हो, बिरामी भएको बेला एक्लो महसुस हुन्छ। स्वभाविक हो। अनि मनमा आउने तर्कनाहरुलाई अभिव्यक्त गर्न मन लाग्छ। घरमा ओछ्यान परेको बेला होस् या अस्पतालमा भर्ना भएको बेला, नजिकै आफूलाई हेर्ने कोही छ/रहेछ भने पनि एक्लै छु जस्तो लाग्छ।
बिरामी हुनु भनेको शरीरमा रहेका कहीँकतैका पूर्जाहरुले राम्रो काम नगर्नु हो। हुन पनि, शरीर एउटा मेसिनजस्तै त रहेछ। जब शरीर आफ्नो बसमा हुँदैन, दिमाग बसमा हुँदैन। रोगी शरीरले काम गर्न जाँगर गर्दैन। जाँगर गर्ने गरी दिमाखी र शारीरिक तागत हुँदैन।
सबैभन्दा कमजोर त मन हुँदो रहेछ मान्छेको। मन कमजोर हुनु भनेको, दिमाग धेरै चल्नु रहेछ। ओछ्यानमा पल्टिएको शरीर देख्नेले शान्त देख्छन्। धार्जै छ जस्तो देख्छन्। आत्तिएको छैन जस्तो देख्छन्। तर अवस्था ठिक विपरीत हुन्छ।
जहाँ मन शान्त हुँदैन, त्यो शरीर कसरी शान्त हुन्छ? रगतको गति, मुटुको धड्कन, दिमागी दुखाई र अरु-अरु। अहँ! पल्टिएको शरीरमा बाहिरबाट हेर्दा देखा पर्दैनन्। बस्, बिरामीले भोगिरहन्छ। कुरुवा वा अन्य भेट्नेहरुले केही महसुस नै गर्दैनन्। बस भनिरहन्छन्- 'जति रुच्छ खाना खानुपर्छ, आत्तिनु हुन्न, ठिक हुन्छ, केही परे हामी छौँ। ल हुन्छ अहिले गएँ, फेरि आउँछु, पैसा सैसा चाहिए भन्नू।'
विचरा बिरामी, टाउको हल्लाएर हुन्छको आसय व्यक्त गर्न भन्दा के सक्छ! बस पल्टिरहन्छ। आखिर भेट्न आउनेहरुले भन्ने त्यही त हो। अरु के हुन्छ र!
भेट्न आएकाहरु जान्छन्, तर उनीहरुले भनेका कुराहरु बिरामीको मनमा बसिरहन्छन्, जाँदैनन्। भेट्नेहरुले भनेका कुराहरुलाई लिएर बिरामी अनेक सोच्न थाल्छ। उसलाई कसैका कुराहरुले निकै शीतलता प्रदान गर्छन्। केही कुराहरुले झनै दुखाउँछन्। मन अझ बहलिन्छ। र बहलिएको बेला शरीर र दिमागको सन्तुलन बिग्रन जान्छ। र ठिक त्यही बेला बिरामीले आफूलाई अभिव्यक्त गर्छ।
ती अभिव्यक्तिहरु अनेक हुन्छन्। जस्तो- ज्वरो रहेछ भने बढ्नु। दुखाइ रहेछ भने आत्तिनु। साथैमा भएको कुरुवासँग झर्कनु। मोबाइल चलाउन सक्ने अवस्था रहेछ भने, सन्जालमा अन्टसन्ट लेख्नु। र कहिलेकाहीँ रुनु।
बिरामी शरीरको मन पनि बिरामी हुन्छ, मस्तिष्क पनि बिरामी हुन्छ। बिरामी मान्छेको परिवार पनि बिरामी हुन्छ, काम पनि बिरामी हुन्छ। र उसले व्यक्त गर्ने हरेक अभिव्यक्तहरुले उसको आउने समय झनै बिरामी हुन्छ।
बिरामीलाई सम्झाउनु एउटा कुरा, बिरामीले सम्झनु अर्को कुरा। खासमा, बिरामीलाई कसैले सम्झाउनु नै हुँदैन। उसका अगाडि बसेर अनेक उदाहरण र कुराहरु गर्नै हुँदैन। खासमा घरी-घरी बिरामीलाई भेट्न जानै हुँदैन।
भेट्ने उसका आफ्नाहरुलाई हो। सहयोगको कुरा गर्ने उसका आफन्तीहरुलाई हो। तर हामी? बिरामीको ओछ्यान छेउ बसेर ऊजस्तै बिरामीहरुको मृत्यु भएको कुरासम्म गर्न पछि पर्दैनौँ। अनेक कुरा गर्छौं हामी।
