ देखिन दुइटा साएमिज टाइप रङको अलील चाहिन्छ। किनभने यो जिन रङहरूका लागि रिसेसिभ हुन्छ। दुवै रङको अलील भएको खण्डमा मात्र साएमिज रङ देखिन्छ।
धेरैजस्तो जिनहरूमा प्रोटिन बनाउने कोड हुन्छ। त्यही कोडअनुसार कार्यात्मक प्रोटिन बन्छ। प्रोटिनको निर्माण गर्ने ब्लकहरूलाई एमिनो एसिड भनिन्छ। टाइरोसिन नामक एमिनो एसिड बिरालोहरूको छाला वा रौंहरूको रङ निर्धारण गर्नमा महत्त्वपूर्ण हुन्छ। यो एमिनो एसिडको कमी हुँदा बिरालोलाई रङ दिने मेलानिन भन्ने पिग्मेन्ट बन्दैन। पिग्मेन्टेसन र रङ कसरी बन्छ भन्नेबारे पनि मेरो केही काग किन सेता हुन्छन्? भन्ने लेख पढ्न सक्नुहुन्छ।
यो टाइरोसिनमा नामको एमिनो एसिडमा समस्या आयो भने त्यसले सामान्य तापक्रममा आफूले गर्नुपर्ने काम गर्दैन। यसको सक्रियता खाली चिसो तापमानमा मात्र देखिन्छ। त्यसैले तापक्रमअनुसार साएमिज बिरालोहरूको रङ बदलिरहन्छ।
बिरालो सेतो रङको छ भने चिसो हुने उसको शरीरका भागहरूमा अरू रङ देखिन थाल्छ। तातो रहने ठाउँमा भने सेतै हुने रहेछ।
यस्तै गरी 'हिमालयन खरायो' नामक प्रजातिको खरायोमा पनि यस्तै प्रक्रिया देखिने रहेछ। त्यसैले तापक्रमअनुसार रङ फेरिदिने क्षमता भएको त्यो जिनको नाम पनि हिमालयन जिन राखिएको छ।
शरीरको भागको तापक्रम मात्र होइन, बाहिरी तापक्रमले पनि यस्ता बिरालोहरूलाई असर गर्ने रहेछ। त्यसैले यी बिरालोहरूको रङ मौसमअनुसार परिवर्तन हुने रहेछ। गर्मी महिनामा सेतो र जाडोमा कालो वा सुन्तला रङ आउँछ।
यसरी तापक्रमले शरीरको पिग्मेन्टेसनमा असर पार्न सक्ने प्रकियालाई एक्रोमेलानिजम भनिन्छ। बिरालो, खरायोसहित मुसा, छुचुन्द्रोहरूमा पनि यो जिन भेटिएको छ।
बिरालोलाई पट्यार लाग्दो जनावरका रूपमा लिनेहरूका लागि साएमिज बिरालो रोचक र रहस्यमयी हुन सक्छ।
मैले धेरै संगत नगरे पनि बिरालोहरू धेरै संवेदनशील र सहानुभूतिपूर्ण जनावर रहेछन् भन्ने अनुभूति गरिसकेको छु। पारिस्थितिक हिसाबले बिरालोहरूले असाध्यै चरा मार्ने भएकाले धेरैलाई मन पर्दैन। तर त्यसमा उनीहरूको के दोष? यिनले प्रकृतिको नियम त पछ्याएका हुन्।
बरू उनीहरूलाई नि हाम्रो घरमा ठाउँ दिएर, सकेसम्म घरभित्र राखेर चराहरूलाई नि मद्दत गर्न सकिएला।
हाम्रो समाजमा बिरालोहरूले अझै ठाउँ पाऊन्!
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
(लेखक घिमिरे नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राणीशास्त्रमा विद्यावारिधि गर्दैछन्। उनको अध्ययनको क्षेत्र, वातावरणीय दबाबले भंगेराका चल्ला वृद्धि र तिनको आयुमा पर्ने असरबारे हो।)