केही समय अघिको कुरा हो, एक जना साथीसँग फोनमा कुरा भइरहेको थियो।
'मेरो बुवाले तिमीसँग कुरा गर्नुहुन्छ रे ल बोल' साथीले बुवालाई फोन दिइन्।
सन्चो बिसन्चो सोधी खोजीपछि बुवाले प्रश्न राख्नुभयो।
'ए! नानी साँच्ची तिमीसँग एउटा कुरा गर्नुथ्यो, अब आउने वैशाखमा, वैशाखमा भएन भने मंसिरसम्म जसरी पनि भाइ (कान्छो छोरा)को बिहे गर्नुपर्ने छ। तिम्रो चिनजानमा, कोही अलि राम्रा केटी छन् भने भाइको जोडी बाँधिदिनुपर्छ है! यसो सम्झिराख। तिम्रो पनि भाइ हो, अलिकति चासो हुनुपर्यो है नानी।'
बुवाको प्रश्न, चासो, सरोकार नराम्रो, नौलो, फरक पक्कै पनि थिएन। उहाँले विगतदेखि वर्तमानसम्म जसरी समाजको रित चलेको छ त्यसै मेसोमा रहेर चासो राख्नुभयो।
साथीले पनि बेलाबेलामा 'कान्छोको बिहे गर्नुछ, आमा रोगी हुनुहुन्छ। अलि व्यवहारिक बुहारी भित्राउन सकियो भने घर व्यवहार पनि राम्रोसँग चल्थ्यो, आमाको पनि हेरचाह हुन्थ्यो, जागिर खाने नै भए पनि बिहान-बेलुका त घरधन्दामा सघाउ हुन्थ्यो' भन्ने कुरा गरिरहन्थिन्।
छोरीको नाम लिएर बुवालाई जवाफ फर्काएँ।
'मलाई मिनुले पनि यो बारेमा भनिसकेकी छन् बुवा। कोही बहिनी सम्पर्कमा आए भने सके म खबर गर्छु नि बुवा।'
बुवाले फेरि कुरा दोहोर्याउनु भयो, 'अँ नानी कान्छाको जोडी मिल्न लायक कोही राम्रा केटी भेटायौ भने खबर गर है। हुन त तिमीहरू साथीसाथीका कुरा भइहाल्छन्, बाउको मन यसो सम्झाएको मात्र।'
बुवाले फेरि पनि कोही राम्रा केटी भए ... भन्ने शब्दावली दोहोर्याउनु भयो।
त्यसपछि भने मनमा धेरै कुरा खेले। आखिर 'राम्री केटी'मा के छ?
कस्ता केटी राम्रा हुन्छन्? अनुहारमात्रै राम्रो हुने हो कि? उसको गुण, व्यवहारिक पक्ष पनि राम्रो भनिएको हो कि? हाम्रो रेडिमेड सवाल हो यो। कोही राम्रा केटी सम्पर्कमा आए भने यसो बुहारी बनाउने कुरा सोच है नानी हो, अन्य अग्रजहरू पनि यसै भन्नुहुन्छ।
एक जना बुवाको सवाल होइन यो, आम बुवाआमाहरूको साझा सवाल हो। जसले बुहारी भित्र्याउने सोच बनाउनु भएको छ, उहाँहरूको सामूहिक भावना, सामूहिक धारणा लगभग समान हुन्छ, 'राम्री' बुहारी भित्र्याउने।
राम्री बुहारीका मापदण्डहरू के हुन्? यस बारेमा भने धेरैलाई पक्कै पनि थाहा छैन होला। हुन त सबैलाई राम्रो चिज नै रोज्न मन लाग्छ, राम्रो चिजमा नजर पर्छ, राम्रो बस्तुप्रति लगाव हुन्छ। तर मान्छे र वस्तुमा के फरक छ?