अरु मान्छेहरु पनि रहेछन् सँगै भने, त्यही राजनीतिका कुरा सुरु हुन्छन्। आउने चुनावमा कसले जित्छ भनेर बहस त्यहीँ गर्छौं। आउँदै गरेको पर्वमा रमाइला गर्ने कुरा सुरु हुन्छन्। पिकनिक जाने कुरा पनि त्यही गर्छ मान्छे।
र कहिकेकाहीँ त बिरामीकै अगाडि फोनमा कसैसँग कुरा गर्दै भन्छौँ- आज खासै काम थिएन, त्यही भएर यसो यता आएको! र कसैले त म कहाँ छु बिर्सेर भन्छ- फलनाले एकफेर पुग्नु भन्यो, त्यही भएर आएँ!
बिरामी भेट्न गएको मान्छेले, बिरामीकै अगाडि यी यावत कुरा गर्दा, बिरामीको मानसिकतामा पर्ने असर कस्तो हुँदो हो!
छ्या! किन यति धेरै पाखन्डी छौँ मान्छे! बिरामीको अवस्था बुझ्न गएको मान्छेले, बिरामीलाई सोध्छ- के भएको हो?
बोल्न सक्ने बिरामीले लक्षणहरु बताउँछ। र सुनेपछि मान्छेले फ्याट्ट तँलाई यसो भएको हो भन्छ। डाक्टरले अनेक चेक/जाँच गर्दा पत्ता नलगाएको रोग उसले एकैछिनमा पत्ता लाइदिन्छ। ऊ यत्तिकैमा रोकिँदैन, अब अगाडिको उपचारको बाटो पनि बताइदिन्छ। र भन्न छुटाउन्न- यहाँभन्दा त्यहाँ जानु पर्ने। यहाँका भन्दा त्यहाँका डाक्टर यस्ता-उस्ता। यहाँ त हुन्न, यो अस्पतालै ठिक छैन।
कठै चेत, कठै मानवता!
ल बाबा, उसले भनेको एक हदसम्म ठिकै होला रे। उसले आफ्ना कुराहरु अनुभवका आधारमा भनेको हो रे! तर, भन्ने बिरामीलाई हो? यही कुरा उसका आफन्तलाई भन्दा हुँदैन?
बस् बिरामीलाई भेटेर, अब निको भैहाल्छ। अनुहार उज्यालो छ। औषधिले काम गर्दैछ। कि जो हुन्न भनेर किन फर्कँदैन मान्छे? किन झन् अत्याउँछ? मान्छे, मान्छे कहिले हुन्छ हँ?
खासमा, बिरामीलाई जतिबेलै भेट्नु उचित हैन रहेछ। भेट्नु पर्ने बिरामीको आफन्तीलाई हो। तर विगतदेखि वातावरण यस्तो बनाउँदै लगिएछ कि ओछ्यान परेको बिरामीले को भेट्न आयो, को आएन हिसाब राखेर बस्छ। र त्यही भेटघाट उसको रोगमा व्यवधान बन्न सक्छ। थप कष्टकर हुनजान्छ। त्यो कुरा बिरामीले पनि बुझ्दैन, भेट्न जानेले पनि बुझ्दैन।
कठै, बरै! चुक चुक चुक! विचरा! दुब्लाएछ जस्ता शब्दहरुले बिरामीलाई कदापी सान्त्वना दिँदैनन्। यी त बिरामीलाई थप अप्ठ्यारो अवस्थामा लैजाने ट्याबलेट हुन्। यी कुरा बुझौँ, बुझे मान्छे भइन्छ।
हिजोआज विचित्रको फेसन छ। बिरामीहरु अस्पताल भर्ना भएको फोटो सन्जालमा उकालेर अनेक लेख्छन्- अब त मरिन्छ होला, बाँचे फर्कन्छु अथवा यस्तै अनेक भावनाका कुरा। त्यसैमा पनि लाइक र कमेन्ट गन्न थाल्छ बिरामी। कसले सम्झियो, सम्झिएन हिसाब राख्छ। त्यतिले मात्रै कहाँ पुग्नु र! हरेक दिन अपडेट भएर दुःख देखाइरहन्छ।
ऊ त्यहाँ आएका सान्त्वना र शुभेच्छालाई महत्व दिन्छ। तर ऊ बुझ्दैन, समाज कता छ। मान्छेहरु दुःख धेरैबेर मन पराउँदैनन्। कसैले म दुःखी छु भनिरहेको त पटक्कै मन पराउन्न समाज। मान्छेहरु अल्झने सग्लाहरुमा हो। रस त्यतै हुन्छ। एउटा बिरामी जो ओछ्यानबाट आलप गरिरहेको छ, अहँ! हु केयर!
