सुन्नुस् न! एकछिन अक्षहरूमा भुलौँ है?
तपाईंले बुवा-आमालाई कहिल्यै केही उपहार दिनुभएको छ?
अँ, तपाईं! यो लेख पढ्दै गरेका तपाईंहरू।
अझ यसो भनौँ, कतैबाट घर फर्किँदा (सहर, विदेश) केही किनेर ल्याइदिनु भएको छ? अथवा 'यी लिनुस्' भनेर मुसुक्क हाँस्दै हाताँ केही हाल्दिनु भएको छ?
पक्कै, केही न केही त दिनुभएकै छ।
आफ्नाहरूलाई केही दिने चलन संसारभरि चल्तिमा जो छ। तपाईंहरू मध्ये कसैले लुगा दिनुभयो होला। कसैले जुत्तासुत्ता दिनुभयो कि? आमालाई दिएको वस्तु 'बर्को' पो थियो कि! बालाई कोट दिनुभएको हुनसक्यो। हजुरआमालाई 'माला' पो दिनुभयो कि!
हजुरबुवालाई के दिनुभयो? टोपी?
जे होस्, लामो समयपछि भेट्दा केही न केही त दिनुभयो। तपाईंले दिएको वस्तु के थियो त्यतातिर नजाउँ। के दिनुभयो, त्यो ठूलो कुरा भएन। दिनुभयो त्यही ठूलो कुरा रह्यो।
बरु अब आउनुस् एकैछिन यिनै कुराहरूमा गलफत्ति गरौँ।
समय छ नि है?
तपाईंले दिएको उपहार पाएपछि बा-आमाहरूको पहिलो प्रतिकृया कस्तो रह्यो? सोच्नुस् त!
मतलब एकफेर त्यो समय फर्किनुस्। जुन बेला अन्तिम पटक तपाईंले बा-आमालाई उपहार दिनुभएको थियो।
केही कुरा जब तपाईंले दिनुभयो, उहाँहरू झ्याप्प खुसी देखिनुभयो होला। उहाँहरूको अनुहार उज्यालो भयो होला। हात परेको जिनिसमा ध्यानले आँखा गाँड्नुभयो कि! कोही-कोही त पिलिक्कसम्म गर्न भ्याउनुभयो होला।
मतलब, उहाँहरू तपाईंप्रति निकै धन्य हुनुभयो। जुन कुरा उहाँहरू बोल्नुपूर्व उहाँहरूकै चेहराको भावले बतायो।
पहिलो प्रतिकृयामा खुसी पोखियो। अब त्यसपछि के हुन्छ त? उहाँहरूले देखाउने दोश्रो प्रतिकृया के हो?
म भन्छु नि के हो। तपाईं बस् त्यो दिन सम्झिनुस्।
उपहार पाएपछि उहाँहरू बोलेको पहिलो वाक्य- 'किन चाहिया थ्यो, जति पनि याहीँ थे' भन्ने खाले थियो होला।
त्यसको एकछिनपछि, उपहार पाएपछि देखापरेको खुसीमा तत्कालै चिन्ता मिसिन पो पुग्यो कि! महंगो हाल्यो कि भन्ने चिन्ता। र भन्नुभयो होला- 'कति पर्यो यसलाई?'
त्यो सोध्दै गर्दा, उहाँहरूको अनुहारमा उत्सुकता झल्कियो पक्कै। पैसा धेरै हाल्यो कि भन्ने पीर र खर्च बढी गर्यो कि भन्ने भुटो पनि देखापर्यो। अनि तपाईं परेकोभन्दा घटाएर भन्नुभयो होला, यति पर्यो। कसैले त बताउनु भएन होला। (अपवाद केहीले बढाएर भन्नुभयो।)
बरु भन्नुभयो- जति परे नि लाउनुस् न (यो वाक्यले उहाँहरूको चित्त बुझेन।)
तपाईंले भनेको मूल्यमा चित्त बुझे, 'ठिकै हो, त्यति त किन नपरोस्' भन्नुभयो।
चित्त नबुझे, 'यस्तामा त्यत्रो दाम हालेर' भनेर मुरमुरिनु भयो।
उहाँहरूमा देखा परेको पहिलो प्रतिकृया जुन खुसीको थियो, त्यसमा फर्काउन केही न केही त ढाँट्नै पर्छ। तपाईंले मूल्य ढाँटेरै त्यो सम्भव छ। नत्र उल्टो अर्थ लाग्छ। अनिखेर के हुन्छ त?
तपाईंले लाएर हेर्नुस् भनेर कर गरेपछि लाउनुभयो। उहाँले पहिरिएपछि तपाईंलाई सानो भएको होकि जस्तो लाग्यो होला। ठूलो भएको जस्तो पनि लाग्न सक्यो। साथै खासै नसुहाएजस्तो पनि देख्नुभयो कि!
