साइकलसँग परिचित नभएका र जीवनमा साइकल प्रयोग नगरेका व्यक्तिहरू विरलै होलान्। केही वर्ष अघिसम्म पनि किनमेल गर्न होस् वा अफिस जान आउन वा व्यापारिक सामानहरू ओसार्न साइकल प्रत्येक व्यक्तिको पहिलो रोजाइको सवारी साधनको रुपमा रहेको थियो। अर्थात् दैनिक जीवनयापनका लागि हरेक घरको आवश्यकता थियो।
आज समयले कोल्टे फेरीसकेको छ। व्यस्त जीवनशैलीलाई सहज बनाउन आम जनमानसले साइकललाई प्रतिस्थापन गरी मोटरसाइकल, स्कुटर, निजी सवारी साधन वा अन्य सार्वजनिक सवारी साधनहरूलाई आफ्नो जीवनको अभिन्न अंगको रुपमा स्वीकार गरिसकेको छ।
काठमाडौँ उपत्यकामा साइकल सवारी साधनका रूपमा भन्दा बच्चाहरूको खेल्ने साधन, वयस्कहरूको व्यायाम गर्ने वा मनोरञ्जनका लागि उपत्यकाका रमणीय स्थानहरूमा घुम्न जाने साधनका रुपमा परिणत हुँदै गएको मात्र नभई महंगोभन्दा महंगो विदेशबाट आयातित साइकल चढ्ने सौखिन साधनका रूपमा विकसित हुँदै गएको देखिन्छ।
साइकल सबैभन्दा सस्तो सवारी साधन हो। यसको मर्मत खर्च ज्यादै न्यून छ। यसको प्रयोगले शारीरिक व्यायाम हुने, शारीरिक व्यायामको कमीले निम्त्याउने रोगहरूमा कमी आउने, इन्धन तर्फको व्यक्तिगत खर्च जोगिने मात्र नभै राष्ट्रले इन्धन आयातमा खर्चिने ठूलो रकमको बचत हुने, इन्धनबाट हुने वातावरणीय प्रदुषणमा कमी आउने, प्रदुषित वातावरणबाट हुने रोगहरूमा कमी आउने आदि फाइदाहरूले हाम्रो जीवनमा साइकलको कति महत्व छ भन्ने प्रष्टिन्छ।
यसरी लागत, पर्यावरण, वातावरण र स्वास्थ्यका दृष्टिकोणले साइकल अति उत्तम सवारी साधन भईकन पनि काठमाडौँको व्यस्त दैनिक जीवनमा साइकललाई पुरानै रुपमा फर्काउनु र उपयोग गर्नु व्यवहारिक रुपमा पनि कठिन नै देखिन्छ।
आज सडकमा साइकल यात्रुहरू दुर्घटनाको दृष्टिकोणले सबैभन्दा बढी जोखिममा छन्। व्यवस्थित र सुरक्षित साइकल लेनको अभाव छ। सबै उमेरका लागि सहज नहुन सक्छ। एकल प्रयोगलाई मात्र सहज, पार्किङ र चोरीको अत्याधिक सम्भावना, अफिस, स्कुल, कलेज आउने जानेका लागि खाना खाने, नुहाउने, कपडा फेर्ने र बोक्ने आदि समस्याका कारण असहज र अन्य आपतकालीन प्रयोजनका लागि आजको व्यस्त दैनिकीमा जोखिमपूर्ण, अनुपयुक्त र गाह्रो छ।
यी आदि कारणले साइकल अहिले थप सवारी साधनको रूपमा समेत विकसित भएको छ। साइकल समेत नेपालमा नबन्ने, महंगा साइकल र पाटपुर्जा समेत आयात गर्ने प्रवृत्तिले राष्ट्रले थप विदेशी मुद्रा खर्चिनु पर्ने अवस्था छ।
एकातिर दिनानुदिन तीव्र गतीमा बढ्दै गएको भौतिक संरचनाहरूको निर्माण र सवारी चापका कारण काठमाडौँका सडक बाटाहरू साँघुरा भैसकेका छन्। भएका सडक संरचनामा यातायात व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरण चुनौतीपूर्ण भैसकेका छन् भने पार्किङ अर्को चुनौतीका रुपमा विकसित हुँदैछ।