तर बिरामी लागिरहन्छ, रोइरहन्छ, भनिरहन्छ। आफूलाई झनै कमजोर बनाइरहन्छ। त्यो बेला उसलाई आफूलाई हेरचाह गरिरहेको आफन्तभन्दा छिटो निको हुनू भनेर मिल्दोजुल्दो इमोजी पठाएको मान्छे आफ्नो लाग्छ। यो बिरामीको अर्को रोग हो। देखासिकीको रोग। म केही हुँ भन्नु पर्ने रोग। बेकारमा समय बर्बादीको रोग। मानसिक विचलनको रोग। आफ्नो वास्तविक रोगलाई मलजल गर्ने रोग।
यस्तै छ समाज। हामी सहर पस्यौँ तर चेतना पस्नै मानेन मगजमा। हरेक दिन बिरामी र भेट्नेहरुबीच यस्तै घटना घटिरहेका छन्। बिरामीलाई धेरै सम्झाइ-बुझाइ गर्दा, बिरामी उल्टो झन् कमजोर भएका, मानसिक विचलनमा पुगेका घटनाहरु सुन्नमा आइरहन्छन्। यो पंक्तिकारले आफैले पनि केही भोगेको छ। देखेको छ।
बिरामी स्वस्थ हुन्जेल, उसलाई दिनको लागि कसैसँग केही हुँदैन। ऊ पन्छिरहन्छ, भागिरहन्छ। जब सग्लो कोही बिरामी हुन्छ, अनि सहयोगका अनेक कार्ड फाल्छ मान्छे। जस्तो कि बिरामीलाई पैसाको समस्या छैन भन्ने थाहा पाएपछि, ऊ पैसा-सैसा सोध्छ। रगतको व्यवस्थापन भएछ जानेपछि, उपाय सुझाउँछ। साथिभाइको ढ्यास दिन्छ। अस्पतालमा कुर्नु पर्दैन बुझेपछि, म बसौँला नि भन्छ। साधन चाहिँदैन बुझेपछि, गाडी सोध्छ। बस्ने ठाउँ छ बुझेपछि, मेरै घर बसौँ भन्छ।
यी उल्लेखित कुराहरु देखेभोगेका आधारमा उतारेको हुँ। सबै ठाउँ यस्तै हुन्छ, सबै मान्छे उस्तै हुन्छ भन्ने आशय होइन। त्यसो भनेर सहयोगी र परोपकारीको मनमा मुड्की हान्ने दुस्साहस गर्ने हिम्मत कसरी गरुँ!
परोपकारी मान्छेहरु भएकैल समाजले गति पाएको हो। र पनि, यस्ता खाले प्रवृत्तिहरुले समाजलाई बिरुप बनाएको छ। तथापि गतिला मान्छेहरु भएकैले धेरै बिरामीहरुले पुनर्जीवन पाएका कुराहरु झन् धेरै छन्। लेखौँला ती पनि।
क्लोज-अप मनहरु भत्काउँदै, भावना कुल्चिँदै र हामी छौँ है भन्ने मिठो भ्रम छरेर एक तप्को समाज बाँचिरहेको छ।