म सम्झन्छु, बा नुन किन्न घिउ बोकेर पथ्रकोट हिँडेको।
म सम्झन्छु, यही कुरा मलाई बा'हरुले भनेको।
भर्खर, नुन ल्याइदियो, ल्याइदिनेले। आजकल नुन घरमै डेलिभरि गर्दिन्छ दोकाने। दूध पनि उसैगरी गेटमा छोडिदिन्छ। अनि हिजो नौनी किनेको हुँ डेरीबाट।
यी अचेलका कुरा हुन्। बैगुनी सहरका कुरा हुन्। म जस्ता भुराका कुरा हुन्।
म सम्झन्छु, घरभरि भएका लैना बकेर्ना। र सम्झन्छु मही पारेर घिउ निकालेको, खारेको पनि सम्झन्छु। सम्झनाहरु धेरै छन्। जमना खोला जस्तो बगिरहेछ ...
सन् ९० भन्दा पहिला जन्मिनेहरु भुक्तभोगी हुन्। उनीहरुले धेरै कुरा भोगे। धेरै दुःख गरे।
त्यसपछि जन्मिएकाहरु 'हो र!' वाला हुन्। उनीहरुलाई सबैकुरा 'हो र!' लाग्छ। कथा जस्तो लाग्छ। कस्तो कस्तो लाग्छ। 'ओ गड!' जस्तो लाग्छ।
अपवाद केहीले अझै भोग्दै छन्। बरु भोग्ने कुराहरु पातलिए।
पानी
आजकल गीत आएको छ एउटा- 'मै पानी, पानी हो गै...'
सुन्नु/ हेर्नु भएको छ?
यो गीतको नाच अचम्मको छ। सारङ्गी जस्तो दुई हातलाई टाउकोभन्दा माथि रेटेर, लचक्क लचक्क गर्नु पर्ने। त्यो भनेको पानी पानी भएको रे!
हा हा हा... जमाना, खोला जस्तो बगिरहेको छ। उ बेला हामी पनि पानी पानी हुन्थ्यौँ। पँधेराबाट पानी ल्याउँदा गाग्रीमा, बुझो नमिलेर छचल्किन्थ्यो। अनि छचल्केको पानी डोकाको पिँध हुँदै कम्मर मुनिको भागबाट सबै कुराहरु चार्दै कुर्कुच्चा पुग्थे र चप्पल भिजाउँथे।
हामी पानी पानी हुन्थ्यौँ। हाम्रा भिजेका भागहरु पानी पानी हुन्थे। भिजेका चप्पलमा बाटाको धुलो मिसिएपछि लर्किन्थे। तना छिन्थ्यो। हामी लड्थ्यौँ, डोको घोप्टिएर बाटो पानी पानी हुन्थ्यो।
घुर्रो काट्न गएकी आमा घर फर्कँदा भिजेर पानी पानी हुन्थिन्। गोरु लिएर गएका बा, तिर्खा लाग्दा वनमा कुन्टो नभेटाउँदा पानी पानी हुन्थे।
घर, छानो खरको। चुहिएर पाली, पिँढी पानी पानी हुन्थे। हो, हामी पनि पानी पानी हुन्थ्यौँ।
बेला बेला ८ पुगेकी मेरी छोरी पनि पानी पानी हुन्छे, टिभी हेरेर। उसलाई यो गीतका लिरिक्स सबै थाहा छ। जब गीतमा केटाले र्याप हान्छ, र भन्न थाल्छ-
'चलेगी क्या
गिलास पडा हे खाली भरेगी क्या
साथ आए लौन्डे से डरेगी क्या
अन्दरके फिलिङ्ससे खेलेगी क्या
हैँ
हद हो गै...
हद से आगे हि बढेगी क्या..... क्रमश'
नानीले खुब इन्जोय गर्छे। गीतले भनेको बुझ्दी होकीस? अहँ! नबुझोस्। तर कहिलेसम्म?
खैर जमना, खोला जस्तै बगिरहेछ।
अस्ति एउटा तिजको गीत आएछ। ख्याँस पुतली। सुनेँ, सुन्दा सुन्दै ढोका ढ्याप्प पारी भोल्युम घटाएँ। र सबै शब्दहरु एक एक केलाएँ। मन बिग्रियो। जिउ तात्यो। हत्केला कामे। पसिना खलखली आए। हत्तेरी, यो के हो! यी कस्ता गीत? नयाँ पुस्ताले सुन्ने तिज गीत यिनै हुन् त?