लागत, समय र प्राविधिक दक्षताको अधिक आवश्यकताका बाबजुद दीर्घकालीन यातायात व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरणका लागि टनेल मार्ग, फ्लाइओभर र अण्डरपासको निर्माणमा जोड दिइएको अवस्था एकातिर छ भने, भएका सडक संरचनालाई सुरक्षित बनाउन ट्राफिक इन्जिनियरिङको प्रयोगमा व्यापकता ल्याउनु पर्ने अर्को आवश्यकता छ।
समयक्रमसँगै तीव्र विकास र सुरक्षित एवं आधुनिक सहरीकरण नेपालीहरूको पनि चाहना र आवश्यकता हो, यसलाई नकार्न सकिन्न। काठमाडौँको रिङ-रोडभित्र थप सडक विस्तार लागत र अन्य दृष्टिकोणले सहज देखिन्न। काठमाडौँका सडक संजालमा पैदल यात्रुहरूको सुरक्षाका लागि सुरक्षित फुटपाथ तथा ओभरब्रिजहरूको निर्माण ज्यादै न्यून रहेकाले तिनीहरूको तीव्र निर्माण जरूरी छ।
त्यस्तै काठमाडौँ उपत्यका भित्र मर्निङ वाकका लागि सुरक्षित गन्तव्य अर्थात् पार्कहरू नगन्य मात्र छन्। काठमाडौँ उपत्यकामा खानेपानी, सडकका धुलो र फोहर व्यवस्थापन अर्को चुनौतीका रूपमा रहेको छ।
विकसित राष्ट्रका सहरहरूमा साइकल यात्रुहरूका लागि सुरक्षित व्यवस्था छ, जनचेतनास्तर उच्च छ। ललितपुर महानगरपालिकाले नयाँ सोच, प्रयोग र प्रयासका रुपमा साइकल लेनको परिकल्पना गरेको थियो जुन प्रशंसनीय हुँदाहुँदै पनि साइकल यात्रुहरूले साइकल लेनको सही रुपमा उपयोग गर्न नसकेको वा नपाएको तथ्य तीतो यथार्थ हो।
ललितपुरको साइकल लेनले सार्थकता नपाउनुमा साइकल प्रयोगकर्ताहरूको न्यून संख्या पनि एक हो। साइकल प्रयोगकर्ताहरूको न्यून संख्या र अन्य सवारी साधनको चापका कारण नै खाली अवस्थाको साइकल लेनलाई अन्य सवारी साधनले प्रयोग गर्ने बानी नहटेको हुन सक्छ।
धेरै कमले मात्र साइकललाई आफ्नो दैनिकीमा प्रयोग गर्छन्। काठमाडौँ उपत्यकामा साइकलको प्रयोगलाई पुन: पहिलेकै सान्दर्भिकतामा ल्याउन आजको व्यस्त अनि अटोमोबाइलको युगमा ठूलै प्रयास बिना कठिन छ। यसका लागि सर्वसाधारणको दैनिकीमै ठूलो परिवर्तन आउनु जरूरी छ। साइकल प्रयोग अभिवृद्धि गर्न जनचेतनास्तर बलियो बनाउन सरकारी स्तरमै प्रयासको आवश्यकता पर्छ।
यसको अर्थ काठमाडौँ उपत्यकालाई साइकल निषेधित क्षेत्र घोषणा गर्ने भन्ने होइन, बरु यस्तो परिस्थितिलाई शिक्षाको रूपमा ग्रहण गरी सम्बन्धित निकायहरूले साइकल संस्कृतिका रुपमा जगेर्ना गर्न होस् वा मनोरञ्जन तथा शारीरिक व्यायामका रुपमा प्रयोग गर्न होस् वा दैनिक सवारी साधनका रूपमा साइकलको प्रयोग बढाउन होस्, काठमाडौँ उपत्यका लगायत नेपालका सम्पूर्ण नयाँ विकास गर्ने सहरहरू तथा विकासका क्रममा रहेका सहरहरूमा साइकल लेनको उचित योजना बनाउनु पर्छ।
