प्रिय लुरी,
मुटुभरिको प्यार !
लकडाउनले गर्दा बाहिरी वातावरण सबै सुनसान छ। हाम्रो पसल पनि बन्द छ। समय विताउन पुराना केही काम गर्नु, फेसबुक, युट्युव र टिकटक हेर्नु बाहेक अन्य विकल्प छैन। काम गर्दैगर्दा मेरो गीत सुन्ने बानी छ। कम्प्युटरमा बसेर गीत सुन्न युट्युव खोलेको मात्र के थिएँ, माधवप्रसाद घिमिरे लेख्नु भएको ‘उनको प्रिति पहिले हो कि मेरो प्रिति पहिले’ शीर्षक गीत देखियो। कम्प्युटरमा त्यही गीत बजिरहेको थियो, खोई कुन्नि कताबाट एक्कासी मनले तिमीसँगको पहिलो भेट सम्झायो। अनायासै यी हातका औलाहरूले केही लेख्नका लागि किबोर्डका अक्षर थिच्न थाले। मैले पनि रोकिनँ आफ्ना औंला। मनको बेगलाई आफ्नै गतिमा बग्न दिएँ।
१३ वर्ष अगाडि तिमीसँग भएको भेटको झल्को आइदियो। भदौको महिना, सिमसिम पानी परिरहेको, जनैपूर्णिमाको पूजाका लागि हामी नागी जाँदै थियौ। तिमीसँग लेखफाँटमा भेट भएको थियो! म डिलमा बसेर काँक्रो खाइरहेको थिएँ। यत्तिकैमा तलबाट केही केटीको हुल आएको थियो, त्यहीँ हुलको पछाडि तिमी एक्लै उकालो चढ्दै थियौ। उकालो बाटो भएकाले होला तिमीलाई हिँड्न निकै गाह्रो भइरहेको थियो। तिमीसँग अकस्मात एक टकले नजर जुध्यो, न तिमी केही बोल्यौ न म। बस् फिल्मी पारामा हेरिरह्यौ अनि मुस्काराएर तिमी उकालो लाग्या। मैले हेरिरहें।
त्यतिबेलै हो मनमा हलचल भएको, त्यस्तो किसिमको आभाष पहिले कहिल्यै पनि भएको थिएन। पातलो शरीर, सिल्की अनि स्वतन्त्र उडिरहेको कपाल। निलो कुर्तामा सजिएर मधुर मुस्कान दिएकी थियौ तिमीले। त्यही मुस्कानले त हो सिधै दिलमा प्रहार गरेको। भुतु्क्कै भएँ म।
त्यतिबेलै हो मेरो मनमा प्रेम विजारोपण भएको। तिमी उकालो कटेर माथी चौतारीमा बस्यौ, म पनि काँक्रो टोक्दै उकालो उक्लिँदै थिएँ, सल्लेविरको चिप्लोले झण्डै नलडेको। म लर्केको देखेर चौतारामा बसेका तिमीहरू गलल हाँस्यौ, मलाई कस्तो अफ्ठेरो लागेको थियो।
फलामेडाँडासम्म पुग्दा मनमनले कुराकानी गरे पनि खुलेर बोल्न सकेनौ। नाताले साली भेना पर्ने भए पनि पहिलो भेट भएकाले खुलेर कुराकानी गर्न सकिएको थिएन है, याद छ तिमीलाई ?