त्यो तपाईंलाई लागेको कुरा भयो। तर भन्नु भएन। ठूलो जस्तो देखिए, अलि ठूलो परेछ भन्नुभएन। टिमिक्कको रहेछ भने पनि, अलिक स्यानो भएछ भन्नुभएन होला।
बरु कस्तो लाग्यो भनेर सोध्नुभएको हुनसक्छ।
ठूलो होस्, स्यानो होस्, सुहावस् नसुहावस्- अहँ! खोट लाउनुहुन्न उहाँहरू। त्यो बेला पक्कै लाउनुभएन। तपाईंले दिनुभयो भन्ने कुराले नै उहाँलाई पुग्दो भएको हुन्छ। जस्तो भए पनि राम्रो छ भन्नुभयो पक्कै।
उक्त जिनिस पहिरिएपछि हँसिलो देखिनुभयो। मुसारमुसुर पार्नुभयो। जतनले फुकाल्नुभयो र बाकस या मधुसमा राख्नुभयो होला।
त्यसपछि, कतै रामरसमा जाँदा, आफन्तीहरूकोमा जाँदा वा कतै घर छोडेर बाहिर निस्कँदा मात्रै लगाउनुभएको हुनसक्छ। नत्र बाक्साको बाक्सा!
तपाईंले दिएको उक्त उपहारले बा-आमालाई निकै ठूलो काम गर्छ। उहाँहरूको चिन्तनमा सकारात्मक असर पर्छ।
जस्तो कि- उहाँहरूलाई लाग्छ, मलाई दिने मेरा मान्छेहरू छन्।
यस्तो लाग्नु सामन्य होइन। बृहत हो। यस्तो लाग्नु सन्तोष हुनु हो। सन्तोष हुनु चयन हुनु हो। चिन्ता हट्नु हो। सन्तोष र चयनमा जब चिन्ता माइनस हुन्छ नि, हो त्यही क्षण हो सुख।
सुखले मन आनन्द हुन्छ। आनन्दी मनले शरीरलाई सन्तुलित राख्छ। सन्तुलित शरीरमा इम्युन पावर पुग्दो हुन्छ। इम्युन पावर जहाँ छ, त्यहाँ रोग हुन्न। जहाँ रोग हुन्न त्यहाँ आयु हुन्छ।
हेर्नुस् त, कुरा मसिनो हो। ख्याल नगरी उपेक्षा गर्ने खाले हो। दिनहुँको बाँच्ने तनावले यस्ता कुराहरू मानसमा आउनै पाउन्न पनि।
घर जाँदा, केही ल्याउन पाइनँ भन्न कति सजिलो छ। अहँ! गाह्रो मान्दैनन् बा-आमा। लुगाफाटा सम्झिनी फुर्सद कहाँ होस् विचरा भनेर नल्याइदेकोमा पनि सन्तोष खोज्छन्।
बा-आमाको स्वभाव छोराछोरीलाई दिनु हो। दिएन/ल्याइदिएन भनेर दुःख मान्ने होइन। नत्र रित्तै हात घर पुगेको तपाईंलाई/तपाईंका छोराछोरीलाई यो खान्थ्यो कि त्यो खान्थ्यो भन्दै घिउ खोज्न हिँड्दैन थिए। सिङ्की सुकिसाक जुटाउँदैन थिए। किन भुटेर खाला भनेर मकै कुटुरो पार्दिन्थे? किन अदुवा र लसुन पोको पार्थे?
उनीहरूलाई 'आँटो' पठाइदिन पाए भन्ने किन लाग्दो हो? गहत बेसाउन छिमेकीकोमा नपुगेको भए पनि त हुन्थ्यो! अनि भन्नुस् न- बेसार नपाइने सहर कहाँ छ?
'मन' मसँग छ, तपाईंसँग छ र बा-आमाहरूसँग पनि छ। त्यही हो, हाम्रो मन अलि काँचो छ, जान्दैन कहिलेकाहीँ। बुझ्दैन कहिलेकाहीँ। काँचो हुनु र नबुझ्नु मनको हुर्क्याइमा अध्ययन र भोगाइको प्रोटिन नपुगेर हो। तर यो मन कहिलेकाहीँ, बुझ पचाउँछ। अहँ! सुन्दैन दिमागलाई, कुल्चिन्छ बा-आमाका रहरहरू। बस् हिसाब गर्छ।
अस्ती भत्ता बुझ्नुभयो। मकै र गहुँ कहाँ खाएर सक्छन् र बुढाबुढी? पैसा भएपछि चाहिएको किन्छन्। लैदेको मन पर्ला नपर्ला। यहाँभन्दा राम्रा वाहीँ पाइन्छ।
विचरा टिठलाग्दो हुन्छ मन। मेरो मन, तपाईंको मन। जुन दिन मन बा-आमाको जस्तो हुन्छ। हुर्किन्छ। सिक्छ। भोग्छ। बुझ्छ। घर जाँदा तपाईंको झोलामा पक्कै केही हुन्छ। त्यो केहीले बा-आमाको बिसन्चो मन सन्चो हुन्छ। तनमा जाँगर आउँछ। जीवनमा आशा पलाउँछ।
हेर्नुस्, उपहार फगत एउटा जिनिस मात्रै होइन। दिनेले मनले दिए, लिने मनले स्विकारे दबाइ हो। प्रेमको दबाइ। मायाको दबाइ। भरोसाको दबाइ।
बा-आमालाई उपहार लिएर घर पुगेको तपाईंले, उपहारसँगै दबाइ लिएर जानुभएको रहेछ। तपाईं धन्य हो। निकै धन्य।
तपाईंले जस्तो बा-आमाको लागि सोच्ने दिमाग सबैसँग हुँदैन। फुर्सद र धनलाई आवश्यकतामा खुम्च्याउनेहरूले तपाईंहरूबाट सिकून्। सकुनले बाँचून्। आफू बाँच्दा, आफ्नाहरूमा खुसी भेट्टाउन्।