'रातो साडी उचाली ख्याँस्स पुतली' के यो गीत लेख्ने सर्जक हुन् कि संस्कृति धमिल्याउने? हबडबडाएँ एक्लै। अनयासै मुखबाट ठिक ठिकै खाले सिर्फूल शब्द निस्किए। आफैले मात्रै सुन्ने गरी बोलेँ।
रिस उठेको बेला, म तिलमिलाउँछु। बिर्सन्छु केही, जो गर्नै हुन्न। त्यो दिन मन खुब धमिलो भयो। हरेक दिन स्वादे बनाउनु पर्छ भन्ने म, त्यो दिन बेस्वादे भएँ।
दिनभरि मेलातिर, धेरै सम्झनाहरु मनमा आइराखे। मैले सम्झिएँ, बेलुका भएपछि गाउँमा हुने तिजका रामहरु। जहाँ आमाहरु, भाउजूहरु, दिदीहरु, बहिनीहरु र हामी केटाकेटी, ठूला सबै जुट्थ्यौँ। हातमा राँको बालेर गाउँको बीचतिर सबैलाई पाई पर्ने ठाउँमा पुग्थ्यौँ। सबै गोलो घेरा बनाएर बस्थे। बजाउन जानेकाहरुले जोर मादल ठोक्ते। आमाहरुले भाका हाल्थे। नाच्ने थाउलाहरु दुई तीन वटा हुन्थे। तन्नेरी युवायुवती जोडी नाच्थे।
मैन्टोलको उज्यालोमा दिदी बहिनीहरु धित पुगुन्जेल नाच्थे। र मनभरि उत्साह बोकेर घर फर्कन्थे। तिज, तिज जस्तो थियो। भाकाहरु सामाजिक थिए। कथा बोकेका हुन्थे। मधुर हुन्थे।
तर आजकल, जमना खोला जस्तै बगिरहेको छ। संस्कृति बग्दै बग्दै गएको छ। धूर्वताराबाट, ख्याँस पुतलीसम्म स्खलित भएको छ।
मेलो सकेर बेल्का घर फर्किएँ। भित्र टिभीमा त्यही गीत 'ख्याँस पुतली' बजिरहेको थियो। नानीले हेर्दै थिई। मन खस्कियो। दिनभरि गलेको म हिलो जस्तो भएँ।
पछि सुत्नेबेला, नानीलाई तिज शीर्षकको कथा सुनाएँ। जसमा, उ बेलाको तिज, समाज, संस्कृति र अहिले उत्ताउलोपना सबै बुझाएँ। उमेरअनुसार सायद उसले थोरैधेरै केही त बुझी होला।
अर्को दिन मैले त्यही गीत नानीको अगाडि बजाएर सुनेँ। खासमा उसले के बुझी जान्नु थियो। गीत सुन्दा बित्तिकै नानी दगुँर्दै आई र भनि- 'बाबा, बन्द गर्नुस् यो। यो गीत ठिक छैन। अर्को सुन्नुस्।'
उसका कुरा सुनेको म, मुसुक्क हाँसेर सानिमाया सुनेँ। ऊ मैसँग बसेर सबै सुनी। र नबुझेका शब्दहरु सोधिराखी।
म चाहन्छु, उसले सही र गलत छुट्ट्याओस्। भोलि उसको हो। उसले हाम्रो परम्परा, समाज डोर्याउनु छ। पुस्तान्तरण गर्नु छ। आशा छ, गर्छे। सबै केटाकेटीले गर्नेछन्। बस् हामी बा/आमाहरु सचेत हुन जरुरी छ।
म सम्झन्छु, यो सम्झने मन म बिर्सुँ कसरी? घरमा बालख हुनु भनेको, घरीघरी आफू पनि बालख हुनु रहेछ। बालखहरुसँग खेल्दा बालख भैदिनु पर्दो रहेछ। बालखसँग बालख भएर खेल्दा आफ्नो बाल्यकालमा पुगिँदो रहेछ।
त्यसैले म हरेक दिन स्मृतिको टाइम मेसिन चढेर बालख उमेर पुग्छु। रमाउँछु। हाँस्छु। नाच्छु। समय समयमा यस्तो गर्नु, एउटा गहिरो ध्यान गर्नु बराबर हो। आफैलाई पढ्नु हो। आफू भित्र पुग्नु हो। त्यसो गर्नु भनेको मनको मैलो पखाल्नु हो। पखालिरहनु पर्छ।
विगतका राम्रा कुराहरु सम्झिए, वर्तमान उज्यालो हुन्छ। वर्तमान उज्यालो भए भविष्यको मार्ग देख्न सकिन्छ। देखे, पुगिन्छ।
आखिर मर्नु त छ, पुग्नु त छ। बाहरुले पर्खिरहनु भएको छ। त्यहाँ पुगेपछि, यहाँभन्दा धेरै आफ्नाहरु भेट्न पाइन्छ। मृत्यु क्षणिक दुःख हो, जिउँदाहरुका लागि। पहिलै गन्तव्य नापेकाहरु जो पुगिसके, उनीहरुका लागि वेलकम सेरोमनी हो। सायद उत्सव हो।
त्यो उत्सव कस्तो हुँदो हो! पक्कै 'ख्याँस पुतली' बज्दैन होला त्यहाँ। पानी पानी गीतको गायक त यतै छ क्यार, त्यो त्यहाँ नबज्ला! के बज्ला? नारायण गोपालको- 'यो सम्झिने मन म बिर्सुँ कसरी?' बज्ला, पक्कै बज्ला। किनकि उनी उतै छन्।
यही बजोस्। सम्झिने मन सुन्दा बाटो लागेकाहरुको मन शीतल होस्। उनीहरुले जिउँदो जीवन सम्झिउन्।
अँ, बालख मन बालख हर्कत। म सम्झन्छु, समाज उस्तै थियो। सँगै थियो। बाहरु पथ्रकोट जाँदा गाउँभरिका जुटेर जान्थे रे! बाहरुले भनेको सम्झन्छु।
सम्झनाहरु धेरैछन्। जमना खोला जस्तै बगिरह्यो...
