अघिल्लो वर्षको दसैँ र तिहारको बीच कोशी टप्पु वन्यजन्तु आरक्षणमा चराको अध्ययनका लागि जाने अवसर जुटेको थियो। झण्डै दुई हप्ता जति त्यस क्षेत्रमा बसाइको क्रममा मकुना हात्ती हेर्ने अवसर जुरेको थियो। कोरोना महामारीबाट भर्खर मात्र खुलेको पर्यटकीय क्षेत्रको मुख्य आकर्षणका रुपमा मकुना हात्ती रहेको थियो।
म बसेको होटेल नजिकै प्रायःजसो प्रत्येक साँझ र बिहान मकुना हात्ती आउने गर्दथ्यो। मानिसहरु टाढा-टाढाबाट मकुना हात्ती फोटो खिच्न र हेर्नका लागि आउने गर्दथे।
मानव बस्ती बीचमै प्रायः सधैं हात्ती आउने-जाने गर्नाले मानिसहरु डराउनु स्वभाविक नै थियो। प्रायःजसो साँझपख मानिसहरुले होहल्ला गर्ने गरेर हात्ती धपाउने गर्थे। उमेरले त्यती बुढो भइनसकेको मकुना हात्तीमाथि पछिल्ला ५ वर्षमा मात्रै ७ जाना मानिसहरु मारेको दोष थियो।
स्थानीयबासीका अनुसार अझ उसको जीवनकालमा मात्रै ३५ जानाभन्दा बढी मानिस मारेको आरोप मकुनाहात्ती माथि लागेको थियो। त्यसैले पनि यस क्षेत्रमा मकुना हात्ती भन्नासाथ मानिसहरु डराउने गर्दथे। तर त्यो डरको बीचमा पनि एउटा छुट्टै किसिमका आनन्द थियो र त्यो मकुना भएकै हुनाले थियो।
वन्यजन्तु आरक्षण प्रवेशद्वार नजिक वा त्यस क्षेत्रको होटेल छेउछाउ मकुना हात्ती आउनेबित्तिकै मानिसको भिड जम्मा हुन्थ्यो, उसको तस्बिर खिच्न कयौँ क्यामेराहरू अन हुन्थे। तर अब मकुना हात्ती सम्झनामा मात्रै सीमित रहनेछ, उसको तस्बिर खिच्न सकिने छैन, उसलाई हेर्न सकिने छैन। किनकि ब्रुजुकहरुलाई मकुना हात्ती त्यो बाटो हिँडेको मन परेको थिएन, उसको आनीबानी मन परेको थिएन। त्यसैले मान्छेले थापेको विद्युतीय धरापमा उसले ज्यान गुमाउनु पर्यो।
एउटा हात्तीको सरदर आयु झन्डै ६० वर्ष हुन्छ। तर सन् २००८ मा साइन्स जर्नलमा प्रकाशित एक अध्ययनले अफ्रिकी हात्तीको सरदर आयु झन्डै ५६ वर्ष र एसियन हात्तीको सरदर आयु झन्डै ४१.७ वर्ष पाइएको थियो। मकुना हात्तीको वास्तविक उमेर थाहा नभए पनि, मकुना हात्ती बुढो भएर वा प्राकृतिक कारणले मरेको थिएन। हात्तीको बासस्थान नष्ट गर्ने, हात्ती हिँड्ने बाटोहरुमा मानवीय अतिक्रमणको कारण हात्ती गाउँ छेउछाउ आउने गर्छ।
डा. राजकुमार कोइराला, डा. अच्युत अर्याल लगायतले सन २०१६ मा, बिएमसी इकोलोजी जर्नलमा प्रकाशित लेखअनुसार, नेपालको प्राकृतिक बासस्थानले झन्डै १००-१२५ वटा हात्तीलाई पाल्न सक्छ। र हामीसँग झन्डै त्यति नै मात्रामा हात्तीको संख्या पनि रहेको छ।
तर संरक्षण क्षेत्र बाहेकका प्रायः धेरै ठाउँका जंगलहरु क्रमशः मानवीय अतिक्रमणको चपेटामा परेका छन्। जसले गर्दा नेपालमा हात्तीको बासस्थान घट्दो र मानव-हात्ती बीचको द्वन्द बढ्दो अवस्थामा छ। हामीसँग हात्तीको लागि बासस्थान पुग्ने भएता पनि मानव र हात्तीको द्वन्द बढिरहेको छ। जसको पछिल्लो उदाहरण मकुना हात्ती परेको छ।
सम्झनामा मात्रै रहने मकुना हात्तीबाट हामीले धेरै कुरा सिक्नु पर्नेछ। हिजोका दिनमा स्थानीय प्रशासनलाई मकुना हात्तीलाई गोली हानी मार्नु भनी पनि आदेश दिएको थियो। तर संरक्षणकर्मीहरुको व्यापक विरोधपछि सरकार पछि हट्यो। के सुनसरी, सप्तरी, र उदयपुर जिल्लामा रहेको आरक्षण तथा त्यस क्षेत्रको जंगलहरुले एउटा मकुना हात्तीलाई पाल्न किन सकेन?
किन प्रत्येक वर्ष झन्डै १०-१५ जना मानिसहरुले हात्तीको आक्रमणबाट ज्यान गुमाउछन्। अस्ती अर्कै नाम गरेको हात्ती थियो होला, हिजो मकुना र भोलिका दिनमा अरु कुनै नाम गरेको हात्ती आउँला। यसरी कति दिनसम्म हात्ती र मान्छेले ज्यान गुमाउनु पर्ने हो? सरकारले यसको जवाफ दिनुपर्छ।
हात्तीको पारिस्थितिक प्रणाली सन्चालन गर्न अहम भूमिका हुन्छ। र एउटा हात्ती हुर्काउन निकै समय र मेहनत लाग्छ। यसरी मानव-हात्ती द्वन्दको नाममा हात्ती गुमाउँदा हात्तीको संख्या घट्नुका साथै पारिस्थितिक र सामाजिक दुवै प्रणालीमा असर पुग्छ।
त्यसैले आउँदा दिनहरुमा सरोकारवालाहरु गम्भीर भएर लागोस्, पछिल्ला समयमा भएका कमी-कमजोरीहरुलाई सच्याएर अगाडि बढोस्। जसले गर्दा भविष्यमा हात्ती र मानिसले, मानव-हात्ती द्वन्दको नाममा ज्यान गुमाउनु नपरोस्।
(सबै फोटोः शिविश भण्डारी)