अर्को प्रसंग।
एक जना काकीले एकैछिन घरमा आऊ न भनेर बोलाउनु भयो। काकीको मान राखिदिन गएँ। उहाँले छेउमै बसेकी बहिनीतर्फ औंलो देखाउँदै भन्नुभयो,
'अब यसको बिहे गर्नुपर्ने छ। आउने माघसम्म बिहे भएन भने तीन वर्षसम्म बिहे जुर्दैन रे।'काकीको फरक चिन्ता छ।
उहाँलाई ज्वाइँ कस्तो कूल घरानाको, कति पढेको, कस्तो बानी व्यवहार भएको, घरपरिवार कस्तो भएको यी सवालसँग खासै मतलब छैन। उहाँलाई हुनेवाला ज्वाइँ गरिखाने र छोरी पाल्ने हैसियतको चाहिएको छ।
काकीकी छोरी जागिर नखाएसम्म बिहे नगर्ने अडानमा छिन् तर ज्योतिषीको कुराले काकीलाई बेचैनी बनाएको छ।
'घरपरिवार राम्रो भयो भने बिहे गरेपछि पनि कति जनाले अवसर पाएका छन्। पढ्ने मान्छेले जसरी पनि पढ्छन्। डिग्रीसम्म पढाएकै छौं, अब जागिर खाइहाल्छे नि। डिग्री पढेकी बुहारीलाई घरमै भातै पकाएर त आजकालका सासूले राख्दैनन्। हाम्रा पालाका जस्ता सासू छैनन्, अहिलेका सासूले बुहारीलाई छोरीलाई जस्तै गर्छन्। जागिर सागिर बिहेपछि पनि खान्छे, माघसम्म कतै नाम निकाली भने ठिकै छ, हातमा सर्टिफिकेट भएपछि जागिर त खोज्ने हो नि।'
छोरीलाई एकपछि अर्को प्रसंगले काकीले नाजवाफ बनाउनुहुन्थ्यो।
छोरीको आफ्नै अठोट छ।
'ल माघमा मेरो बिहे भएन भने तीन वर्ष हुँदैन रे ....चिन्ता यति होइन त आमा? त्यसले के फरक पार्छ र? म तीन वर्षपछि बिहे गर्छु। त्यतिन्जेल मेरो जागिर हुन्छ, एक दुई वर्ष छोरीको कमाइ बाउआमालाई खुवाउन पाइन्छ। लोक सेवाको जाँचमा जस्तो बिहेमा उमेरको हदवन्दी छैन क्यारे!' छोरीको कुराले काकी रिसाउनु भयो।
'तैलाई आउँछ है यस्ता कुरा गर्न? तेरो यस्तै मुखाले बानीले दु:ख पाउलिस् बाबै। मुख ठिक ठाउँमा चलाउनुपर्छ। अहिले पच्चिस वर्ष भइस्, तीन वर्षपछि तीसका हाराहरीमा पुग्छेस्। तँ तीस वर्ष पुग्न लाग्दा तँलाई बिहे गर्ने केटो चालिस वर्ष वरिपरिको होला रे। तेरा काकाका छोरीहरू छोरछोरी ल्याएर माइतीमा आउँछन्, सबैका छोराछोरीले ठूली आमा, ठूलीआमा भन्दा चाल पाउलिस्। जे कुरा नि बेलामा गर्न पर्च। उमेर घर्केपछि तँलाई हेर्न को आउँछ र?'
आमाका कुराले छोरी केही बोलिनन।
सायद बोल्न जरूरी पनि ठानिनन होला। कुरा गरिरहँदा काकीलाई कसैको फोन आयो। बहिनी र म गफ गरिरहेका थियौं।
काकी फोनमा बोल्दै हुनुन्थ्यो, 'के अरे नानी। अरू कुरा त्यस्तै हुन् हेर, केटो गरिखाने चाहियो, यतिको छोरी हुर्काएका छम्। डिग्रीसम्म पढाएका छम्। छोरी पाल्न परो। क्यार्नी त नि अर्काको घर जाने जात हो। हुर्के बढेका छोरी धेरै समय माइतमा राख्न हुन्न। तपाईंले 'हुन्छ' भन्नुहुन्छ भने मेरो नाइँनास्ती छैन बाबु। मेरी छोरी तपाईंकी नि छोरी हो। केटो गरिखाने भएसी जाँ लएर नि पाल्च बाबु। धन्दै मान्नु पर्दैन। यसले हाम्ले भनेसी नमानेर हुन्छ र? मानिहाल्छे नि।'
उता आमाको कुरा नसकिँदै बहिनीको मुहारमा रिसका धर्साहरू सल्बलाइसकेका थिए। अनुहार रातो पिरो भइसकेको थियो। काकीले फोन राख्नुभयो।
'फोनमा के कुरा भयो पूरै सुन्न पाको छैन, हेर त यसको अनुहार? के के न भएजस्तो ? के सारो जासुसी गर्छे यो केटी ? किन अनुहार यस्तो बनाएकी हुँ? कुरा त सुनिस् होला नि, तँलाई हेर्न मान्छे आउनी भाका छन् रे। भर्खर तेरो सानो बुवाले फोन गर्नु भाको। अब दायाँबायाँ, उल्टासुल्टा कुरा गर्ने होइन। त्यहाँ मान्छेका अगाडि उपरखुट्टी लाएर बस्ने, कुरा गरिरहेका बेलामा बिचमा प्वाक्क यस्तो रे उस्तो रे भन्ने होइन। सधैंभरि तेरो हैकम चल्दैन। अलि इज्जतीली, सोझी, इमान्दार देखिने नि। तेरो मुख अलि बढी नै छुचो छ मनमा लाएका कुरा प्वाक्क नभन्ने है मान्छेका सामुन्ने। तेरो कारणले साइँला काकाकी छोरीको बिहे भाँडिएको था छ कि छैन?'