पानी निकै ठुलो परेको थियो, मसँग छाता नभएकाले रुझ्नु बाहेक विकल्प थिएन। पानीमा धेरै नभिज ‘आउ सँगै छाता ओढौं’ तिम्रो मनले भने पनि मुख फोर्न सकिनौं। परिस्थितीले त्यस्तै देखाएको थियो। पानी रोकिने छाँटकाट नै थिएन, भोक पनि असाध्यै लागेकाले फलामेडाँडामा खाजा खान रोकियौं।
रारा चाउचाउमा सुप टन्नै बनाएर, टिम्मुर हालेर तातोतातो खाएका थियौं। मेरो खुवाई देखेर सबैजना छक्क परिरहेका थिए। तर तिम्रो हेराईले भने जीवनमा पहिलो पटक खाँदा लाज लागेको थियो। अनि त्यसै उठेको थिएँ म।
खाजा खाइसक्दा पानी विदा भएको थियो। कुहिरोले ढपक्क ढाकेको फलामेडाँडा विस्तारै खुल्न थाल्यो। केटीहरूको समूह बनाएर तिमी, गीता, पवित्रा, सरस्वती लगायतको छुट्टै फोटो खिच्न गयौ।
‘हेई ! सँगै फोटो खिचौं, यता आउन’ भन्न मन थियो, तर त्यो आँट मनमा पलाई सकेको थिएन। त्यतिबेला मसँग दाईले मलेसियाबाट पठाइदिएको क्याननको रिल हाल्ने क्यामेरा थियो। तिमीहरूको मेख मार्न हामी (म, सन्देश, गणेश, किस्मत, राजु) ले पनि पोजपोजका फोटो खिचेका थियौं।
सबैको जोडी माथिबाटै लेखेको हुन्छ भन्थे, हो क्यारे त्यतिबेला मलाई लागेको थियो। जतिबेला हामी फोटो खिचेर नागीतर्फ प्रस्थान गर्दै थियौ, फेरि पानी वेस्सरी दर्केर आयो। साथीहरू सबै दुईदुई जना भएर छाता ओढेका थिए, सम्भवत म मात्र पानीमा भिजेको थिएँ भने तिमीले मात्र एक्लै छाता ओढेकी थियौ। अनि त तिमीलाई पनि सहज भयो आउ सँगै छाता ओढौं भन्न। मेरा साथीहरू त जलेर खरानी हुनै लागेका थिए भन्या। सँगै तलबाट तिमीलाई नजर लगाएकाहरू पनि त्यसपछि तिम्रो पछि लागेनन्। मलाई ठुलै युद्व जितेको आभाष भएको थियो।
साथीहरू इसारामा बधाई दिँदै थिए। तर सँगै छाता ओढ्नु बाहेक हामी बीचमा अरु कुराकानी भएन। पानीले बाटो चिप्लो थियो, उकालोमा तिमी अगाडि थियौ अनि म पछाडि। तिमी एक्कासी चिप्लिएर लड्यौ अनि मैले हात थामे फिल्मी शैलीमै।
त्यतिबेला नेपाली चलचित्र असाध्यै हेर्ने मान्छे म। फिल्म हेर्न मात्र २५ रुपैयाँ बोकेर बेनी आउँथ्यौ हामी। डान्स र कपालको स्टाइलमा दिलिप रायमाझिको ठूलो फ्यान, अनि हे.. गर्ने डाइलगमा राजेश हमालको। त्यही स्टाइलमा कपाल हल्लाउँदै हे... गर्दै तिमीलाई लड्नबाट बचाएको थिएँ।
तिमी लजाउँदै ‘थ्याङ्क्यू’ भन्दै गयौ। यता मेरो मनमा भुइँचालो गयो। नागी पुग्ने बेलासम्म तिम्रो ‘थ्याङ्क्यू’ कानमा गुञ्जिरहेको थियो।