अचेल, एक ठाउँको समाज एकैठाउँ छैन। यत्रतत्र छ। एउटै पँधेराको पानी खाने उही समाज अहिले कहाँ कहाँ पुग्यो। त्यो बुटवल पुग्यो, पुग्नेहरु बीचको समाज बन्यो। काठमाडौँ पुग्यो, त्यहीँ बन्यो। भारत, मलेसिया, दुबई, जापान, कोरिया, युरोप अमेरिका...। समाज यत्रतत्र!
समाजले हाँगा हाल्यो, फुल्यो, फल्न सकेन। हिजो पथरकोट हिँडेका बाहरु सँगै जान्थे, सँगै फर्कन्थे। सँगसँगै खेतीपाती गर्थे। सँगै बाउसे गर्थे। घर छाउँथे। भजन गाउथे। अहँ, खै को छुट्टियो?
छुट्टिएनन्, बाँडिएनन्। एकैठाउँ बसे। समाज बनाएँ। सायद स्वर्गमा पनि सँगै होलान्। कि त्यहाँ पनि कमाउन हिँड्न पर्छ? कतै बाहरु स्वर्गको नर्क, लाहुर त छैनन्। हे इश्वर, त्यस्तो नहोस्। त्यहाँ समाजले हाँगा नहालोस्। फूल लाग्ने, फल नालग्ने नहोस्।
हो, अहिले हामी जिउँदा हाँगाहरुको साझा समाज गाउँ हो। जहाँ अहिले पनि, फलेको संस्कार छ। प्रेम छ, सम्मान छ, इज्जत छ। बेलाबेला हामी त्यही स्वाद लिन पुग्छौँ।
हिजो पथरकोट हिँडेकाहरु सँगै फर्किए। आज हिँड्नेहरुको गन्तव्य एउटै रहेन। संसारभर पोखिए। ती फर्किएलान् त सँगै? नो, नो रे बाबा! इमपोसिबल!
जमना, खोला जस्तै बगिरह्यो।
म सम्झन्छु, लाहुरबाट आएका मेरा बाले खेत किनेको। खेत किन्न लाहुर गएका हजुरबुबा उतै बित्नु भयो भनेर हजुरआमाले भनेको सम्झन्छु।
यो सम्झिने मन म बिर्सुँ कसरी? बा, हामी आउँछौँ, पालै पालो आउँछौ।
खेत किन्दा हजुरआमाले नातिनातिना भोकै मर्दैनन् भनेको सम्झन्छु। खर्यान किन्दा आमाले भैँसी थपेको सम्झन्छु। रेडियो किन्दा घटना र विचार सुन्न मुन्तिर मास्तिरका जुटेको सम्झन्छु।
जमाना, खोला जस्तै बग्दो रहेछ।
अचेल, महरुलाई पाटो हैन, सहरमा टाटो चाहिएको छ। घर हैन, बास चाहिएको छ। खेती बस्तुभाउ? हु केयर्स!
आमा, तिमीले किन अझै बाख्रा पाल्छेऊ गाउँमा? किन घर पोत्छेऊ बिहान बेलुका? किन धुरीमा धजा बाँध्छेऊ? किन घर बढारिरहन्छेऊ? किन बर्सेनी बिरुवा रोप्छेऊ? कसको लागि?
आफ्ना लागि हो, गर आमा। छोराहरुको लागि हो भने- ब्यर्थै दुःख हो। केटाहरु फसे आमा, हिलो गरेको खेतमा खुट्टा गडेजस्तो गडे। खेतबाट खुट्टा त निस्किन्छन् आमा, सहरमा केटाहरु झन्-झन् भासिए। अहँ! निस्कन सक्दैनन्। सहरले निल्यो। दुःखी छन्।
आमा, अब खेत हेरेर भकारी नसम्झनू। ती भरिने छैनन्। खरेन हेरेर, गोरु नसम्झनू। कटेराको किलो देखेर, कुँडे नसम्झनू। अँगेनो देखेर, वरिपरि घाङ्ग हालेर आगोताप्ने परिवार नसम्झनू। मकैका घोगो देख्दा छोरा नसम्झनू।
आमा, केही नसम्झनू। चल्ला हराएका पोथी देखेर आफूलाई नसम्झनू। डुब्दो घाम देखेर उमेर त झन् सम्झँदै नसम्झनू। बस् दशैँ सम्झनू, घर भरिन्छ आमा। झिँझो लाग्ने गरी भरिन्छ।
जमाना, खोला जस्तै बग्दो रहेछ।
यो सम्झने मन म बिर्सुँ कसोरी?