काकीले मापदण्डको शृंखला बढाउँदै हुनुहुन्थ्यो। बहिनी अँ अँ भन्दै थिइन्।
'साइँला काकाकी छोरीको बिहे कसरी भाँडिएको' भनेर सोधें।
काकीले भनिहाल्नुभयो, 'सोध न नानी यसैलाई। यही छ नि पढे लेखेकी, दुनियाँका न्वारानदेखिका कुरा यसैलाई थाहा पाउन पर्च, कहाँ पढेको, के पढेको, कति पढेको? दुनियाँथरी सोधिखोजी गर्दागर्दा हुनै लागेको बिहे यसैली रोकी।'
यति भनेर काकी रिसाएर भान्सामा जानुभयो।
अनि बहिनीलाई सोधेँ, 'के भाको हो खास कुरो?'
जवाफमा बहिनीले भनिन्, 'अरू ठूलो कुरा त केही होइन दिदी। हाम्रा आमाको पालामा जस्तो अहिले चल्छ र? आजकालका केटीहरू केही बुझ्दैनन जसरी सोच्छन्, त्यस्तै व्यवहार गर्छन् अनि असह्य हुन्छ। बहिनी भर्खर व्याचलर सकाएकी थिई। ऊ मास्टर्स कहाँ पढ्ने सोच्दै थिई, उसको बिहेको कुरा चल्यो।
बहिनी राजी थिइन तर पनि बाध्य थिई आफन्तको अगाडि। आफन्तले केटो लिएर घरमा आए। उसलाई हेर्न आएको केटो इन्जिनियरिङ पढेको भन्यो, त्यो केटाको चाल हेर्दा मलाई कताकता केही न केही खोट छ कि भन्ने लाग्यो। मैले कुन कलेजमा पढ्नु भएको भनेर सोधें उसले थापाथलीमा भन्यो। थापाथलीमा पनि इन्जिनियर पढ्ने क्याम्पस छ र? मैले प्रतिप्रश्न गरें केही थाहा नपाएजस्तो गरी। ऊ एकैछिन अकमकायो।
ए.. सरीसरी मैले त थापाथली पो भनेछु, जाउलाखेलमा हो भन्यो।
जाउलाखेलमा इन्जियरिङ क्याम्पस छैन, पुल्चोकमा छ। अनि मैले जानीजानी, ए हो र? उसो भए तपाईं सिभिल, इलेक्ट्रिकल इन्जिनियर कुन भनेर सोधें।
'जुन भए पनि इन्जिनियर एउटै त हो नि' ऊ झूटमाथि झूट बोलिरह्यो। काका-काकी इन्जिनियर ज्वाइँ पाउने आसमा मख्ख थिए। आखिर आफ्नै भान्जाले कुरा ल्याएका थिए। उसको गल्ती एकपछि अर्को फेला पर्दै गयो। ऊ झूट बोलेर इन्जिनियर हुँ भनेर बहिनीलाई हेर्न आएको रहेछ।
बहिनीले सबै कुरा थाहा पाई, ओभरसियर भर्ना मात्रै भएको रहेछ, पास भएको रहेनछ। सबै आफन्तलाई इन्जिनियर भनेर फकाइसकेको थियो। मेरो कुराले उहाँहरूको इन्जिनियरलाई ज्वाइँ बनाउने सपना तुहियो। बहिनीले कुनै पनि हालतमा बिहे गर्दिनँ भनी। सबै मिलेको कुरा यसैले भाँडी भनेर मलाई तारो बनाइयो।
उसको आफ्नो त बिहे भएको छैन छैन, हुँदा हुँदा हुनै लागेको बहिनीको कुरा पनि यसैले बिगारी भनेर ममाथि सबै जना खनिए। आखिर सत्य त सत्य नै हुन्छ नि, पछि सबै जनाले सत्य कुरा थाहा पाए, भएको यति हो।'
यी दुई प्रतिनिधि पात्र तपाईं हाम्रै घरपरिवार, छर छिमेकका पात्र हुन्। यी दुई पात्रको चासो र चिन्ता फरक छ।
एक जनालाई गरिखाने ज्वाइँ चाहिएको छ, अर्कोलाई राम्री बुहारी चाहिएको छ। कसैकी छोरी कसैकी बुहारी हुन् र कसैका छोरा कसैका ज्वाइँ पक्कै पनि हुन्छन्। फरक यति मात्र हो, उहाँहरूले बनाएको मापदण्ड जस्तो राम्री र गरिखानेको दायराभित्र कति अटाउँछन् भन्ने कुरा महत्वपूर्ण हो।