नागी पुगेपछि बास पाउन निकै कठिन भयो। हामी केटाहरूले वास खोज्दा पाएनौं। त्यसपछि स्कुल भन्दा केही माथि तिमीहरू गएर वासको व्यवस्था गरेका थियौ, जहाँ पहिला हामी जाँदा पाउन सकेका थिएनौं। बाटोमा जसरी पनि हामी बास मिलाउँछौ भनेर गफ गरेको कुरा सम्झेर मलाई निकै लाज लागेको थियो। जे होस तिमीहरूले बास मिलायौ।
बेलुकाको खाना खाएर हिमाञ्चल माविको प्राङ्गणतिर हामी सबैजना घुम्न गएका थियौं। पञ्चेबाजा भनेपछि नाँच्न हुरुक्कै हुने म, अनि मेरो अनुरोधलाई नकार्न नसकेकी तिमी एक ताल हामी पञ्चेबाजामा नाचेका थियौ। तिमीलाई नाच्न अनुरोध गर्दा मलाई पहाड फोडेझैं भएको थियो।
तिमीले सहज रुपमा स्विकार गर्यौ। वास बस्ने ठाउँमा आएपछि हाम्रो केटा समूह र केटीको समूह बिच कुन्नि के विषयमा विवाद भएको थियो, पछि बाजी समेत थाप्यौ तिमीहरूले। मैले जसको पक्ष लिन्थे त्यही पक्षको जित हुने निश्चित थियो, हुन त मलाई तिम्रो समूहले लिएको अडान फिटिक्कै मन परेको थिएन र तर मैले जीवनमा पहिलो पटक हाम्रो समूहको साथ छोडेर तिम्रो साथ दिएको थिएँ।
अनि बाजी जितिहाल्यौ ।
भोलिपल्ट अर्थात जनैपूर्णिमाको बिहान ५ बजे उठेर पूजा गर्न मन्दिरमा प्रस्थान गर्यौं। मेरो तेस्रो पटक थियो भने तिम्रो पहिलो पटक। त्यसैले पनि त्यहाँको वस्तुस्थितीका बारेमा मलाई व्रिफिङ गर्न सजिलो भयो, गाइडले जस्तै। केटाहरूको निकै लामो लाइन थियो, त्यसैले पूजा गर्न हामी धेरै पछाडि भयौं। केटीको लाम छोटो भएकाले तिमीहरू छिटो भयौ।
पूजा सकेर फर्कदा जंगल सकिनै लाग्दा तिमीले सोधेकी थियौ ‘हजुरले के माग्नु भयो ?’
‘तिमीलाई मागें’ मैले यति जवाफ मात्र के दिएको थिएँ, खुट्टा चिप्लिएिर धन्दै लडिनँ। तिमी भने लाजले रातोपिरो भएकी थियौं। अनि बाटोभरी तिमीसँग कुरा गर्न निकै अप्ठेरो लाग्यो, कतै नराम्रो सोच्यौ कि भनेर।
साँच्चै त्यो दिन तिमीले कस्ते महशुस गर्यौ?
माझफाँटबाट तिमीहरू गलेश्वर हुँदै जाने र हामी बेनी झर्ने भएकाले छु्ट्टिन् पर्ने बाध्यता आइपर्यो। हुन त हामी बिचमा धेरै कुराकानी भएको थिएन, पुरानो धेरै चिनजान पनि थिएन तर मनमनै आफ्नै भएको आभाष भइरहेको थियो। एक छिन बसौं न भन्न मन थियो, आखिर छुट्टिनु त थियो नै।
यी नजरहरू तिमी गएको हेर्न चाहन्नथ्यो। मन छुट्टिन मान्दैन्थ्यो। त्यसैले तिमीलाई नहेरीकनै मैले बाईबाई गरेको थिएँ, सम्झिन्छ्यौ नि ?
तर तिमीले ‘कति घमण्डी रहेछ बाइ पनि भनेन’ भन्यौ रे हो ?