उपयुक्त स्थानहरूमा साइकल लेनको सुविधासहित पार्कहरूको निर्माणको थालनी गर्नुपर्छ। सहर नजिकका मनोरञ्जनका लागि उपयुक्त स्थानहरूमा साइकलमा घुम्न जान मिल्ने उचित व्यवस्था शीघ्र कार्यान्वयनमा ल्याउनु पर्छ। साइकल प्रयोगकर्ताहरूको संख्या अभिवृद्धि गर्न जनचेतनास्तर अभिवृद्धि गर्नुपर्छ।
स्वदेशमै सस्तो र सुलभ रूपमा सुरक्षित साइकलको उत्पादन सुरु गरेर नेपालमै बनेका साइकलको प्रयोगमा जोड दिनुपर्छ। साइकल प्रयोगकर्ताहरूलाई अझ सुरक्षित वातावरण बनाउनु पर्छ। साइकल प्रयोगकर्ताहरूलाई आवश्यक हेल्मेट वा अन्य साधन (साइड मिरर, बत्ती, हर्न आदि) को प्रयोग गर्न जनचेतना जगाउनु पर्छ।
अन्य सवारी साधन प्रयोगकर्ताहरूलाई सडक, साइकल यात्रुहरूका लागि पनि हो र साइकल चालकहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने लगायतका विषयहरूमा सचेतना कार्यक्रमहरू संचालन गर्नुका साथै आवश्यक परेमा नीती नियमको समेत तर्जुमा गरी सरकारी स्तरमै प्रयास थाल्नु पर्छ भन्ने हो।
अव्यवस्थित सहरीकरणलाई बेलैमा नियन्त्रण गरी सुरक्षित विकल्पका रूपमा साइकलको प्रयोगलाई बढाउन सकेमा सहरहरू पर्यावरण, वातावरण र नागरिकमैत्री बन्न गई केही हदसम्म यातायात व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणमा समेत सघाउ पुग्ने देखिन्छ।
काठमाडौँ उपत्यकाकै कुरा गर्ने हो भने अफिस प्रयोजन र आपतकालीन अवस्थाका लागि केही असहज भएता पनि अन्य दैनिक प्रयोजनका लागि अन्दाजी ५-१० किलोमिटरको दूरीमा धेरैको गन्तव्य रहेको हुन्छ, जुन साइकलबाट एकल यात्रा गर्नु सहज नै हो। यति मात्रले पनि इन्धन आयात, सो इन्धनबाट हुने प्रदुषण र सो प्रदुषणबाट हुने रोगहरूमा उल्लेखनीय कमी हुने देखिन्छ। खाली सोचमा परिवर्तन जरूरी छ।
साइकल यात्रीहरूको संख्या वृद्धि गर्न उपयुक्त समयमा जनचेतनाका कार्यक्रमहरू गर्न सकिन्छ, उपयुक्त विधुतीय माध्यमहरूबाट साइकल यात्राबाट हुने फाइदाहरू समेटिएको कार्यक्रमहरू प्रचारप्रसार गर्न सकिन्छ। उपयुक्त स्थानहरूमा साइकल रयाली एवं प्रतिस्पर्धाका कार्यक्रमहरू गर्न सकिन्छ।
नेपालका पहाडी र हिमाली भेगमा साइकलको र्याली एवं प्रतिस्पर्धा संचालन गरी विदेशी पर्यटकहरूलाई समेत आकर्षित गर्न सकेमा नेपाल विदेशी साइकल यात्रुहरूका लागि समेत परिचित गन्तव्य हुन सक्छ र यसले नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक टेवा पुर्याई नेपाललाई विदेशमा चिनाउन थप मद्धत गर्न सक्छ।
(लेखक डिएसपी श्रेष्ठ ट्राफिक इन्जिनियर हुन्।)