यसले के शिक्षा दिन्छ भने हामी छोराहरूलाई जसरी तिमीहरू आफ्नो खुट्टामा उभिनसक्नुपर्छ। भोलि श्रीमतीलाई पाल्नुपर्छ भनेर सिकायौं, त्यही शिक्षा दियौं। अर्कोतिर छोरीलाई संस्कार र चालचलनका नाममा यस्तो गर्नू, उस्तो नगर्नू, यसरी बोल्नू, यसरी नबोल्नू, यस्तो लगाउनू, यस्तो नलगाउनू। अनेकन मापदण्डमा सीमित गरायौं। विगतदेखि वर्तमानसम्म अझ कति पुस्ता यसैगरी जान्छ भन्न सकिँदैन।
छोरीलाई किन राम्री भइदिनुपर्ने? राम्री बुहारीको खोजी गर्ने ससुरा बा, सासू आमाले अलि व्यवहारिक, घर व्यवहार चलाउन सक्ने, सबैलाई रिझाउन सक्ने, घर माइतीलाई एउटै नजरले हेर्न सक्ने, सानो कुरामा चित्त नदुखाउने, सानो मन नबनाउने, केही गर्न सक्छु भन्ने हिम्मतीवाली बुहारी चाहिन्छ भनेर किन भन्न नसकेको होला? कि राम्रीभित्र यी सबै कुरा समावेश हुने हुन् कि?
जति ठूलो घराना भए पनि, जति निम्न वर्गीय परिवारको भए पनि आखिर सोचको गहिराइ यति हो सबैलाई राम्री बुहारी चाहिन्छ।
अर्कोतर्फ ज्वाइँको अरू व्यवहारिक पाटोको बारेमा मतलब छैन। उसले ठगी गरोस्, चोरी फटाही गरोस्, भ्रष्टाचार गरोस्, जालझेल चाहे जे सुकै किन नगरोस् तर उसले छोरीलाई खुसी बनाएर राख्न पर्यो। समाजमा फलानाको ज्वाइँ भनेर नाक राखिदिन पर्यो। समाजमा बेग्लै इज्जत हुनुपर्यो। बस् यतिमात्रै हेरिन्छ। तर ज्वाइँ भनेको पनि छोरा हो, छोरा र ज्वाइँमा फरक नहोस्, इमान्दारिताले कमाएको सम्पत्तिमा मात्रै सन्तुष्टि हुन सिकोस्।
इज्जतमा दाग लगाएर आर्जन गरेको एक पैसा पनि कालो हो, त्यस्तो कर्म नगरोस्, व्यवहारिक होस्, सादा जीवनमा रमाउने खालको होस्। अरूका ससुरालीको दाइजो, सम्पत्तिमा आफ्नी छोरीको तुलना नगरोस्।
सानो कुरामा पनि छोरीलाई तनाव दिने काम नगरोस्, आफ्नो कोखबाट जन्मिने छोरा र छोरीमा विभेद नगरोस्। ससुराली र आफ्नो घरपरिवारका आफन्तका बीचमा राम्रो सम्बन्ध बनाओस्। कुलतमा नलागेको होस्, जस्तो कठिनाइलाई पनि हाँसीहाँसी समाधान गर्न सक्ने होस्, छोरीले केही गर्न सक्छु भन्दा आँट र भरोसा दिने होस्। यी मापदण्ड हुनेवाला ज्वाइँको हकमा किन मित्था हुन्छन्?
अझ विदेशको पिआरवाला केटो पाउने हो भने त हाम्रा बाउआमा आफ्नै उमेर समानका केटालाई पनि ज्वाइँ बनाउन पछि पर्दैनन्। सबै अभिभावकलाई साझा सुझाव छ, पैसाले केही खुसी होलान् तर सबै खुसी हुँदैनन्। पैसामा खुसी मिल्ने भए करोडौं मूल्यमा उच्च घरानाभित्र पारपाचुके पक्कै हुने थिएनन्।
अनुहार राम्रा भएका बुहारी मात्रै छोराको लायक हुँदैनन्, यदि यसो हुँदो हो त सुन्दरीहरू भित्र्याएका पुरूषको जीवनमा कहिल्यै खटपट नहुनुपर्ने हो। झन् बढी खटपट उनीहरूकै जीवनमा सुनिन्छन्।
यसर्थ, व्यवहार र भोगाइ महत्वपूर्ण हो। हरेक कुराले योग्य र हरेक कुरामा पोख्त ज्वाइँ अनि बुहारी खोज्नुस्। ज्वाइँ र बुहारीको खोजीमा रहेकाहरूलाई सानो सुझाव।