फर्कने बेला, तिम्रो नम्बर माग्ने कत्ति प्रयास गर्दा पनि माग्न सकिनँ। तिमीले मेरो मोबाइल नम्बर लगेको पत्तै पाइनँ। फोन गरेर झुक्याउँदा पो धेरै दिनपछि बल्ल चिनें।
अँ, साँच्ची तिमीले झण्डै १ महिनापछि ग्रिन सिग्नल दिएको र ३ महिनापछि प्रेम प्रस्ताव स्वीकार गर्यौ। घण्टौ फोनमा कुरा गर्दा पनि समय थोरै हुन्थ्यो। कयौ रात वितेका पत्तै हुँदैनथ्यो, फोनमा कुराकानी गर्दागर्दै। जति प्रेम साट्दा पनि कम नै हुन्थ्यो। २४ घण्टाको ठाउँमा अझै बढी घण्टा भइदिएको भए ? भन्ने पनि हुन्थ्यो।
ती दिन सम्झँदा अहिले पनि मनमा छुट्टै खालको प्रेम सञ्चार हुन्छ। प्रेमको विरुवा अङ्कुराउँदै, उम्रदै, फुल्दै आजसम्म आइपुग्यो।
औलाहरूले यी कुरा किबोर्डमा टाइप गर्दागर्दै मतिष्कले वर्तमान समयमा झल्यास्स ल्याइदियो। समयले कहाँबाट कहाँ पुर्याएछ म झसङ्ग भए। जति कुराकानी गर्दा पनि नथाक्ने हामी, कुरा नसकिने हाम्रो, आजभोली हामी यति विध्न व्यस्त हुन थालेका छौं कि सँगै छौं र पनि मनका कुरा एकआपसमा खोल्ने समय नै छैन जस्तो, धेरै टाढा भएर भेट हुनै नपाएजस्तो।
पहिलो कुरा त कामले नै व्यस्त हुने, दोस्रो कुरा सामाजिक सञ्जालले टाढाको मान्छेलाई नजिक बनाएको छ भने नजिकको मान्छेलाई टाढा, यसले हामीलाई समेत छाडेन। अलिकति टाइम खालि भयो की मोवाइल उठायो अनि सामाजिक सञ्जालमा हरायो। बिहान उठ्यो म पसलमा, तिमी छोरीसँगै किचनमा चिया, खाना बनाउन लाग्नुपर्ने। छोरीलाई स्कुल पुर्यायो, तिमी पसलमा म खाना खान किचनमा। अपवाद बाहेक पछिल्लो २–३ वर्षमा बिहानको खाना कहिले पनि सँगै हुन पाएन। अनि दिनभर पसलमा आ–आफ्ना काममा व्यस्त। अनि बेलुका अबेरसम्म पनि म पसलमै व्यस्त।
चाँडै घरमा गएको दिनमा पनि मानसिक तनाबले खाना खाएर सुतिहाल्यो। कहिले फेसबुक, युट्युव हेर्यो अनि सुत्यो, कुराकानी नै नहुने। कुराकानी भइहाले पनि व्याबहारिक कुराकानी बाहेक अन्य विषयमा नहुने। यो बिचमा कामको लोडले एकअर्काले चाहेर पनि समय दिन सकेनौ हगि ? तर काम र व्यस्ताको नाममा एकअर्काले भरपुर प्रेम गर्न भ्याएनछौं।
लकडाउनले यी कुराको अनुभूति दिलाइदियो। व्यस्तताको नाउँमा झण्डैझण्डै प्रेम गर्न भुलेछौं। प्रेम कहिले पनि पुरानो हुँदैन भन्ने हेक्का राखेनछौं। दिनभर जतिसुकै व्यस्त र थकान भए पनि तिम्रो मधुर मुस्कान र प्रेमले सारा कुरा भुलाइदिन्छ। व्यवहारिक भइयो, बच्चा भयो भन्ने कुराले दिमागमा डेरा जमाएछ है प्यारी, यी सबै कुरा भुलेर भरपुर प्रेम गर्न सकौं।
म प्रेमको प्यासी हुँ अविरल तिम्रो प्रेम पाइरहँु। तिमीलाई प्रेम गरिरहन सकुँ, पुरै जिन्दगी भरलाई। आई लव यु लुरी !
उही तिम्रो प्यारो मान्छे